Skip to content


मानिसमा विद्यमान ज्ञानरूपी शृङ्खलाका अनेकन रूप-स्वरूपहरूमध्येकै एक प्रमुख अङ्ग ज्योतिष विद्या मानिएको छ । यसलाई ज्ञानको आँखा पनि भनिन्छ र साहित्यसँग गहिरो तादाम्य राख्दछ । साहित्यकलाजस्तै यो पनि एउटा कलापक्ष हो ज्योतिष रहस्यमय रहे पनि चमत्कारिक नभएर विज्ञान हो भनिएको छ । ज्योतिष संरचना कार्यरत र पेसागत व्यवसायको रूपमा त्यति फलिभूत हुन नसके पनि यो परम्परा र संस्कृति आवद्ध विषय हो । अध्यात्मवादीहरूले यसलाई आफ्नो मूलमन्त्र बनाएका छन् भने भौतिकवादीहरूले जडसूत्र र परम्परागत रूपमा लिएका छन् । यी दुबैबीचको अन्तर्द्वन्द्व भनेको एकले स्वीकारेको र अर्कोले तिरस्कार गरेको पक्ष हो । राशिफल प्रदर्शन गर्ने ज्यातिषाचार्यले पनि राशिमा जेसुकै कुरा लेखिएको र भनिएको भए पनि कर्म छोड्नु हुँदैन भन्ने सन्देश दिने गरेका छन् । हरेक मानिसका आ-आफ्नै उद्देश्य, योजना र आकाङ्क्षाहरू हुन्छन् नै र तिनलाई सफल पार्न ज्योतिषको आड खोज्ने गर्छन् तर सफलता र असफलता आफ्नै हातमा निर्भर रहन्छ । यसैकारण पनि खोज र अन्वेषणका क्रममा ज्योतिष र साहित्यको सम्बन्ध नजिकिन पुग्दछ ।

यही शृङ्खलाअन्तर्गत कपिल अज्ञात कविता, साहित्य सिर्जन-प्रक्रिया, समालोचनाको सन्दर्भ, पत्रसन्देश, अनुभूतिका उमङ्ग, समयसमयका स्वरहरू, भूलहरूका विरुद्ध समीक्षा-सन्धान तथा देवकोटा आयाम र प्रवृत्ति गरी नेपाली साहित्यको विविध विधामा नौवटा कृतिहरू प्रकाशित गरिसकेका रचनाकार कपिल अज्ञात अर्थात् कपिलमणि शर्मा रेग्मी पछिल्लो पटक ज्योतिष र साहित्यजस्तो रहस्यमय कृति प्रकाशित गरेर नेपाली साहित्य र ज्योतिषका अध्येता-पाठकबीच अझ बढी रहस्यको उद्घाटन गरेका छन् । त्रिविवि सेवाअन्तर्गत प्राध्यापन कर्ममा आवद्ध रहेका कपिल अज्ञातले विभिन्न १९ ओटा आलेखहरू ज्योतिष र साहित्यबीच रहेको अन्तर्वस्तु सम्बन्धमाथि गहनतम् प्रकाश पारेका छन् । ज्योतिषशास्त्र ज्ञानको एक दिव्य भण्डार हो भन्ने आरोहणअन्तर्गत कृतिकारले प्रस्तुत गरेका लेखहरूको सङ्कलन क्रममा क्रमशः ज्योतिषशास्त्र एक परिचय, ज्योतिष एक रहस्यमय ज्ञान, फलकथनको सन्दर्भ र जटिलता, साहित्यिक व्यक्तित्वको परीक्षण, ज्योतिष र भाषासाहित्य, साहित्यिक योग, ज्योतिष र साहित्यको अन्तर्सम्बन्ध, कवि व्यक्तित्वको लक्षण, मानव जीवनमा ग्रहपिण्डको प्रभाव, ज्योतिषीय सन्दर्भका उखानटुक्का, फलित ज्योतिषमा दुविधाजन्य स्थितिको रेखाङ्कन, प्रेमविवाह, जन्मचक्रमा वैदेशिक योग, विषकन्या योग एवम् परिहार, कालसर्प योग, शनि र शनिको साढेसाती विचार अद्भूत फलस्थिति योग तथा माङ्गलिक योग एवम् परिहारजस्ता यी लेखहरूबाट मानवजीवनमा ज्योतिषले पार्न सक्ने प्रभावका बारेमा गम्भीर चिन्तन गरिएको छ । उनले यी प्रत्येक सिर्जनाहरूमा केस्राकेस्रा केलाउने कर्म गरेका छन् । ज्योतिष विधामा चासो र जिज्ञासा राख्ने कुनै पनि पाठकले यी रचना पढ्नु उपयुक्त हुन्छ ।

जीवनको अन्धकार र अन्योलमय परिदृश्यमा रहेका वस्तुहरूलाई भविष्यको ज्योतिषरूपी ज्ञानले मार्ग प्रशस्त गर्दछ भन्ने निचोड रचनाकारको छ तर कर्म नगरी फलको आशा मात्र गर्न खोज्नु एउटा तिर्खाएको मृगलाई वालुवाको कणमा पानी पाइन्छ भनेर किनारा धाउनुजस्तै हो । ज्योतिषका सिद्धान्त र फलीत गरी दुई भेद रहेका छन् र सिद्धान्त ज्योतिषबाटै फलीतको विकास भएको मानिन्छ । ज्योतिषको माध्यमद्वारा लेखकले पुनर्जन्मलाई पनि स्वीकार गरेका छन् । पूर्वीय दर्शनमा पुनर्जन्मलाई बढी प्रचारवादी गरिएको भए पनि सम्पूर्ण मानवपक्षले पुनर्जन्मलाई स्वीकार गरेको छैन् । त्यसैले मानिसको अर्को जन्म हुन्छ भन्ने तथ्यसँग वैज्ञानिकरूपमा अलिकति पनि नजिक पुग्न सकिँदैन र यो सांसारिक जगत्मा पुनर्जन्म असम्भव छ । लेखकले यसबारेमा जति तर्क-उपतर्कहरू प्रस्तुत गरे पनि त्यो केवल कोरा कल्पना मात्र हो । शाश्वत तथ्य कहिल्यै पनि कल्पना हुन सक्दैन र पुनर्जन्म शाश्वत होइन । यसरी ज्योतिष विधालाई साहित्यसँग जोडेर नेपाली साहित्य र ज्योतिषका अध्येता एवम् पाठकलाई एकपटक चिन्तन गर्नुपर्ने पाटोको सिर्जना लेेखकले गरिदिएका छन् ।

कृति ः ज्योतिष र साहित्य (ज्योतिष विज्ञान एवम् साहित्य)
कृतिकार ः कपिल अज्ञात
प्रकाशक ः चितवन अध्ययन केन्द्र
प्रकाशन ः २०६६, वैशाख
पृष्ठ ः १०४
मूल्य ः रु. १२५।-

मधुपर्क २०६७ चैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *