Skip to content


परिस्थितिले जकडिएको
म एक्लो मान्छे
विवशतामा हराएको
म एक्लो मान्छे
एउटा घाउ भएर
निरन्तर दुखिरहेछ मेरो एक्लोपन
आँसुमा अनुवादित छ मेरो एक्लोपन
पीडा भएर चहराइरहेछ मेरो एक्लोपन ।
इन्द्रेणी सपना आँखाभरि सजाएर
पर्खिरहेछु एउटा वसन्त
पर्खिरहेछु भीड, कोलाहल
स्नेह, आत्मीयता र सद्भाव ।
मेरो एकाग्रता बिथोलेर प्रत्येक रात
तुहिन्छन् मभित्रका गुलाबी सपनाहरू
प्रत्येक बिहान
सती जान्छन् मभित्रका अनाम रहरहरू
लाग्छ,
आतङ्कित लहरहरू उद्वेलित
समुद्र रहेछ एक्लोपन
अशक्त चिन्तनहरूको
भण्डार रहेछ एक्लोपन ।
म जीवनको चौतारीमा पर्खिरहेछु
समयानुकूल आँगनमा
मायाको एउटा निरोग बिहानी
प्रसन्नताको एक झुल्को घाम
र, पर्खिरहेको छु
प्रत्येक क्षण-क्षणमा मलाई ऐँठन गरिरहने
एक्लोपनको मृत्यु ।।

अर्घाखाँची

मधुपर्क २०६७ चैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *