Skip to content


जीवनको मूल्य
मृत्युको पीडा
थाहा कसले पाउँछ ?
जब प्रश्न उठ्छ मनभित्र
जवाफमा समय बोल्छ
जल्लादले थाहा पाउँछ ।
हजारौं जीवनलाई फाँसीमा चढाउने
सयौं जीवनलाई गोलीले उडाउने
त्यो जल्लादलाई
कसरी थाहा हुन्छ ?
जीवनको मूल्य
मृत्यु पीडा
पुनः प्रश्न उठ्छ मनभित्र
जवाफमा समय बोल्छ ।
जल्लादले मृत्यु अगाडिको
जीवन आँखा पढेको हुन्छ ।
पीडादायिक छट्पटाहट
देखेको हुन्छ ।
र त, जल्लादहरू
सयौं वर्ष बाँच्न चाहन्छन् ।
हजारौं वर्ष
उही रूपमा देखापर्छन् ।
फेरिदै मात्र गएको हो ।
सत्ता र युग
बिर्सिदै मात्र गएको हो ।
विगतको पीडा र मृत्यु
प्रत्येक सत्ताको स्वरूपभित्र
जल्लादहरू भेटिन्छन् ।
हरेक आर्दश र दर्शनलाई
कुरूप बनाउँदै
जल्लादहरू बाँच्छन् ।
र, चढिरहन्छन् फाँसीमा शुक्रराजहरू ।
थापिरहन्छन् छातीमा गोली गंगालालहरू ।
बाँचिरहन्छन् मात्र जल्लादहरू ।

मधुपर्क २०६७ चैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *