Skip to content

साकुरा मलाई जिस्क्याइरहेछ

20110417_Sakura



जीवन हर्षित छ आकर्षित,
अर्थपूर्ण छ बिरंगित
अनि रोमान्चित
यहाँ साकुरा फूल्दा …
यहाँ पैयु र आरु
अनि चेरी फूल्दा ..

ह्वाङ नदीको सेरोफेरो
बाटा र गल्लीहरू
छेवैको सउल पार्क
अनि नदी किनार,
कुनै नवजवानी युवती
पहिलो रजस्वाला,
हुर्किन्दै गरेको बैश झै
सेताम्य छ, राताम्य छ
पहेंलपुर….
अनि बिरंगित छ …
साकुराका फूलहरूले ..
पैयु, चेरी र आरुका फूलहरूले ।

प्रकृतिले बैंश छर्दा, कठै मेरो मन!
एकोहोरो रोमान्चित स्वर्गको टुक्रामा
सिमल भुवा झै तैरिन्छ
भावानाका अनुप्रस्थ तरङ्गहरूले
बिस्तारै बिस्तारै अन्तुको पाखातिर
सल्लेरीको बनबाट
तल धार परिवर्तन गरेका
कोशीका सयौ चिराहरू
अनि समथर तराईलाई
क्षितिजसग जोडेर
अङ्कमाल गरिरहन्छ ।

हो, म कल्पनाकै काखमा
सपनाकै साथमा
तिन्जुरेतिर लाली गुराँस चुमेर
सपनाबाट बिपनामा
उदयमान रोशनीले घचघच्याउदा
फगत मेरो कल्पनाहरू
नित्था मेरा भावनाहरू
म त मुग्लानमा
कसैको धन्दा
कसैको जुठ्यान
कसैको भाडाकुडा पो धुदैरहेछु
परदेशीको पीडामा
अलिकति नुनिलो आँशुले ब्युँझिएछु
अनि वरिपरि छरिएका पुष्पलाई
मेरो प्रश्न !
‘कति माया गर्छौ साकुरा मलाई ….?
कस्तो प्रेममा फसाउदै छौ आरुका फूलहरू
चेरी र पैयुका फूलहरू मलाई …..?

आँखा सामु भरिएका
अलौकिक सुन्दरताले
सुगन्ध र बासनाले
म लठ छु रोमान्चित
अनि आकर्षित
तर म भित्र-भित्र डराइरहेको छु
मेरो राष्ट्रियता …..!
मेरो लालीगुराँस …..!
कतै भुले भने ….!

म झ्वाट मेरो गुराँस सम्झ्न्छु
मुटु भित्र गुराँसको पुष्पदल चुमेर
साकुराका पत्रदल खेलाई रहेछु
चेरी र आरु अनि पैयुका फूलहरू नियाली रहेछु ।

साकुरा बिकसित देशका
चिल्लो सडकहरूमा फुले,
बासना धनी मान्छेहरूले लिए
गुरास सानो राष्ट्रको
पाखाहरूमा फुले,
फरक यति मात्र हो …
आखीर फूल त फूल नै हुन नि !
साकुरा मलाई एक अङ्गालो माया बाड्छ,
भरिपूर्ण बैशले जिस्क्याउँछ
बैशका एक झोंका फेरि ममा पलाउछ,
तर …
गुराँस,
मेरो पल पलको
धड्कनमा स्वास भरिरहन्छ ।

1 thought on “साकुरा मलाई जिस्क्याइरहेछ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *