Skip to content

जन्मको तिथि-मिति स्वीकार छोरा !


आकाशमा चिल
उँडेको दिन
ओथारोमा चल्ला
गन्ती गर्छु,!
मान्छे चिच्याएको दिन
‘मेरो कान्छा’ भन्छु !
बन्दुक भुकेको दिन
तिम्रो मुटु छाम्छु !
परदेशमा क्षेप्यास्त्र
झरेको दिन
हुलाकीको बाटो कुर्छु
बस्तीमा सुनामी
कुदेको दिन
सुरक्षित ओथारोमा राख्छु ।

तर पनि अदृश्य छु,
अदुर छु ,असक्षम छु
तिम्रो नजरमा
तिम्रो शहरमा
तिम्रो संसारमा
तिम्रो घरमा
अनि दुखै दु:खको
तिम्रो रहरमा ।

थाहा छ छोरा. ?
“सिमल भुवाहरू
हावा चल्ने बेला
आरु फुल्ने बेला
आकश गर्जंदा जन्मिन्छन्”
अनि तिम्रो जन्म!
हो यस्तै यस्तै हुरीको माझ
हो यस्तै यस्तै अँधेरी साँझ
अभावै अभावमा चेपिएर
कसैको दबाबमा हेपिएर
धारेढुङगासँगैको गाई-गोठमा
स्यौला र परालमा
सालनाल छोडेको हेक्का
आमा भन्ने अधिकार
दिलाएको हेक्का
यो मनको पानाहरूमा
दसी र दस्तखत ताजै छ ।

थाहा छ छोरा ?
“ज्वालामुखीहरू
ताप र चापको असमानताले
फूल फुल्ने बेला वा नफुल्ने बेला
मान्छे भुल्ने बेला वा नभुल्ने बेला
सुनामी डुलेपछि जन्मिन्छन ”
अनि तिम्रो जन्म!
हो यस्त यस्तै सुनामीको गतिसँगै
हो यस्त यस्तै ज्वारभाटाको बेगसँगै
सेन्दाइको किनारमा
लाभा र म्याग्माको रास नजिकै
पहिलो आँखा देखाइ
पहिलो पाइला टेकाइ
म आफै चिरा परेका
धर्तीका खोचहरूमा
छाल र भेलहरूमा
छोरा छोरा भन्दै खोजेको
धमिलो प्रतिविम्व
नयन वरपर डुलिरहन्छ ।

तिमी मलाई खोजी भौतारिन्छौ
चिच्याउँछौ तड्पिन्छौ
भोक मरिन्छौ रिसाउँछौ
अनि असाह्य, टुहुरा,
सडकेको सङकेतले मलाई धिकार्छौ
यसको अलाबामा,
म त तमोर र तावाको किनारमा
सभाखोलाको माच्छा झिरमा उनेर
झिक्रा र दाउराले पोलेर
ढुङ्गाको सिरानिमा खुल्ला आकाश ओढेर
तिमीलाई न्याम चपाइरहेछु
अब भन!
मेरो कुन चै स्नेही हात,
ममताको जुठोबाट बन्चित छौ ?

आप्पानी पाखाको जंगल,
जुगे जंगल
भिर कालीबन बाख्रा चराएको
सिर्कना खाएको
तिम्रो मानसपटलमा कुदिरहेछ
अनि म त्यही कालीवनमा
त्यही जङ्गलमा
बाघ-भालुसँग मुकाबिला गर्दै
खोल्मे र खराने टिपेर
काठका चेपुवा र कोलमा पेलेर
तिमीलाई घाम सेक्ने तेल निकाल्दैछु
अब भन !
मेरो कुन चाहिं न्यानो काखबाट बन्चित भयौ?
मेरो कुन चैं ममताको स्नेहबाट टाढा भयौ ?

फरक यति नै ,
तिमी मलाई देख्दैनौ म देख्छु
र त,
आमाको चिहान खोजिरछौ
तस्बिरको हेक्का गर्छौ
‘मेरो छोरा! मेरो कान्छा!’
चारकोशेको रङ्गिन चिहानहरूमा
मेरो पहिचान छैन
तर
घरै छेउको बिराउटे
तल्लो पाटो या तिम्रै बारी
या हाम्रै बारी
जहाँ तिते फापर मौलाउँछ
जहाँ तोरी र गहत मौलाउँछ
त्यही हो मेरो चिहान!
तसैलाई मान
किन थाहा छ?
सप्रिएको फापरले दुधे आन्द्रा भरियोस
अनि तिमी हाँस्नेछौ
बाच्नेछौ नाच्नेछौ,
सिमल भुवा उडेकै दिन
जन्म दिन ठान!
सुनामी डुलेकै दिन
जन्म दिन मान!
तिम्रो खुशी अस्त अस्त
जुन भई गह भिजाएर
डाडामाथि म पनि हाँस्नेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *