Skip to content


प्राचिन जाति किरात राईहरू आफ्ना सम्पूर्ण संस्कार मुन्दुमद्धारा निर्देशित हुन्छ । मुन्दुम शास्त्र सङ्गीतबद्ध रूपमा प्रयोग हुनका साथै कतिपय अवसरमा बाद्ययन्त्रहरूको पनि प्रयोग भएको पाईन्छ । त्यसैले किरात राईहरू गीत, सङ्गीत तथा नृत्यमा आफूलाई सीपयुक्त प्रस्तुत गराउँछन् ।

किरात राईहरू आदिकाल देखिनै बाद्ययन्त्रमा प्राकृतिक बस्तुहरूको प्रयोग गर्नुका साथै आधुनिक समय भोगाईसंगै केहि धातुको प्रयोग पनि भएको पाईन्छ । प्राकृतिक बस्तुहरूमा रूखका पातहरू विभिन्न प्रकारका बाँसहरू, काठहरू, छालाहरू तथा फलाम, काँस आदिको प्रयोग गरि आएको पाईन्छ । किरात राईहरूले प्रयोग गरेका त्यस्ता केहि मौलिक बाजाहरूको संक्षीप्त जानकारी गराउने प्रयास गरिन्छ ।

पिपिरिमा (पात बाना) ः चिल्लो पातको छेउलाई दुई ओठको बीचमा राखि फुकेर विभिन्न भाका निकाली बजाईन्छ । घाँस – दाउरा, खेतिपाति तथा यात्रा आदिको कुनै स्थानमा पनि बजाईन्छ ।

पुङ (सिङ अर्नाको सिङ) : अर्नाको सिङलाई टुप्पोमा प्वाल पारेर सो सानो प्वालबाट फुकेर बजाईन्छ । यो बाजा साकेवा थानमा पुजा गर्न जाँदा नाक्छोङ (धर्म गुरू) को साथमा ढोल-झ्याम्टासंगसंगै बजाईन्छ ।

बिबिलिम्मा (बासुरी/मरली) ः मालिङ्गो जातको सानो बाँसबाट बासुरी/मुरली बनाएर बजाईन्छ । एकतिर, बन्द- अर्कातिर खुल्ला भएको भागमा सातवटा प्वाल बनाएर एउटा बाट, फुकि अरू छवटालाई दुई हातको ६ वटा औँलाले छोपेर खोल्दै भाका निकालि बाँसुरी बजाईन्छ । त्यस्तै बाँसमा ठेडी राखेर बनाएको दुईवटालाई धागोले बाँधेर बराबर एकै स्वर निकाली फुकेर जोर मुरली बजाईन्छ । तर यो किरात राई शैलीको जोर मुरली वर्तमान अवस्थामा बनाउन छाडिएको छ ।

टुङ्मा/यलम्बर बाजा : किरात राईहरूले ठूलो बाँसको दुबै आँख्ला भएको बाँसलाई बीचमा चारपाटे सानो प्वाल पारेर जसको दाँया – बाँयामा त्यसैमा सानो – सानो चोया निकालिन्छ । त्यो प्वालमाथी दुबै चोयामा बाँसकै चोईटाले अल्झाएर ढाकिन्छ । देब्रे चोयाको माथिल्लो छेउमा एउटा सानो प्वाल पनि बनाएको हुन्छ । यसरी बनेको टुङ्मा बाजालाई देब्रे हातले माथिको प्वाल चोरी औँलाको छोपी सानो स्वर बजाउन प्वाल खुल्ला गर्ने र ठूलो स्वर बनाउन छोप्ने गरिन्छ । बीचको प्वाल छोपेको चोईटा माथी दाहिने हातको बुढी औँलाले पालै-पालो हानेर मादलको जस्तै ठूलो- सानो बोल निकाली बिभिन्न तालमा बनाईन्छ ।

चोङ्वारी (चरी बाजा) ः सानो आकारको बाँसको छ वटा लामो-छोटो टुक्रालाई एकै लहरमा बाँधेर यो बाजा बजाईन्छ । यसरी छ वटै फरक स्वरका यी टुक्राको बराबर मिलेको भागको खुल्ला र अर्को पट्ट िप्वाल बन्द रहेको हुन्छ । प्रत्येक खुल्ला प्वालमा फुकेर बिभिन्न चराको आवाजहरू निकाली बजाईन्छ ।

डोङ्डोङ्मा (बिनायो) ः बाँसको सानो – लगभग छ ईन्चको भाटाको बिचमा खोपेर जिब्रो निकालि दुई छेउमा धागो बाँधेर तथा सुन्दर बुट्टा खोपेर बिनायो बनाएको हुन्छ । यसरी बनाएको बिनायोलाई जिब्राको अगाडि पट्टकिो लामो डोरीलाई झड्कारेर बजाईन्छ । यसरी बजाउँदा विभिन्न भाका निकाल्नलाई बिनायोलाई मुखको दुबै ओठमा राखी भित्रवाट हावाको धक्काद्धारा आएको कम्पनलाई जिब्रोबाट प्रभावित गरिन्छ । यो बाजा किरात राई महिलाले आफ्नो चोलोको तुनामा झुण्डाएर बोकिन्छ । यसरी बोकेको बिनायोलाई मेला-पात वा हाट-वजार जहाँ पनि बजाउने गरिन्छ । यो बिनायो बाजामा दुई जिब्रो भएको बनाउन छाडिएको छ ।

मुर्चुङ्ग्वा/मुचुङ्गाः फलामद्धारा निर्मित एउटा जिब्रोलाई हिर्काएर बजाईने सानो बाजा मुर्चुङग्वा हो । जिब्रोको दुई छेउमा रहेका दुईवटा आधारलाई ओठ खोलेर तल्लो – माथिल्लो दाँतहरूमा अड्याई औँलाले हान्दै आवाज निकाली भित्री स्वासद्धारा विभिन्न भाका निकाली बजाईन्छ ।सानो तथा कच्चा जिब्रा भएको यो विनायो बाजालाई सुरक्षीत राख्न मालिङ्गो बाँसको सानो खोल बनाई त्यस भित्र राखिन्छ, जस्को बाहिरी भागमा अति आकर्षक बुट्टा खोपेको हुन्छ । यसलाई धागोको प्रयोग गरि चोलोको तुनामा बिनायो सँगै झुण्डाएर बोकिन्छ ।

सिलिमी ः फलामद्धारा बनाईएको चेप्टो लाम्चो आकारमा छेउ-छेउमा लहरै- १२ वटा मुन्द्री लगाएर तल्लो पक्रने भाग मुनी पनि चारवटा मुन्द्री राखेर यो सिलिमी बनाएको हुन्छ । सिलिमी बाजालाई सिली नाच नाच्दा हातमा लिएर नाचको चालसंग हल्लाउदै आवाज निकालेर बजाईन्छ ।

किरात राईका माथिका मौलिक बाजाहरू बाहेक ढोल-झ्याम्टा पुजा कार्य देखि नाच-गान आदिसम्म अत्यधिक प्रयोग गरिन्छ । पात, घाँस, पराल, काठ, काँस आदि सयौँ बाजाहरू बजाउने गरिन्छ ।

शनिबार, गोरखापत्र
बैशाख ३१, २०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *