Skip to content


आजको जमाना व्यस्त जमाना, व्यस्त जमानाका सबै मान्छेहरू पनि आ-आफ्नै तरिकाले व्यस्तै छन् । साँच्चै भन्ने नै हो भने अहिलेको जमाना पावर र टावरको जमाना, डेटिङ र भिजिटिङको जमाना, इटिङ र मिटिङको जमाना । आफूलाई नेता भनाउन रुचाउने पार्टीका अभिनेताहरूले मेचमा सिटिङ गरी मिटिङ-मिटिङ भन्दै आफ्नो सात पुस्तासम्मको फिटिङ राम्रो गर्न बल बुद्धिले भ्याएसम्म पटक्कै अल्छी नमानीकन बल्छी हालिरा’छन् । सहमति र शान्तिको नाउँमा मिटिङ बसी घम्साघम्सी, कुस्ताकुस्ती, मुक्कामुक्की नै गरी’रा छन् तर यो मिटिङ भन्ने नाउँ सुन्नेबित्तिकै नेताहरू हुरुक्क भई तीन हात उफ्रेर भाग लिन पुगिहाल्छन् । किनकि मिटिङमा जसले धेरै भाग लिन्छन्, जो बढी मिटिङमा व्यस्त रहन्छन् त्यो नेताको पर्सनालिटी स्वाट्टै सगरमाथाको चुचुरोमा पुगेर त्यो नेता भीआइपीसमेत गनिन्छ । उपलब्धि शून्य वा जिरो भए पनि मिटिङमा भाग लिन पाए हिरोसमेत हुन पाउने भएकोले मिटिङमा जाने कुरा एउटा चैं सोध्दै नसोधे पनि सबै नेताहरूले पटक्कै नलुकाइकन होस् हवासका साथ, खुल्ला हृदयका साथ सार्वजनिक गर्दै हिँड्छन् । किनकि मिटिङमा सहभागी हुन पाउनु भनेकै शिष्ट र विशिष्टको लाइसेन्स पाउनु बराबर हो । त्यसैले नै यो मिटिङ वर्तमान परिस्थितिमा साह्रै लोकप्रिय र महत्त्वपूर्ण बन्न पुगेको छ ।

हस्याङ्गफस्याङ्ग गर्दैर् अघि बढिरहेका तपाईंको मित्रलाई तपाईंले क्याहो साहै्र बिजीजस्तो देखिन्छ नि भनेर सोध्नुभयो भने उसले इजीसँग जवाफ दिइहाल्छन्-अँ…..एउटा अर्जेन्ट मिटिङ थियो…..। उसको कुरा पूरा नहुँदै नै ऐ…..भन्दै अगाडि मान्छे होइन एउटा छुरा देखेजस्तै गरी तर्सेर तपाईंले पनि लौ त पछि भेटौंला नि भनेर लम्किहाल्नुहुन्छ । तसर्थ यो मिटिङ शब्द यति शक्तिशाली छ कि पछार्छु, बजार्छु, भकुर्छु र बङ्गारा झार्छु भनेर आउने मान्छेसमेत यसो नाउँ सुनेपछि लुरुक्क परेर र्फकन्छन् भन्याँ ।

मेरो एक जना साथी छ नजरमान, जो सधँै नै मिटिङ-मिटिङ भन्दै चाकाँ मट्टतिेल छ्यापेका कुकुरजस्तै बेजोडले दौडीराँ हुन्छन् भन्याँ । एउटा तरुनी फकाउन सजिलो होला बरु, उसलाई भेट्न त यति गाहारो कि ओहो ऽऽ । फोन गरे जुनसुकै बेला पनि म एउटा इम्पोर्टेन्ट मिटिङमा छुँ, पछि कुरा गरौँला है भनी फोन राखिदिइहाल्छ भन्याँ । उसको मिटिङमोह देेखेर टोल-छिमेक, साथीभाइहरूले उसको नामै मिटिङमान भनेर राखिसकेका छन् । यो मिटिङमान भन्ने नाम यति पपुलर भयो कि उसको ओरिजिनल नाउँ नजरमान भन्ने समेत बिर्सेर मान्छेले निमन्त्रणा कार्ड पठाउँदासमेत मिटिङमान भनेर लेखेर ल्याउँछन् । टोलमा समेत नजरमान भन्दा नचिन्ने अनजान नाम भइसक्यो भने मिटिङमान भन्ने नाउँ लिनासाथै ऐ….भनेर आठ वर्षे बच्चादेखि असी वषर्ीय बूढाबूढीले समेत तुरुन्त चिन्छन् ।

मिटिङमा भाग लिएको भरमा मात्र यस्तरी नाउँ फेमोस भएको र सधैँ टाइसुटमा सजिएर घामपानी, तातोचिसो क्यै नभनी स्मार्टसँग यो मेरो साथी किन कुँदाकुद गरेको होला ! काइदाको फाइदा छ कि क्या हो ? प्रशस्तै फाइदा र प्रोफिट छ होला, नत्र किन व्यर्थमा कुद्लान र ? भन्ने मनमा लागेकोले मैले पनि आफ्नो साथीसँग सोधेर आफ्नो भविष्यलाई सूर्यभन्दा चम्किलो बनाउने विचारले एकपटक नभेटी नछोड्ने बाचा गरेँ । आफूलाई राम्रो हुने भए कोरीको पाउ त मोल्नु पर्छ, त्यसैले चान्समा डान्स गरी हालौँ भन्ने विचारले साथीलाई भेट्ने अथक प्रयास गर्नथालेँ ।

पाँच सात पटक धाइ सकेँ तैपनि मेरो साथी भेट्ने प्रयास पनि देशमा प्रधानमन्त्री रोज्ने कार्यजस्तै असफलै रहृयो । तैपनि चरेस र हरेस दुवै नखाई पार्टी एवं नेताहरूबाट प्रभावित भई आर्जन गरेको ज्ञानको सागरमा डुबुल्की लगाउँदै सोचेँ । ऐ बाबा ऽऽ त्यत्रो विधि समय लगाएर भएभरको पैसा खर्चेर देशी-जङ्गली ६०१ जना बडेमानका ठूलठूला पेट भएका हात्तीहरूलाई पालनपोषण गरेर जाबो संविधान एउटा लेखिदेउ भनी नेपाली जनताले रिक्वेस्ट गर्दासमेत वर्षौंसम्म मजाले घिची सकेका, टन्न कोची सकेका खन्चुवा हात्तीहरूले त पटक्कै लाज मान्याँ छैनन् भने मैले ५/७ पटक नभेट्दैमा किन दिक्क र खिन्न हुने ? १६ पटकसम्म प्रयास गरेर पनि एउटा प्रधानमन्त्री देशलाई दिन नसक्दा त नेता, पार्टीपतिहरूले हार मान्याँ थिएन भने मैले मात्र किन हार मान्ने भन्ने विचारले प्रयास गर्दै जाँदा ट्याक्क डीभी परेजस्तै एक दिन ठ्याक्क साथीसँग भेट भएरै छाड्यो । अनि शुभ काममें देर क्योँ ? भनेर कुरा स्टार्ट गरी हालेँ । हैन…… मित्र, मैले अस्तिदेखि तपाईंसँग एउटा कुरा सोध्न खोज्दै थिएँ । कुरा के भनेंनि, तपाईं सधैँ मिटिङ, मिटिङ भन्दै रातदिन कुदाकुद गर्नुहुन्छ, साँच्चै यो मिटिङले के के फाइदा हुन्छ ? हाम्रो देशमा सहमति र शान्ति ल्याउन भनेर गनेरै भनेरै साध्य नहुने गरी मिटिङ बसिसकेका छन् तर केही काम भएको जस्तो त लागेन मलाई । नेताहरू भने अन्तिम मिटिङ-अन्तिम मिटिङ भनेर फलाक्दै हिँडिराँ छन् । क्यैन क्यैत फाइदा छ होला, नत्र कहिल्यै घाटा व्यापार नगर्ने नेताहरूले यतातिर ध्यान देलान् र ! जेहोस् तपाईं त मेरो कट्टूयार पो त, तसर्थ यो मिटिङ महात्म्यबारे आज्ञा गरी मलाई पनि जीवनमा राम्रो लाभ आर्जन गर्ने मौका दिनुहोला ।

मेरो अनुनय विनय देखेर एकपटक यताउति हेरेर मतिर फर्केर मिटिङमानले भन्यो “कसैलाई पनि नभन्ने हो त ? मैले धरोधर्म कसैलाई भन्दिन भनेमा सातवटी जोईभएको पोइको हविगत होस् भनेर किरिया खाएपछि विस्तारै मुख खोल्दै मसिनो स्वरले उसले भन्यो यता हेरेर ध्यान दिई राम्ररी मेरो कुरा सुनेस् । हेर, मैले यो मिटिङमिटिङ भन्दै म्याराथुन गरिरहेको पैसा कमाउनका लागि होइन के ऽऽ । अर्थोक नै धेरै थरिका फाइदा छन् के ऽऽ ।

उसको कुरा नबुझेर मैले भनेँ, हैन….मित्र, मैले त तिम्रो कुरा बुझ्नै सकिनँ । अलिक सफासँग भन्देउन यार । मेरो रिक्वेस्टपछि मित्रले आफूभित्रको गुहृय एवं रहस्यमय कुराहरू खन्याउँदै ल्यायो । लौ सुनेस्, सर्वप्रथम त यो मिटिङ भन्ने शब्द नै कसैले शङ्का नगर्ने अचूक ब्रहृमाश्त्र हो । किनभने आफ्नो गर्लफ्रेन्डसँग नगरकोटमा घुम्न जान पनि मेरो आज थानकोटमा मिटिङ छ भन्यो कि श्रीमतीले समेत बिहानैदेखि उछलकुड गरेर टायममैं भान्छा तयार गरिदिन्छे । यदि मिटिङ नभनीकन गर्लफ्रेन्डसँग फलानो ठाउँमा घुम्न जान लागेको भनेर सत्यसत्य कुरा बोले हतारहतार भान्छा तयार गर्नुको साटो रौद्ररूप धारण गरी श्रीमतीले खप्पर नफोड्लिन् र ? त्यस्तै कहिलेकाहीँ यसो ऽऽ डान्स रेस्टुराँतिर जान मन लालायीत हुन्छ, त्यस्तो बेला बिहान अफिस हिड्ने बेलामैँ श्रीमतीलाई बेलुका मेरो इम्पोर्टेन्ट मिटिङ छ ढिलो हुन्छ होला, तिमी खानासाना खाएर सुत्नु है भनी मायालु स्वरले भन्दिनु । ल…ल….मेरो चिन्ता गर्नु पर्दैन हजुरले, हजुरको आफ्नो काम मात्र आरामले सिध्याइस्योस्न भन्ने जवाफ पाउँदा बेलुका मज्जाले प्रियतमसँग रिल्याक्स गरेर काम सम्पन्न गर्न सकिन्छ । यदि श्रीमतीलाई बेलुका म डान्स रेस्टुरेन्टमा गएर आउँछु भने त्यसको परिणाम के हुन्छ होला आफैँ सोचेर हेरौँ त । यसरी नै अफिसमा बस्दा पनि कहिलेकाहीँ पीएसँग रोमान्स गर्ने मुड भए भित्र कसैलाई पनि नपठाउनु, हामी भित्र अर्जेन्ट मिटिङमा छौँ भनेर ढोका बाहिर पियनलाई पालो राखिदियो भने पियनले भित्र कसैलाई छिर्न दिँदैन र भित्र पीएलाई प्रिय बनाई गरिने माया ममताको कार्य सबै निर्विघ्न एवं आनन्दसँग पूरा हुन्छ । यदि सत्य कुरा गरेको भए उद्देश्य पूरा गर्न सक्ला र ? यस्तै कहिलेकाहीँ साथीभाइसँग यसो ऽऽ म्यारिजस्यारिज खेल्न मन लाग्छ, त्यस्तो बेला पनि म्यारिज खेलिरहेको नभनीकन म एउटा मिटिङमा छु हैं भनेर घरमा फोन गरेर पठायो भनें अरुले त के आमाबाबु, छोराछोरी र स्वास्नीले समेत सपनामा पनि शङ्का गर्दैनन् । बरू यसो खेलिरहेको बेला क्षणक्षणमा घरमा फोन गर्न चैँ कदापि बिर्सनु हुन्न । त्यस्तै कतै भोजसोज जाँदा पनि म तपाईंकहाँ भएर मात्र आएको, भ्याउँदै भ्याउँदिन अहिले पनि फलानो होटलमा मिटिङ छ, अन्त भए जाने नै थिइनँ, तपाईंकहाँ नआई नहुने भएर मात्र आ’को भन्नोस् । भोजवालाले अरू पाहुनाहरूको मान मर्यादाको पर्वाह नगरी तपाईंलाई नि पहिले स-सम्मान खाना ख्वाउन आफैँ अघि बढ्छ ।

तसर्थ त्यस्ता नमुना गरिमा त कति छन् कति, यसको महिमा र फाइदाको त कुरा गरेरै साध्य छैन । त्यसैले ट्वाइलेट जाँदा पनि कसैको फोन आए मिटिङमा बिजी हुनुहुन्छ भनेर जवाफ दिनु भनेर परिवारलाई सिकाइ राख्नु । राति सुत्ने बेला कोही भेट्न आयो वा फोन गर्‍यो भने उहाँ मिटिङमा व्यस्त हुनुहुन्छ भनेर जवाफ दिने बानी नोकरलाई समेत गराइराख्नु पर्दछ । कहिलेकाहीँ झुक्किएर, भुलेर तिमी आफैँले फोन उठायौँ भने पनि कत्ति पनि नहडबडाइ बडो भद्र तरिकाले “उहाँ मिटिङमा हुनुहुन्छ, घर आउनु हुने, नहुने कुनै ठेगान छैन, क्यै काम भए हजुरको नाम र ठेगाना भन्नुहोला भन्नु । जति बढी तैँले मिटिङमा व्यस्त भनाउन सक्छस् त्यति नै बढी तँ समाजमा विशिष्ट व्यक्तिको रूपमा प्रतिष्ठित बन्न सक्छस् । लौ अब त बुझिस् हैन ? जुनसुकै बेला पनि उहाँ मिटिङमा हुनुहुन्छ भनाउने, अनि आफ्नै मोबाइलमा फोन आए म मिटिङमा छु भन्ने, अरू त के कुरा ओछ्यानमा उत्तानो टाङ पारी फेसन टीभी हेरिरहेको बेला फोन आए पनि म मिटिङमा छु भन्ने जवाफ दिन नबिर्सनु । किनकि सुत्नुभनेको पनि ओछ्यानसँग मिटिङ गर्नु त हो नि । होइन र ?

मधुपर्क २०६८ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *