Skip to content


तुलसा तिमीले एकदिन भन्यौ
मन त हावा हो, सर
मनको भर पर्नुहुँदैन
यो त के के माग्छ- के के
यसले मागेजति दिने हो भने
… सबै सिमाना नाँघिन्छ

गीता तिमीले एक दिन भन्यौ
मन र शरीरको सन्तुलन मिलाउनुपर्छ
मनको उमेर हुँदैन, हजुर
त्यसैले शरीरको उमेरसँगै
उसलाई लतार्दै, घिसार्दै हिँडाउनुपर्छ
मन त अथाह सागर हो
उसकै अनुसार हिँड्ने हो भने डुबिन्छ
मन त अनन्त आकाश हो
उसकै अनुसार विचरण गर्ने हो भने हराइन्छ

राधिका तिमीले एकदिन भन्यौ
सबैभन्दा आफ्नो त
आफ्नै मन हो
त्यसलाई राम्ररी लालनपालन गर्नुपर्छ
राम्ररी हुर्काउनु र बढाउनुपर्छ
नत्र मन-कुपोषणको सिकार हुन्छ
र, सधैँ रुञ्चे रोगले कुण्ठित हुन्छ
व्यक्तित्व बलियो बनाउन
मन बलियो पार्नुपर्छ
टुहुरो मनले जीवनभर सताउँछ
बुझयौ तिमीले
मनले मागेपछि
… सबै सिमाना नाँघ्न सक्नुपर्छ

अहिलेसम्म मलाई थाहा छैन
यो मन भनेको के हो
खुम्च्याउने कि फैलाउने

यो त थाहा छ
प्रत्येक मानिससँगै आ-आफ्नै मन हुन्छ
आ-आफ्नै अनुहार र स्वभाव हुन्छ

तर खोई अहिलेसम्म
आफ्नो मनको कुरा के हो? थाहा भएन
कहिले पापले रोक्यो
कहिले धर्मले रोक्यो
कहिले संस्कार र संस्कृतिले रोक्यो
कहिले नैतिक र कहिले अनैतिक पहाड
उभिएर रोक्यो
कहिले जातपात, धनी, गरीब भनेर रोक्यो
कहिले देश आएर रोक्यो।

रोकिँदा रोकिँदा कायल
छेकिँदा छेकिँदा घायल
कठै! मेरो मन

विष्णुविभु घिमिरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *