Skip to content

जिन्दगीको गोरेटोमा सधैं सुन्य हात लाग्यो

  • by


जिन्दगीको गोरेटोमा सधैं सुन्य हात लाग्यो
नखाएको बिष लाग्यो नगरेको बात लाग्यो
आँखा रारा फेवा भए सम्झिएर देशलाई रुँदा
छामी छामी छुरी घासे आफन्तलाई मुटु दिँदा ।

हाँसो मेरो खडेरी भो चैतको हुरी जस्तो
किन किन आँसु मेरो भयो अचेल सारै सस्तो
माथि गए खुट्टा तान्छन् अघि गए काँडेतार
जीवन मेरो अर्थहिन आफ्नै लागि भए भार ।

पारी बनको डँढेलो झैं यो मनमा आगो बल्छ
खरानी भै मनको चाह अनायासै किन जल्छ।
यो मनको तलाउमा कस्ले ढुंगा हानी दियो
धमिलोमा ठुला माछा खोजी खोजी छानी लियो ।

गुनले गुन खायो अब हामी तँलाई खान्छौ भन्छन
इच्छा रुपी मनको चरो पिंजडामा थुन्छौ भन्छन
पराधीन जीवन आज आँशु पिउदै धानेको छु
जुन छुने चाहनालाई रुपैयाँले बाँधेको छु ।

तीर्थ (यात्री) पौडेल
लखनपुर ३ झापा, नेपाल
हाल: बहराइन
२०६७/१०/२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *