Skip to content


धौलागिरी अञ्चलको प्रवेशद्वारको रूपमा रहेको पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतको मध्यपहाडी जिल्ला पर्वतमा पर्यटकीय सम्भावनाका विविध आकर्षणहरू रहेका भए पनि आवश्यक पूर्वाधारको अभावमा पर्यटकीय गन्तव्यस्थलको रूपमा स्थापित हुन सकेका छैनन् ।

पर्वतको सदरमुकाम कुश्माबजारको पश्चिम किनारामा रहेको गुप्तेश्वर महादेव गुफा, दक्षिणी क्षेत्रमा रहेको नेपालकै ठूलो शिला शालिग्राम शिला, जिल्लाको पूर्वी भागमा रहेको डहरेको लेक, यहाँका आकर्षण हुन् । दक्षिणी क्षेत्रमा रहेको पैञ्युँकोट र फलामखानीको डाँडा बाह्रैमास अटुटरूपमा पानीको फोहरा बगिरहने सहस्रधारा, पर्वत जिल्लालाई काखमा राखेर बगिरहेको कालीगण्डकी नदी र जिल्लाको पूर्वी किनारामा रहेको पञ्चासेधाम यस क्षेत्रकै प्रमुख पर्यटकीय आकर्षणहरू हुन् ।

यी पर्यटकीय आकर्षणका केन्द्रहरूको उचित संरक्षण र प्रचार-प्रसार हुन सकेका छैनन् । यसले गर्दा समग्र जिल्लाको पर्यटकीय विकाससमेत हुन सकेको छैन । स्थानीयस्तरमा पर्यटकीय विकास भए भने मात्र आर्थिक विकासको परिकल्पना गर्न सकिने अवस्था रहेको वर्तमान समयमा जिल्लास्तरबाट नै यहाँका पर्यटकीय निधिहरूको संरक्षण र आवश्यक प्रचार-प्रसार गरी पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्छ ।

अर्कोतिर विभिन्न पुराणहरूमा उल्लेख भएअनुसार सत्ययुगमा पार्वतीले महादेव स्वामी पाउँ भनी तपस्या गरेको पाङस्थित पार्वती गुफा, फूल टिप्ने गरेको कुशुमपुरी (अहिलेको कुश्माबजार), पार्वती खेल्नेगरेको पातीचौर क्षेत्र, दिनहुँ नित्य नुहाउने गरेको सहस्रधारा, पनि यहीँ छन् । महादेव र पार्वतीको विवाहपश्चात् हनिमुन मनाएको मानिने र द्वापर युगमा पाँच पाण्डवले गुप्तवास विताएको भनी विश्वास गरिने गुप्तेश्वर गुफा, विष्णुको साक्षात रूप मानिने र कालीगण्डकी नदीमामात्र पाइने शालिग्राम शिला तथा श्रीमद्भागवत पुराणमा उल्लेख भएअनुसार च्यवन ऋषिको आश्रमको रूपमा वर्णन गरिएको पञ्चासेको लेकलगायत पर्वतका विभिन्न क्षेत्रमा रहेका ऐतिहासिक र धार्मिक महत्वका मठमन्दिरहरूको उचित व्यवस्थापन गर्न सकेको खण्डमा पर्वतलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने सम्भावना पनि उत्तिकै छ ।

स्थानीयस्तरका पर्यटकीय महत्वका प्राकृतिक सम्पदाहरूको संरक्षणका लागि स्थानीय समुदायका अतिरिक्त स्थानीय निकायहरू बेलैमा क्रियाशील हुनुपर्ने आवश्यकता मात्र देखिएको छैन, अपरिहार्यता पनि देखिएको छ । जव स्थानीयस्तरका प्राकृतिक सम्पदाहरूमा विदेशी पर्यटकहरूको आँखा पुग्दछ तव ती सम्पदाहरूको भ्रमण गर्नका लागि उनीहरूको भीड नै जम्मा हुने क्रम बढ्छ । विदेशी पर्यटकहरू जति यहाँ भित्रिन सके उति नै समग्र नेपाल र स्थानीयस्तरको आर्थिक विकासमा पनि गतिशिलता आउँदछ र रोजगार तथा स्वरोजगारका अवसरहरू पनि सृजना हुन पुग्दछन् ।

पर्वतको सन्दर्भमा पर्यटकीय सूचना केन्द्रसमेत स्थापना हुन सकेको अवस्था छैन । पर्यटकीय सूचना केन्द्रको अभावमा पर्वतमा भित्रिने पर्यटकहरू पर्वतका पर्यटकीय महत्वका प्राकृतिक सम्पदाहरूप्रति जति पटक पर्वतमा प्रवेश गरे पनि अनभिज्ञ नै हुनुपर्ने अवस्था छ ।

पर्वत जिल्ला नेपालको पर्यटकीय नक्शामा नै समावेश हुन नसकेका कारण पर्यटकीय महत्वका दृष्टिले प्रशस्त सम्भावना बोकेको भए पनि यहाँ पर्यटकीय गतिविधि सञ्चालन हुन सकेका छैनन् ।

पञ्चासे लेक

पर्यटकीय तथा धार्मिक दृष्टिकोणले अति महत्वपूर्ण पञ्चासे लेक यस क्षेत्रको दर्शनीयस्थल हो । छिमेकी कास्की जिल्लाको भदौरेतामागी गाउँ विकास समितिको धुरीलाई पञ्चासे लेक भनेर पुकारिने गरिएको भए तापनि यो लेकको सिमानामा पर्वत र स्याङ्जा जिल्लाका केही गाउँ विकास समितिहरूसमेत् पर्दछन् । त्यसैले यस पञ्चासे क्षेत्रको समग्र पर्यटन विकासका लागि पर्वत जिल्लाका चित्रे, आर्थरडाँडाखर्क, पकुवा, राम्जादेउराली, खौलालाँकुरी र तिलाहार गरी ६ गाउँ विकास समिति, कास्की जिल्लाका भदौरेतामाङ्गी, चापाकोट, ढिकुरपोखरी, सल्यान, कास्कीकोट, सराङ्कोट र पुम्दीभुम्दी गरी ७ गाविस तथा स्याङ्जा जिल्लाका आरूखर्क, वाङसिङ, वाडखोला र वाङ्गेफट्के गरी ४ गाविसलगायत १७ वटा गाउँ विकास समावेश गरी पञ्चासे क्षेत्र विकास समिति नामक संस्था स्थापना गरिएको छ । समुन्द्री सतहदेखि २,५१७ मिटरको उचाईमा रहेको यो लेकबाट पश्चिमको धौलागिरी हिमशिखरदेखि पूर्वका अन्नपूर्ण हिमश्रृङ्खलाहरू एकैपटक अवलोकन गर्न सकिन्छ । यसरी यति लामो हिमश्रृङ्लाहरूको लस्कर दृश्यावलोकन गर्न सकिने यो पञ्चासे लेक नेपालको एक मात्र स्थान भएको जानकारहरू बताउँछन् । जाडो महिनामा प्रायः हिउँ पर्ने यो लेकबाट नेपालकै प्रसिद्ध पोखराको फेवाताल र पोखरा उपत्यका, कुमारी हिमाल माछापुच्छ्रे, धौलागिरि, गणेश र अन्नपूर्ण हिमशिखरहरू सजिलै अवलोकन गर्न सकिने भएकाले यो लेक पर्यटकीय दृष्टिकोणले प्रयाप्त खुराक लिएर बसेको आभास हुन्छ । हरेक वर्ष वालाचतुदर्शीका दिन ठूलो मेला लाग्ने गरेको यो लेकमा मेला भर्न र मेला हेर्नका लागि देशका विभिन्न भागबाट हजारौँ दर्शनार्थीहरू आउने गरेको तथ्याङ्क पञ्चासे क्षेत्र विकास समितिसँग छ । समितिका अनुसार श्रीमद्भागवत पुराणमा च्यवन ऋषिको आश्रमको रूपमा वर्णन गरिएको पञ्चासे क्षेत्रलाई धार्मिक पर्यटन केन्द्रको रूपमा समेत विकास गर्न सकिने सम्भावना प्रचुर छ ।

पञ्चासे ताल ः

पञ्चासे लेकको बीच भागमा कुनै पानीको स्रोत विना नै मनोरम र सुन्दर सफा पानीको ताल छ । आश्चर्यजनकरूपमा केही वर्षअघि यो ताल एक भागबाट अर्को भागमा स्वतः सरेको छ । पहिलेको ताल ११० मिटर लामो, २५ मिटर चौडा र करिव १० मिटर गहिरो रहेको स्थानीय पर्वत जिल्लाको चित्रे गाविस निवासी सु. सुवबहादुर गुरूङले जानकारी दिनुभयो तर यतिखेर अर्को भागमा सरेको तालको आकार पिपलको पात जस्तो छ । पहिले ताल रहेको स्थान यतिखेर सुख्खा छ भने नयाँ तालको पानी पनि पहिलेको तालको जस्तै मनोरम र सफा छ । घनघोर जङ्गलको बीचमा भए पनि दुवै तालको पानीमा कुनै पनि वेला कुनै पनि खालको पातपतिङ्गर नदेखिनु पञ्चासे तालको विशेषता हो । पहिलेको तालमा जस्तै अहिले स्थान परिवर्तन भएको तालमा पनि कुनै पातपतिङ्गर देखिँदैन, स्थानीय जानकार चित्रे युवा परिवारका अध्यक्ष नारायण सिं गुरूङले भन्नुभयो । जङ्गलमा रहेका रूख विरूवाहरूबाट तालमा पातहरू झर्ने गरेको भए पनि उत्तिखेरमै चराले टिपेर सफा गर्छ भन्ने कुरा स्थानीय बूढापाकाहरूबाट हामीले सुने पनि हामीले त्यस्तो देखेनौँ, गुरूङले भन्नुभयो ।

कसरी पुग्ने त पञ्चासे लेक र तालमा ः

पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारदेखि डिमुवा तिलाहारसम्मको ६ किलोमिटर र नेपालकै प्रसिद्ध पर्यटकीय सहर पोखराबाट ५१ किलोमिटर पक्की सडकको मोटर यात्रापछि डिमुवाबाट चित्रेसम्म ६ किलोमिटर कच्ची धुले सडकको यात्रापश्चात् पर्वत जिल्लाको चित्रे गाउँ पुग्न सकिन्छ । उक्त दिन विदेशी तथा स्वदेशी पाहुनाहरूका लागि होमस्टे सुविधा सञ्चालन गरेका ओख्लेका करिव एक दर्जनजति घरहरूमा राम्रो र पारिवारिक वातावरणमा बसेपछि भोलिपल्ट बिहानै पञ्चासेको लेक र तालको करिव ३ घण्टाको उकालो पैदल यात्रा शुरू गर्न सकिन्छ । गाउँको माथिल्लो भागमा रहेको नाङ्गो गौचरन छिचोल्दै घना जङ्गलको बीचमा रहेको गनगने बाबाको स्थानमा सुकेका पातपतिङ्गरहरू चढाउँदै र जङ्गलमा रहेका जडीबुटीजन्य वनस्पतिहरूको अवलोकन गर्दै ओख्लेबाट झण्डै २ घण्टाको समयमा पञ्चासे तालमा पुग्न सकिन्छ । स्थानीय जानकारहरूका अनुसार पञ्चासे तालले केही वर्षअघि दिशा बदलिसकेको थियो । ताल डाँडाको बायाँ किनाराबाट दायाँ किनारामा सरेकोे थियो । पुरानो ताल रहेको स्थान अर्थात् डाँडाको बायाँ किनारा सुख्खा अवस्थामा थियो भने पिपलपात आकारको दायाँ किनारको ताल निर्मल र निश्चल थियो ।

पञ्चासे तालको तटमा रहेको जलबाराही मन्दिरको दर्शन र एकैछिनको विश्रामपछि बिहानीको मिर्मिरे घामसँगै पञ्चासे लेकका लागि एक घण्टाको उकालो पैदल यात्रा तय गर्न सकिन्छ । झण्डै एक घण्टाको उकालोपछि नागवेली आकारमा रहेको पञ्चासे लेकको एक ढिस्कोमा श्री पञ्चकोसी (आर्थर डाँडाखर्क) समाज, पोखराले निर्माण गर्न लागेको गुरूङ (तमु) हिल टावर, अर्को ढिस्कोमा विश्व शान्ति स्तुपा र बौद्ध गुम्बा हुँदै च्यवन श्रृषिको आश्रम रहेको स्थान पञ्चासे क्षेत्र विकास कोषको सचिवालयमा पुग्न सकिन्छ । साथसाथै दर्शनार्थीहरू पञ्चासे लेकको सबैभन्दा महत्वपूर्ण भाग सिद्ध बाबाको स्थानमा पुगी सिद्ध बाबासँग विभिन्न भाकलहरू गर्ने गर्दछन् । त्यसैले विभिन्न क्षेत्रका मानिसहरू विभिन्न खालका भाकलहरू लिएरसमेत् पञ्चासे लेकस्थित सिद्ध बाबाको स्थानमा आउने क्रम बढेको पञ्चासे क्षेत्र विकास समितिका अध्यक्ष गोपाल गुरूङले बताउनुभयो ।

पञ्चासे लेकका आकर्षणहरू ः

अनुपम प्रकृतिको सुन्दर दृश्यावलोकन पञ्चासे लेकको प्रमुख आकर्षण हो । साथसाथै पहाडी चुचुरोको घना जङ्गलको बीच भागमा रहेको कञ्चन र निर्मल पिपलपात आकारको ताल पञ्चासे लेकको अर्को आकर्षण हो । पर्वत, कास्की र स्याङ्जा जिल्लाका सदरमुकामबाट बिहान हिँडेर पञ्चासेको एक दिवसीय भ्रमण पूरा गरेर साँझ सम्बन्धित सदरमुकाममै फर्किनसक्नु आन्तरिक पर्यटकका लागि झनै महत्वपूर्ण आकर्षण भएको छ ।

पर्वत जिल्लाको चित्रे गाउँ विकास समितिबाट पञ्चासे लेकका लागि उकालो लाग्ने क्रममा बीचमा रहेको गनगने बाबाको स्थानमा रूख विरूवाबाट झरेका र सुकेका पातपतिङ्गरहरू चढाएपछि गनगने बाबाको गनगन शान्त हुने किम्बदन्ती अनुसार पैदल यात्रीहरूले गनगने बाबाको स्थानमा भुँईमा झरेका पातपतिङ्गरहरू चढाउने गर्दछन् । पर्यटकहरूका लागि यो पनि आकर्षण हुने रहेछ ।

नागवेली आकारको चुचुरोका चारस्थानमा रहेका गुरूङ (तमु) हिल टावर, विश्व शान्ति स्तुपा र बौद्ध गुम्बा, च्यवन ऋषिको आश्रम रहेको स्थान, पञ्चासे क्षेत्र विकास समितिको सचिवालय, लामो हिमश्रृङ्लाहरूको लस्कर दृश्यावलोकन गर्न सकिने गरी निर्माण गरिएको पञ्चासे टावर र सिद्ध बाबाको स्थान पञ्चासे लेकका थप आकर्षणहरू हुन् ।

अर्कोतिर वनस्पतिविज्ञहरूका लागि पनि पञ्चासे लेक आकर्षणका थलो हो ।

होमस्टेको सम्भावना ः

पञ्चासे क्षेत्रमा पुगेर त्यहाँको अलौकिक रसास्वादन गर्न चाहनेहरूका लागि पर्वत जिल्लाको चित्रे र आर्थर डाँडाखर्क गाउँ विकास समिति तथा छिमेकी कास्की जिल्लाको भदौरेतामागी गाउँ विकास समितिमा होमस्टेको सम्भावना प्रचुर देखिन्छ । किनभने यी तीनवटै गाविसमा बेलुका बास बसेको पर्यटक भोलि बिहान सवेरै पञ्चासे लेकमा पुगेर साँझ आफू बसेकै स्थानमा फर्किनसक्ने वा आज एक गाविसमा बसेको पर्यटक भोलि अर्को गाविसमा बस्नसक्ने अवस्था विद्यमान छ ।

चित्रे गाविसको वडा नम्बर २, ओख्लेमा होमस्टेका लागि ११ वटा घरहरू तयार भएर समितिसमेत् बनेको र पर्यटन वोर्डमा दर्ता गर्ने प्रकृयामा रहेको चित्रे आमा समूहका सचिव तथा पञ्चकोशी प्राथमिक विद्यालयका प्रधानाध्यापक शूसीला गुरूङले बताउनुभयो । उहाँका अनुसार, चित्रेमा गरिने होमस्टेमा बस्ने आन्तरिक तथा बाहृय पर्यटकका लागि उक्त गाविसमा बसोबास गरेका आदिवासी गुरूङ समुदायको रहनसहन, संस्कृति र जीवन शैली अध्ययन गर्ने वातावरणको तयारी पनि गरिने छ ।

सरकारले पर्यटन वर्ष घोषणा गरेको यस सन् २०११ र एक्काइसौं शताब्दीको विश्वले नयाँनयाँ, साहसिक र ट्रेकिङका लागि छोटो रूट भएका पर्यटकीयस्थल तथा क्षेत्रको खोजी गरिरहेको वर्तमान सन्दर्भमा प्रशस्त पर्यटकीय विकासको सम्भावना बोकेको पर्वत जिल्लालाई विश्वसामु परिचित गराउनसकेको खण्डमा पर्वत शताब्दीकै महत्वपूर्ण पर्यटकीय गन्तव्यस्थल बन्नसक्ने कुरामा विश्वास गर्न सकिने धेरै आधारहरू छन् ।

चैत्र १२, २०६७
शनिबार, गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *