Skip to content

सुदूरपश्चिमको गजलयात्रा

  • by


गजलकारको रूपमा सुनेको नाम टोपेन्द्र शाहले कार्यक्रमको दुई हप्ता जति अघि फोन गर्नुभएको थियो । स्रष्टा सम्मान कार्यक्रम छ, आइदिनुपर्‍यो भनेर । त्यति टाढाबाट सम्झेर बोलाएपछि नजानु त भाउ खोजेको जस्तो हुन्छ, के गर्ने होला भनी म अल्मलिएको थिएँ । व्यस्तताका कारण भ्याइन्न कि भनेर एक दुई दिनपछि फोन गर्नुहोस् ल मेरो काम हेरेर उत्तर दिउँला भनेको थिएँ । पछि मैले आफ्नो कामलाई घटाएर फुर्सद निकाल्ने भएँ । फेरि शाह भाइले फोन गर्नुभयो । त्यसबेला चाहिँ जाने मानसिकता बनाइसकेकोले कार्यक्रमका बारेमा विस्तृत रूपमा जानकारी मागेको थिएँ । त्यसबेला मात्र थाहा भएको थियो स्रष्टासम्मानका लागि त म पो बोलाइएको रहेँछु । मैले त्यता जान आउनका लागि कहाँबाट के के र कसरी गर्ने हो, त्यस्को बन्दोबस्त र व्यवस्थापनका लागि काठमाडौँको कसैलाई जिम्मा लगाउनुहोस् न है भनेपछि धनगढीका लागि जाने मिति पर्खेर बसेको थिएँ । सोही बमोजिम बैतडीका गजलकार एवं प्यासी गजल पत्रिकाका सम्पादक दीपसागर पन्त भाइलाई जिम्मा दिइएको रहेछ र उहाँले मलाई सबै व्यवस्था गरी गोङ्गबु बसपार्कबाट खप्तड डिलक्समा चढाउनेसम्म काम गर्नुभएको थियो ।

बस कम्पनी नयाँ रहेछ, व्यवस्थापन पनि राम्रो थियो तर टिकट लिने काम ढिला भएकोले मेरो सिट सबैभन्दा पछिल्लो भन्दा ठीक अघिल्लो मात्र परेकोले अलि बढी त हल्लने नै भयो । अब त बूढो पनि भइएछ क्यार ! यसपालि निकै कष्टकासाथ धनगढी पुग्न सकेको थिएँ । यस अगाडि पनि धनगढी गएको नै हो त्योभन्दा नराम्रो गाडीमा पनि तर यसपालि निकै समस्या परेको थियो । जेहोस्, म विशुद्ध साहित्यिक यात्रामा थिएँ । बेग्लै अनुभूति भइरहेको थियो । गोङ्गबु बसपार्कबाट गाडी ठीक दिइएको समयमै हिँडेको थियो । अचम्मै पनि लाग्यो समयमै गाडी हिँडेको पाउँदा । विस्तारै सडकको भीडलाई छिचोल्दै गाडी उपत्यकाबाट बाहिर निस्कियो । डिलक्स गाडीमा चढेर यात्रा गर्दा त शान नै आएको जस्तो पनि भएको थियो । प्रत्येक सिटमा पङ्खा पनि भएपछि त गर्मी पनि त्यति हुन पाएको थिएन तर मसँगै बस्ने भाइ उमेरमा आधा नै कान्छो हुनुपर्छ, उनलाई भने जाडो भएको देखेर म छक्क परेको थिएँ । बसको लामो यात्रामा म प्रायः दुःख महसुस हुन नपाओस् भनेर भरसक निदाउने कोसिस गर्ने गर्छु । यसपालि पनि त्यसै गरेँ । बाटोको जामले हामी दुई घण्टाभन्दा ढिलो भइसकेका थियौँ तै पनि खाजा खान भनेर गाडी धादिङको धार्केमा रोकेको थियो । बस यात्रुहरूको बसमा हुन्न । त्यसैले गाडीको कर्मचारीलाई आफ्नो सम्पर्कको होटलमा रोक्नबाट कसैले रोक्न सक्दैनथ्यो । फेरि बाटोको खाजा उही पाराको त हुन्छ नि । मैले पनि भरे खाना समयमा होला कि नहोला ? सारैसारै टुङ्गो नहुने भएकोले जबरजस्त खाजा खाएको थिएँ । गाडीको व्यवस्थापनभित्र पानी र खाना भए पनि खाजा भने रहेनछ तर पत्रिका पनि पढ्न पाइने भएपछि मलाई त झण्डै प्लेनजस्तै पनि लागेको थियो । ठीक्क सिटबमोजिमको यात्रु राखेर सरासर हिँडाएकोले हामी सबै खुसी थियौँ । खानाको कुपन बनाउने, पत्रिका बाँड्ने र पानीको बोतल बाँड्ने बेलामा गाडीको कर्मचारीको अनुहार राम्ररी हेरेँ, अलि अलि लाजलाज मानेजस्तो देखिन्थ्यो । यस्तो तरिका अरू गाडीमा नभएकोले उनीहरूले यसो गर्नुपर्दा लाज मानेको जस्तो लाग्यो । भर्खर सुरु भएको कम्पनी पनि थियो त्यो । खाना भने गैँडाकोटमा खुवाएको थियो । खाना पनि त्यतिकै राम्रो थियो । बस र बसका कर्मचारीसँग त्यति खुसी भएका यात्रुहरू यसपालि मात्र भेट्टाएको हँु मैले । मजस्ता पानी धेरै खानुपर्ने यात्रु त झनै खुसी थिएँ किनकि बसका चालकलाई नै मलाईभन्दा बढी शौचकार्य गर्नका लागि गाडी रोक्नु पर्दोरहेछ । मोराहरू शौचकार्य गर्दा पनि रातको समय भएकोले होला कोही सडक बीचमै, कोही त्यही गाडीको चक्कामा ध्वारारारा….. पार्छन् माथि झ्यालबाट देख्छन् भन्नु पनि छैन ।

बडो दुःखका साथ रात बित्यो । बिहान भयो । कणर्ाली पुलपारि चिसापानीमा नित्यकर्मको लागि रोकियो गाडी । समस्याचाहिँ मलाई नै थियो । राम्रो व्यवस्था भएको ठाउँमा त मलमूत्र त्याग गर्न धेरै समय लाग्ने मलाई कणर्ालीको किनारामा बाक्लो वन पनि नभएको ठाउँमा मान्छेले देख्छन्कि भन्दै कसरी नित्यकर्म फत्ते गर्ने होला ! बडो आपत परेको थियो ।

हामी ओर्लियौं । मैले त्यहीबेला ठीक गरिएछ भन्ने लागेको थियो ट्वाइलेट पेपर बोकेकोमा । बसका यात्रीहरू एकोहोरो एकातिर हूल बाँधेर लागेको देखेपछि मचाहिँ पुलमुनि पो जानुपर्‍यो भनेर एक्लै अर्कोतिर लागेँ । उता हूल गएको तिर मान्छे आउने खतरा बढी थियो कि म गएतिर स्थानीय मान्छे नभएकोले भेउ पाइएन । म आफूलाई सुरक्षितै ठानेर यसो पुलैमुनि त हैन छेउछाउमा पानीले खोलेर भित्ता खोलेको ठाउँमा हिम्मतकासाथ बसेँ तर एकैछिनमा चार/पाँच जना केटाहरू गफ गर्दै पुलमुनि किनारैकिनारै पो आइरहेका थिए । लौ अप्ठेरोमा परिहालियो नि । लाज पचाएरै बसिरहँु कि भनँे तर त्यसो गर्न सकिएन, भरे माथि बजारमा निस्कँदा तिनै केटाहरू भेटिए भने त सकिएन र ? भनेर म यसो उठेको थिएँ । त्यसैबेला उनीहरूको आँखा म तिर परिहाले । धन्न म जोगिएको थिएँ । ती केटाहरूले म त्यहाँ हुनुको अर्थ थाहा पाए तर ध्यान दिइरहने कुरो पनि भएन र उनीहरू आफ्नो सुरमा लागे गफ गर्दै । म फेरि बसेँ । यसरी मेरो सुदूरपश्चिम यात्राको कठिन समय टरेको थियो । मेरो स्वास्थ्यको कारण लामो यात्रामा मूल समस्या नै यही हुने गर्दछ । कणर्ाली पुलको किनारामा यो मेरो दोस्रो पटकको ओर्लाइ थियो । निकैपल्ट पुल तरे पनि ओर्लेरै यताउति गरेको मात्र दोस्रो पल्ट थियो ।

पन्ध्र घण्टाभन्दा बढीको यात्रा गरिसकेको त्यो बेला निद्रासमेतको कारणले जीउ निकै थाकिसकेको थियोे । बल्लबल्ल चिसापानीबाट करिब दुई घण्टा जतिमा धनगढी बसपार्कमा ओर्लिएँ । त्यसबीचमा दीपसागर र टोपेन्द्र भाइसँग बारम्बार मोबाइलमा सम्पर्क भइरहेकै थियो । म भोकको पनि अनुभव गर्दै थिएँ । त्यसैले मैले कीरा त पाइन्न नि भन्दै पसलेबाट फ्रुटी किनेर पिउँदै टोपेन्द्र शाहलाई पर्खन थालें । एकैछिनमा उहाँ आइपुग्नुभयो । म चिन्न सक्छु कि सक्दिन होला भन्दै बसेको थिएँ । पहिले परिचय भएको थियो कि थिएन थाहा छैन तर यसो हेर्दैमा शाहको अनुहार मलाई परिचित अनुहार लागेको थियो । सीधै तपाईं हो मलाई लिन आउनुभएको भनेर सोध्ने हिम्मत आएको थियो परिचितझैं लागेर । मलाई उहाँले मोटरसाइकलमा चढाएर कृषि विकास बैङ्कको गेस्टहाउसमा लानुभयो । आयोजकको बढी खर्च पो हुन्छ कि भन्ने मलाई लागिरहन्थ्यो । म केही ढुक्क भएको थिएँ । सरकारी गेस्टहाउस होटलको तुलनामा सस्तो नै हुन्छ भनेर र सुरक्षाको हिसाबले पनि धेरै उत्तम हो । उहाँहरूले खानाको व्यवस्था गरेपछि मेरो बायोडाटा लिएर जानुभयो । त्यति छोटो समयमा सारै आकर्षक पाराले अभिनन्दन पत्रको तयारी गरेको देख्दा र अन्य तयारी देख्दा सारै प्रशंसनीय थियो आयोजकको खटाइ । त्यही दिनको दिउँसो एक बजेको समय थियो कार्यक्रमको समय तर नेपाली समय न हो सुरु भयो करिब साढे दुईतिर मात्र । ठीकै पनि लागेको हो मलाई । त्यति ठूलो कार्यक्रम समयमा सुरु गर्न कठिन नै थियो ।

खासमा म राति बसमा सुत्नु नसकेको कारणले सुत्ने धुनमा थिएँ तर समय नै पाइएन । जनसाहित्यिक मञ्च, कैलालीका उपाध्यक्ष गजलकार खनाल मेघनाथ बन्धु र अन्य केही साथीहरू भेट्न आउनुभएको थियो । आफ्नो सङ्गठनको गतिविधिहरूको बारेमा जानकारी लिएको थिएँ । त्यसपछि यसो एकैछिन झपक्क आँखा लागेको मात्र थियो सुत्नै सकिएन । समय नमिल्दा पनि न खाना रुच्छ न निद्रा लाग्दोरहेछ । त्यही गेस्टहाउसमा यसपालिको पत्थर गजल साधना सम्मान, २०६१ का विजेता पोखराका ईश्वरमणि अधिकारी र उनकी सहधर्मिणी साहित्यकार रीता अधिकारी पनि रहनुभएको थाहा पाइयो । आयोजकबाट सुरुमै परिचय गराइएपछि अलिकति मलाई हलुका भएको थियो । एक्लै त भइएन भनेर । परिचय भएपछि केही साहित्यिक गफ भए तर थकाइ र नुहाइधुवाइको कामले धेरै गफ हुन पाएन । उहाँहरूलाई मलाईभन्दा दुःख भएछ । सुदूरपश्चिमको बन्दको हल्लाले नेपालगञ्ज हँुदै हाँफ र झाँप गरेर धनगढी आइपुग्नुपर्दा । खाना खाएपछि हामी केही छिन सुस्तायौं । म नुहाइधुवाइका लागि बाथरुम पसें तर छक्क पर्दो कुरा चाहिँ त्यहाँको पानी जमिनबाट झिकिएको रहेछ तर रातो लेदो नै आउँथ्यो । तराई फाँटका अन्य सहर बजारमा पनि यस्तो हुनुपर्ने नि त्यहाँ मात्र त्यस्तो पाइएको थियो तर पिउने पानीचाहिँ राम्रै राखिएको थियो । खानाबाहेक अन्य कार्यकै लागि पनि त्यो पानी राम्रो थिएन । नुहाइधुवाइ र खानापछि कार्यक्रमको एक बजेको समय भइनसकेकोलेे तयारी अवस्थामा बसेका थियौँ । समय भएपछि खबर गर्छौं भनेकाले हामी कुराकानी गर्दै बस्यौँ ।

दुई बजेपछि खबर आयो अब आउनुहोस् भनेर र हामी हिँड्यौं रिक्सामा । ओम पार्टी प्यालेसमा कार्यक्रम राखिएको रहेछ । धनगढीमा त्यस ठाउँलाई राम्रो र ठूलो ठाउँ मानिने रहेछ । मान्छेको उपस्थिति राम्रो थियो । साहित्यकार एवं प्रकाशक रामदेव पाण्डेले अघि फोनमै बताउनुभएको थियो इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डिन प्रा. डा. जीवराज पोखरेल पनि धनगढीमा आइपुग्नु भएको रहेछ । प्रसङ्गवश उहाँहरूको परिचय भएको रहेछ । रामदेवले हाम्रो कार्यक्रमको बारेमा बताएपछि उहाँ र साथी पनि कार्यक्रममा आउनुभएकोले मलाई पो फाइदा भएको थियो । मैले २०३२ देखि २०३४ सालमा पुल्चोक क्याम्पसमा पढ्दा पोखरेल त्यहाँ पढाउनु हुन्थ्यो तर मलाई चाहिँ पढाउनु भएको थिएन । मेरो उहाँप्रतिको रुचिको कारण अर्कै थियो । २०३३ सालमा होला, क्याम्पसमा एउटा सांस्कृतिक कार्यक्रम भएको थियो । त्यसमा पोखरेलले हालका प्रा.डा. अम्बिका अधिकारी हो कि कोसँग त्यसबेलाको अत्यन्त चर्चित गीत हिमालयन्सको होला गाजलुले आँखै छोपी के राम्री मेरी मायालु भन्ने गीत गाउनुभएको थियो । म पनि लाजले त्यस्तो कार्यक्रममा निस्कने आँट नभए पनि गीत सङ्गीतप्रति हुरुक्क हुने मान्छे, त्यो गीत सुन्दा पनि हुरुक्कै भएको थिएँ । मेरो शिक्षक भएको भन्दा पनि त्यो कारणले म प्रा.डा. पोखरेललाई मनपराउथेँ । उहाँ र एकजना मलाई जान्नुहुने साथीसमेतलाई त्यही ढोकामा भेट्दा म औधि खुसी भएको थिएँ । विशेष गरी युवाहरूको उपस्थितिले गजलको आकर्षणको उमेर समूहको जानकारी जनाइरहेको थियोे । हल टन्न भरिएको थियो । बल्ल साढे दुई बजेतिर कार्यक्रम सुरु भयो । उद्घोषकले माइकमा आफ्नो कार्यसूचीअनुसार काम थाले । अरूबेला नाम सुनेको प्रा.डा. हेमराज पन्तसँग प्रत्यक्ष भेट हुनपाएकोमा निकै सुखानुभूति भएको थियो भने नेपालकै महिला गजलकारहरूको सिङ्गो र एकल नेतृत्व सम्हालिरहेकी श्रेष्ठ प्रिया पत्थरसँग पहिलो पल्ट भेट भएको थियो । पश्चिमको सेतो गुलाफ उपनाम पाएकी पत्थरको सुदूर पश्चिममा देखिएको गजल क्षेत्रको नेतृत्व लोभलाग्दो र ईर्ष्यालाग्दो रहेछ । उनलाई नयाँ गजलकारहरूबाट श्रद्धापूर्वक गरिएको दिदी र दिज्यू शब्दहरूको प्रयोग नै बहुत हार्दिक र इज्जतिलो सुनिन्थ्यो । त्यस गजल गायन तथा स्रष्टा सम्मान कार्यक्रमभरि प्रियालाई गरिएको सम्बोधनले उनको सुदूरपश्चिम क्षेत्रको गजलकारहरूको अभिभावकत्वको प्रमाण गरिरहेको थियो । म हलमा पुगेपछि अघिल्लो अतिथि सिटमा राखिएँ । त्यसैबेला नै स्रोता दीर्घाको पहिलो पङ्क्तिमा बसिरहनुभएको व्यक्तिहरूमा मेरो ध्यान गएको थियो । मैले हेर्दै जाँदा उनमै आँखा अडिन पुग्यो र त्यताबाट पनि मलाई हेर्ने मध्येबाट मैले हेरेकै महिला जुरुक्क उठेर आउनुभयो र परिचय गर्न उत्सुकता दर्शाउनुभयो । मलाई त थाहा भइहाल्यो उनै श्रेष्ठ प्रिया पत्थर हुन् भनेर । मैले पत्रपत्रिकाहरूमा फोटो देखेकै आधारमा चिन्न सकेको थिएँ । प्रियालाई त म एउटा नौलो मान्छे फलाना आउँदैछन् भनेपछि झनै सजिलो थियो चिन्नलाई ।

अहिले मलाई लाग्न थालेको छ वास्तवमा सुदूरपश्चिमलाई मैलेजस्तै अझै पनि धेरैले बुझेका छैनन् । सुदूरपश्चिमको सक्रियता, क्षमता, सुन्दरता, स्तरीयता, र सङ्ख्यात्मक हिसावलाई हेपेकै पनि हुनसक्छ सहरबजारका गजलकारहरूले । अब यसपछि मैले जसरी सुदूरपश्चिमलाई हेर्न थाले त्यसरी नै हेर्नुपर्छ भन्ने मेरो दावी पनि छ । त्यहाँ के छैन र यहाँ काठमाडौँमा भएजस्तो । सबैभन्दा ठूलो कुरा प्रियाको पूर्णअभिभावकत्व छ जसलाई विम्बात्मकरूपमा भन्नुपर्दा पोथीले चल्लाहरू छोपेर हुर्काएजस्तै अनुभव हुन्छ सुदूरपश्चिममा नयाँ गजलकार र प्रियाको सम्बन्ध हेर्दा । यो चाहिँ काठमाडौँभन्दा धेरै नै हो । त्यसैले म भन्छु यहाँभन्दा त्यहाँ धेरै छ । त्यहाँ गजलकार, गजल सङ्गीतकार र गजल गायक तीनै विधाका सर्जकहरूको राम्रो उपस्थिति छ । त्यहाँका गजल सङ्गीतकारहरू चर्चितहरूको पछिमात्र लागेर नाम कमाउने धुनमा देखिन्नन् । सुदूरपश्चिमकै गजलकारका गजलमा सङ्गीत गरेर गाएर उनीहरूको गजलगायनमा नाम चलिसकेको रहेछ । गजलैपिच्छे आउने सेरहरूका स्वरमा साथ दिन पुग्ने परिस्थिति पो रहेछ । त्यसको अर्थ गजल गायनले स्थान र प्रचार पाइसकेको बुझिन्छ । सुदूरपश्चिममा नेपालमै चर्चा पाइसकेका गजलकारहरूका साथमा निम्नानुसारका विभिन्न जिल्लाका १९३ भन्दा बढी गजलकारहरू र सङ्गीत तथा गायनतर्फ एक दर्जनभन्दा बढीको सक्रियता देखिन्छ ः

दार्चुला ः जयदेव जोशी ‘दार्चुले’, वीरेन्द्रप्रसाद जोशी, इन्द्र बम ‘घायल’, दीपेन्द्रसिंह विष्ट, नवीन कल्पित, रमकेश खत्री आदि ।

बैतडी ः स्व. देवराज भट्ट शर्मा, वीरबहादुर चन्द, कृष्णसिंह पेला, प्रकाश चन्द, पुष्करराज भट्ट, दीपसागर पन्त ‘प्यासी’, निरञ्जन बम, निस्तेज, वासुदेव पाण्डेय ‘प्रभाकर’, हेमबाबु लेखक, जुनू भट्ट, रमेश पन्त, एम.के. सलेनी,. दीपेन्द्रबहादुर चन्द, प्रकाश पैंतोला, लोकेश साउद, जानुका पन्त, पुरन दयाल, केतु चन्द, वसन्ती भट्ट, गोकर्ण दयाल, टेक विक, करन हितैसी, चित्र लेखक, रीता चन्द, पद्म बोहरा, योगेन्द्र अवस्थी, कपिलविवश भट्ट, राजेश रावत, महेश जोशी, स्व. वासुदेव पन्त, वीरबहादुर गडाल, घनश्याम लेखक, भगीरथ लावड, जनक भूल, सुरेन्द्र अवस्थी, नन्दराज भट्ट, माया जोशी, पूजा भट्ट, बच्चु विक, मदन तृषित, रघुनाथ जोशी, प्रेमसिंह विष्ट, पुरन पैंतोला, धना जोशी, उत्तर ऐरी, जयप्रकाश पैंतोला, कर्ण दयाल, धर्म भट्टराई ‘स्पर्श’, प्रकाशदत्त जोशी, दीर्घराज जोशी, भरत खत्री, राजेन्द्र पन्त ‘तारकिणी’, जनक पन्त ज्योति, प्रकाश पन्त, ऋतु कुँवर, नरेन्द्र भट्ट अञ्जान, नरेश विक, फणीन्द्रराज पैंतोला, दिनेश नागरी, राजेन्द्र अवस्थी, देवेन्द्र लावड, शान्ति लेखक, गीता जोशी, हीमा चन्द, केशव कुवँर आदि ।

डडेल्धुरा ः निर्मला बोगटी विष्ट,जनक रसिक, आर.डी. प्रभास चटौत, पद्म गाउँले, सिन्धु चटौत, धनबहादुर भण्डारी, कैलाश पाण्डेय, त्रिमल साउद, कपिल शर्मा, सागर साउद, तेज चन्द, अमर साउद आदि ।

डोटी ः हेमन्त विवश, धनविवश कैदी, झलकपाली झरना, तेजविक्रम शाही, हेम सरोवर, लोकेश शिरीष अधिकारी आदि ।

अछाम ः स्व. पहलमानसिंह स्वार- ललिजन रावल, रावल कृष्ण, भरतरोदन साउद, देवेन्द्र सुगाला, गणेश सोडारी, अभागी भजन साउद आदि ।

कैलाली ः श्रेष्ठ प्रिया ‘पत्थर’, खुश्वुराज शाही, रामलाल जोशी, दिव्य साउद, निर्दोष डेविट, ऋचा लुइटेल, अमृता ठकुरी, आर.जे. अविरल, टोपेन्द्र शाह,टी.एन. जोशी, शिवराज योगी, लक्की चौधरी, मीनबहादुर थापा, अशोक बोहरा, सेतराज सङ्गम, रमेश जमाल, खनाल मेधनाथ बन्धु, कृष्णराज भट्ट,. मिलन सम्राट, हरिकृष्ण कडायत, सिद्धराज जोशी प्रभात’, सीताराम भट्ट, रमण पनेरू, तारा भट्ट पल्लावी, दीपा ऐर ‘उदासी’, हेमन्ती जोशी, वासुदेव पाण्डेय, तिलक समर्पण, त्रसित वसन्त, दिपिका भट्ट, पुष्प दर्पण सापकोटा, वाई.पी. जोशी, चक्रबहादुर चन्द, दीपा ढकाल, कृष्ण पनेरु ‘वञ्चित’, बम मितभाषी, पुष्पकुमार शाही, देवकी निरौला, एम. टेर्रा वास्तविक, गजल सुमी, दीपा विष्ट, कमल विरही थापा, टेकबहादुर ठकुल्ला, तपराज विनाडी, दीलिप झा सागर, बलबहादुर रावत, दीर्घराज अनुराग, तपेन्द्र शाह, अशोक बोहरा, गुणकर पनेरू, आदर्शदीप रावल, सम थापा ‘भारद्वाज’, पुष्प पसेली, हर्क देवकोटा, सन्तोष थापा, जयसिंह ज्यामी, जनक बटाला, लक्ष्मण गौतम, हेमराज खड्का, भरत विष्ट, जमुना बोहरा, अविनाश दहित, मीनबहादुर ठकुरी, काशिराम ढुङ्गाना आदि ।

बझाङ ः विनोद सिंह आनन्द, प्रसाद पुरी, मानबहादुर बोहरा, ज्योतिप्रकाश जोशी आदि ।

बाजुरा ः मीनप्रसाद निर्दोष आदि ।

कञ्चनपुर ः गोविन्द शृङ्खला, अङ्कुर चन्द, विवश गिरी, दिनेश भण्डारी, प्रेमराज जोशी, देवदास, नवराज जोशी, अर्जुन धानुक, जगत गिरी, के.पी. कलौनी, टेकु बज्रपात, श्यामकुमार पाखि्रन, राम ओली, सिर्जन श्री, प्रजापति नेगी, प्रेमिनन्दन प्यासी, यज्ञराज अवस्थी, विष्णु अवस्थी, गीता जोशी, सीता अर्याल, दीपा भण्डारी, गङ्गा रिजाल, निमा काफ्ले, दीपक चालिसे, हरिप्रसाद खतिवडा, सरगम राज, द्रोपति ओझा आदि ।

गजल सङ्गीत तथा गायनतर्फ ः तिलसिंह पेला, शिशिर साधक, मोनिका गुरागाईं, वसन्त साधक, रामेश्वर चौधरी, नन्कु चौधरी, टोपेन्द्र शाही, कमल विष्ट, बिनिता सोडारी, राजेश कैदी, सुवास सिलवाल, हरिश क्षेत्री, पी. एल् जोशी, दिनेश रतन, बी.के.नारायण, उपेन्द्र शाही, रोशन के.सी.,पुष्पा बोहरा, अर्जन सुनाम आदि ।

डेढ दर्जनभन्दा बढी राम्राराम्रा गजल गायकहरूको र गजल सङ्गीतकारहरूको समूह रहेछ त्यस क्षेत्रमा । उनीहरूको काठमाडौँसँग घनिष्ठता छ भन्दैमा उनीहरूले आफ्नो कर्मक्षेत्रलाई हेपेनन् र सबै धुरिएका थिए धनगढीमा त्यसबेला । आयोजकहरू मेरो उत्सुकताको उत्तरमा भन्थे उनीहरू कतिपय त काठमाडौं र नेपालगञ्जबाट यही कार्यक्रमका लागि आएका रे । त्यो सुन्दा मेरो तिर सानो वा ठूलो कार्यक्रमको हिसावमा आउने र नआउने कलाकारहरूको भारी सम्झना पनि आएको थियो । त्यताका अर्जर्ुन सुनाम जस्ता गजल गायकलाई आफ्नो क्षेत्रको माया रहेको देखिन्थ्यो । यस्ता राम्रा कलाकारहरूको भीडमा प्रियाको गजल तिमी मेरो दिलमा उदाएर आयौँ, तिमी चाँदनीमा नुहाएर आयौँ ले उधुमै उचालेको थियो दर्शकलाई । शिशिर साधकको स्वर र सङ्गीतमा त्यो जमेको थियो । त्यसैगरी आजका चर्चित गायिका अञ्जु पन्तले गाएको गजल ‘नबिर्से तिमीलाई’ लाई सानी बहिनी मोनिका गुरागाईंले जस्ताका तस्तै गाएको सुन्दा म चकितै भएको थिएँ । गजल गायकहरूको प्रस्तुतिमा पूर्ण विश्वस्तता उल्लेखनीय कुरा थियो त्यसले नै उनीहरूको क्षमतालाई प्रमाणित गरिदिएको देखिन्थ्यो । गायक र बाद्यवादकहरूका बाजामा चलिरहेका अभ्यस्त हातहरू हेर्दा उनीहरूलाई यताका गजलगायकहरूको कोटिमा नराखी धरै पाइन्नथ्यो ।

त्यस कार्यक्रमलाई र वरपरका गजलमय वातावरणलाई हेर्दा मलाई निम्न कुराहरू भन्नैपर्ने लागेर अन्त्यमा आफ्नो मन्तव्य दिनेक्रममा भनेको पनि थिएँ –

म समकालीनतामा कम ध्यान

म युवा जमातको वाहुल्यता

म शृङ्गारिक गजलको प्राधान्यता

म गजलकार, गजल सङ्गीतकार र गजल गायकहरूको त्रिवेणीमय एकता ।

म राष्ट्रियरूपमा चर्चित कलाकारहरूमा समेत आफ्नो क्षेत्रको प्रेम ।

म गजलकारबाहेक गजल गायक र सङ्गीतकारको समेत राम्रो सङ्ख्या ।

म गजल रत्न पुरस्कारको स्थापना ।

म पत्थर गजल साधना सम्मानको स्थापना ।

म प्रत्येक वर्ष एक पुरानो गजल स्रष्टाको सम्मान ।

म पहाडीया गजलकारहरू प्रशस्त ।

म उमेर ढल्केका समेत गजल विधामा सक्रिय र स्थापित ।

म सुदूरपश्चिम गजलको राजधानी नै हो ।

सङ्गीत र गायनसँगै यति धेरै मिसिएको र अग्रजप्रतिको सम्मानका आवाजहरू यति धेरै सुनेको ठाउँ सुदूरपश्चिम नै लाग्यो मलाई । प्रियाको त कुरै भएन टोपेन्द्र शाह, हेमन्ती जोशी, लक्ष्मण कुँवर, दिव्यसागर साउद, सीता कार्की आदिको गजलहरूको सङ्गीतमय प्रस्तुतिले त्यहाँका श्रोताको मन त तान्यो नै, म यताबाट गएको र यता बजारको गजल गायकीसँग केही हदसम्म परिचित मान्छेको मन समेत तानेको थियो । नेपालमा गजल सङ्गीत र गायनको नयाँ प्रवेशको कारण नै होला बजारमा समेत गजल गायन विभिन्न तालमा खेल्न नसक्ने अवस्थामा त्यहाँ पनि त्यस्तै देखियो । केही कहरवा र दादरा, बढी चाहिँ खेम्टामा गजलहरू गाइएका थिए । केही अलाप तान्ने तरिकाहरू पनि हिन्दी गजलहरूको शैलीमा पाइए । वास्तवमा गजल गायनलाई ठ्याक्कै नेपालीकरण गर्न बाँकी नै रहेछ भन्ने पनि देखियो तर समग्रमा भन्दा कसैले पनि यता काठमाडौँकालाई ठूलो ठानेर कुरा गर्न नसक्ने अवस्था चाहिँ सुदूरपश्चिममा पक्कै भेटियो । नेपाली गजल विधालाई परिष्कार र स्थापित गराउनमा त्यस क्षेत्रको अमूल्य योगदान रहेको छ ।

अब मेरो त्यहाँ जानुको अर्थ सकिएको थियो । फर्कनलाई समस्या पर्‍यो । मलाई छिटोभन्दा छिटो काठमाडौँ फर्केर तेह्रथुमका लागि तयार हुनुपर्ने भएकोले आयोजकलाई जहाजको कुरा भन्न पनि गाह्रो परिरहेको थियो तर मैले अप्ठेरो मानीमानीकन आयोजकलाई म आधा भाडा बेहोर्छु जहाजको टिकट मिलाउन लाग्नोस् न है भनेँ । यसरी म आयोजकलाई मर्कामा पारेरै भएपनि जहाजबाट काठमाडौँ फर्केको थिएँ ।

माझगाउँ, तेह्रथुम

मधुपर्क २०६७ चैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *