बिहानीको झिसमिसेमा, हामी एकै बाटो,
तर संयोग, एक अर्काको विपरित हिँडेका हुन्छौं
नजिक जब पुग्दछौं, तिम्रो मुहारमा लज्जा देख्दछु
अनि मन्द हाँसोझैँ गरी तिमीले जब ती आँखा झुकाइ दिन्छ्यौं
मलाई अर्थ लगाउन गाह्रो हुन्छ ।
के त्यो कलिला फूलले भमरालाई
आलिङ्गनको निमन्त्रणा त दिएको हैन ?
तिमी हिँडेकै हुन्छौं विपरित दिशामा
तर म रोकिदिन्छु मनमा लहर सलबलाउँदछ
पछि फर्के बाध्य भएर, तिमी त पल्लो कुना पुगि सकिछौं ।
कुन्नी किन तिमी पनि त फर्किन्छ्यौं
सायद तिम्रो हृदयको ढुकढुकी बढेको हुनुपर्दछ,
मनमा रहर पलाएको हुनुपर्दछ ।
अनायास मलाई आभास हुन्छ
सुवासिलो समिरमा तिम्रा केशहरू फुलिरहेर
कतै तिमीले मेरो अनुरागको
अपेक्षा गरिरहेको त हैन ?
युवामञ्च २०६७ फागुन