Skip to content
LaxmiPrasadDevkota_Kopila


नटिप्नु हेर कोपिला !
नचुँड्नु पाप लाग्दछ ।
नच्यात्नु फूल नानि हो !
दया र धर्म भाग्दछ ।।

नछोप्नु है चरी बरी
सराप आँसु लाग्दछ ।
नमार्नु जन्तु है कुनै
बसेर काल जाग्दछ ।।

न घाउ चोट लाउनू
सडेर चित्त पाक्दछ ।
धूलो नफेक्नु नानि हो !
उडेर भित्र ढाक्दछ ।।

हिलो नखेल्नु फोहरी
खराब दाग लाग्दछ ।
न चित्त है दुखाउनु
डसेर आँसु बग्दछ ।।

बनेर फूल झैं सधैं
हँसाउनू सुवास दी ।
सधैं रमाउनू जगत्
रमेर नित्य आश दी ।।

जताततै छ ईश रे
छ सुन्नु त्यो विचार रे ।
छकाउने लुकाउने
नराख भाव क्यै गरे !

Leave a Reply

Your email address will not be published. Required fields are marked *