Skip to content


देखेँ मैले
घर पस्दै गर्दा
मेरो वर्तमान
चूक घोप्ट्याएर झैँ
सधैँ अँध्यारो खन्याइ रहेछ
मेरो घर, कोठा, गल्ली, बाटो
सबका सब
घना अँध्यारोले निलिरहेछ ।
बाटो पहिल्याउनु त कता हो कता
म आफैं हराइरहेछु यस घडी ।
दिनहुँ निर्धक्क थपिरहेछ
मेरो भाग अँध्यारो
देशै नभएको नागरिक जस्तो भएछु म ।
जुन समय
उज्यालोको सक्तता महसुस गर्छु,
थप्दै अँध्यारो खन्याइन्छ
सोहोरिरहेछ कसले
मेरो उज्यालो ?
खोसिरहेछ कसले
जिउने अधिकार ?
यो निश्पट्ट अन्धकारमा छिर्न
अन्धकारमै हिँड्नु छ मलाई ।
मेरो रूप र सौन्दर्य
मैले बोकेर ल्याएका फूलहरू र यसका रङ्गहरू
अदृश्यतामा हराइरहेछन्
बाध्यतावस् ।
म आफैँ पनि
महसुस गरिरहेछु असुरक्षित
लुटिने सम्भावनाले
सन्त्रासमा छु ।
शक्तिहीन सत्ताको निरीहतामा
अनाहक दुःख भोगिरहेछु ।
अस्तित्व बोधको सङ्कटमा छु
यस अराजक अँध्यारोमा ।
सायद,
अहिले यही शब्दले
म आफ्नो बोध गराइरहेछु
किनकि
मेरो शब्दहरू
म हुनुको एउटा बोधले
जस्तोसुकै
अनिर्णय, अराजक अँध्यारोमा पनि ।
शब्द स्वर भई उठ्नुको
एउटा बलियो आधार न हो

अनुः – पूर्ण बैद्य
(नेपालभाषाबाट अनूदित)

गोरखापत्र शनिबार
जेठ ७, २०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *