Skip to content


“गुड् मर्निङ् अमेरिका !”

“केको राति १० बजे नि ‘गुड् मर्निङ् अमेरिका !’ उनले मेरो बोलीबाटै चिनिहाले र ठाडो भाषा बोले, “कहिले आइपुग्यौ बरु ? सम्झिराखेको थिएँ तिमी आयौ कि आएनौ भनेर ? आएछौ, खुसी लाग्यो ।”

“नआउने त कुरै छैन यो सपनाको देशमा ? सुख, शान्ति, ऐश र आरामको देशमा…. ।”

आइपुगियो अस्ति ३ तारेखका दिन ।

“केको ऐशआराम र सपनाको देश नि ?” उनले सुनाए, “बिहानदेखि बेलुकासम्म गधा जोतिएकोजस्तो जोतिनु पर्छ । विदेशी हप्किदप्की खानु पर्छ । त्यसैले सपना त बरु आफ्नै देशको बढी देखिन्छ हिजोआज ।”

“हो त नि ! मानिस जब यस देशमा आइपुग्छ बल्ल सपना सत्यमा बदलियो भनी ठान्छ । तिमीले पनि त त्यही ठानेर आएका थियौ नि ? अमेरिकी भूमिले मात्र पूरा गरेको छ तिमीहरूको सपना र अमेरिकामा आउन र बस्न पाउनु नै आफ्नो अहोभाग्य ठानेका छौ तिमीहरूले ।”

“हामीलाई मात्र के भन्छौ भाइ विश्वका धेरै देशका मानिसले यसलाई सपनाकै देश भनिठानेका छन् त हामी गरिब मुलुकका गरिब मान्छे । त्यसमाथि म ता पहाडबाट काठमाडौँ झरेको तिमीलाई थाहा छँदैछ….” भन्दै हाँसे उनी ।

“यसैले त हरेक नेपालीको सुख र शान्ति, आनन्द र वैभवको सुरुलाई नै मैले जिन्दगीको बिहानीमा रूपान्तर गरेर ‘गुड् मर्निङ् अमेरिका’ भन्न थालेको हुँ ।”

“कहिलेदेखि नि ?”

“जहिलेदेखि म पनि अमेरिका छिरेँ,” उत्तरमा हाँसे उनी मज्जाले, “होइन अब यहीँ बस्ने गरेर आएका हौ कि क्या हो तिमी पनि ?”

“क्या हो ! क्या हो ! यसबारे पछि कुरा गरौँला,” मैले भनेँ ।

“हो ल पछि भेटमा सबै कुरा गरौँला । मलाई पनि फुर्सद छैन अहिले । जुलाई १८ को कार्यक्रममा त आउँछौ होइन ?”

“तिमीले भनेरै त यति टाढासम्म आइपुगेँ भने अब यसै देशको पश्चिमी कुनोबाट पूर्वी कुनो छिचोल्न त कति बेर लाग्ला र….. ।”

जुलाई ३, २०१० का दिन २२ वर्षपछिको अन्तरालमा पुनः अमेरिकाको भूमि टेकेपछिको दुई चार दिनकै बीचमा एक दिन क्यालिफोर्नियाको फ्रिमन्टबाट त्यहाँको समयअनुसार बेलुका ७ बजे भर्जिनियामा रहेका मित्रलाई फोन गरेपछिका संवादको सिलसिलामा मैलै भनेँ, “सायद आउँछु होला….. ।”

“केको होला…. नि ? मैले तिमी आउँछौ भनेर सबैलाई भनिसकेको छु र कार्यक्रम पनि त्यहीअनुसार तय भएको छ । तिमी त आउनै पर्‍यो नि !”

मित्रको वचनलाई टार्न पनि गार्‍हो थियो । अर्कोतिर घुम्ने, मन फेर्ने आसयले नै त्यतातिर लागिएकोले पुराना, हँसीठट्टा र सुखदुःखका कुरा गर्ने साथी भेट हुन लागेकोमा खुसी पनि भएको थिएँ । बाइस वर्ष पहिलेका ठाउँ कति परिवर्तन भए होलान्….? भनेर पनि जान्ने चाहना थियो । म यहीँ छँदा पनि लेखपत्रको ओहोर-दोहोर भैरहन्थ्यो उनीसँग र केही समय पहिले त उनी यही काठमाडौँको एउटा वृहत् साहित्य सम्मेलनमा भाग लिन आएका बेलामा नै उनीकहाँ आउने कुरा गरेको थिएँ । उनले मेमै आऊ, टेक्सासमा एउटा ठूलो कार्यक्रम हुँदैछ भनेका थिए भन्न त । त्यस कार्यक्रमकी सञ्चालिका साहित्यकार भारती गौतमले पनि अनुरोध गर्नुभएको थियो मेमै आउनको लागि तर त्यस समयमा म गइनँ र जुलाइमा वासिङटनमा हुन गइरहेको कार्यक्रममा मात्र म जाँदै थिएँ । प्रमुख अतिथिकै रूपमा आइदिन पनि निमन्त्रणा ई-मेल पठाएका हुन् ती मित्रले । पछि अर्कै कुरा भयो त्यो भन्दै गरुँला तर अहिलेलाई, उनले अमेरिकामा बिताएका नै ३० वर्ष भइसकेको थियो र नेपाली साहित्य र वाङ्मयमा लागेर निकै प्रशंसित पनि भैसकेका थिए । त्यसैले त भन्थे, “छोड्द्यौ भाइ अमेरिकाका ती सपना पनि । यहाँ नआउञ्जेलसम्म हो त्यस्तो लाग्ने । यहाँ आएपछि थाहा पाउँछन् अनि वास्तविक अमेरिका के रहेछ भनेर…. !”

जुलाई ९ तारेखका दिन म अमेरिकाको पश्चिमी तट प्रशान्त महासागरको छेउ सानहोजेको विमानस्थलबाट टेक्सासको डलास हुँदै ६ घण्टाको हवाईजहाजको उडानमा पूर्वी तट आन्ध्र महासागरको छेउ पर्ने वासिङटन डी.सी. उत्रिएँ । लाग्यो टाट पल्टेछ अब अमेरिका । एउटा कोकोकोलाबाहेक ६-६ घण्टाको उडानमा केही खान दिएको होइन अमेरिकी कम्पनीको जहाजले । सब पैसा तिरेर खानु पर्ने । तैपनि बजारको भाउमा तीन दोब्बर बढी । एक केन बियर भए पनि खाइहालुँ न त भनेर खोल्नै लाग्दा क्रेडिट कार्डबाट तिर्नुपर्ने भनेर झण्डै बित्यास पारेकी बूढी एयरहोस्टेसले । “मैले यो बियर खोलिहालेको भए यिनले मसँँग के गर्थिन् जब कि म विदेशी यात्रु हुँ केही समयको लागि यहाँ आएको र मसित क्रेडिटकार्ड पनि छैन,” आफूसँगै बसेको अमेरिकीलाई सोधेँ । ‘आइ डन्ट नो’ भन्दै कुम उचाल्दै जीउ मर्कायो उसले । हाते एउटा सानु झोलाबाहेक अरू कुनै फिट्को पनि सामानलाई २५ डलर तिर्नुपर्ने । तिरियो त्यो पनि मित्रको आदेशबमोजिमको २५ थान नै किताब यहाँबाट बोकेर गएकोमा ।

वासिङटन पुगेपछि खबर गरेँ तिनै मित्रलाई, “आइपुगेँ म तिम्रो देशमा ।” भने उनले, “के मेरो भन्नु र भाइ अब त ! डीभीवाला र शरणार्थीका लर्कन देख्दा अब नेपाल नै यही हो कि भनेजस्तो पो भैसकेको छ । बोली नसक्नु छ अब कोहीसँग । बाइस वर्ष पहिलेको तिमी आएको अमेरिका छैन त अब सडकमा कतै एक नेपालीले अर्को नेपाली आफ्नै भाषामा कुरा गर्दै हिँडे पनि बोल्दैनन् । उल्टो आझैं बोल्न गयो भने पनि तर्किएर हिँड्न खोज्छन् ।”

“काम, धाम सोध्लान् भन्ने डर होला नि उनीहरूलाई पनि…. ।”

“त्यही त हो नि, अर्को के हुनु ?” भने उनले, “हाम्फालेर आए भएको जति सम्पति बेचेर । काठमाडौँमा परिवारमा कत्रो धाकधक्कु होला । यता विचरा-विचरीको यो जात्रा ।”

त्यसको २-३ दिनपछि बिहान भेट्न आए मित्र र यहाँबाट लगिदिएको केही किताब बोकेर गए । २५ डलर तिरेको कुरालाई भनेँ हाँसेर उडाइदिए मात्र । होइन, बिल देखाउँदा पनि सकारी दिएनन् र पो त रिस उठेको भन्या ! अझ फकाउँदै हाँस्छ्न् उनी, “रिसाउन त मेरो राजालाई कसले सिकाउनु पर्छ र….. ?”

कार्यक्रमको २ दिनअघि बेलुका मलाई नै लिन आई घरमा खाना ख्वाउन लगे । बाटोमा सुनाए, “विश्वम्भर ! सारै टेन्सनमा छु यस चुनावले गर्दा । यसको नतिजाले गर्दा र पर्सिको यस कार्यक्रमले गर्दा । यदि तिम्रो ठाउँमा अरू कोही भैदिएको भए म यसरी साथ लागेर हिँड्ने नै थिइनँ । एक पल, एक मिनेट पनि कसैसँग बोल्ने फुर्सद नै छैन मेरो । यी सब कारणले म बिरामी नै परिसेको छु ।”

उनको घर पुग्यौँ । कहाँ बाइस वर्षअघिका मित्रको एक कोठाको गुजारा, कहाँ अहिलेका उनी ! घर पुगेपछि बोलाए, ‘डार्लिङ्…..डार्लिङ्….’ भनेर, “हेर त को आयो ?” मलाई अचम्म लाग्यो कसलाई बोलाउँछन् यी ‘डार्लिङ….डार्लिङ्….’ भनेर ?’ सोधेँ, “होइन ए मित्र ! यहाँ फेरि कुन कुइरीलाईं ‘डार्लिङ्’ बनायौ ए यो उमेरमा पनि ?” मैले उनलाई कुनै दिन आफ्नी श्रीमतीका साथ मेरै घरमा आउँदा पनि त्यस्तै खालको प्रश्न सोध्दा उनी मरीमरी हाँसेका थिए । अहिले पनि त्यस्तै भयो । हाँस्दै थिए कि उनकी श्रीमती अगाडि देखा पर्नुभयो । उनले श्रीमतीलाई चिनाए मसँग, । श्रीमतीजीले भन्नुभयो, “उहाँ झगडा गर्नेलाई किन नचिन्नु नि ? चिनिहालेँ नि देख्नेबत्तिकै ।” मैले भनेँ, “मेरो अनुहार नै झगडा गर्ने जस्तो छ कि क्या हो ?” उहाँले मलाई त्यो रूपमा देख्नुमा मेरो र ती मित्रको बीचको टेलिफोन वार्तालाई लिएर थियो । उनी भन्ने, “आऊ, ओछ्यान, कोठा सब सफासुग्घर पारेर तयार राखिदिएको छु । जति दिन मन लाग्छ, बस खाऊ ।” म भन्थेँ, “म तिमीकहाँ खान र बस्न आउने मात्र होइन । अमेरिकामा मलाई बस्न र खानको केही दुःख छैन । म त यहाँ भएका साहित्यिक मित्रहरूसँग चिनापर्ची र विचार-विमर्शको आदान-प्रदान गर्न, तिमीजस्तो साथीसँग बस्न, घुम्न, पुराना दिनहरूको सम्झना गर्दै हाँस्न, रमाइलो गर्न र नेपालमा रहँदाका सब वाक्कव्याक्क र दिक्दारीलाई कम गर्ने मनसायले यति टाढा आइपुगेको हुँ । यहाँका नयाँनयाँ साथीसँग भेट गराएर, यताउति घुमाइदिएर र मसँग बस्ने केही समय निकाल्न सक्छौ भने आउँछु तिमीकहाँ, होइन भने आउँदिनँ ।” उनी आफ्ना त्यस बखतका अप्ठ्याराहरू बताउँथे । र, साँच्ची नै उनी निकै अप्ठेरोमा परेका रहेछन् भनेर त्यस बखतमा थाहा पाएँ जब उनले मलाई आफ्नी श्रीमतीलाई केही कुरा अह्राई तुरुन्तै बाहिरतिर लाग्दा बाटोमा नै सबै घटना सुनाए ।

“मलाई त झन् दिक्क लाग्यो तिम्रो संस्थाका कुरा र गतिविधिबारे सुन्दा । यस्तो लाग्यो ‘बर्मा गए पनि कर्मसँगै’ भनेको यही रहेछ नेपालीको लागि…..,” मैले भनेँ ।

“तर गर्छौ के ? ‘गुड् मर्निङ् अमेरिका’ होइन अब त ‘गुड् नाइट् अमेरिका’ भन्दै ‘वाई वाई’ गर्नुपर्ने बेला आइसकेको छ मेरो….,” उनी कारको स्टेयरिङ् घुमाउँदै एकपटक फेरि मज्जाले हाँसे ।

साँझ झमक्क परिसकेको थियो । मैले उनले सडकका दायाँबायाँ देखाएका जति सबै कुराहरूलाई राम्ररी देख्न सकिनँ । आफ्नै छोराहरू र ज्वाइँको पनि घर भएका डाँडा देखाए । यही बीचमा उनले पर्सिपल्ट गर्ने भनिएको कार्यक्रमस्थल देखाउन पनि लगे पोटोम्याक नदीको किनारको लिजलभेनिया स्टेट पार्क । समय घर्किसकेकोले पार्कभित्र पस्न निषेध भैसकेको थियो । पार्कको ढोकेपालेलाई आफूले ‘बुक’ गरेको ठाउँको साँचो त्यहीँ बिर्सिएकोले त्यो लिन जान लागेको बताएर पार्कभित्र छिरेका मात्र के थियौँ पछाडि-पछाडि पुलिसको गाडी रातो बत्ती बाल्दै छेउमै आएर रोकियो । “लौ मार्‍यो !” उनले भने, “मोरो त पछि-पछि पो आएछ हामी समय नाघिसकेपछि यहाँभित्र पसेको थाहा

पाएर ! ” त्यसमाथि हामी दुवै जनालाई हातमा भर्खरै सुरु गरेको बियरको केन पनि कता फ्याँक्नेेजस्तो भयो । मनमनै भनेँ, “हे भगवान् ! खानै नपाएकोजस्तो गरी किन खोलिएको होला यो बियर पनि यसबेला ! आफ्नो देशको जस्तो हुत्त कतै फ्याँक्ने त कुरै छोडिदिउँ निषेध गरिएको पार्कमा खाएको मात्रै देख्यो भने पनि पुर्‍याउँछ मामाघर र त्यसपछि के पो गर्ने हो कुन्नि….. । तैपनि नेपाली अक्कल जागिहाल्यो मित्रको दिमागमा बियर के गर्ने भनेर । मैले पनि उनलाई जानेको सिकाएँ, “यसो साँचो टिपेकोजस्तो गर र खल्तीमा राखेको बहाना देखाऊ ।” उनले पनि त्यसै गरे । पुलिसलाई त्यसै भन्यौँ र अमेरिकामा पनि ढाँटको खेती गरी हामी फेरि पाइन्टको खल्तीबाट बियर निकालेर विजय उत्सव मनाउँदै फर्कियौँ । घर आएपछि उनले बियरको अर्को केन खोल्दै भने, “ल अब पुराना दिनका याद गरेर हाँसौँ । बज्याले गर्दा त अघिन राम्ररी घुट्क्याउन पनि पाएको होइन । बाँकी जति पाइन्टको खल्तीले खाइहाल्यो…., भन्दै फेरि जोडले के हाँसेका थिए फोनमाथि फोन आएको आएै गर्‍यो । उनकी श्रीमती कराउन थाल्नुभयो, “फोन आएको आएै छ, आएको आएै छ । घरमा हुनुहुन्न भन्दा पनि पत्याउँदैनन् । वाँ…. आफूलाई पनि सञ्चो छैन । कस्तो काम…. काम…. भन्नुपर्‍या हो यो मान्छेलाई पनि…. ।”

मित्रले मसँग ५ मिनेट पनि राम्ररी बिताउन पाएनन् खाने बखतदेखिबाहेक । उनका शुभेच्छुक उनलाई सोध्थे, “अब के हुन्छ ? हाम्रो कार्यक्रम हुन्छ कि हुँदैन ?” उनी भन्थे, “हुन्छ, किन हुँदैन । हाम्रो विधान र फलानोफलानो दिनको बैठकको माइन्युटले यसोयसो भनेको छ भने उहाँले हाम्रो कार्यक्रम रद्द गर्ने अधिकार पनि पाउनु भएको छैन र गर्न पनि पाउनु हुन्न । सबैलाई यसै भनेर भनिदिनोस्, उहाँको ई-मेलको कुरालाई काटेर ‘तोकिएको मिति र ठाउँमा तोकिएको कार्यक्रम हुन्छ” भनेर लेखिदिनोस्” भनेर सिकाउँदैमा उनको घाँटी बसिसकेको थियो । म भने ‘चोकटा खान गएकी बूढी झोलमा डुबी’ भन्या झैं पुर्पुरोमा हात लगाएर अर्को कोठामा बसी सोच्दै थिएँ, “मानिसको व्यक्तिसँग रिस हुन्छ, संस्थासँग किन ? संस्थाले वर्षौ वर्षौंदेखि गर्दै आएको कार्यक्रममा पनि आफूले चुनाव हारियो भनेर कार्यक्रमको दुई दिनअघि सम्बन्धित मानिस कोहीसँँग छलफल नै नगरिकन एकलौटी रूपमा पुराना पदाधिकारीमध्ये कसैले गरिदिएको सर्कुलरमा मानिसहरूले कसरी लिने हुन् र पर्सिको कार्यक्रम के हुने हो, कसरी हुने हो, केही भन्न सक्ने अवस्था रहेन । यसैमा चिन्तित थिए मित्र र मैले पनि उनको साथ दिइरहेको थिएँ । खाना खाने समयमा पनि मित्रले फुर्सद पाएनन् । जे जसो उनको श्रीमतीले पकाउनुभयो, भ्याउनुभयो मीठो मानेर खाँदै उहाँसँग केही रमाइला ठट्टा गरेँ । उहाँले पनि ड्यामड्याम्ती नै बजाउनु भयो । । करेसाबारीमा घिरौँला, फर्सी, भण्टा सबथोकको बोट उमार्नुभएको रहेछ । नेपाली बारीको याद आयो । उहाँको मिजास पनि ठेट् नेपालीको थियो । उहाँको र मेरो मिजास पनि मिल्नेे । केही छिन नेपाल भुलियो ।

जुलाई १८ । अमेरिकाको भर्जिनियामा प्रमुख कार्यालय रहेको अन्तर्राष्ट्रिय साहित्य समाजले हरेक वर्षको भानु जयन्तीको अवसर पारेर गर्ने कार्यक्रम यस वर्ष त्यसै तारेख अर्थात् साउन २ गते आइतबारका दिन तय भएको थियो । म पनि त्यसका संस्थापक अध्यक्ष मित्र होमनाथ सुवेदीको आतिथ्यमा त्यहाँ निकै उत्साह र उमङ्गले पुगेँ । निकै साहित्यकार, कलाकार, सङ्गीतकार र बौद्धिक जमातको सङ्गमस्थल होला त्यो ठाउँ र त्यो अवसर भनी ठानेँ । केही ठाँटिएर पनि गएथेँ सुट र टाइसहित । मित्रले त्यही आदेश दिएका थिए, “अलि फूर्तिसाथ टाइसाइ दिएर आउनू नि विशेष अतिथि भएपछि ।”

“भैगो प्रमुख अतिथि नसही, विशेष अतिथि त बनाएछौ ।” सुनाएँ मैले ।

“व्यङ्ग्य नहान न राजा नहान । के गर्छौं त अब मभन्दा अरू नै पावरफुल भएपछि….,” लाचारी व्यक्त गरे उनले ।

” त्यहाँ पुग्दा मौसम तातोमाथि तातो बनेको थियो । आयोजकहरूको अनुहार हेर्दा, वातावरण न्यास्रो लाग्थ्यो । भर्जिनियाको झण्डै १०० डिग्री फारेनहाइटको तापक्रममा सबै जना हाफबाहुले कमिज पाइन्टमा पनि पसिना काढिरहेका थिए भने मेरो त्यो सुट र टाइले कुन विजोग देखायो होला, आझैंलाई लाज लागेर आयो । सबैको सामुन्ने विना सङ्कोच टाइ फुकालेर कोटको खल्तीमा राखेँ । प्रमुख अतिथि अमेरिकाका लागि माहामहिम राजदूत शङ्कर शर्मा आइसक्नुभएको थियो र अरू केही दुईचार जना मानिस पनि । अन्तर्राष्ट्रिय समाजका नयाँ पदाधिकारीमध्ये अध्यक्षमा चुनिनु भएका ज्ञानेन्द्र गदाल कोलोराडोबाट र महासचिवमा चुनिनुभएकी गीता कार्की न्युयोर्कबाट आउनुभएको थियो । पत्रकार वासु श्रेष्ठ पनि हुनुहुन्थ्यो । पहिलोचोटि परिचय भयो उहाँहरू सबैसँग मेरो । संस्थाका विभिन्न पदाधिकारीहरू विभिन्न देशमा रहेका च्याप्टरबाट चुनिनु भएकाले सबै जना आउन सम्भव पनि थिएन । सम्भव भएका पनि आइदिएनन् । सुनेअनुसार पोहोर परारको जस्तो भव्यता त्यहाँ देखिएन । भानु जयन्तीजस्तो अवसरमा हुनुपर्ने साहित्यिक जमघट त्यहाँ भएन । ज्यादै पातलो उपस्थिति थियो कार्यक्रममा । त्यसमाथि संस्थाको पुरानो समितिलाई बिदाइ र नयाँको वैधानिक घोषणाको कार्यक्रम पनि राखिएको थियो त्यसै दिन तर पनि एक दुई परिवारको मात्र पारिवारिक जमघटजस्तो मात्र देखिनुले सार्‍है खिन्न लाग्यो मनमा । आफूले चिनेका र नेपालभित्रै नाम कहलिई हाल अमेरिकामा बसोबास गरेका साहित्यकार, कलाकार, रङ्गकर्मी सबैलाई भेटेर आफ्नो परिचय बढाउने, छुटेकासँग पुनः सम्बन्ध जोड्ने मेरो लालसा त्यसै खेर गयो । पुराना मित्र जो मलाई ‘मामा-मामा’ भन्ने गर्छन् पहिलेका कोपुण्डोलवासी डा. श्याम कार्कीलाई भने त्यहाँ देख्न र भेट्न पाउँदा बढी खुसी लाग्यो । त्यहीँ हुनुभएका र त्यस संस्थामा चिरपरिचत भइसक्नुभएका तथा मलाई समेत त्यस कार्यक्रममा जान घच्घच्याउने कवि रमेश खकुरेल दाइसमेत दोस्रो सेसनको कवितावाचनको अन्त्यतिर मात्र आइपुग्नु भयो । त्यसै गरी गोविन्द गिरी प्रेरणा पनि झुल्किनुभयो दिनको अन्त्यतिर, त्यति कुराकानी र बसउठ हुन पाएन । सुनियो- भर्जिनियाकै मनासास भन्ने अर्को ठाउँमा नेपाली कलाकारको अर्को कार्यक्रम थियो रे त्यस दिन । लाग्यो- आजकै दिनमा यसरी कार्यक्रम नजुधाइकन बेग्लाबेग्लै दिन पनि गर्न सकिन्थ्यो होला यदि त्यहाँ भएका नेपाली सबै एकजुट भएर मिल्न सकेका भए । कस्तो विडम्बना ! कसैले भने- यो कार्यक्रमबारे थाहा नै भएन, कसैले भने- निम्तो नै आएन । आयोजकले भने, “सबैलाई खबर गरेकै थियो, आएनन् ।” अमेरिकामा पनि झगडै गरेर बस्ने ! गुट-उपगुट बनाउनै पर्ने । नेपालको फोहोरी राजनीतिलाई भित्र्याउनै पर्ने । नेपालीहरू त बहादुर नै रहेछन् बा ! आ-आफूमा फुटाउने, बजार्ने, थपडी मार्ने र खुट्टा तान्ने प्रवृत्ति त्यहाँ पुगेर पनि नछोेडेको भान पर्‍यो मलाई । भनेँ केहीलाई, “तपाईंहरूले नै हो हाम्रा देशका नेता भनाउँदालाई बोलाईबोलाई यहाँ पनि नेपाली राजनीतिको गन्ध फैलाउनुभयो । अबदेखि उनीहरूलाई बोलाईबोलाई मान नगरिदिनुहोला । फोगटमा अमेरिका आएर राजनीति गर्न पाए कसले गर्दैन ?”

दोस्रो सेसनको बाल तथा प्रौढ कवितावाचनको कार्यक्रम चाखलाग्दो भयो । बालप्रतिभाहरू देखापरे तर नेपाली भाषा र साहित्यको उत्थानमा लागिपरेको संस्थाले बालबालिकाबाट अङ्ग्रेजीमा लेखिएका कवितालाई प्राथमिकता दिनु र सम्बन्धित अभिभावकले पनि आफ्ना केटाकेटीको अङ्ग्रेजीमा लेखिएका कवितामा गर्व गर्नु कतिसम्म ठीक हो आझैंमा सोचनीय विषय बन्न पुग्ला । मेरो मन्तव्यको क्रममा जे अनुभव गरेँ त्यही भनिदिएँ । प्रथम सेसनको उद्घाटन समारोहका बखत देखिएका ती तीता-टर्रा क्षणहरूलाई पनि मैले पोखिदिँदा त्यहाँ क-कसले के-के अनुभव गरे मलाई थाहा छैन र त्यसबखतको अध्यक्ष पदकी पराजित प्रत्यासीबाट मसँग व्यक्तिगत चिनाजानी नहुँदानहुुँदै पनि वासिङटनबाट फोनमार्फत् सुनाइएका गुनासाहरू र आयोजकका तर्फबाट दिइएका प्रष्टीकरणहरूको कति माने रहृयो होला त्यो आफैँमा छँदैछ । यतिसम्म कि मलाई मित्र होमनाथबाट संस्थागत रूपमा हवाई टिकट र भिसाको प्रबन्ध गरिदिएको भन्नेसमेतको आरोप उनलाई लाग्दा नेपालीे रिस त्यहाँ पनि मैले पोख्न बाँकी राखिनँ जबकि म स्वयंको खर्चमा त्यहाँ पुगेको थिएँ आफू खुसी आझैंबाट भिसा प्राप्त गरेर । यद्यपि, जे र जस्ता घटना त्यहाँ त्यसबखत भएका होऊन् नेपाली भाषा र वाङ्मयका लागि अन्तर्राष्ट्रिय साहित्य समाजले गरेका प्रयासहरू सह्रानीय नै छन् तापनि हालका पदाधिकारीबाट भने अमेरिकावासी सम्पूर्ण नेपाली साहित्य तथा वाङ्मयका लागि कार्य गर्ने व्यक्तिहरूलाई कुनै भेदभावविना समेटेर लैजाने प्रतिवद्धता जाहेर गर्नुभएकामा भने कतै नेपाली राजनीतिकर्मीले नेपाली जनतामाथि गर्नुभएका प्रतिवद्धता जस्तो मात्र नहोस् ! मेरो यही शुभकामना छ ।

मधुपर्क २०६८ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *