Skip to content
20110326_LaxmiPrasadDevkota_Garib


गरीब भन्छौ ? सुखको म झैं धनी
     मिल्दैन संसारभरी कतै पनि ।
विलासको लालस-दास छैनँ म
     मीठो छ मेरो रसिलो परिश्रम ।

प्रयासको पत्थरमा नदीसरि
     बहन्छु हाँसी म तरङ्गले भरी ।
म पोखरी झैं उहि ठाउँ जम्दिनँ
     छ शुद्ध यो जीवनको सबै कण ।

निधार मेरो पसिना-जडाउ छ
     मोती तिनैको अनमोल भाउ छ ।
छ शान्तिको सुन्दर दीप वासमा
     पीयूषको स्वाद छ गाँसगाँसमा ।

छ भोक मीठो, रसिलो प्यास
     छ अन्तमा व्यञ्जनको सुवास ।
छ थोर आवश्यकता पुगेपछि
     म बस्छु संसार नयाँ नयाँ रची ।

जगत् छ मेरो घरबार सुन्दर
     आकाश नीलो छ तले मनोहर ।
छन् रत्न सारा उसमा भराभर
     छन् चन्द्रमा दीप तथा प्रभाकर ।

प्रभात सन्ध्याहरू रङ्ग भर्दछन्
     र मेघ आईकन दङ्ग पर्दछन् ।
छ नृत्य राम्रो ऋतुको समागम
     दृश्यादि पर्दा दिन-रातको क्रम ।

परीसरी फूल हिली झुलीकन
     टप्काउँछन् सुन्दर मोतिका कण ।
हजार गाना रसिलो निरूपम
     सुनाउँछन् पत्रविषे विहङ्गम ।

छ मख्मली घाँस बडो मुलायम
     म लेट्छु जस्माथि सकी परिश्रम ।
पङ्खा छ मेरो वटवृक्ष सुन्दर
     समीर हम्कीकन चल्छ सर्सर ।

आनन्दको एक कुटी छ झोपडी
     पुगिन्छ त्यस्मा शिर शैलको चढी ।
समीरको खेल खुला वीपरि
     अनन्त आकाश निलो शिरोपरि ।

अलग्ग, साधा र अनन्त बीचमा
     छ एक्लो, निर्झरको नजीकमा ।
यस्माथि ताराहरु झल्मलाउँछन्
     शशी हँसीली यसमा उदाउँछिन् ।

सन्ध्या यसलाइ सुन्दर
     पहाड, यी खेत बडा मनोहर ।
आनन्दमा बस्दछु न्यानु घाममा
     अनन्त मिल्दछ अन्धकारमा ।

बिमान खासा मनको लिईकन
     म चन्द्र, तारा, पृथिवी घुमीकन ।
विहारको मोज लुटी लुटीकन
     फर्कन्छु फेरी उहि रम्य आँगन ।

पाई हँसीलो अलमस्त यौवन
     छाती फुकाई, जलका ठुला कण ।
पैह्रेर आभूषण, झल्किईकन
     गुलाब चल्छन् अलि ढल्किईकन ।

उद्यान मेरो भरमा परीहरू
     गुलाब मीठो, फुल नामका अरू ।
सुगन्धले मग्मग वस्त्र सुन्दर
     रङ्गीनले शोभित छन् भरीभर ।

निद्रा सुसारे छ अपूर्व सुन्दरी
     जादू छ उस्को सपना मिठो सरी ।
संसार बिर्सन्छु म अङ्कमालमा
     भाग्छे बिहानै लजिली मनोरमा ।

छ साथ मेरो दिन-रात ईश्वर
     ममा यहाँ छैन कतै, कुनै डर ।
संसार यस्तो रसिलो विषे अहो !
     मलाइ राख्ने अति धन्य धन्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *