“आमा आज फिस तिर्ने अन्तिम दिन हो ।” छोराले आमालाई आग्रह गयो ।
‘बाबू ! आज त मसँग एक पैसा पनि छैन ।’ लौ, त्यसो भए म स्कुल नै जान्न । एक…दुई…तीन… म स्कुल जान्न आज पैसा नलगे स्कुलले निकाली दिन्छ । छोराले अड्डी कस्यो । ‘पैसा नै नभएपछि के लाग्छ त ?’ छाप्न मिल्दैन, चोर्न जाउँ भएन । ऊ परिस्थितिसँग पूर्णरूपमा पराजित भई । मनमनै दिक्क लागेर आयो विचरीलाई । द्वन्द्वमा घाइते उसको श्रीमान् केही गर्न सक्दैनन् ।
-छोराको स्कुल फिस….?
-श्रीमान्को औषधोपचार…?
-बिहान-बेलुकीको हातमुख जोर्ने समस्या…..?
-………? आदि आदि ।
यो सम्पूर्ण कसरी सम्भव छ ? निरुत्तर भई ऊ । केही
क्षणपछि ऊ सरासर घरबाट बाहिर निस्किई ।….र शरीर बेच्न थाली । यसबाट उसको सम्पूर्ण गर्जो टर्यो ।
एक दिन उसको सम्पर्कमा एउटा परिचित अनुहार छिर्यो । ‘परिचित अनुहार’ छोरो पढ्ने विद्यालयको हेडमास्टर थियो । ऊ लाजले भुतुक्क भई । मास्टरको अनुहार पनि निचोरिएको निबुआ झैं भयो । उसले हेडमास्टरसँग सम्पूर्ण विवशताको रहस्य फुकाई । हेडमास्टरले यो घटना गुपचुप राख्न भने र छोरालाई निःशुल्क पढाइ दिने बाचा गरे ।
विद्यालयमा उसले छोरा निःशुल्क पढाई । हेडमास्टरले सम्पूर्ण फि मिनाह गरिदिए । उसले पनि उक्त वाधयात्मक पेसा त्यसै दिनबाट त्यागिदिई ।
झुले-२ अमरटोल, दोलखा
युवामञ्च २०६८ बैशाख