Skip to content


आजको दिन !

हेर त आफ्नो घरको बैठक कोठाको भित्ता । केही पायौ त्यहाँ नौलो कुरो ? हो, ठीक भन्यौ । हिजोसम्म झुण्डिएको पुरानो क्यालेण्डरको ठाउँमा रूप-रङ फेरिएको नयाँ क्यालेण्डर झुण्डिएको छ आज ।

कसले झुण्ड्यायो त्यो नयाँ क्यालेण्डर त्यहाँ । तिमीलाई थाहा छैन ? तिम्रा बाबाले त हो नि ! तिमीलाई फेरि लाग्दो हो- पुरानो क्यालेण्डर हुँदाहुँदै अर्को नयाँ क्यालेण्डर किन झुण्ड्याउनुभएको होला बाबाले त्यहाँ ?

लौ सुन !

क्यालेण्डर आफैंले बताउनेछ सबै कुरो ।

म क्यालेण्डर हुँ । मेरो जन्म कहिले भएको हो कुन्नि ! यकिनका साथ मिति तोकेरै भन्न त सक्दिनँ म । तर यत्ति कुरो प्रष्टसँग भन्न सक्छु- जबदेखि मान्छेहरूले महिना, गते, बारको हिसाब-किताब लिखितरूपमा राख्न लागे त्यहीबेला नै मेरो जन्म भएको हो ।

एउटा अर्को कुरा पनि प्रष्ट पारुँ म- अरूजस्तो एकपटक जन्मेर मरिहाल्ने होइन म । वास्तवमा मेरो त कहिले पनि मृत्यु हुँदैन । जब म मरेँ भनेर कसैले भित्ताबाट फ्याँक्न खोजे भने फेरि अर्को नयाँ जन्म लिएर म टुप्लुक्क त्यहीँ झुण्डिन आइपुगिहाल्छु । त्यसो त, त्यत्तिकै मलाई कसैले भित्ताबाट झकिेर फाल्दै फाल्दैनन् । कदाचित् फालिहाले भने तिमीले बुझ्नू- त्यहाँ मेरो अर्को जन्म भएछ । मेरो अर्को जन्मको मतलब हो वर्ष फेरिनु । जसरी आज पनि पुरानो वर्ष फेरिएर नयाँ वर्ष लागेको छ, र नयाँ वर्षसँगसँगै नयाँ रूप-रङमा तिम्रो घरको कोठाको भित्तामा झुण्डिन आइपुगेकेको छु म तर एउटा कुरो, सबैको घरमा नयाँ क्यालेण्डर फेरिने दिन एउटै हुँदैन । देश-देशको, धर्म-धर्मको, जात-जातको आ-आफ्नै किसिमको हुन्छ- नयाँ वर्ष अनुसार क्यालेण्डर फेर्ने दिन । जस्तो, कहीँ अङ्ग्रेजी संवत्मा, कहीँ विक्रम संवत्मा, कहीँ बौद्ध संवत्मा, कहीँ नेवार संवत्मा । यसप्रकार, मेरो जन्म फरक-फरकरूपमा पाउन सक्छौ तिमी ।

तिमीले अहिले मलाई जहाँ आफ्नो घरको कोठामा झुण्डिएका पाएका छौँ त्यहाँ तिमीले राम्रोसँग हेर्‍यौ भने पाउन सक्छौँ- पोहोर परारको जस्तै विक्रम संवत्को रूपमा झुण्डिएको छु म । अझै नियालेर मलाई हेर्‍यौ भने एउटा कुरो प्रष्ट पाउने छौ- त्यहाँ विक्रम संवत्को सालचाहिँ परिवर्तन भएको छ । अर्थात् हिजोसम्मको २०६७ साल आजबाट विक्रमसंवत् २०६८ बनेको छ ।

आहा ! कत्ति खुसी छु म आज । तिमीले मनाउने आफ्नो जन्मदिन जस्तो मेरो पनि आज जन्मदिन हो । भित्तामा म फेरिएको खुसियालीमा नेपालीहरूको घर-घरमा ठूलो उत्सव हुँदैछ । जसरी केक काटेर, मन्दिर गएर, पूजापाठ गरेर तिमी आफ्नो जन्मोत्सव मनाउँछौ त्यसरी नै मेरो जन्मोत्सवको उपलक्षमा पनि रमाइलो हुँदै छ । घर-घरमा भोजभतेर हुँदैछ । भरै राति त घर-घरमा दीपावली नै हुनेछ । पट्कासमेत पड्काएर हर्षबढाइँ हुनेछ जताततै मेरो तर एउटा कुरो, म स्वयं भने यस खुसीयालीमा सहभागी हुन सक्दिनँ म । किनकि म निर्जीव वस्तु हुँ तर पनि आफू झुण्डिरहेको भित्ताबाट हेरिरहन सक्छु म सबै दृश्य । यसैमा खुसी छु म । आहा ! कति गर्वको कुरो । मेरो जन्मोत्सवको उपलक्षमा यति ठूलो सम्मान भइरहेछ मेरो । माया पाइरहेछु सबैको ।

आज मलाई नाचूँ नाचूँ लागिरहेछ, गाउँ-गाउँ लागिरहेछ ।

क्यालेण्डर हुँ म ! मलाई थाहा छ-अब एक वर्षसम्म महिनैपिच्छे बडो जतनका साथ मेरा पन्नाहरू पल्टाउँदै जानेछन् सबैले ।

मुना २०६८ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *