Skip to content

बुधवा बन्यो बाल साहित्यकार

  • by


बुधवा सानैदेखि पढाइमा तेज थियो । स-साना कुरा पनि उसले निकै समयसम्म भुल्दैनथ्यो । उसको तीक्ष्ण बुद्धिका कारण थारू समुदायमा बस्ने उसका किसान बा आमा अौधी खुसी थिए । बुधवाको बाले आफ्ना श्रीमतीसँग भन्थे- हाम्रो पालामा ‘हलो, कोदालो चलाउँदै जुनी बित्यो । त्यसैले, पढ्ने वातावरण नै भएन, यो छोरालाई भने धेरै पढाउनु पर्छ है बुधेकी आमा ।’

उमेर बढ्ने क्रमसँगै बुधवामा अकस्मात परिवर्तन आउन थाल्यो । मैले जानेको कुरा भन्दै हिंडे अरु बढी जान्ने होलान् भन्ने डरले मनमा कुरा गुम्साएर राख्न थाल्यो । तर्किएर हिँडन थालेपछि उसका साथीसङ्गी पनि कम हुँदै गए । हजुरबासँग पनि बुधवा झर्किन थाल्यो । पहिले हजुरबाको कथा सुनेर ननिदाउने उसले अब कथाको आग्रह गर्न पनि छाड्यो । हजुरबाले कथा सुनाउन थाल्दा- ‘आ, उही थोत्रा कथा, तपाईंलाई भन्दा बढी कथा मलाई आउँछ’ भन्थ्यो । नातिलाई फकाउदै उसका हजुरबाले भन्थे- ‘तेरो कथा सुना न त ।’ तर बुधवा फन्किदै भन्थ्यो- ‘तपाईंलाई सुनाएर के फाईदा ? मलाई पढ्नु छ, तपाईसँग बसेर गफ गर्ने फुर्सद छैन ।’

बुधवाको व्यवहार परिवर्तन भएको देखेर उसका हजुर बा, आमा-बाबा मात्रै होइन, गुरुहरू पनि आश्चर्यमा परेका थिए । स्कुलमा पनि शिक्षकले सोधेको प्रश्नको उत्तर मात्रै उसले दिन्थ्यो । ऊ आफूले जानेका कुरा जाँचमा लेखेर बढी नम्बर ल्याउने ध्याउन्नमा थियो तर प्रत्येक जाँचमा उसको अङ्क बढ्नुको सट्टा घट्दै थियो ।

एकदिन उसका गाउँलेहरू हिँडेर स्वर्गद्वारी यात्रामा जाने भए । उसकी आमाले घुमेर आए छोरोको मनस्थिति फेरिन्थ्यो कि भनेर छोरालाई गाउँलेसँग जान भनिन् । स्कुल बिदाको समय थियो । आमाको मन राखी दिन ऊ स्वर्गद्वारी हिँड्यो । हिँड्दा-हिँड्दै रात परेपछि गाउँलेहरू एउटा विशाल रुखको फेंदमा बास बस्ने निधो गरेछन् । प्रदेशी टोलीले ढुङ्गाको चुल्हो बनाई खाना बनाएछ । जब रातिको खाना खाएर सुत्ने सुरसार भयो तब आफूले जानेको कथा उनीहरू एक आपसमा भन्न थाले । बुधवालाई धेरै कथा थाहा पाए पनि ईश्र्याले गर्दा उसले भने ।

अचानक राति सपनामा बुधवाले आफ्नो हजुरबालाई देख्यो । हजुरबाले भने- हेर बुधवा नाति मैले सुनाएको धेरै कथा तिमीले जानेका छौँ तर पनि किन तिमीले अरुलाई कहिल्यै नभनी आफ्नै मनमा गुम्साएर राख्छौ । त्यही भएर तिमी भित्र भएका कथाहरू रिसले तिमीलाई दुःख दिने सोंच्छन् । तिमी झन् झन् अज्ञानी हुँदै गएका छाँै । हजुरबाले भन्दै गए- त्यही भएर आफूले जानेको, मनमा भएको कुरा अरुलाई सुनाउनुपर्छ । आफूले जानेको ज्ञान गुनको कुरा साथीभाइलाई बाँड्नुपर्छ । यदि बाँडेनौँ भने त्यो ज्ञानगुनका कुरा भित्रै दबिएर रहन्छ । अनि त्यसले फाइदाको सट्टा नोक्सान पुर्‍याउन थाल्छ ।

सपनाबाट जब बुधवा ब्यूँझियो, ऊ पसिनाले नुहाएको थियो । हजुरबाको कुरा बुधवाले गहिरिएर मनन गर्‍यो । उसलाई थकथक लाग्यो, किन उसले आफूले जानेका कथा यात्रा टोलीलाई सुनाएन ? उसले कसम खायो, अबदेखि कहिल्यै त्यसो गर्ने छैन । उसलाई बाँकी यात्रा रमाइलो लाग्न थाल्यो । स्वर्गद्वारी मन्दिरको पूजारीसँग त्यो ठाउँको धार्मिक महìवबारे प्रश्न गर्‍यो । पूजारी पनि उसको बालसुलभ प्रश्नले खुसी भए । परदेशी समूह जब घर फिर्ता हुन थाल्यो, उसले आफ्नो हजुरबो उमेरका बृद्धसँग अन्य धेरै जिज्ञासा राख्यो । बूढाहरू केही जान्दैनन् भन्ने बुधवाको धारणामा एकाएक परिवर्तन आयो ।

बुधवाले यात्रामै आफ्नो हजुरबालाई सम्झिन थाल्यो । कतिखेरा घर पुगुलाँ र हजुरबासँग यात्राको कुरा गरौंला भन्ने ध्याउन्नले उसलाई सतायो । नातिको मीठो बोली बचनले उसका हजुरबा पनि तङ्गरिए । बुधवाले अरु धेरै कथा हजुरबाबाट जान्ने मौका पायो । त्यसपछि ऊ हरेक ठाउँमा केही न केही आफूले जानेको कुरा भन्न थाल्यो । उसको ज्ञान अझै बढ्दै गयो । उसका साथीाभाइको सङ्ख्या पनि बढ्दै गयो ।

जानेका कथा एक अर्कासँग नबाँडे एकदिन हराउन सक्छ । यसलाई त लेखेर राख्नुपर्‍यो, बुधवालाई यस्तो लागेर सबै कथा लेख्यो । हेडसरले यो कुरा थाहा पाएपछि ती कथा मागे । उनलाई ती कथा अति नै मन परेपछि सङ्कलकमा बुधवाको नाम राखेर विद्यालय नै प्रकाशक भई छाप्न पठाए । एक समारोहबीच कथासङ्ग्रहको विमोचन भयो । कार्यक्रममा बुधवा र उसका हजुरबालाई सम्मान पनि गरियो । उसका हजुरबाले भाषण गरे- ‘फुर्सदमा सधैं टेलिभिजनमा मात्रै हेरेर नबस्नु । मेरो नाति जस्तै घरका अन्य सदस्यसँग कुराकानी गरेर ज्ञानी बन्नु’ हजुरबासँग ज्ञान बाँडे बढ्छ भन्ने सिकेको बुधवालाई आफूले सुनेका कथा लेखेर राख्दा बाल साहित्यकार बनायो ।

मुना २०६७ चैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *