जीवनमा कहिलेकाहीँ विगतका घटना वा आइलागेका प्रसंगहरू स्मृतिपटलबाट हट्दा रहेनछन्, बिर्सिइँदा पनि रहेनछन् । हामी ती घटना वा प्रसंगहरूको सम्झना गरौँ नगरौँ तर ती मानौँ यादहरूको भुमरी बनेर हामीभित्रै पत्र-पत्रजस्तो टाँसिएर बसेका हुँदा रहेछन् । यस्तै घटना र प्रसंगहरूमध्ये एउटा छ- एउटी युवतीसित भएको मेरो जम्काभेट । त्यो अपरिचित युवती थिई, नीला आँखा भएकी केटी ।
अनायास मेरो भेट भएको थियो ऊसित । र, पहिलो हेराइमै म (र, सायद ऊ पनि) हायल कायल भएको थिएँ । म औसत उचाइको २०-२२ वर्षको एक अविवाहित स्वस्थ तन्नेरी । अनि, ऊ ?
सुहाउँदो उचाइ भएको भरिलो शरीरकी स्वामिनी ऊ । गोरो वर्ण । लामो कालो कपाल । निधारमा सानो चिटिक्कको टीका । कुनै गहिरो सफा तालको पानीजस्ता नीला आँखा र त्यो पनि हल्का गाजलले सिँगारिएका । बाक्ला र गह्रौँजस्ता लाग्ने काला आँखीभौँहरू । स्याउजस्ता राता र दूधले धोइएका भन्न सुहाउने गाला । र, ती सबैमा सबैभन्दा बढी सुहाएका उसका सुन्तला केस्रे ओठहरू ।
उसको पहिरन सामान्य थियो तैपनि मलाई विशेष लागेथ्यो, सेतो रंगको कुर्ता सलवार र त्यसमाथि नीलो रंगको सल । त्यो लुगामा उसको रूप, रंग र व्यक्तित्व नै केही बेग्लै किसिमको भान भइरहन्थ्यो ।
म सम्झनाहरूको आँखीझ्यालबाट चियाउन थाल्छु ।
उसको नाम के थियो होला ? यतिका धेरै वर्षपछि मलाई ठ्याक्कै सम्झना हुन सकिरहेको छैन । उसितै सोधेजस्तो लाग्छ मलाई । उसले भनेकी पनि थिई, सायद नीलम ? सायद नीलिमा ? सायद नीलिफा ? सायद नीला ? सायद नीलोफर ? सायद नीलकमल ? सायद नीरा ? सायद नयना ? सायद नवीना ? सायद नीता ? सायद नीतिजा ? सायद नीतिका ? सायद निज्मा ? सायद निर्मला ? सायद नमुना ? सायद निरूपमा ? सायद नीरूता ? या सायद निहारकिा ? या सायद … ?
“किन ? नाममा के छ र ?” मैले अचानक नाम सोधिदिँदा, सेक्सपियरको ज्ञान बोकेकी नारीजस्तो प्रतीत हुने, ऊ पहिले त अकमकिएझैँ देखिएकी थिई । केही बेरपछि सामान्य बन्दै उसले आफ्नो नाम भनेकी थिई । साथै, हल्का मुस्कान पनि छोडेकी थिई ।
हठात् सम्झनाहरूको भुमरीमा एउटा सापटी कविता तरंगिएको थियो ः हुनु भयो नहुनु भयो एउटा मुस्कान ठोक्किएर आँखामा… ।
सुन्दरता आँखामा हुन्छ या हाँसो र मुस्कानमा ? म आफैँभित्र अल्मलिन्छु । र, फेरि सोच्न थाल्छु- सुन्दरता हेर्नका लागि मात्र हुन्छ, छुनका लागि होइन । छोयो भने त सुन्दरतामा दाग लाग्न सक्छ, त्यो ओइलाउन सक्छ, त्यसरी नै जसरी अंगुर किसमिसमा फेरिन सक्छ ।
नीला आँखा भएकी त्यो केटी आफ्ना केही संगिनीहरूसित बसेर कुराकानी पनि गर्दै थिई । उनीहरू कुनै क्याम्पसअगाडि फलैँचामा थिए । सबै केटीहरू एकसाथ बोलिरहेका बेला पारखी हातले बजाएको तानपुराका तारमा झंक्रित धुनजस्तो भान हुन्थ्यो, चराहरूको चिरिबरजस्तो, धेरै कोइलीहरू एकैपटक कुहुकुहु गरिरहेजस्तो । मनले भन्यो- तपाईं जता जानूस्, जता विचरण गर्नूस्, विश्वको कुनै छेउ पुग्नूस्- नवयौवना केटीहरू जुनकुनै भाषामा कुरा गरिरहेका होऊन्, उनीहरूको मुखबाट निरन्तर निस्किरहने कुराहरू किन किन सुमधुर र लयात्मक लाग्ने गर्छन् । भाषा बुझिरहनु पर्दैन, बस् त्यो सुरिलो झंकार सुनिरहे पुग्छ ।
(त्यसैगरी, यहाँनिर मलाई आफ्नो यो अनविज्ञता प्रस्तुत गर्नु पनि सर्वथा उचित लाग्छ- कुनै स्वस्थ युवकको नम्र बोली र मृदु मुस्कानबाट अथवा धेरै युवकहरू एक ठाउँ भेला भएर कसैको आवाज नचिनिने गरी मिश्रित बोली बोलिरहेका छन् भने त्यस्तो अवस्थालाई युवतीहरूले कसरी ग्रहण गर्दा हुन् ? अनि, आफैंलाई लाग्छ- यो भावना म एक पुरुषभित्र जैविक तवरले रहेको नारी आकर्षणको सहज उद्बोधन थियो ? अथवा, आधुनिक नारीवादीहरूले चिच्याइचिच्याई भनिरहने पुरुष अहं (मेल सौभिनिज्म)को नजानिँदो अभिव्यक्ति ?)
तर, ती सबै ऊहापोहहरूबाट पृथक्, यहाँ त सुन्दरता आफैँ मसित नजिक आउन, मसित साइनो गाँस्न र सायद मसित अँगालोमा बेरिन उत्सुक देखिएको थियो ।
मसित आँखा जुझेपछि ऊ फेरि एकपटक मुुसुक्क हाँसी । ओ माई गाड ! त्यो फगत एक मुस्कान थियो वा नजरले कसैको हत्या गर्ने बलियो प्रयास ! म केवल स्तब्ध मात्र हुन सकेँ- अवाक्, चुपचाप मात्र उभिइरहन सकेँ । केही बोल्न सकिनँ, बस्, हेरी मात्र रहन सकेँ !
ओहो, त्यो हाँसो थियो या कुनै क्षेप्यास्त्र ! फगत हाँसो मात्र थियो या मतिर सोझ्याइएको कुनै अर्थ-वाण ! अथवा सुन्तला-केस्राभित्र लुकाइराखिएका अनार-दानाहरूको निर्भय प्रदर्शन थियो ? स्पष्ट नबुझे पनि मैले आफूलाई सम्हालेँ र उसको हाँसोमा मैले आफ्नो हाँसो मिसाइदिएँ । कुनै प्रयास गरिनँ उसको हाँसोलाई बुझ्ने । त्यो हाँसो मायाको थियो ? स्नेहको थियो ? संघर्षको थियो ? विषाद्को थियो ? हर्षको थियो ? केही थाहा भएन । मलाई त बस् उसको हाँसो मन परेको थियो- कस्तो शान्त, सरल, शुभ्र, निश्छल ! निरन्तर निरन्तर हेरी मात्र रहुँजस्तो !
कतै पढेको सम्झना हुन्छ- मानिस मात्र यस्तो प्राणी हो, जो हाँस्छ । एकपटक मात्र पाइने जीवन बाँच्ने क्रममा मानिस अत्यन्त धेरै संघर्ष र पीडाबाट ग्रस्त छ । यस्तै अनेकौँ पीडा र संघर्षबाट त्राण पाउन र तीबाट बच्नका लागि हाँसोको आविष्कार गर्नुपर्ने भएको हो । हाँसोबिनाको जीवन पनि के जीवन ? तैपनि, मानिस-मानिसका हाँसोहरूमध्ये कति हाँसो छद्म हुन्छन् भने कति हाँसोमा आँसु भरिएका हुन्छन् । नजिक भएर पनि मसित नजिक हुन नसकेकी त्यो केटीको मधुर मुस्कान कस्तो थियो- छद्म अथवा आँसु भरिएको ? हत्पति थाहा हुनै सक्दैन्थ्यो । किनभने, ऊ आफैँमा एक पृथ्वी थिई, एक अन्तरिक्ष थिई, एक ब्रह्माण्ड थिई । र, सृष्टिको सर्वाधिक सुन्दर रचना थिई ।
उसले मसित केही भन्न खोजिरहेकी थिई तर सायद अन्य संगीसाथीहरू सँगै भएर होला, ऊ मसित खुलेर कुरा गर्न सकिरहेकी थिइन । ऊ फगत मतिर हेर्थी, केही मुस्कुराउँथी, केही भन्न खोजेको जस्तो गर्थी तर हामीबीच थप केही संवाद हुन सकेको हुँदैन्थ्यो । यस्तो लाग्थ्यो, कतै एउटा मौन चिच्याहट छ, जसले हामीलाई एकअर्कासित नजिक जान हुट्हुटी लगाइरहेको छ ! तर, त्यो मौन चिच्याहट हामीबाट धेरै धेरै टाढा भएजस्तो महसुस भइरहन्थ्यो ।
मलाई लागेथ्यो, पहिलो भेट र पहिलो हेराइमा कस्तो पो प्रेम हुन सक्थ्यो र ! त्यसकारण सायद त्यो प्रेम थिएन । किनभने, प्रेम इच्छा गर्दैमा त हुने गर्दैन, त्यसलाई पाउनका लागि कठोर तपस्या र त्यागको आवश्यकता पर्छ । त्यहाँ त न मैले कुनै त्याग गर्नुपरेको थियो, न कुनै तपस्याकै दरकार थियो । थियो त केवल पहिलो हेराइको पहिलो आकर्षण मात्र । (तर, कसरी अस्वीकार गरूँ म- त्यही हेराइमा पनि भावी सम्बन्धको बीजाङ्कुरण हुने सम्भावना त त्यत्तिकै थियो नि !) म उसलाई यत्तिकै भन्न पनि त सक्दिनँ थिएँ- म तिमीलाई कति माया गर्छु, त्यो त भन्न सक्दिनँ तर यतिचाँहि भन्न सक्छु- तिमीबिना म बाँच्न सक्दिनँ । (यसो भन्नु बहुतै हतारो हुने थियो) ।
कुन्नि किन मेरो सोच धेरै परपरसम्म पुग्छ । नेत्रहरूले कतै केही हेरिरहेजस्तो लाग्न थाल्छ, प्रणय (जुन दुई प्राणीबीचको प्रेमको उत्कर्ष पनि हो) भनेको केवल शारीरकि सुख-भोग मात्र होइन, त्यसमा त संस्कृतिको पनि प्रभाव रहन्छ । दुई शरीरको मिलनबाट तेस्रो शरीरको जन्म हुन्छ- यो कुरा त सांसारकि हुनुको कर्तव्य पनि हो । र, त्यसैले गर्दा यसमा समाजको रुचि भएको हो, परिवारहरूको विकास भएको हो । जन्म, प्रेम, विवाह, सन्तान, परिवार- यी सबै कुरा प्रकृतिका विशिष्ट यान्त्रिकता हुन् र यसमा रोमाञ्च, उत्तेजना, हर्ष, विस्मात्, सुखदुःख सबै पक्ष मिसिएका छन् । प्रकृतिको यो यान्त्रिकता खल्बलियो भने जीव, जन्तु, वनस्पति सबै लुप्त हुँदै जानेछन् र फगत धूलोमाटोबाहेक केही रहने छैन ।…(तसर्थ यो अवर्णनीय प्रकृतिको अपरिवर्तनीय अंश हो) ।
यसो त म मोहनी मायामा परेर वा मायाजालमा रमाएर त्यसमै हराउन पनि सक्दिनथेँ । कतिपय व्यक्तिगत, पारिवारकि र सामाजिक दायित्वहरू मैले पूरा गर्नैपर्ने थिए (र, छन्) । त्यसैले म आधुनिक समयको मजनू, राँझा, महिवाल, रोमियो वा एन्टनी र कोही बन्न सक्दिनथेँ । यिनीहरू सबै दुःखान्त्य नायक हुन् र मलाई उनीहरूजस्तो ‘ट्रयाजिक हिरो’ बन्नु पनि थिएन । मेरो प्रखर युवा सोचाइ हुन्थ्यो, माया-प्रेमका अतिरत्तिm दुनियाँमा अरू धेरै कामहरू गर्न बाँकी छन् । उही एउटा हिन्दी सायरीमा भनिएझैँ के त… और भी गम हैं दुनियाँ में मोहब्बत के सिवा…।
सम्झनामा एउटा बस यात्रा आयो । खाली सिट नभएकाले उभिएरै यात्रारत थिएँ । बसमा कतै लेखिएको थियो, ‘आफ्नो सामानको सुरक्षा आफैँ गर्नुहोला ।’ कतै लेखिएको थियो, ‘पाकेटमारदेखि होसियार ।’ ढोकामा लेखिएको थियो, ‘श्री पशुपतिनाथले तपाईंको यात्रा सफल पारून् ।’ तर, अर्को एक ठाउँ लेखिएको कुराले मेरो ध्यान अलि धेरै नै तान्यो, मैले त्यसलाई झन्डै कण्ठस्थ पारेजस्तै पटकपटक पढेको थिएँ । लेखिएको थियो ः
त्यो रूख के रूख जसमा छायाँ छैन ।
त्यो मानिस के मानिस जसमा माया छैन ।।
हो, ममा प्रेमको अभिलाषा थियो (र, सधैँ रहनेछ), त्यस्तो अभिलाषा जसभन्दा तीव्र अरू कुनै अभिलाषा हुनै सक्दैन । तर, प्रेममा पनि नैतिकताको सवाल हुन्छ । भारतका सहिद-शिरोमणि सरदार भगतसिंहले लेखेका छन्- प्रेम एक निश्चित रेखा हो, जो कहिल्यै मेटिन्न । प्रेम अनन्तको त्यो चहकिलो चहक हो, जो अत्यन्तै सुमधुर र सुन्दर छ भन्ने मात्र ज्ञान हुन्छ । तर, हामीले सोच्नुपर्ने कुरा हो, प्रेमको नैतिक स्तर के हो ? स्वयंमा यो अर्थात् प्रेम केही पनि होइन, केवल एक आवेश मात्र हो । तर, यो पाशविक वृत्ति होइन, पशुत्व होइन । यो त बरू एउटा अत्यन्तै मधुर र स्िनग्ध मानवीय भावना हो ।
प्रेमले सधैँ मानिसको चरित्र उचो पार्छ, कहिल्यै मानिसलाई होच्याउँदैन र तल पनि पर्न दिँदैन । तर, आधार कति मात्र हो भने प्रेम साँचो अर्थमा प्रेम हुनुपर्छ । त्यो प्रेम होइन, जो कुनै पनि परिवर्तनमा परिवर्तित बन्छ । कामवासनाको तुच्छताभन्दा प्रेमको स्तर धेरै माथि हुन्छ, झन्डै अतुलनीय हुन्छ । कतै पढेको सम्झन्छु- प्रेम नै त त्यस्तो कुरा हो, जहाँ सानो-ठूलो वा धनी-गरिब र तल्लो-माथिल्लो भन्नेजस्ता सारा भेदभावहरू हराउँछन् । प्रेम त त्यो हो, जसले छुनासाथ अन्धकार जूनिलो हुन्छ, रात दिन हुन्छ, साँझ बिहान हुन्छ, नरक स्वर्ग हुन्छ र अपराध सत्कार्य हुन्छ ।
अन्यथा जानिफकारले त्यसै त भनेका होइनन्, जीवनमा हरियाली भर्ने भए अमर प्रेम गाँस्न सिक्नुपर्छ । जीवनलाई बुझ्ने हो वा जीवनलाई बुझ्न चाहने हो भने प्रेम गर्नुपर्छ । त्यो प्रेम जुन छाती चिरेर गर्नुपर्छ, मुटु भक्कानिएर गर्नुपर्छ, नशानशामा रगत जस्तै माया बगाएर गर्नुपर्छ र आँसुको भल बगाएर पनि गर्न सक्नुपर्छ । त्यो प्रेम जुन आफैँले आफ्नो बाटो बनाउँछ र कतिबेला कसरी दुई मुटुभित्र प्रवेश गर्छ, कसैले जान्न पनि सक्दैन र भन्न पनि सक्दैन ।
म अझै जान्न चाहन्छु- कहाँ छ होली त्यो नीला आँखा भएकी केटी, जसका लागि मेरा नजर तिर्खाएका थिए, मन लोभिएको थियो, मस्तिष्क चक्कराएको थियो र हृदयमा प्रेमको दियो पनि बलेको थियो । त्यो एकपटकपछि ऊसित फेरि कहिल्यै भेट भएन । मैले धेरैपटक धेरै ठाउँहरूमा चक्कर लगाउँदै समय बिताएँ तर सबै प्रयास विफल रहे । समयको दशकौँ लामो यो अन्तरालपछि अचेल सायद ऊ दुईतीन सन्तानकी आमा बनेर कतै सांसारकि दायित्व पूरा गर्दै बसिरहेकी होली । अब त उसको गल्ली र मेरो कुर्सुलो फरक-फरक भएका छन् । तर, जिन्दगीका धेरै गराहरू नाघिसक्दा पनि त्यो युवती, उसको गोरो अनुहारमा सजिएका नीला आँखा र तिनले जन्माएका भावहरू, कुनै गीतमा भनिएजस्तै, सधैँसधैँ मेरो सम्झनामा आइरहन्छन् ःहृदयमा बलिरहेको प्रेमको दियो दुनियाँका आँधी-हूरीहरूबाट निभ्न सक्ला र के यो ?
तर, किन-किन मलाई सधैँ यस्तो लागिरहन्छ, मानौँ त्यो नीला आँखा भएकी केटी टाढा कतै क्षितिजमा उभिएर मलाई नै हेरिरहेकी छ, मानौँ मेरै बाटो कुरिरहेकी छ र मानौँ मसँग केही प्रश्न गरिरहेकी छ- फूल फुल्छ ओइलाउनलाई ? मिलन हुन्छ बिछोड हुनलाई ? के यसै गरी मात्र बुझ्नुपर्ने हो जीवनलाई ?
तर, समयका ती एकान्त पलहरूमा, निरूत्तर म केवल टोल्हाइ मात्र रहन्छु । मेरा आँखाहरू क्षितिजतिर एकोहोरिएका हुन्छन् ।
नेपाल साप्ताहिक ४४२