Skip to content

ऊ अचेल मेरो सपनामा आउँछ


ऊ अचेल मेरो सपनामा आउँछ ।
अनि मसँग हिसाब माग्छ ।।

आँखाभरि आँसु पिएर,
रगतको मूल्य सोध्छ ।
छातीभरि घाउ लिएर,
जीवनको भाउ खोज्छ ।।१।।

ऊ अचेल मेरो सपनामा आउँछ ।
अनि मसँग निसाफ माग्छ ।।

हृदयका धड्कनले,
मनभरिका भावना बोल्छ्न ।
मुहारका भुटभुटीले,
तनभरिका वेदना खोल्छ्न ।।२।।

ऊ अचेल मेरो सपनामा आउँछ ।
अनि मसँग जवाफ माग्छ ।।

“आमाको सपना” पुर्याउछु भन्दै,
मुक्ति-सग्राम छेड्यो उसले ।
“एक जुगमा एक दिन” लेराउँछु भन्दै,
जगलको बाटो रोज्यो उसले ।।३।।

गास-बास केही नभनी,
छातीभरि गोली थाप्यो ।
आमा-बाबा सबैलाई त्यागी,
हाँसी-हाँसी विदा माग्यो ।।४।।

ऊ अचेल मेरो सपनामा आउँछ ।
अनि मसग सवाल राख्छ ।।

मैले बोल्ने शब्द नपाउदा,
उसको छाती पोल्न थाल्छ ।
मेरो शीर निहुरेको देख्दा,
उसको घाउ बोल्न थाल्छ ।।५।।

खुशीयाली यहा ल्याउनकै लागि,
आफ्नै बलि दियो उसले ।
हरियाली यहा बनाउनकै लागि,
आफ्नै रगत बगायो उसले ।।६।।

ऊ अचेल मेरो सपनामा आउँछ ।
अनि मसँग हिसाब माग्छ ।।
ऊ अचेल मेरो सपनामा आउँछ ।
अनि मसँग निसाफ माग्छ ।।७।।

डा. अजय रिसाल
धुलिखेल अस्पताल

2 thoughts on “ऊ अचेल मेरो सपनामा आउँछ”

  1. ऊ अचेल मेरो पनि सपनामा आउँछ
    ऊ अचेल मेरो पनि सपनामा आउँछ !!!!…………………
    तर तिम्रो उ र मेरो उ ……..
    के समानता छ यि दुई मा??????

Leave a Reply

Your email address will not be published. Required fields are marked *