Skip to content

त्यो आवाज मन्द छ तर सत्य छ


च्यातेर झन्डा लगौँटी लगाउनेहरू हो !
झण्डाले लाज ढाक्तैन कसै गरी
टांगमुनि अल्झिनुको बिवशतामा
ऊ त आफैँ लाजले सिङ्गो युग रुन्छ रुवाउँछ
नबिर्स! झन्डा हातमै उचालिनुपर्छ
अनि पो गर्वले फहराउँछ
ऊ हाँस्छ र सबैलाई सुहाउँछ ।

हृदयमा कोढ बोकेर हिँड्नेहरू हो !
सुकिलो सुटले महामारी रोक्तैन कसैगरी
उसोर ज्ञानीहरू भन्छन्
महानगरको लुतोग्रस्त कुकुर कम्ती हानीकारक,
स्वस्थ हृदय बोकी गल्लीको कुनामा
छालाको लुतो क्वार्क्वार कन्याउँछ
नियतबस् अर्कोलाई सार्दैन
ल्याप्ल्याप चाटेर आँफैँ निको बनाउँछ।

जब सन्तुष्टिको तरंगले कम्पित
खुशीका झंकारले प्रफुल्लित
झुपडीका
सम्पन्न झ्याङप्वालले
स्वर्णभवनका बिपन्नतालाई जिस्क्याउँछ
लाज आँफैँ उम्रिनुपर्ने हो अत्तरी पहिरनको चमकमा
तर यस्तो नहुँदोरहेछ ,,
आँखा पनि त बन्दी छन कालो शिशाभित्र!
हो त्यही अन्धकारमा
आँखा डुबेकोछ
हृदय कुहिएको छ
झन्डा ध्यार्ध्यार्ती च्यातिएको छ।

संस्कारको गरीबीमा
चिन्तनको दरिद्रतामा
स्वाँठहरूको जग्जगी छ
बदमाशहरूको चिच्याहट छ
त्यहीं निर
भग्न आँगनको डिल मुनि
केही आँखामा चमक छ
सङ्गै गुन्जन पनि छ
स्वरमा सुरिलोपन छ
हो मन्द छ तर सत्य छ।

त्यो आवाज भन्दैछ
कि झण्डा हातमै उचालिनु पर्छ
अनि पो गर्वले फर्फराउँछ
ऊ हाँस्छ र सबैलाई सुहाउँछ ।
त्यो आवाजमा सुरिलोपन छ
हो मन्द छ तर सत्य छ।

3 thoughts on “त्यो आवाज मन्द छ तर सत्य छ”

  1. दीप्स शाह (त्यो आवाज मन्द छ तर सत्य छ)
    मार्मिक र सान्दर्भिक कविताको लागि साधुवाद!
    तर अफसोचको कुरा यो छ कि, झण्डाको लगौंटी लगाउने कसैले पनि आफूले झण्डाको लगौंटी लगाएको महसुस गर्दैनन् र पो यस्ता सन्देशात्मक अभिव्यक्तिहरू उचित मानिसमा सम्म पुग्नै सक्तैनन् ।

  2. ठिस बुढा

    झण्डाको लगौंटी…
    नमस्कार !
    झण्डाको लगौंटी अमेरिकि मेडोनाले अमेरिकामा लगाएकी थिई । अनि लगाउन पाईन्न भनियो रे । यहाँ, नेपालमा पनि लगाउन पाईन्न कसैले भनिदिनु पर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *