Skip to content


कीर्तिमान कायम गर्न साच्चिकै कठिन हुन्छ । कीर्तिमान समय, घटना र निरन्तरताले पनि कायम गर्न सक्दछ । यसरी बनेको कीर्तिमान अन्ततः इतिहास बन्दछ । कुनै विगतको इतिहास भने कुनै जीवित इतिहास । सन्दर्भ मधुपर्कको हो । यसले पनि कीर्तिमान कायम गर्न सकेको छ । एउटा होइन, दुई वटा होइन । चार वटा कीर्तिमान मधुपर्कले कायम गर्न सकेको छ ।

कीर्तिमानधारी मधुपर्क अहिले चाहिँ साच्चिकै पाको भएको छ । साहित्यकारहरूको प्रेमीका रूपमा रहँदै आएको मधुपर्कले ४३ वर्ष पूरा गरेको छ । यो ४३ वर्षको यात्रामा ५०० औँ पूर्णाङ्क प्रकाशित गर्न सकेको छ । नेपाली साहित्यिक क्षेत्रमा ५०० औँ पूर्णाङ्क प्रकाशित गर्नु भनेको कीर्तिमानी कार्य हो । नेपाली साहित्यिक पत्रकारिताको इतिहास ११२ वर्षको भएको मानिन्छ । यस अवधिमा थुप्रै साहित्यिक पत्रपत्रिकाहरू आए । केही विलाएर गए भने केही जेनतेन बाँचिरहेका छन् तर मधुपर्कले त्यस्तो अवस्था भोग्नु परेन । निरन्तरता पाउँदै गयो । अन्ततः नेपाली साहित्यिक फाँटमा जीवित इतिहासका रूपमा स्थापित मधुपर्कले त्यो कीर्तिमान कायम गर्न सक्यो । यो कीर्तिमान मधुपर्कका लागि मात्र नभई सारा नेपाली साहित्यिक प्रेमीहरूका लागि गर्वको कुरा हो ।

मधुपर्कको ५०० औँ पूर्णाङ्क सार्वजनिक गर्न आयोजित विशेष कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले भन्दै हुनुहुन्थ्यो, “मैले अक्षर नचिनेका बेलाभन्दा पनि पहिले मधुपर्कको यात्रा सुरु भइसकेको रहेछ । आजको प्रतिस्पर्धी युगमा मधुपर्कको ५०० औँ पूर्णाङ्क प्रकाशित हुनु गौरवको कुरा हो । यो इतिहासको गौरवलाई राज्यले आत्मसात गर्नुपर्दछ ।”

मधुपर्कले कायम गरेको कीर्तिमानको फेहरिस्तमा अर्काे कीर्तिमान हो- औपचारिक विमोचन गरिनु । मधुपर्कको यस लामो यात्रामा हालसम्म पनि यसलाई औपचारिक रूपमा विमोचन गरिएको थिएन । वि.सं. २०२५ साल जेठ ३० गते पहिलो अङ्क सीधै बजारमा लगिएको थियो । त्यसपछिका अङ्कहरू पनि बजारमा पुगे । पाठकका हातहातमै पुगे तर औपचारिक रूपमा सार्वजनिक हुन २०६७ माघ ७ गते शुक्रवारको दिन नै पर्खिनु पर्यो । सार्वजनिक समारोह साच्चिकै स्मरण योग्य थियो । किनकि नेपाली साहित्यिक पत्रकारिता जसले प्रकाशन सुरु भएको ४३ औँ वर्षमा पहिलो पटक विमोचन हुने अवसर पायो, त्यो अर्काे कीर्तिमान थियो ।

सबैभन्दा विशेष त मधुपर्कले प्रकाशित गरेका साहित्यिक रचनाहरू हुन् । नेपालका कुनै पनि साहित्यिक पत्रिकाले हालसम्म करिब २० हजारभन्दा बढी रचनाहरू प्रकाशित गरेका छैनन् । यो अर्काे कीर्तिमान हो । कथा, कविता, निबन्धलगायत २० हजार रचना प्रकाशित हुनुबाट मधुपर्क प्रतिको माया र चाहनालाई प्रष्ट मूल्याङ्कन गर्न सकिन्छ । थुप्रै साहित्यकारहरूलाई यसले जन्माएको छ । हिँड्न सिकाएको छ । स्थापित बनाएको छ । यहाँ राष्ट्रकवि माधवप्रसाद घिमिरेको भनाइ सान्दर्भिक हुन जान्छ, “मधुपर्कले धेरै साहित्यकारहरूलाई प्रकट गरेको छ । साहित्य र साहित्यकारहरूको सिर्जनालाई बढाएको छ ।” ४३ वर्षको उमेरमा मधुपर्कले ४३ वटै विशेषाङ्क प्रकाशित गरेको छ । नेपाली साहित्यिक पत्रकारितामा यतिधेरै विशेषाङ्कहरू प्रकाशित गर्नु पनि अर्काे कीर्तिमानधारी कार्य हो । अझ पछिल्लो १६ महिनाको अवधिमा तीन वटा विशेषाङ्क प्रकाशित हुनु नेपाली साहित्यिक क्षेत्रमा अर्काे गौरवको विषय हो । साहित्यिक क्षेत्रमा रहेका कुनै पनि विधा अब बाँकी छैनन्, जसलाई विशेषाङ्कका रूपमा समेट्न बाँकी होस् । यसबाट पनि मधुपर्कले साहित्यिक क्षेत्रका हरेक विधालाई कत्तिको सम्मान र माया गर्दै आएको छ भन्ने कुरा घाम झैँ छर्लङ्ग हुन्छ ।

मधुपर्कको ५०० पूर्णाङ्कले सबैभन्दा बढी पृष्ठ प्रकाशित भएको कीर्तिमान पनि कायम गरेको छ । हालसम्म ३२० पृष्ठमा मधुपर्क कहिल्यै पनि देखा पर्न सकेको थिएन । जमाना कम्प्युटरको हो । इन्टरनेट ‘क्रेज’ले साहित्यकारलाई पनि छाडेको छैन । त्यही भएर मधुपर्कसित पनि इन्टरनेटमा भेट गर्न पाइन्छ । नेपाली साहित्यिक पत्रकारितामा मधुपर्क पहिलो हो जो इन्टरनेटमा राखियो । यसले गर्दा देशविदेशका पाठकहरूसित यसको घनिष्टता अझ बढ्दै गएको छ ।

मधुपर्कको ५०० औँ अङ्क विमोचन गर्नका लागि २०६७ माघ ७ गतेको साइत जुर्यो । त्यस दिन भव्य समारोहको आयोजना गरियो । समारोहमा मधुपर्कलाई माया गर्ने साहित्यिक क्षेत्रका विशिष्ट पाहुनाहरूको बाक्लै जमघट थियो । सो अङ्क सार्वजनिक गर्न आयोजित समारोहमा सबैको तारिफको पात्र बन्यो मधुपर्क । कवि प्रल्हाद पोखरेलले पनि मधुपर्कका बारेमा रचना सुनाउन चुक्नु भएन ।

“चङ्गा चित्त बनाउने घिउसरी क्या स्वादिलो चम्चम

चाख्दा स्वाद दिलाउने छ महझैँ आस्वाद झन् उत्तम,

लाग्दा निल्न घुटुक्क शाब्दिक दही कस्तो मीठो कञ्चन

नेपाली मधुपर्क मोहक बनी आनन्द पार्ने मन ।”

उहाँको रचनाले निकै वाह, वाह पायो । ताली पायो । त्यसपछि बोल्ने सबै महत्त्वपूर्ण व्यक्तित्त्वहरूले मधुपर्कको योगदानका बारेमा दिल फुकाएर भन्नुभयो । रामा, नराम्रा सबै कुराहरू आए । अक्षरहरू पात्लिँदै गएको र कागजको गुणस्तरका कुरालाई नराम्रो कुराका रूपमा सर्जकहरूले उठाउनुभयो ।

सञ्चारमन्त्री पोखरेलले मधुपर्कलाई अझ गुणस्तरीय बनाउन आवश्यक रहेको बताउँदै नयाँ प्रविधिहरूको प्रयोग गरी अधिकतम पाठकका बीचमा पुग्न सक्नुपर्ने औँल्याउनुभयो ।

उहाँले नेपालमा साहित्यिक पत्रकारिताका पाठकहरू नघटेको अनुभव सुनाउनुभयो । “पाठक घटेका होइनन्, बरु उनीहरूले प्रयोग गर्ने माध्यममात्र फरक भएको हो” उहाँले भन्नुभयो ।

उहाँको भनाइमा एफएम रेडियो, इन्टरनेट, टेलिभिजनजस्ता माध्यमहरूको प्रयोग बढ्दै गएको छ । ती नयाँ प्रविधिहरूसित नेपालको साहित्यिक क्षेत्रलाई जोड्न सके मात्र लेखकहरू पनि फस्टाउन सक्छन् । अहिलेको समय लेखकहरूका लागि उर्वर हो । प्रविधिले दिएका मौकालाई लेखकहरूले आत्मसात र प्रयोग गर्न सक्नुपर्ने उहाँको धारणा छ ।

सञ्चारमन्त्री पोखरेलले साहित्यिक कार्यक्रममा राजनीतिका प्रसङ्ग उठान गर्न चुक्नुभएन । उहाँले नेपालका नायकका रूपमा विगतमा भानुभक्त आचार्य, कृष्णलाल अधिकारीलगायत स्थापित भएको चर्चा गर्दै भन्नुभयो, “अहिले राष्ट्रवाद पकेट, पकेटमा विभाजित छ । यसलाई एकीकृत गरी गाँस्न विचारको आवश्यकता छ । यसलाई गाँस्न राजनीतिले मात्र सक्दैन । साहित्यका माध्यमबाट पनि समाजलाई रूपान्तरण गर्न र एकता कायम गर्न सकिन्छ । अहिलेको नायकत्वको आधारमा परिवर्तन गर्नु जरुरी छ । त्यो आधार साहित्यबाट पनि बन्न सक्दछ ।”

राष्ट्रकवि घिमिरेले गोरखापत्र सँस्थानसित पर्याप्त क्षमता रहेको बताउँदै राम्रो कागजमा मधुपर्क प्रकाशित होस् भन्ने चाहना व्यक्त गर्नुभयो । उहाँले छ सय कर्मचारीलाई पाल्न सक्ने सँस्थानले राम्रो कागममा छपाउन नसक्ने होइन भन्नुभयो ।

मधुपर्क प्रोपोगन्डाहरूबाट बँच्न सफल भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले मधुपर्कलाई विशिष्ट साहित्यको उपाधि दिनुभयो ।

साहित्यकार सत्यमोहन जोशीले मधुपर्कको निरन्तरता र ५०० औँ पूर्णाङ्क प्रकाशित हुनु नेपाली साहित्यका क्षेत्रमा ठूलो उपलब्धि भएको बताउनुभयो । उहाँले मधुपर्क सबैको साझा मञ्च भएको धारणा व्यक्त गर्नुभयो ।

समारोहमा साहित्यिक पत्रकार रोचक घिमिरेले नेपालमा पत्रकारिताको सबैभन्दा जेठो विधा साहित्यिक पत्रकारिताको नै रहेको बताउँदै राज्यले यसलाई बेवास्ता गरेकोमा गुनासो गर्नुभयो । उहाँले साहित्यिक पत्रपत्रिका विदेशमा पठाउन अन्य पत्रपत्रिकाको जस्तो सुविधा सरकारले नदिएको बताउँदै विदेशमा रहेका नेपालीहरूलाई साहित्यिक पत्रपत्रिका पढ्ने चाहना भए पनि त्यहाँ पुग्न नसकेको बताउनुभयो ।

सो समारोहमा गोरखापत्र सँस्थानका कार्यकारी अध्यक्ष विजय चालिसेले साहित्यिक पत्रकारिताको निरन्तरता आफैँमा चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले भारतलगायतका मुलुकमा साहित्यिक पत्रपत्रिका हराउँदै गएको प्रसङ्ग उल्लेख गर्दै साहित्यिक पत्रपत्रिकाले आर्थिक समस्या भोग्नुपरिहेको बताउनुभयो ।

सँस्थानका महाप्रवन्धक शम्भु श्रेष्ठले राष्ट्रको पहिचान साहित्यले गर्ने विचार व्यक्त गर्नुभयो । उहाँले नयाँ नेपाल बनाउने कार्यमा साहित्यकारहरूको पनि कलम महत्त्वपूर्ण हुने हुँदा देशमा परिवर्तन ल्याउन साहित्यकारहरूलाई कलम चलाउन आग्रह गर्नुभयो ।

मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ले ५०० औँ पूर्णाङ्क प्रकाशित हुनुलाई देशको गौरवका रूपमा लिनुपर्ने बताउनुभयो ।

कार्यक्रमको सञ्चालन तुलसीहरि कोइरालाले गर्नुभएको थियो ।

मधुपर्क २०६७ फागुन
गोविन्द गोठाले विशेष

Leave a Reply

Your email address will not be published. Required fields are marked *