Skip to content


मल्लकालमा राजाको तान्त्रिकको रूपमा काठमाडौँ उपत्यका प्रवेश भएका हाम्रा पुर्खालाई पृथ्वीनारायण शाहले लखेटे । फेरि संवत १८४८ को नेपाल-भोट युद्धमा पराजय निश्चित भएपछि विद्यानन्द झाले धादिङको छत्रे देउरालीमा पुरश्चरण तपस्या बसेर तान्त्रिक विधिद्वारा भोट पराजित भएपछि हामीहरूको पुनर्स्थापना भएको थियो । संवत् १८५१ मा हाम्रो परिवारलाई भगवतीपूजनको निम्ति कल्फु फाँट सरकारको तर्फबाट दिइएको थियो । मेरो बुबा चन्द्रलाल झाको जन्म संवत् १९९४ को माघ शुक्ल षष्ठीका दिन काठमाडौँको मरूहिटी टोलमा शंकरलाल झा सन्तानेश्वर झाको एक्लो छोराको रूपमा भएको थियो ।

डाक्टरी पेशामा झण्डै २३ वर्ष काम गरिसकेर देशको पहिलो र ठूलो मेडिकल कलेजको प्राध्यापक पदमा पुगिसक्दा पनि मलाई डाक्टर सुनिलचन्द्र झा भनेर नचिनाइकन चन्द्रलाल झाजीको छोरा भनेर चिनाउँदा आफ्नो स्वाभिमानमा धक्का परेको नठानेर गौरवान्वित हुन्छु ।

उहाँको बाल्यकाल हजुरबुबा उद्धवलाल झाको पुल्पुल्याईंमा बित्यो र धेरै नै जिद्दी गर्ने तथा आफूले चाहेको कुरा पाई/गराई छोड्ने एवं आफ्नो गन्तव्य जसरी भएपनि पूरा गर्ने बानीका साथ बित्यो । त्यस आनी बानीपछि भविष्यमा पनि रहीरहृयो र उहाँको दृढ सङ्कल्प लोभ, लाभ र विलाप केहीले पनि आजसम्म तोड्न सकेन ।

बुबाको विवाह त्यसबेला करिब १२ वर्षको उमेरमा मेरी आमा रूक्मिणी झासित भयो र २२ वर्षको उमेरमा प्रथम सन्तानको रूपमा मेरो जन्म भएको थियो । हाम्रा पूर्वजहरूमध्ये सात पुस्तासम्म एक्लो छोरा थिए भने मेरो बुबाको तीन छोरा र दुई छोरी भए ।

उहाँले त्यसबेला यहाँ स्नातक तहको पढाइ त हुने तर परीक्षा इत्यादि पटना विश्वविद्यालयले सञ्चालन गर्ने भएकोले त्यसै विश्वविद्यालयबाट स्नातक डिग्री हासिलगर्नुभयो । स्नातकोत्तर तहको अल्पकालीन अध्ययन इलाहावाद एवं लखनउ विश्वविद्यालयबाट गर्नुभयो ।

बाल्यकालमा कवि एवं पत्रकार स्व. हृदयचन्द्र सिंह प्रधानसित सम्पर्क एउटै टोलमा भएको कारण हुनगयो । त्यसबेला ‘जागरण’ नामक पत्रिका निस्किन्थ्यो । उहाँले पत्रकारितामा प्रवेश २०१५ सालमा कमनर ग्रुप सम्पादक मण्डलको सदस्यको रूपमा गर्नुभयो । पत्रकारिताप्रति उहाँको अटल निष्ठा यति बलियो थियो कि उहाँ त्यस समूहको गाडीभित्र बसेर भएपनि रात्री ड्युटी गर्नुहुन्थ्यो । पछि स्वाधीन रूपमा दैनिक ‘नेपाल टाइम्स’ को सम्पादन एवं प्रकाशन गर्नुभयो ।

नेपाल टाइम्स दैनिक उहाँले आफ्नो सम्पादकत्व र प्रकाशकत्वमा लिँदा राजा महेन्द्रको बिगबिगी नै थियो । निर्दलीय पञ्चायत व्यवस्थाको अन्धो समर्थन गर्ने प्रत्यक्ष अप्रत्यक्ष दबाबहरूलाई उहँाले कहिल्यै पनि अंगीकार गर्नुभएन ।

आज पनि मलाई त्यो रात छर्लङ्गै याद छ जब मेरी आमाले मलाई निद्राबाट ब्यूझाई ‘ए बाबु, दाइलाई पुलिसले लिन आयो’ भनी पठाउनु भएको थियो । त्यो समय पानी परेको बेला ओछ्यानको गुण्टा बोकी बुबालाई हनुमानढोका थानामा पुर्‍याएको थिएँ । त्यस्तै कति रात र दिन हो नेपाल टाइम्सको समाचार, सम्पादकीय टिप्पणी एवं प्रुफ रिडिङको ठाडै गल्ती देखिने बेला पनि उहाँलाई विभिन्न पटक गरी करिब १५ पल्ट लामो छोटो गरी जेल यात्रा गर्नुपरेको थियो ।

निहुँ चाहिँ नेपाल टाइम्स थियो । उहाँको स्वतन्त्र पत्रकारिताप्रतिको आस्था एवं प्रजातान्त्रिक मूल्य मान्यताप्रतिको अनवरत निष्ठाको कारण नै मूलत उहाँ विभिन्न जेल यात्रा एवं अनेकौँ राजनीतिक मुद्दाहरूको शिकार हुनुभयो ।

नेपाल टाइम्सको मुद्रण केही वर्षपछि आफ्नै अशोक प्रेसमा हुन थाल्यो । त्यो बेला नेपाल टाइम्सको सम्पादकीय राजनीतिशास्त्र तथा भाषा विज्ञानका गुरूहरूले आफ्ना शिष्यहरूलाई पढ्नु भनेर भन्नेगरिन्थ्यो ।

विभिन्न मुद्दा तथा प्रतिबन्धको बाबजुद बुबाको स्वतन्त्र पत्रकारिताप्रतिको प्रतिबद्धता यथावत रहेकोले नेपाल टाइम्स प्रकाशित भई नै रहृयो प्रकाशनमा सबभन्दा लामो प्रतिबन्ध लागेको पाँच वर्षसम्म थियो ।

सर्वोच्च अदालतलेभने तानाशाही शासकहरूको पक्षमा नलागेर स्वतन्त्र पत्रकारिताको पक्षमा विभिन्न मुद्दाहरूको फैसला गरेर ठूलो न्याय दिएको मैले भन्नैपर्छ । मैले सम्झेका न्यायाधीशहरू बब्बरप्रसाद सिंह र उहाँलाई प्रेमपूर्वक ‘यु सिल्ली व्याय’ भन्नुहुने न्यायधीश रत्नबहादुर विष्ट तथा न्यायकर्मी वकीलहरू कृष्णप्रसाद घिमिरे, होराप्रसाद जोशी, कुसुम श्रेष्ठ, विश्वकान्त मैनाली लगायत अन्य धेरै वकीलहरू जसले निःशुल्क कैयौँ मुद्दाहरू लडेर नेपाल टाइम्सलाई जीवित राख्नमा ठूलो योगदान दिनुभयो त्यो शिरोधार्य छ । त्यस्तो अप्ठ्यारो अवस्थामा त्यस्ता मुद्दा लड्ने र फैसला दिनु चानचुने कुरा थिएन । हामी ऋणी छौँ ।

नेपाल टाइम्स दैनिकको भाषा नेपालीमा थियो र विदेशी नियोग तथा सहयोगी ऐजेन्सीहरूले नेपालको खबर अनुवादित रूपमा एउटा रिसर्च फाउण्डेसनबाट पाउँथे । त्यसलाई अप्रत्यक्षरूपमा सेन्सर गर्ने अवस्था तत्कालीन सूचना विभागले गथ्र्यो । सही सूचना विदेशीहरूले पनि पाउन् भन्ने हेतुले उहाँले द नेपाल क्रोनिकल नामक अङ्ग्रेजी साप्ताहिकको प्रकाशन तथा सम्पादन सुरू गर्नुभयो । त्यसको प्रभावकारिता सहन गर्न नसकी पञ्चायती शासकहरूले तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य लबरू राना थारूले नेपालको अहिले अवस्था इरानको शाहको शासनकालको अन्तिम अवस्था सरह छ भनेको भन्यो रे भनी गिरफ्तार गरियो भनी समाचार छापेकोमा उहाँलाई तीन महिना गिरफ्तार गरी राजकाज अपराध मुद्दा चलाइयो । पछि उहाँ धरौटीमा छुट्नु भएपछि कानुन नै संशोधन गरी राजकाज अपराध मुद्दा लागेकोलाई धरौटी जमानतमा छुटकारा नपाइने व्यवस्था गरियो ।

हाम्रो प्रेसमा प्रतिबन्ध लागेकोले अखवार छाप्न परै जाओस् सानोतिनो आम्दानी हुने छपाई समेत गर्न नमिल्ने गरेर बागमती अञ्चलाधीश कार्यालयबाट सिलबन्दी गरियो । हाम्रो परिवारको पुख्र्यौली जग्गाहरूबाट केही धान नआउने भएको भए त सबै परिवार भोकै मर्ने थियौं ।

मैले पनि २०३४ देखि २०३६ सम्म नेपाल टाइम्सको विशेष प्रतिनिधिको रूपमा तथा सम्पादन मण्डलमा काम गर्ने मौका पाएको थिएँ । त्यो बेलामा नेपाली काङ्ग्रेसको नाम लिने हिम्मत गरि नेपाल टाइम्सले प्रतिबन्धित नेपाल काङ्ग्रेस भनेर लिएको थियो । गणेशमान सिंहको सम्म पनि लेख्ने हिम्मत धेरैमा थिएन र चाक्सीबारीमा छिर्ने कुरा त परै जाओस् । उहाँको अन्तरवार्ता मैले लिएको थिएँ । त्यस्तै मनमोहन अधिकारी एवं कृष्णप्रसाद भट्टराईको अन्तरवार्ता प्रशिक्षार्थी पत्रकार पुरूषोत्तम दाहालको साथ गएर लिएका थियौँ । जनमत सङ्ग्रहको घोषणा भएपछि बुबाले पुनः आफ्नो मातहतमा सम्पूर्ण सम्पादनको जिम्मा दिनुभयो ।

नेपाल टाइम्समा धेरै पत्रकारहरू एवं कार्टुनिष्टले प्रशिक्षण लिए । मेरो बुबा निर्भिक पत्रकारहरू तयार पार्नमा आनन्द महसुस गर्नुहुन्थ्यो । तीमध्ये कोही कृतज्ञ छन् भने धेरै कृतघ्न । बुबासित काम गर्नु भएका मुख्य केही पत्रकारहरूमा रामचन्द्र पौडेल, राजेश्वर नेपाली, किशोर नेपाल, पुरूषोत्तम दाहाल, सुकेश्वर पाठक, अच्युतरमण अधिकारी आदि हुनुहुन्छ ।

पौडेलको शब्दमा चन्द्रलालजी यसो घुमेर आउनुहुन्थ्यो अनि एक हातमा चुरोट र अर्को हातमा कलम लिएर बस्नु भएपछि लेखिने सम्पादकीय बेजोडको हुन्थ्यो ।

बुबाले संवैधानिक राजतन्त्र अन्तर्गतको बहुदलीय प्रजातन्त्रप्रति अविचलित विश्वास राख्नुहुन्थ्यो । त्यसप्रकारको विश्वास रहेर पनि आजसम्म कुनै राजनीतिक सङ्गठन सदस्य रहनु भएन । उहाँ पत्रकारितामा रहेर राजनीतिक सङ्गठनको सदस्य बन्नु असङ्गत हो भन्ने धारणाको प्रबल पक्षपाती हुनुहुन्छ । बाको वेदना पनि कम थिएनन् । दलका नेताहरू उहाँबाट काम लिनुपर्‍यो कि हाम्रो झाजी र केही दिने बेलामा फलानोको मान्छे ढिस्कानाको मान्छे भनेर निहुँ पार्ने गर्दथे ।

उहाँ धेरै नेताहरूको अघोषित, अनौपचारिक एवं अवैतनिक सल्लाहाकार हुनुहुन्थ्यो । तर उद्देश्य एउटै थियो .. प्रजातन्त्रको पुनस्र्थापना । नेताहरूमा स्व. रवीन्द्रनाथ शर्मासित पनि उहाँ नजिक हुनुहुन्थ्यो । स्व. शर्मा अलि फरक खालको र सहयोगी पनि हुनुहुन्थ्यो । उहाँलाई विभिन्न व्यक्तिहरूलेप्रलोभनमा पार्न खोज्थे । राजा महेन्द्रबाट एकदिन अञ्चलाधीश मार्फत् बोलावट भयो । सैनिक सहचारी समेत रहेको भेटमा हामी तिरहुत मूलका हौँ, मलाई सहयोग गनुपर्‍यो रकम, पद जे मागे दिन्छु नचाहिँदो बिरोध नगर्नुस् भनी हुकुम हुँदा उहाँले सरकार, मलाई यो दश पैसा भए पुग्छ भन्नुभएको थियो । त्यसबेला एकप्रति नेपाल टाइम्सको मूल्य दश पैसा थियो ।

त्यसैगरी बी.पी.कोइरालालाई उहाँले जनमत सङ्ग्रहको नतिजा प्रकाशित हुनु पूर्व बिहानै गएर यो नतिजा निःशर्त स्वीकार नगर्नुहोला भन्ने सल्लाह दिनु भएको थियो तर उहाँले मान्नु भएन ।

मैले पनि आफू मेडिकल विद्यार्थी छँदा बी.पी.लाई अल इण्डिया इन्ष्िटच्युट अफ मेडिकल साइन्सेजको वार्डमा भर्ना हुनु भएको बेला तपाईंले नेपालको प्रजातन्त्रलाई दश वर्ष पछाडि धकेलिदिनु भयो भन्दा पनि उहाँले चूपचाप सुन्नुभयो र पछि काठमाडौँमा मेरो बुबालाई अङ्ग्रेजीमा तपाईंको छोरा सित भेटेँ, निकै बुद्धिमान रहेछ भन्नुभएको थियो । वीपी सहनशील र मर्मज्ञ हुनुहुन्थ्यो । बी.पी.ले पनि बुबालाई त्यतिखेर एकलाख रूपियाँ दिएर प्रेस उत्थान गर्ने प्रस्ताव राख्नुभएको थियो, तर उहाँले मान्नु भएन । बी.पी.ले आफ्नो पुस्तक आत्मवृत्तान्तमा बुबाको बारेमा चिढिएर लेख्नु भएको जस्तो लाग्छ ।

सूर्यप्रसाद उपाध्याय निकै बुद्धिमान र कूटनीतिक कुशलता भएको व्यक्ति हुनुहुन्थ्यो । पत्रकारिता एवं प्रजातन्त्रको विकासको लागि उहाँको योगदान अति स्मरणीय छ । मेरो बुबा उहाँको निकटको व्यक्तिमध्ये एक मानिनु हुन्थ्यो । उहाँप्रति निकट भएको कारण अरू नेताहरूको बक्रदृष्टि हुने गथ्र्यो । त्यो स्वभाविक थियो पनि । सूर्यबहादुर थापा उहाँको निकट मानिनुहुन्थ्यो । सूर्यबहादुर थापाको नजिक रहेर उहाँले पञ्चायतभित्रबाटै पञ्चायतको विरोध गराउने नीति लिनुभयो । नेपाल कम्युनिष्ट पार्टीका विभिन्न समूहको समाचारप्रकाशन, वक्तव्य, अन्तरवार्ता प्रकाशनलाई पनि उहाँले उत्तिकै महत्त्व दिनु भएको थियो । त्यसैगरी प्रजातन्त्रप्रेमी पञ्चायतका नेताहरूको पनि ।

सर्वमान्य नेता गणेशमान सिंह नेतृत्वको २०४६ सालको जनआन्दोलनताका उहाँको भूमिका कसैले आङ्कलन गर्न नसक्ने खालको थियो । गणेशमान सिंह र मंगलादेवी सिंह बिरामी अवस्थामा कडा निगरानीबीच वीर अस्पतालमा भर्ना हुनुहुन्थ्यो । पी.एल.सिंह मार्फत् नेपाली काङ्ग्रेसका नेता भीमसेनदास प्रधानले हाम्रो मरूहिटीस्थित घरमा अरू घरको प्रवेशद्वारबाट छिरेर हाम्रो घरसित टाास्सिएको छाना नाघेर बुबा भेट्न आउनुहुन्थ्यो तथा उहाँद्वारा लिखित वक्तव्य गणेशमानको नाममा प्रेसको लागि लिएर जानुहुन्थ्यो । केही दिनपछि बुबा पनि भूमिगत हुनुपरेको थियो ।

जनआन्दोलनपछि गणेशमानले केहीलाई वीर अस्पताल क्याबिनमा बोलाई मन्त्री बन्न अनुरोध आफ्नै अघिल्तिर गरिरहेको परिदृश्य देख्दा पनि उहाँले आफ्नो लागि केही माग्नु भएन । नत गणेशमानले दिनुभयो ।

गिरिजाप्रसाद कोइराला क्याम्पमा पनि अप्ठेरो बेलामा हाम्रो झाजी र सप्ठेरो बेलामा उहाँलाई गणेशमानजी, सूर्यप्रसाद उपाध्याय र सूर्यबहादुर थापाको मान्छेको रूपमा जानिन्थ्यो । आफ्नो केही विदेश भ्रमणको टोलीमा संलग्न गराउनुबाहेक उहाँको केही ठूलो उपयोग गर्नुभएन ।

संवत् २०४६ सालको जनआन्दोलन र प्रजातन्त्र पुनस्र्थापनाको पश्चात् आफ्नो प्रजातान्त्रिक नियोगको पत्रकारिताबाट केहीबेर विश्राम लिनुभयो । पनि २०४७-२०४८ मा विभिन्न किसिमका षडयन्त्रबाट प्रजातन्त्र जोगाउन भनी नेपाल टाइम्सलाई सानो आकारबाट ठूलो ब्रोडशिटमा नयाँ कलेवरमा प्रकाशित गर्नुभयो । सङ्घर्षशील पत्रकारिताको कठिन परिवेशमा हुर्केका पत्रकार अचेलका व्यापारिक पत्रकारिताको वातावरणमा धेरै बेर अड्न सक्नुभएन । आर्थिक कारणले नेपाल टाइम्सको प्रकाशन २०४९-५० सालबाट बन्द भयो । नेपाल औद्योगिक विकास निगमबाट अफसेट प्रेस किन्न लिएको ऋण यही महिना चुकाउन हाम्ो पुख्र्यौली घर तथा विभिन्न जग्गाहरू होमिए ।

चौध वर्षको अन्तरालमा म र मेरो बुबाले विभिनन दल, समूहको अनगिन्ति प्रधान मन्त्री, अर्थ मन्त्री, उद्योग मन्त्रीहरूलाईसमेत ब्याज मिनाह वा कम गर्न अनुनय बिनय गरेका थियौँ । तर हाम्रो उपादेयता समाप्त भनिएको देखेपछि कसैले टेर पुच्छर लाएनन् । आश्वासन दिनेचाहिँ धेरै थिए ।

उहाँको शरीरले तीनवटा अपरेशनहरू थेगीसकेको छ । मेरो बुबाको स्वास्थ्यस्थिति त्यति राम्रो नभएर अहिले घरैमा, त्यो पनि प्रायः ओछ्यानै पर्नुभएको छ । उहाँ मधुमेह, मस्तिष्कघात र पार्किन्सनीजमले पीडित हुनु भएपनि स्मरण शक्ति राम्रै छ । अहिले ऋणमुक्त भएर उहाँको स्थितिमा सुधारको लक्षण देखा परेको छ ।

कृष्णप्रसाद भट्टराईको निधन भन्दा दस दिन पहिले म पनि उहाँलाई भेट्न नर्भिक अस्पताल गएको थिएँ । आफू त्यहाँ पनि काम गर्ने भएकोले भेट्न गाह्रो भएन । उहाँलाई मैले आफ्नो परिचय दिएपछि उहाँले तपाईंको बुबा कस्तो हुनुहुन्छ भनीसोध्नुभयो । मैले उहाँको स्वास्थ्यस्थिति बिग्रेर यहाँ आउन चाहेर पनि सक्नुहुन्न भने र उहँाले तपाईंको स्वास्थ्यको शीघ्र लाभ होस् भनी कामना गर्नुभएको छ भने । त्यसबेला उहाँले तपाईंको बुबा एकदम शूरो पत्रकार हुनुहुन्छ भन्नु भएको दृश्य मेरो आँखा अघिल्तिर घुमिरहेको छ ।

हालै नेपाल टाइम्स र नेपाल क्रोनिकलका सङ्कलनहरू त्रि.वि.केन्द्रीय पुस्तकालयमा संरक्षण र उपयोगको लागि प्रदान गरिएको छ ।

प्रजातन्त्र पुनस्र्थापना अघि उहाँलाई जेल नेल र मुद्दाको पुरस्कार दिइएको थियो भने पुनर्स्थापना पश्चात् पत्रकार महसङ्घले जुधारू पत्रकार पुरस्कार र पोहोरसाल वरिष्ठ पत्रकार सम्मान भनेर रू दुई लाख नगद र सम्मान पत्र प्रदान गरेको थियो ।

उहाँको मित्र वृत्तमा धेरै नेवार समुदायका साथीहरू धेरै छन् । उहाँका नेवारमित्र, अन्य मित्र तथा सहयोगी कामदारहरू सबैले प्रेमपूर्वक झा बाजे भनी संबोधन गर्ने गरेका छन् । उहाँका मित्रहरूले परोक्षरूपमा उहाँलाई दुर्वासा ऋषि पनि भन्ने गर्थे ।

हो उहाँ शूरो हुनुहुन्छ । उहाँको कलम तीखो, खरो छ, बनावटी चाप्लुसी छैन । त्यसैले उहाँ जस्तो व्यक्तित्व अहिले इतिहास बन्न लागेको ।

प्राध्यापक एवं प्रमुख कार्डियोलोजीविभाग,
मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र
(त्रि.वि. शिक्षण अस्पताल परिसर)

शनिबार, गोरखापत्र
बैशाख १७, २०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *