Skip to content

नौवटा कोट भएको नुवाकोटको सम्झना

  • by


पुस महिना । काठमाडौँ जाडोमा पहारिलो घाम तापेर बस्नु पनि आनन्दै हुन्छ । दिउँसोको १ बजेको छ । यत्तिकैमा बाहिर गाडीको हर्न बज्न थाल्छ । बा १ ज ४८७७ नं. को मारुती जिप लिएर कुशल चालक गोविन्दप्रसाद रिमाल आइसकेका छन् साथमा सहयात्री शाखा अधिकृत हरिहर पौडेल र ना.सु. तेजप्रसाद पौडेललाई लिएर । दिन हो २०६३ सालको पुस २० गते ।

नेपालको इतिहास जान्न/बुझ्न खोज्ने जोसुकैले पनि जीवनमा एक पटक नुवाकोट जिल्ला टेक्नु उपयुक्त हुन्छ । पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण अभियानको थालनी यसै जिल्लाबाट गरेका हुन् । यति महत्त्वपूर्ण जिल्ला घुम्ने मेरो धेरै दिनको अभिलाषा थियो । राजधानी नजिकै भएर पनि अनुकूल मिलेको थिएन । आज भने त्यो संयोग जुट्न पुगेको देखेर म प्रफुल्ल छु ।

काठमाडौँ कोटेश्वरबाट सुरु भएको यात्रा चक्रपथ हुँदै बालाजु उद्यान र बजारलाई बायाँ पारेर अघि बढ्छ । नागार्जुन वनको क्षेत्रभित्र प्रवेश गर्छौं । उत्तिसका बाक्ला रुख र वरपरको हरियालीले हामीलाई स्वागत गरिरहेझैँ लाग्छ । हिउँद महिना पतझडको मौसममा पनि उत्तिसले आफ्नो बैँस धानेर बसेको रहेछ । ठूलाठूला रुखका हाँगामा उत्तिसका छिद्रा पात यथावत् देखिन्छन् । विस्तारै उकालो सुरु हुन्छ । तल बेँसीमा देखिने गोलढुङ्गा गाविसका बाक्ला घरले उपत्यकाभित्रको जनघनत्व बढ्दै गैरहेको प्रमाणित गर्दछन् । यत्तिकैमा मुड्खु भञ्ज्याङ आउँछ । खास उपत्यका सकिए पनि काठमाडौँ जिल्ला सकिएको छैन तर उपत्यकाभित्रको कोलाहल, धूलो, धूँवा र दुर्गन्धबाट हामी पर पुगिसकेका छौँ । यहाँको वातावरण शान्त र रमाइलो छ । हरिया बोटविरुवा, रुख पातले भरिपूर्ण हुनाको साथै बाटाको दायाँबायाँ खेतहरूमा गहुँ उम्रिएर हरियै भएको देख्न पाइन्छ । ओशो तपोवन र ठाउँठाउँमा खुलेको रिसोर्ट र होटलहरूले ठूलाठूला क्षेत्र ओगटेका छन् । राजधानी नजिकै यस्तो खुल्ला र चौडा क्षेत्र पाउनु साँच्चै नै प्राकृतिक बरदान नै मान्नुपर्छ । बिदाका दिनमा राजधानीबाट विद्यार्थी र कर्मचारी सिङ्गै बस रिजर्भ गरी पिकनिक मनाउन यतै आइपुग्छन् ।

यत्तिकैमा तीनपिपले आउँछ जहाँबाट ओखरपौवाको सिसडोल जाने बाटो फाट्छ । यो उही ओखरपौवाको सिसडोल हो जो बेलाबेलामा निक्कै चर्चामा आउने गर्दछ । राजधानीको फोहोरमैला फाल्ने भनी व्यवस्था गरिएको यो ठाउँ मूलबाटोबाट डेढ किलोमिटर तल खाँेचमा पर्दछ । डम्पिङ साइड नजिक वरपरका गाउँले र बासिन्दाले कहिले स्वास्थ्य चौकी, कहिले स्कुल, कहिले घरैपिच्छे रोजगारीजस्ता माग राखेर अवरोध खडा गरी बेलाबेलामा आन्दोलन, चक्का जाम गरिदिनाले राजधानीको फोहोर कैयौँ दिन उठ्न नपाई बाटोघाटो र यत्रतत्र दुर्गन्धित भई नाक छोपेर हिँड्डुल गर्नु परेको सर्वविदितै छ । हुन पनि यस्ता अवरोध गर्ने समूह बेलाबेलामा एक छाडी एक निस्किरहन्छन् । एकको माग पूरा गर्न नपाउँदै अर्को समूह निस्किहाल्छ । यतिबेला भने त्यस्तो अवरोध केही नहुँदा फोहोरमैलाका गाडी निर्वाध हिँडेको हामी माथिल्लो बाटो हिँड्दा सजिलै देखिरहेका छौँ । तीनपिपलेपछि जीतपुर फेदी आउँछ । त्यसपछि पाँचमाने हुँदै अघि बढ्दै जाँदा ठूलो खोला भन्ने ठाउँ आउँछ । पानी बिनाको खोल्सोजस्तो परेको यो ठाउँले काठमाडौँ र नुवाकोट जिल्लालाई छुट्याउँछ । बाटैछेउ एउटा ठूलो ढुङ्गो देखिन्छ जसमाथि कतयलभ उबबिअभ नामको एउटा सिङ्गै रिसोर्ट खडा गरिएको देख्न पाइन्छ ।

अब हामी ककनी बजारमा प्रवेश गर्छौं । काठमाडौँबाट नुवाकोट लाग्दा यो पहिलो नाका र बजार हो । बजार भने ठूलो छैन । समुद्रको सतहदेखि ५,००० फिटमाथि रहेको यो ठाउँ काठमाडौँबाट २० कि.मि. मात्र उत्तर पश्चिममा पर्दछ । यहाँबाट देखिने हिमालहरू मनासलु, गणेश, जुगल, लाम्टाङ र गौरीशङ्कर हुन् । यो हिमाली दृश्य हेर्न पनि पर्यटक यहाँ आउँछन् । उत्तरायण फर्केको भञ्ज्याङजस्तो हरियालीयुक्त पाखामा सानो चिटिक्क परेको बाटाको दुवैतिर घर पसल भएको रमणीय ठाउँ हो ककनी बजार । बाटोको सुरुमै प्रहरी चौकीको जीर्ण र भग्न भवन देख्न पाइन्छ जो द्वन्द्वकालमा बम विस्फोट गरी क्षतिग्रस्त बनाइएको थियो । त्यसबेलादेखि नै यहाँ प्रहरी बस्दैनन् । अहिले प्रहरीहरू यहाँबाट आधा कोस टाढा पूर्व रहेको इलाका प्रहरी कार्यालयमा बस्छन् । अहिले यहाँ फेरि प्रहरी चौकीको माग भैरहेछ । यो चौकीको स्थापनार्थ ठूलै रकम खर्च गरेर पुरानो भवन पुनः निर्माण गर्नु पर्दछ । आधा कोस पूर्व केही समथर र उत्तर/दक्षिण फर्केको डाँडा-पाखामा अवस्थित ककनीको शिरमा नेपाल टेलिकमको टावरको सुरक्षार्थ बसेको सशस्त्र प्रहरी, जनपथ प्रहरीको अतिरिक्त महाविद्यालय, सेनाको एक टुकडी आदि सरकारी निकाय छन् । नजिकै रहेको ककनी कृषि फार्ममा उत्पादन हुने आरु, नास्पाती, स्याउ, आलु, मूलाले काठमाडौँ उपत्यकामा राम्रो बजार पाएको सर्वविदितै छ ।

ककनी बजार सकिनासाथ ट्राउट भिलेज आउँछ जहाँ ट्राउट माछा पाल्ने पोखरीहरू बाटाको तलमाथि देख्न पाइन्छ । कतै सामूहिकरूपमा र कतै घरघरै उत्पादन गरिने शरीरमा काँडा नहुने ट्राउट माछापालन व्यवसाय सुरुमा जापानी गैरसरकारी संस्थाले सिकाएको हो । अत्यन्तै स्वादिलो मानिने यो माछा काठमाडौँका ठूलाठूला होटलहरूमा अत्यन्त महँगोमा बिक्री हुन्छ र विदेशीको भोजनमा राम्रो परिकार बन्छ । चीसो र बग्ने पानीमा मात्र हुन सक्ने यो माछा अनुकूल वातावरणले गर्दा पनि यहाँ यसको व्यवसाय फस्टाएको मानिन्छ ।

ट्राउट भिलेजपछि यात्रा अघि बढ्दै जाँदा ३५ किलोमिटर भन्ने ठाउँ आउँछ । यसको पुरानो नाम जिरेथुम हो । काठमाडौँ-त्रिशूली सडकमार्ग बनेपछि भने यसको नाम ३५ कि.मि. रहन गयो । शायद राजमार्ग सुरु हुने काठमाडौँको बालाजुदेखि यहाँ ३५ कि.मि. हुनाले सुरुमा यसअनुसार नामाकरण हुन गएको हुनुपर्छ । यहाँ पनि सानोसानो बजार र चिया पसल छन् । यो क्षेत्रमा स्ट्रबेरी (भुइँमा फल्ने एक प्रकारको ऐंसेलु) गोभी, काउली र मूलाको उत्पादन निकै हुँदोरहेछ । यो स्ट्रबेरी पनि जापानी संस्थाले नै सुरुमा सिकाएको भन्दा रहेछन् । यहाँदेखि चार कि.मि. टाढा पर्ने रानीपौवासम्म नै मूलाको प्रशस्त खेती हुन्छ र काठमाडौँ निकासी हुन्छ । काठमाडौँको तरकारी बजारमा रानीपौवाको मूला भनी यसले प्रसिद्धि कमाएको छ ।

अब हामी बेलकोट गाविसको क्षेत्रमा प्रवेश गर्छौं । यो पनि एउटा ऐतिहासिक स्थल हो । यो जिल्लाभरि यस्ता कोट नौ वटा छन् ती हुन्- नुवाकोट, बेलकोट, कालिकाकोट, भैरबकोट, माताकोट, धुवाकोट, फासकोट, सिमलकोट, सल्यानकोट । नौ वटा कोट हुनाले यो जिल्लाको नाम नुवाकोट रहेको मानिन्छ । बाइसे चौबीसे राज्यको बेलामा आफ्नो राज्यको सीमा-सुरक्षाको निमित्त यस्ता कोट सुरक्षा र सामरिक दृष्टिले महत्त्वपूर्ण ठाउँ मानिन्थे । खासगरी आफ्नो राज्यको प्रशासनिक इलाकाको बीचमा अग्लो स्थान (थुम्को) वा टाकुरामा यस्ता कोट निर्माण गरिएका हुन्थे जहाँ शक्ति स्वरूपा भगवतीको मन्दिर पनि स्थापना गरी नित्यपूजाको साथै वडादसैँको महाष्टमी वा अरू त्यस्तै पर्वमा प्रशस्त बलिसमेत दिइन्थ्यो । स्थानीयस्तरमा भने त्यो चलन अझ पनि कायमै छ । हाल नुवाकोट, रसुवालगायतको क्षेत्र उसबेला काठमाडौँका राजा जयप्रकाश मल्लको अधीनमा थियो । पृथ्वीनारायण शाहको गोरखाली फौजले पहिलो विजय नुवाकोटमाथि पाएको थियो भने दोस्रो विजय यही बेलकोटमाथि पाएको थियो । त्यसबेला काठमाडौँका राजा जयप्रकाश मल्लका प्रतिनिधि जयन्त रानाले यहाँको तैनाथी समालेका थिए । उसबेला कोट रहेको ठाउँ (थुम) मा अहिले सशस्त्र सेनाको एउटा बेसक्याम्प छ । अगाडि, बढ्दै जाँदा मदनपुर गाविस सुरु हुनासाथ हरिया रुखपातसहितको जङ्गलको बीचमा दक्षिणबाट उत्तर फर्केर झर्दै गरेको सानोसानो झरना बाटैमा देख्न पाइन्छ । वषर्ात्मा भने यसले ठूलै रूपधारण गर्दोरहेछ ।

अब बेतिनीको सामुदायिक जङ्गल र त्यसपछि अमारे गाउँ र गाउँपछि ‘ज्ञानलाल नर्सरी’ आउँछ । नर्सरीपछि खानीखोला भन्ने ठाउँ पुग्दा ‘हो यहीनेर सांसद प्रेमसिंह धामीको दुर्घटनामा मृत्यु भएको’ भनी बाटो मुनितिर देखाउँदै चालक रिमाल भन्छन् । २०५४ साल भदौ २७ गते शुक्रबारको दिन दार्चुलाका सांसद प्रेमसिंह धामी, नुवाकोट जिल्लाका प्र.जि.अ. बद्रीप्रसाद फुयाल लगायत छ जनाको जिप दुर्घटनामा मृत्यु भएको थियो । सो दुर्घटनामा भूमिसुधार अधिकारी र ड्राइभरकी छोरी भने घाइते भएर पनि बाँचेका हुन् । पार्टीको कार्यक्रममा नुवाकोट, रसुवाको सिमानामा पर्ने बेत्रावतीबाट फर्कनेक्रममा यो दुखद् दुर्घटना भएको थियो । हामी एकछिन जिप रोकेर दुर्घटनास्थल हेर्छौं । बाटो त्यस्तो नराम्रो र असजिलो त छैन । सुगम बाटो, पिचसडक राम्रै छ तर के भन्नु ! दुर्घटना सजिलै ठाउँमा पनि हु्ँदोरहेछ । बाटो छेउबाट जिप करिब २०० फिट तल खसेको थियो रे । यति कुरा थाहा पाएपछि स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै हामी अघि बढ्छौँ ।

अब पाखुरेको टिगाउँ आउँछ । गाउँले बस्तीमा पिच बाटोमै विस्कुन सुकाउने चलन यत्रतत्र छँदैछ । केही दिनअघि मात्र यही गाउँमा एउटा घरअगाडि पिच बाटोमा कोदोको विस्कुन सुकाएको ठाउँमा एउटा ट्रक लर्केर दुर्घटना हुँदा ड्राइभर मरेको कुरा उनै चालकबाट थाहा पाएर हामी आपसमा कुरा गर्छौं “हैन हामीले बनाएको पिच सडक सवारी साधन गुडाउन हो या बाटोमा विस्कुन सुकाउन ?” पिच बाटोलाई आँगनको रूपमा प्रयोग गरिनु हुँदैन भन्ने चेतना हामीकहाँ कहिले आउने हो थाहा छैन । कहिले यस्तै सडकमा आँगन सरह केटाकेटी खेलिरहँदा दुखद घटना घटेको र मृत्युसम्म भएको पनि देखे, जानेकै कुरा हो । ओरालो र घुम्ती पार गर्दै हामी तादी खोलाको किनारमा पुग्छौँ । रसुवा जिल्लाको गोसाइँकुण्ड नजिक सूर्यकुण्डबाट निस्केर आउने तादी खोला यहाँ आइपुग्दा हिउँदमा पनि तर्न नसकिने भइसकेको हुन्छ । यो तादी खोला यहाँबाट एक किलोमिटर पश्चिमतिर गई त्रिशूलीमा मिसिन्छ । यही संगम क्षेत्रमा जालपादेवीको प्रसिद्ध मन्दिर पनि छ । यो संगमस्थल (दोभान) लाई देवीघाट भनिन्छ ।

तादी खोलाको पक्की पुल तरेपछि हामी विदुर नगरपालिकाभित्र प्रवेश गर्छौं । बगरपछि जताततै रातो माटो देखिने पानी विनाको सुख्खा फाँटको बीचबीचमा बस्ती देखिन्छन् । पीपलटार भन्ने ठाउँ आउँछ । जहाँबाट पृथ्वीनारायण शाहको देहावसान भएको ठाउँ देवीघाट पुग्ने एउटा बाटो फाटेर पश्चिमतिर लाग्छ । हामी भने फाँटको बीचबाटै उत्तरतिर लाग्छौँ । पीपलटारदेखि माझीटार बीचको विशाल समथर र सुख्खा भूमिलाई बट्टारभन्दा रहेछन् । बट्टार फाँटमा घैया, कोदो, मकै, पिँडालु, सखरखण्ड, उखु प्रशस्त हुँदोरहेछ । यो फाँटलाई सिँचाइ गरी हराभरा बनाउने उद्देश्यले २०२६ सालतिर बट्टार सिँचाइ आयोजनाले त्रिशूलीको पानी तानी सिँचाइ गर्ने प्रयास गरेको पनि हो तर बिजुलीको अनियमितता, महसुल बढी, किसानको क्षमता विपरीत हुँदा आयोजना असफल भई बन्द भएको रहेछ । बट्टार बजारको बीचैमा पश्चिमतिर एउटा बाटो फाट्छ । जहाँबाट देवीघाट जलविद्युत् आयोजना भएको स्थलतिर पुगिन्छ । हामी अझैँ उत्तर लाग्छौँ । विदुर बजार सुरु हुनु अगावै मैथली व्यारेकको सैन्य तालिम केन्द्र आउँछ र तालिम केन्द्र सकिनासाथ विदुर बजार सुरु हुन्छ । झमम्क साँझ पर्दछ । जिल्ला न्यायाधीश कृष्णप्रसाद बाँस्तोलाको आतिथ्यमा उहाँको निवासभित्र छिर्छौं ।

भोलिपल्ट हामी आफ्नो सरकारी काममा लाग्छौँ । जिल्ला न्यायाधीश बाँस्तोला, जिल्ला सरकारी वकिल सुदर्शन लामिछाने लगायत अदालतका सम्पूर्ण कर्मचारीबाट हाम्रो स्वागत गरिन्छ । दिनभरि सरकारी कार्यालयहरू जिल्ला प्रशासन, मालपोत, कारागार, वन कार्यालय आदि निरीक्षणको काम सकी बेलुकीपख त्रिशूली जलविद्युत् आयोजना हेर्न त्रिशूली नदीपारि बजारतर्फ लाग्छौँ ।

त्रिशूली बजार अघिको पुरानो बजार हो । त्रिशूली नदीको दायाँ किनारामा दक्षिणायन फर्केको सानो तर बाक्ला घर, साँगुरो गल्ली भएको उसबेलाको व्यस्त व्यापारिक थलो हो । त्रिशूलीवारि चौडा ठाउँ विदुरमा २०२४ सालमा सदरमुकाम स्थापना भएपछि बजार पनि उतै विस्तार हुन गयो । ठूलाठूला आधुनिक घर र जिल्ला स्तरीय सरकारी कार्यालय उतै बने । फलस्वरूप त्रिशूली बजार उपेक्षित र उजाड हुन गयो । यहाँबाट १४ कि.मि. पश्चिममा पर्ने सामरी भञ्ज्याङ (अहिले नुवाकोट र धादिङ जिल्लाको सिमाना) उहिले निकै चल्तीको बाटो थियो । “काठमाडौँ-पोखरा (पृथ्वी राजमार्ग) नबन्दै काठमाडौँ-पोखरा- गोरखातिरको आवागमन यही त्रिशूली बजार हुँदै सामरी भञ्ज्याङ भएर हुन्थ्यो । त्यसबेला त्रिशूली बजार निकै गुल्जार थियो । बाटा, गल्ली, दोकान जताततै मान्छेको भीड हुन्थ्यो, आजकाल सुनसान छ ।” एकजना आयुर्वेदीय औषधि बेच्दै गरेको पसलेले हामीसँग गुनासो गरे । अझै पनि जिल्लास्तरीय अस्पताल यहीँ छ जसलाई त्रिशूली अस्पताल भन्दछन् ।अब हामी त्रिशूली जलविद्युत् आयोजनातर्फ लाग्छौँ । त्रिशूली जलविद्युत् आयोजना २०२४ सालमा भारतीय सहयोगमा उसबेला १४ करोड भा.रु. को लागतमा निर्मित नेपालको पुरानो आयोजनामध्ये एक हो । गोसाइँकुण्डबाट प्रादुर्भाव हुने त्रिशूली नदीको पानी यहाँबाट ५ किलोमिटर जति माथि टुक्चे भैंसे भन्ने ठाउँमा रहेको इन्टेकमा जम्मा गरी नहरबाट ल्याई यहाँको पावरहाउसमा खसाली २४,००० किलोवाट बिजुली उत्पादन गरिएको रहेछ । यसरी खसालिएको पानी अर्को नहरद्वारा साढेचार किलो मिटर दक्षिण देवीघाट भन्ने ठाउँमा निर्मित अर्को पावर हाउसमा खसाली १४,००० किलोवाट बिजुली निकालिएको रहेछ जसलाई देवीघाट जलविद्युत् आयोजना भनिन्छ । यो पनि भारत सरकारकै सहयोगमा ७५ करोड रुपियाँको लागतमा २०४१ सालमा निर्माण गरिएको हो । यी दुवै आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रिडप्रणालीमा जम्मा गरी देशभरि प्रसारित गरिन्छ । यसरी दुई-दुईवटा जलविद्युत् आयोजना हुनुबाट पनि यो जिल्लाले देश विकासमा अग्रणी भूमिका खेलेको छ भन्नु अनुपयुक्त नहोला ।

झमम्क साँझ पर्छ । हामी त्रिशूलीको पुलतरी वारि निवासस्थान विदुरतर्फ फर्कन्र्छाैं । भोलि हामी पृथ्वीनारायण शाहको एकीकरण अभियानको क्रममा खडा गरिएको पहिलो राजधानीको प्रशासनिक केन्द्र नुवाकोट दरबार र देहावसान भएको ठाउँ देवीघाट संगमस्थल हेर्ने सपना देख्दै निद्रादेवीको काखमा लुटपुटिन्छौँ ।

चावहिल, काठमाडौँ

मधुपर्क २०६७ चैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *