Skip to content

मातृत्व र आदर्शको तुवाँलोमा ‘समानान्तर आकाश’

  • by


नेपाली साहित्यको आख्यान विधाले प्राथमिक काल तथा माध्यमिक कालको प्रारम्भसम्म पनि नारी हस्ताक्षर पाउन सकेन । माध्यमिक कालको पछिल्लो चरणमा ‘राजपूत रमणी’ (वि.सं.१९८९) उपन्यासमार्फत् अम्बालिकादेवीले सो अभावलाई पूरा गरिदिइन् । ऐतिहासिक विषयवस्तुको यस उपन्यासपछि भने लामो समयसम्म नारी हस्ताक्षरको कुनै उपन्यास देखिएन । साहित्यले आधुनिक कालमा पदार्पण गरिसकेपछि पनि नेपाली उपन्यासको प्रथम चरण नारीलेखन शून्य नै देखिएको छ । नारीहस्ताक्षरको दोस्रो उपन्यास भेट्टाउन नेपाली साहित्यले पारिजातको ‘शिरीषको फूल’ (२०२२) सम्मको प्रतीक्षा गर्नुपरेको छ । त्यसपछि बानिरा गिरी, गीता केशरी, इन्दिरा प्रसाईं, सुस्मिता नेपाल आदि प्रतिभाहरू यस क्षेत्रमा अग्रसर देखिएका छन् ।

यसै परिप्रेक्ष्यमा ‘समानान्तर आकाश’ (२०६२) उपन्यास लिएर उपन्यासकार पद्मावती सिंह देखापरेकी छिन् । २०३८ सालमै प्रथम कथाकृति प्रकाशित गरेकी सिंह कथाक्षेत्रकी स्थापित व्यक्तित्व हुन् । प्रकाशन वर्षकै साझा पुरस्कार प्राप्त यो उपन्यास नारीवादी उपन्यासका रूपमा हाल त्रि.वि.अन्तर्गत स्नातक तहको अनिवार्य नेपाली विषयको पाठ्यक्रममा समेत समाविष्ट छ । सुधा त्रिपाठीको विश्लेषणात्मक भूमिकाबाट समग्र उपन्यासको झलक अनि त्यसमा निहित नारीवादलाई राम्ररी उजागर गरिएको छ । नारी जातिको उत्थानमा प्रमुख बाधक परनिर्भरता र अशिक्षा भएकाले शिक्षा चेतना र आत्मनिर्भरताबाट उनीहरूलाई पुरुषसरह स्थापित गराउने नायिकाको सङ्घर्ष प्रशंसायोग्य छ पनि मातृत्व र आदर्शले उपन्यासलाई कमजोर बनाएको छ ।

पाश्चात्यजगत्मा साइमन द बुभाको चिन्तन नै नारीवादको सवल उठान मानिन्छ किनकि उनले “केही विशेषताको अभावले गर्दा स्त्री स्त्री भएकी हो ” भन्ने अरिस्टोटलको भनाई तथा “नारी अवस्थाको नियति भन्नु नै शरीर संरचनाका अपूर्णताको परिणाम हो ” भन्ने फ्रायडका भनाईहरू प्रस्तुत गर्दै नारीको पक्षमा गहकिला र विद्रोहात्मक आवाज बुलन्द गरेकी छिन् । यद्यपि नारीमुक्ति आन्दोलनको थालनी भने अठारौं शताव्दीको अन्त्यतिर भएको हो । मेरी उलस्टोनक्रयाफ्टको ब् ख्ष्लमष्अबतष्यल इा तजभ च्ष्नजतक या धomबल ९ज्ञठढद्द ० कृति यसको प्रारम्भकर्ताका रूपमा देखिन्छ । त्यसपछि जोन स्टुवर्ट मिल तथा भर्जिनिया उल्फका कृतिहरूले यसलाई अघि बढाउँदै लगेको भए तापनि साइमन द बुभाको त्जभ क्भअयलम क्भह लाई नै नारीवादी आन्दोलनको युगान्तकारी कृति मानिन्छ ।

पाश्चात्य साहित्यमा देखिएको नारीवादी चिन्तनको झलक नेपाली साहित्यमा आधुनिक कालको आरम्भमै देखिएको मानिन्छ, सर्वप्रथम उपन्यासकार रूपनारायण सिंहले ‘भ्रमर’ -१९९३) उपन्यासमा आफ्ना नारी पात्रहरूलाई स्वेच्छाले पतिवरण गर्ने अधिकार दिएका छन् । तत्पश्चात् भने हृदयचन्द्रसिंह प्रधानको ‘स्वास्नीमान्छे’ (२०११) उपन्यासले नै नारीवादी सोचलाई राम्ररी प्रस्तुत गरेको देखिन्छ । त्यसैले यस उपन्यासलाई नै नेपाली साहित्यको पहिलो नारीवादी उपन्यास मानिन्छ । त्यसपछि उनकै उपन्यास ‘एक चिहान'(२०१७), विजय मल्लको ‘अनुराधा’ (२०१८), पारिजातको ‘शिरीषको फूल'(२०२२), बी.पी. कोइरालाको ‘तीन घुम्ती'(२०२४), मदनमणि दीक्षितको ‘माधवी’ (२०३९), नकुल सिलवालको ‘तेस्रो पाइला’ (२०४५), शवनम श्रेष्ठको ‘मनिषा’ (२०५०) आदि उपन्यासहरूलाई नारीवादी दृष्टिकोण भएका उपन्यासको दर्जा प्राप्त छ ।

‘समानान्तर आकाश’ अघिका यी उपन्यासहरूमा प्रस्तुत नारीवादलाई सरसरी केलाउँदा, ‘स्वास्नीमान्छे’ मा नारी सचेतता, अधिकार र अहम् अस्मिताका कुराहरू प्रशस्त मात्रामा पाइन्छन् भने ‘एक चिहान’मा नारीलाई भोग्याका रूपमा मात्र हेर्ने प्रवृत्तिप्रतिको विद्रोह प्रभावकारी ढङ्गमा प्रस्तुत गरिएको छ । कोइरालाको ‘तीन घुम्ती’की नायिका पनि आफ्नो जीवनका प्रत्येक घुम्तीहरूमा नडगमगाई अघि बढेकी छे तर अनुराधामा भने अनुराधालाई सुरुमा एउटी विद्रोही अनि आफ्नो अघिकार खोस्ने प्रवृत्तिप्रति प्रतिशोधको भावना भएकी नारीका रूपमा प्रस्तुत गरे पनि अन्त्यमा लेखकले उसलाई एउटी विक्षिप्त नारीका रूपमा प्रस्तुत गरेर अन्याय गरेका छन् । पारिजातले ‘शिरीषको फूल’मा सकमबरीलाई पुरुषको अधीनता नस्वीकारी आफ्नो छुट्टै अस्तित्वका साथ बाँच्ने नारीका रूपमा उठाए पनि, इन्सेक्ट किलर सुनगाभा बनाउन खोज्दाखोज्दै, पुरुषको एक चुम्बनका कारण मृत्युवरण गर्ने काँतर नारी बनाएर अन्त्य गरिदिएकी छिन् । मदनमणि दीक्षितले माधवीलाई मातृसत्तात्मक समाजकी स्वतन्त्र र अधिकार सम्पन्न नारीका रूपमा प्रस्तुत गर्न खोजेको भने पनि यथार्थमा त उसलाई वस्तु विनिमय प्रणालीको एउटा विनिमयको साधनका रूपमा प्रस्तुत गरेका छन् । साथै जुन पुरुषका लागि वस्तुसरह साटिनुपरेको थियो, प्रेमका नाममा उपन्यासको अन्त्यमा माधवीलाई सोही पुरुषका साथ देखाएर नारीवादको उपहास गरेका छन् ।

प्रश्न अल्झी नै रहेका बेला प्रश्नलाई पुनः बल्झाउँदै देखापरेको छ उपन्यास’समानान्तर आकाश’ । नारीप्रधान यस उपन्यासकी नायिका सुस्मिता पतिले माया गरुञ्जेल पति र घरलाई नै संसार ठानेर रमेकी हुनाले आरम्भमा उसमा नारीवादी चेतना देखिँदैन । पतिको सन्तुष्टिका लागि ब्युटीपार्लर जानु र सजिएर बस्नुमा आफ्नो सुख देखेकी छ । उसलाई थाहा थियो कि उसको पति ताजा र सुन्दर फूल चुसेर फाल्ने भँवरो हो, उसको मनमा नारीप्रति कुनै इज्जत, सम्मान तथा नारीका भावना बुझ्ने क्षमता छैन । यस्तो थाहा पाएर पनि ऊजस्ती शिक्षित नारीले आफ्नो हक अधिकार र स्थानबोध गरेर पतिसँग विद्रोह गरिन, उल्टै सन्तानको चाहनामा लिप्त भई । त्यो पनि पतिको इच्छा विपरीत । उसले सन्तान जन्माई मातृत्वको सुख तथा क्षणिक पति सुख पनि प्राप्त गरी । जब उसको पति अर्की युवतीको मोहमा परेर ऊ र उसका सन्तानलाई त्यागेर जान्छ उसका सन्तानको अधिकार खोसिन्छ किनकि आमा र बाबु दुबैको माया र सामीप्य पाउनु सन्तानको अधिकार हो । पतिलाई घरबाट निकालेर उसले विद्रोहको ढोका खोलेकी छ तर यहाँनेर आदर्शको प्रस्तुति ज्यादा देखिएको छ किनकि, हाम्रो समाजको कुनै पनि पुरुष पत्नीले ‘जा’ भन्दैमा आफ्नो सारा सम्पत्ति छोडेर लुरुक्क निस्कन तयार

हुन्छ ? यस्तो विद्रोह र चेतना उसमा सन्तान प्राप्ति अघि नै हुनुपथ्र्यो । अझ, पतिको आलिसान बङ्गलामा बसेर होइन, पतिलाई उसैको घरबाट निकालेर होइन सुस्मिताले आफ्नै पौरख र क्षमताका भरमा पति र उसको सम्पत्ति त्यागेर सङ्घर्ष गरेको भए महिलावर्गका लागि थप प्रेरणा बन्न सक्थी । उसले गाउँ गाउँमा पुगेर नारी चेतना प्रसार गरी, अशिक्षित तथा प्रताडीत महिलाहरूलाई शिक्षित र आत्मनिर्भर बन्ने वातावरण सिर्जना गरेर उनीहरूका नजरमा ऊ देवी समान स्थापित भई । यसलाई ठूलो उपलब्धि मान्न सकिन्छ तर उसले आफ्नै कोखमाथि अन्याय गरी । मातृत्वको लालसामा स्वयम्ले अत्यन्त पीडा खेपी । साथमा सन्तानलाई पनि आमाबाबुको काखमा खेल्ने र हुर्कने अधिकारबाट बिमुख गराएर कुण्ठामा बाँच्न बाध्य पारी । उसका छोराछोरीको व्यवहारबाट यो तथ्य प्रष्टिएको छ । उसकी छोरीले अविवाहित बस्छु भन्नुको कारण उपन्यासकारले आमाको अँासुको मूल्य चुकाउन भने पनि मनोवैज्ञानिकरूपमा त्यसको कारण उसले बालककालदेखि खेपेको पितृ विहिनताको कुण्ठा हो । प्रश्न स्वभाविक छ, उसलाई सन्तान वा मातृत्वप्रति त्यति मोह किन ? जबसम्म मातृत्वको प्यास र पुरुषको अँगालोको आशबाट नारी मुक्त हुन सक्दिन, नारीवाद अनि परम्परागत समाज परिवर्तनको आकाङ्क्षाको कुनै औचित्य रहँदैन । मातृत्वको मोहमा अल्झेर एकातिर आफूले शारीरिक र मानसिक पीडा खप्नु, अर्कातिर सन्तानलाई पनि मानसिक पीडामा राख्नु उसको कमजोरी त छँदैछ, उपन्यासको उद्देश्य प्राप्तिमा पनि नायिकाको निर्णय उपयुक्त देखिँदैन । ठाउँठाउँमा उसको चरित्र डगमगाएको छ । मानिसका दमित इच्छा, चाहनाहरूले उपयुक्त अवसर पाउनासाथ टाउको उठाउँछन् भन्ने फ्रायडीय मान्यताअनुरूप प्रभातको सामीप्यमा उभित्रका चाहनाहरू जुर्मुराएका छन् । एउटी स्त्रीले आफूलाई बुभ\mने र माया गर्ने पुरुषको चाहना राख्नु अस्वभाविक होइन बरु यो त उसको अधिकार हो तर उसले सन्तानप्राप्ति अघि नै गृहत्याग गरेर सङ्घर्ष गरेको भए त्यस सम्बन्धले सार्थकता पाउने थियो । सुस्मिता जसले पुरुषप्रधान प्रवृत्तिको सिकार भएर त्यसैका बिरुद्ध विद्रोह गरेकी छे, अनि आफूलेझैँ अन्य महिलाहरूले सोही प्रवृत्तिको सिकार हुन नपरोस् भनेर अहोरात्र लागेकी चरित्रलाई ठाउँठाउँमा आफ्नो सौन्दर्यप्रति मोहित देखाउनु अनि प्रभातप्रति बढी आकषिर्त देखाउनु उपयुक्त थिएन । उप्रति प्रभातभन्दा प्रभातप्रति ऊ नै बढी आकषिर्त देखिएकी छ । त्यसैले त अन्त्यमा, ग्रामीण महिलाहरूका लागि त्यतिका सङ्घर्ष र त्याग गरेर उनीहरूको आस्थाको केन्द्र भइसकेर पनि उनीहरूका लागि केही गरेर नेपालमै बस्नुसट्टा प्रभातको साथ खोज्दै विदेशिने पलायनवादी निर्णय गरी । कति राम्रो हुँदो हो यदि सुस्मिताले मदर टेरेसा र निर्मला दिदीहरूको पदचिहृन पछ्याउन सकेको भए ! अर्कातिर, उपन्यासकारले स्विटीका माध्यमले जुन समस्या उजागर गर्न खोजेकी छिन्, त्यो झनै बल्झिएको छ । प्रथम बलात्कारमा नै कुमारी युवतीको गर्भ रहनुलाई स्वास्थ्य विज्ञानले अत्यन्त न्यून सम्भावना मानेको छ । बलात्कारबाट गर्भ धारण गरेकी स्विटीले भ्रूणहत्या अपराध हो भन्दै अविवाहित (कुमारी ?) आमा बन्ने निर्णय गर्नु उपयुक्त देखिँदैन । स्विटीजस्ती शिक्षित र सचेत युवतीले पुरुषसँगको सम्पर्कलगत्तै भ्रूणको ठम्याइ गर्नु र आकस्मिक गर्भनिरोधबारे नसोची सन्तान जन्माउने निर्णय लिनु न ऊ अनि उसको भावी सन्तानका हितमा छ, न त यसले समाजमा कुनै सकारात्मक प्रभाव पार्न सक्छ । बरू एउटी नारीभित्र लुकेको मातृत्वमोहको प्रकटीकरणका रूपमा यसलाई लिन सकिन्छ । जुन बालकलाई उसैको परिवार र समाजले स्वीकार गरेको छैन, आमाबाहेक कुनै आश्रय पनि छैन, आमालाई केही भएको भए सन्तानको भविष्य……..? त्यसै पनि आज हामीले असङ्ख्य सडक बालबालिका अनेक विकृतिको सिकार भएको देखिरहेका छौँ । के तिनीहरू पनि कुनै आमाको कोखका उपज होइनन् र ? आफ्नो शरीरप्रति आफ्नै अधिकार हुनुपर्छ । यो नारीवादी सोच हो तर परिस्थितिले थोपरिदिएको दायित्व बोक्नैपर्छ भन्ने आदर्शले नारीजगत्को उत्थान हुन सक्दैन । आफ्नो भूमिमा के उब्जाउने भन्ने अधिकार भए पनि कसैले रोपिदिएपछि त्यसलाई उमार्नैपर्छ भन्ने आदर्श बोकेर ऐजेरु र सिस्नुको विरुवा उमार्नु भूमिको मूर्खताबाहेक केही होइन । आज हाम्रो समाजमा बलात्कारका घटना बढ्नुको कारण त्यसलाई हाउगुजीका रूपमा लिइनु नै हो । जसरी बलात्कारी पुरुष आफ्नो केही नगुमेको सोचमा सामान्य जीवन बाँचेको हुन्छ, त्यसरी नै बलात्कृत युवतीले पनि बलात्कारलाई एउटा नराम्रो घटना मात्र ठानेर सामान्यरूपमा जिउने अनि समाजले पनि सोहीअनुरूप लिने हो भने यस्ता आदर्शको भारीको कुनै औचित्य रहँदैन । बलात्कारपछि महिलाको गर्भ रहिहाल्ने र उसलाई समाजले वहिष्कार गर्ने त्रासका कारण नै बलात्कार ठूलो समस्या बनेको हो । एउटा बलात्कारीको सन्तान जन्माएर, निर्दोष त्यो बालकलाई पितृविहीन बनाएर उसले कुनै अनुकरणीय कार्य गरेकी छैन । सन्तान जन्माउनु नारीको अधिकार त हो तर त्यो अधिकारलाई सन्तानको पीडा र कुण्ठा बनाउने अधिकार नारीलाई कसले दियो ? स्विटीलाई एउटी अविवाहित आमाका रूपमा सङ्घर्षरत देखाउनु शरीर संरचना वा गर्भाशयका कारण पुरुषले नारीलाई दमन गरेको छ भन्ने नारीवादी मान्यता विपरीत देखिन्छ । हुनसक्छ, उपन्यासकारले यी सहायक पात्रका माध्यमले बाबुको पत्तो नभएका सन्तानले आमा हुँदाहुँदै पनि प्राप्त गर्न नसकेका नागरिक अधिकारबारे सचेत गराउन खोजेकी हुन् ।

वास्तवमा, पद्मावती सिंहको ‘समानान्तर आकाश’को खोजी अत्यन्त प्रशंसनीय छ तर आफूले निर्माण गरेको समानान्तर आकाशमा आफैँले अनावश्यक आदर्श र मातृत्वको तुवाँलो उठाएर धुमिल बनाउनु भने पक्कै न्यायोचित छैन । पितृसत्तात्मक समाज र पुरुष प्रवृत्तिप्रति विद्रोह या समन्वय के खोजिएको हो प्रष्टिनु आवश्यक देखिन्छ । समन्वय हो भने स्विटीले उसैको प्रेमी या अन्य कुनै उदार पुरुषको साथ पाएर सङ्घर्ष गरेको देखाउनुपर्ने थियो । माने गाउँजस्ता कैयौँ गाउँ बाँकी छदै सुस्मिताले विश्राम लिएर विदेश पलायन हुनु उपयुक्त छ ? आफ्ना सारा इच्छा, आकाङ्क्षा, लक्ष्य अनि प्रेमको उत्सर्ग गरेर एउटा बलात्कारीको सन्तान जन्माउने स्विटीजस्ता चरित्र बलात्कृत युवतीहरूका लागि आदर्श बन्न हुन्छ कि हुदैन ? यस्ता प्रश्नहरू धेरै उब्जन सक्छन्, अतः जब कुनै उद्देश्य प्राप्तिका लागि कलम चलाइन्छ, त्यसको सामाजिक प्रभावबारे सोच्नु पनि लेखकीय धर्म हुँदैन र ? लेखक उसको सामाजिक परिवेशको प्रभावमुक्त हुन सक्दैन भनेर माक्र्सवादी समालोचनाले भनेझैँ सन्तानको एक मुस्कानमा आफ्ना सारा पीडा बिर्सने परिवेशमा हुर्केका नारीका सिर्जनामा यस्ता कमजोरी देखिनु अस्वभाविक नभए पनि त्यसबाट मुक्तिको प्रयास भने गर्नैपर्ने हुन्छ । अबका नारीको लेखनी साँच्चै नै नारीवादी सोचअनुरूप नारीका हकअधिकार अनि उनीहरूले खेपेको शोषण र उत्पीडनका विरुद्ध हुनका लागि नारीपात्रहरूलाई अनुराधाझैँ विक्षिप्त नबनाई, सकमबरीझैँ विसङ्गत नदेखाई, अघि वरमाला च्यातेर विद्रोह गरे पनि अन्त्यमा सोही पुरुष गालवका साथ पुगेकी माधवी होइन सर्वमान्य स्त्रीशक्तिका रूपमा देखाइनुपर्छ । अनि सुस्मिता र स्विटीजस्ता आदर्शरूपमा होइन यथार्थरूपमा देखाइनुपर्छ । लेखकको हात भविष्यमा पनि विगतमाझैँ नारीवादी मान्यतानेरै पुगेर काम्नु हुँदैन ।

सन्दर्भसामग्री –

१ भट्टराई, शरदचन्द्र, माध्यमिक नेपाली गद्याख्यान , प्रः संः , २०५०,काठमाडौँ, नेपाल प्रज्ञा प्रतिष्ठान ।

२ बराल, कृष्णहरि र नेत्र एटम, उपन्यास सिद्धान्त र नेपाली उपन्यास , तेः संः,२०६६, काठमाडौँ, साझा प्रकाशन ।

३ भट्टराई, गोविन्दराज, पश्चिमी बलेसीका बाछिटा, प्रः संः , २०६१, काठमाडौँ, नेपाल प्रज्ञा प्रतिष्ठान ।

४ शर्मा, मोहनराज र खगेन्द्र लुइँटेल, पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त , प्रः संः, २०६१ ,काठमाडौँ, विद्यार्थी पुस्तक भण्डार ।

५ भण्डारी, कृष्णप्रसाद, फ्रायड र मनोविश्लेषण , ललितपुर, साझा प्रकाशन ।

६ सिंह, पद्मावती, समानान्तर आकाश , पः संः, २०६२, ललितपुर, साझा प्रकाशन ।

हाल मैतीदेवी, काठमाडौँ

मधुपर्क २०६८ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *