Skip to content

इजरायलमा साहित्यिक बनभोज तथा पुस्तक विमोचन

  • by
20110223_INLS_Israel_News-01


फेब्रुवरी २०, २०११
अनेसास, इजरायल

नेपालमा प्रजातन्त्र दिवसको अवसर पारेर इजरायलमा रहनुभएका साहित्य अनुरागीहरूको साहित्यिक बनभोज र नियात्रा तथा संस्मरणकार नयेन्द्र चेम्जोङको नविनतम् कृति “मोड”को विमोचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रम अनेसास इजरायल च्याप्टरद्वारा तेलअभिभ नजिकै रामात गान भन्ने ठाउँको लुना पार्कमा आयोजना गरियो ।

पहिलो चरणमा अनौपचारिक कार्यक्रम अन्तर्गत वनभोज आयोजना गरिएको थियो । तत्पश्चात नै औपचारिक दोश्रो कार्यक्रम अन्तर्गत नविन कृति “मोड”को अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्ष, प्रमुख अतिथि हरि मानन्धर, सर्जक नयेन्द्र चेम्जोङ र उहाँकी धर्मपत्नी शान्ति चेम्जोङद्वारा संयुक्त रूपमा विमोचन गर्नुभयो ।

संस्थाका उपाध्यक्ष शंकर कुमार पौडेलको मन्तव्यद्वारा इजरायलको चिसो हावा-हुरी र झरीसँगै गर्मिलो स्वागत गरिएको थियो भने सल्लाहकार सोमेन्द्र घिमिरेद्वारा कृति र सर्जकको बारेमा बोल्नुभयो । वहाँले परदेशमा रहेर पाइएका दुःख पीडा तथा अवस्मरणीय क्षणहरूलाई समेटेर सत्य कुराहरूमा रहेर निश्पक्ष रूपमा लेखिएका नियात्राहरू समेटिएकामा कृति र सर्जक दुबैलाई धन्यवाद तथा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

“मोड”का सर्जक नयेन्द्र चेम्जोङले आफ्नो कृतिमा नेपालमा सरकारी जागिर गर्दादेखि विदेशमा रहँदाका आफ्नो मात्र नभई सम्पूर्ण विदेशिएकाहरूको अनुभव तथा पीडाहरूलाई समेटेको कुरा बताउनुभएको थियो । अनेसास इजरायलकी कार्यकारी सदस्य उमा सुवेदीले पनि कृति र कृतिकारले नेपाली साहित्यमा दिनुभएको योगदान र कृति प्रकाशन गर्नुभएकोमा बधाइ तथा धन्यवाद र कृतिको सफलतको शुभकामना दिनुभएको थियो ।

कार्यक्रमका प्रमुख आतिथ्य अनेसास केन्द्रीय सचिव हरि मानन्धरले गर्नुभएको थियो । उक्त अवसरमा मानन्धरले सर्जक नयेन्द्र चेम्जोङको नियात्रा तथा संस्मरण संग्रहले नेपाली डायस्पोरामा नेपालीहरूले भोग्नु परेका दुःख पीडाका अनुभवहरू र विदेशमा बस्दा विदेशीहरूबाट हेपिनु परेका पीडाहरूलाई समेटर सम्पूर्ण विदेशमा रहनुभएका नेपालीहरूको सिङ्गो अनुभव कृति मार्फत पाठकमाझ ल्याउनुभएकोमा बधाई तथा धन्यवाद दिनुभयो । कृतिकारले आफ्ना नियात्रा तथा संस्मरणहरूमा इमान्दारी पूर्वक भए घटेका घटनाहरूलाईसमेत प्रस्ट पार्नुभएकोमा सर्जक नयेन्द्र चेम्जोङको कृति “मोड”ले जनमानसको हृदय छुने हुनाले सफलता हुनुमा कुनै विमत छैन, वहाँले बताउनुभयो ।

अनेसास इजरायलका अध्यक्ष कृष्णपक्षले दोश्रो औपचारिक कार्यक्रमको समापन गर्नु हुँदै नयेन्द्र चेम्जोङको कृति “मोड”मा भएका सबै सँग्रहहरू उहाँको मात्र नभई सबै विदेशिने मनहरूको साझा भएकाले “मोड”को सफलताको कामना गर्नुभयो । त्यस्तै इजरायलमा समयाभावको वावजूद पनि साहित्यमा लागि परेका कवयित्री दिप्स शाह र गजल तथा गीतकार उमा सुवेदीको कृतिहरू नई प्रकाशनद्वारा पुरस्कृत भएकोमा इजरायल च्याप्टरकै गर्वको कुरा भएको बताउनुभएको थियो ।

अन्तमा तेश्रो तथा अन्तिम अनौपचारिक साहित्यिक कार्यक्रममा विभिन्न श्रष्टाहरूले आ–आफ्ना रचना पाठ गराउँदै कार्यक्रममा पुनः रौनक थपिएको थियो । रचना पाठ गर्नेहरूमा हरि मानन्धर, दिप्स शाह, भगवती बस्नेत, भगवती कनेल, रिमा सापकोटा (साईराम), रीता राई, मनु लोहोरूङ, कृष्णपक्ष, इन्दिरा प्रयाश हुनुहुन्थ्यो भने अनेसास इजरायल च्याप्टरका सदस्य सुमन कार्कीद्वारा निकट भविष्यमै रेकर्डिङका लागि तैयार गीत गाएर झरीको चिसो मौसममा इजरायली साहित्यक मनभित्रैबाट तताएर गर्मिलो पार्नुभएको थियो ।

उक्त कार्यक्रमका सभापति अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्षको सभापतित्वमा कार्यकारी सदस्य दिप्स शाहद्वारा सञ्चालन गरिएको थियो ।

इजरायलमै रहनुभएका विशेष फोटो पत्रकार अर्जुन जैलवालद्वारा उक्त कार्यक्रमका तस्वीरहरू स्मरणयोग्य रहने गरी लिनुभएको थियो ।

अनेसास इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *