Skip to content


केही दिनदेखि त्यस क्षेत्रमा लडाईंको सम्भावना अझ बढेको थियो । दुवैतिरको सैनिकहरू त्यहाँ आफ्नोआफ्नो सिमाना नजिकै निकै सतर्कतापूर्वक तैनाथ थिए । एक दिन बिहानै यतापट्टकिा सैनिक क्याम्पका सबैलाई तुरुन्त तयार हुने आदेश दिइयो । तिनीहरू जुनजुन काममा व्यस्त थिए, ती सबै कामलाई छोडेर सबै हतारहतार तयार हुन थाले ।

दक्षिण-पश्चिम सीमा नजिकैको जङ्गलभित्र शत्रुका सेनाहरू घुसिसकेका छन् । उनीहरू त्यो जङ्गलको भित्रभित्रै विस्तारै अगाडि बढिरहेका छन् । तिनीहरूलाई त्यहाँबाट लखेटेर हाम्रो अन्तिम सीमामा पुगेर हामीले बस्नुपर्छ । होइन भने पनि, उनीहरूलाई त्यो ठाउँबाट अगाडि बढ्न कुनै हालतमा पनि दिनु हुन्न । सबैले सतर्क भएर, निडरताका साथ अगाडि बढ्नुपर्छ । पछाडि सानो झोला र हातमा राइफल लिएर तयार भइसकेपछि, कमान्डरले ती सबैलाई यही आदेश दिएको थियो ।

सबै सैनिकहरू त्यहाँबाट हिँड्नै लाग्दा, ब्रिगेडियरले फेरि भनेका थिए- देशले सैनिकहरूलाई खान-लाउन दिएर, तलब दिएर, तालिम दिएर तयार पारेको यस्तै समयका लागि हो । यो समय पाउन प्रत्येक सैनिकका लागि खुसीको कुरा हो । लडाईं लड्ने अवसर प्रत्येक सैनिकको निमित्त आफ्नो क्षमता र बहादुरी देखाउने अवसर हो । लडाईंले मात्र सैनिकहरूलाई आफ्नो क्षमता देखाउने मौका दिन्छ । आज त्यो मौका तिमीहरू सबैले पाएका छौ । तिमीहरू सबैले बहादुरीका साथ यो काम पूरा गर्नुपर्दछ ।

सबै सैनिकहरू शत्रुपक्षको आगमन र सम्भाव्य आक्रमणका प्रति सजग हुँदै अगाडि गइरहेका थिए । उनीहरू दक्षिण-पश्चिमपट्टकिो अनकण्टार जङ्गलतिर सतर्कसाथ बढिरहेका थिए । कुन बेला आफ्नो अगाडि वा पछाडि वा दायाँ, बायाँ कतातिरबाट शत्रुपक्षका सिपाहीहरूले गोली चलाउने हुन्, कतिबेला मुठभेड हुने हो, उनीहरू सबैको सम्पूर्ण सोचाइ केवल यसमा, यसमा मात्र केन्दि्रत थियो । यसबाहेक अरू सोच्ने अलिकति पनि फुर्सद उनीहरूसित थिएन ।

उसले पनि यसबाहेक अरू केही सोचेको थिएन । केवल यही सोचाइमा, सतर्कतका साथ ऊ गइरहेको थियो । उसको बटालियनका अरू पनि सबै गइरहेका थिए । अहिले यसरी ऊ गएको निकैबेर भइसकेको थियो तर कतिबेर भयो, ऊ कहाँ पुग्यो, उसलाई केही थाहा थिएन । उसलाई थकाइ लागेको, भोक लागेको, तिर्खा लागेको पनि थाहा थिएन । फगत ऊ एउटा सिपाही । मर्न पनि तयार, मार्न पनि तयार । केवल यही दुई विन्दुमा टेकेर हिँडेको सिपाही । सिमाना वरसम्म घुसिसकेका शत्रुपक्षसित लड्न, उनीहरूलाई परास्त गर्न ऊ गइरहेको थियो । उसको अगाडि को गइरहेको छ, पछाडि को आइरहेको छ, त्यसलाई उसले बिर्सिसकेको थियो ।

एकाएक गोली चलेको उसले सुन्यो । त्यसले उसलाई सतर्क पार्‍यो । अनायास उसका खुट्टाहरू एकछिन रोकिए । उसले थाहा पायो, ऊ एक्लै छ । उसका साथीहरू कहाँ छन् ? उसलाई केही थाहा छैन । उसले पनि गोली चलायो । गोली दुवैतिरबाट चल्न थाल्यो । मुठभेड भइरहेछ, उसले थाहा पायो । गोली चलेको ठाउँ निकै नजिकै जस्तो पनि, केही टाढाजस्तो पनि उसलाई लाग्यो । गोलीको आवाज निकै जोडतोडका साथ आइरहेको थियो । अब एउटा लडाईं प्रारम्भ भइसकेको छ । ऊभित्र रहेको सिपाहीको अन्तष्करणले अनुभूत गर्‍यो ।

उसले त्यसै ठाउँमा उभिइरहने कि, अगाडि जाने वा पछाडि वा दायाँ-बायाँ, यीमध्ये एउटा निर्णय लिन ऊ एकछिन अन्यमनस्क पर्खिरहृयो तर युद्धभूमिमा सिपाही यसरी ठिङ्ग पर्खिरहनु हुँदैन । ऊ अघि बढ्यो । गोलीको आवाज अझ नजिकै नजिकै आयो । उसले त्यसबेला थाहा पायो- ऊसँगै हिँडेका अरू सबै साथीहरू या त अगाडि गइसके र त्यो दोहोरो मुठभेडमा अन्धाधु्न्ध गोली चलाइरहेका छन्, या त उनीहरू पछाडि नै छुटे, या दायाँ, बायाँ कतै…. । यही अगाडि, पछाडि वा दायाँ, बायाँ……। त्यसले केही क्षण उसलाई अलमलमा पार्‍यो ।

उसले राम्ररी थाहा पायो- ऊ अनकण्टार जङ्गलभित्र छ । त्यो जङ्गलभित्र एउटा सानो रुखजस्तै ऊ एउटा ठूलो रुखको आड लागेर उभिरहेको छ । अनवरतरूपमा उसको अगाडि, पछाडि दुवैतिरबाट चलेको गोलीको आवाजलाई ऊ सुनिरहेको छ । यो कुन ठाउँ हो, ऊ कहाँनिर आइपुग्यो ? उसलाई केही थाहा छैन । उसले टाउको तन्काएर त्यो बाक्लो जङ्गललाई छिचोलेर परपरसम्म हेर्न खोज्यो । उसले केही देख्न सकेन तर पनि उसले हेर्ने कोसिस गरिरहृयो । त्यही बेला उसको दायाँ र बायाँतिर पनि त्यसरी नै गोली चल्न थाल्यो । अब उसले कता जाने ? अगाडि, पछाडि वा दायाँ, बायाँ कतातिर ? यो प्रश्न फेरि उसको अगाडि उभिइरहृयो ।

उसको निकै नजिकै गोलीको आवाज आउन थालेपछि उसले यी सबै कुरा बिस्र्यो । उसका पाइला अनायास अगाडि, अझ अगाडि बढ्दै गए । नजिकै आइरहेको गोलीको आवाज, त्यसबाट आएको बारुदको गन्धले उसले आफूले आफैँलाई लखेट्दै गयो ।

निकैबेरपछि उसले थाहा पायो, अब गोलीको आवाज कतै पनि छैन । बारुदको गन्ध पनि कतै छैन, ऊ एकछिन उभियो । उसले आफू उभिएको ठाउँलाई नियाल्यो । उसको अगाडि-पछाडि दायाँ र बायाँ सबैतिर अग्लाअग्ला रुखहरू थिए । ती सबैलाई लहराले बेरेर एउटा दुर्भेद्य किल्लाजस्तो पारेका थिए । सबैतिर जङ्गलै जङ्गल, साना-ठूला अनगिन्ती रुखविरुवा, पोथ्रा, झाडी । रातको शून्यतामा खुट्टा यताउति चलाउँदा, उसकै बुटले कुल्चेर आएको आवाजबाहेक सबैतिर शान्ति, सबैतिर निष्पट्ट ।

ऊ बिहानै हिँडेको, लडाईंमा होमिन हिँडेको । लडाईंले लखेटिरहृयो । ऊ कहाँकहाँ पुग्यो ? कसरी यहाँसम्म एक्लै आइपुग्यो । उसलाई त्यसको धुमिल सम्झना मात्र छ । अगाडि, अझै अगाडि जानुपर्छ । यसैमा ऊ अगाडि गइरहृयो । अहिले यसलाई एकैचोटि थकाइ, भोक र तिर्खा सबैले लखतरान पारेको अनुभव भयो । उसले तुम्लेट झिक्यो । त्योभरि पानी थियो । दिनभरिको लडाईंमा होमिएर उभित्रै थाहा नपाई त्यसै रहेको तिर्खा, अहिले तीव्र भएर आइरहेको उसले महसुस गर्‍यो । तुम्लेट आधा रित्याएपछि उसले सम्झ्यो- उसले तुम्लेटमा फेरि पानी भर्न सक्तैन । त्यहाँ कतै पनि पानी छैन । त्यसैले तुम्लेटमा भए जति सबै पानी सिध्याउन हुन्न । उसले आफ्नो तीव्र तिर्खालाई तृप्तिमा नपुर्‍याई बीचमा नै रोक्यो ।

बाक्लो जङ्गलको कापमा अँध्यारो अझ गाढा हुँदै थियो । रात पर्न लागेको उसले थाहा पायो । केही टाढा सुनिएको जङ्गली जनावरको आवाज उसको नजिकै आउन थाल्यो । जङ्गलमा यसरी एक्लै हुनु कति खतरा हुन्छ, जङ्गली जनावरको त्यो आवाज अझ चर्को हुन थालेपछि उसले महसुस गर्‍यो । ऊ सतर्क भयो । आवाज अझ चर्को भएर अझ नजिक-नजिक आइरहृयो । त्यो कुनै हिंस्रक जनावरको भोको आवाज हो । उसले अब उचित सावधानी लिन नसके, त्यो हिंस्रक जनावरले उसलाई अवश्य आफ्नो आहारा बनाउन सक्छ । यसले ऊ त्रस्त हुँदै गयो ।

त्यो आवाज सिंहकै हो । उसले अन्दाज गर्‍यो । उसको हातको राइफलले त्यो सिंहको आक्रमणबाट उसलाई बचाउन सक्छ ? घाइते सिंह झन् खतरनाक हुन्छ भन्ने कताकता सुनेको थियो उसले । सिंह एक्लै हुँदैन, उसको बथान हुन्छ । त्यो पनि उसले सम्झ्यो । आवाज नजिकै नजिकै आइरहेजस्तो लाग्यो उसलाई । उसले सोच्यो, ऊसित रहेको राइफल जुनसुकै शत्रुसित पनि प्रतिकार गर्नका लागि हो । जे होस्, नजिकै आयो भने हिंस्रक सिंहको पनि उसले प्रतिकार अवश्य गर्नैर्पर्छ ।

एक छिनपछि जनावरको आवाज रोकियो तर उसलाई त्यसले झन् त्रस्त पार्‍यो । शिकारको आभास पाएपछि, हिंस्रक जनावरले आवाज रोकेर, लुक्दै-छिप्दै सतर्कतापूर्वक नजिकै आएर एकैचोटि आक्रमण गर्छ भन्ने पनि उसले सुनेको थियो । सिंह त्यसैगरी अहिले कतैबाट सायद उसको नजिक नजिक आइरहेको हुनसक्छ र त्यसले केही छिनमै एकैचोटि झम्टेर उसलाई क्षतविक्षत् पार्न सक्छ । उसको हातको राइफल त्यसबेला ऊ चलाउन पनि भ्याउने छैन । उसलाई अहिले आफू नितान्त असुरक्षित, मृत्युको आमुन्नेसामुन्ने उभिएजस्तो लाग्यो ।

उसले सोच्यो, हिंस्रक जनावरले मारेर उसका अङ्गप्रत्यङ्गहरू सबै चपाइचपाई खाने छ । भोलि उज्यालो हुँदा वा कुनै दिन उसका साथीहरूले उसको लाशको अवशेष भेटे भने……। उनीहरूले उसलाई शत्रुपक्षबाट भागेर हिंस्रक जनावरको मुखमा परेको एक काँतर सिपाहीको रूपमा हेर्ने छन् । सिंहको आक्रमणबाट भन्दा शत्रुको गोलीबाट मर्न पाएको भए….. ।

अहिले उसको नजिकैबाट लुकेर आइरहेको सिंह नभएर दिउँसो अन्धाधुन्ध गोली चलाउने शत्रु त्यसरी आएको भए ऊ कति खुसी हुने थियो । कमसेकम उनीहरूले उसलाई चपाइचपाई खाने थिएनन् । गोली हानेर मार्ने थिए ।

अनायास उसले उसका साथीहरूले केही पहिले पक्रेर लगेको तीन जना शत्रुपक्षका सिपाहीहरूलाई सम्झ्यो कडा निगरानीमा उनीहरूलाई उसको ब्यारेकमा राखिएको थियो । अनि उसले सम्झ्यो -पाँच-सात दिन पहिले गस्तीमा आउँदा, नजिकैबाट शत्रुपक्षले धूवाँधार गोली चलाउँदा उसकै अघिल्तिर ७३ नम्बरको उसको साथीको छातीबाट पसेको गोली उसको पछाडिबाट निस्केको थियो । त्यो साथी तत्काल घोप्टो परेर लडेको थियो । आफू भाग्दाभाग्दै उसले त्यो साथीको ढाडबाट भलभल रातो रगत निस्किरहेको देखेको थियो । केही पर पुगेपछि उसको दायाँतिर उसको नजिकैको अर्को साथीलाई पनि गोली लागेको थियो । त्यस दिन अरू पनि चार-पाँच जना उसका साथीहरू मारिएका थिए । उसले सम्झ्यो- ती सबै शत्रुपक्षबाट, केवल शत्रु भएका कारणले मारिएका थिए । आहाराको निमित्त मारिएका थिएनन् ।

अहिले ऊ उसको छेवैको झाडीबाट लुक्दैलुक्दै आइरहेको सिंहले कतिबेला उसलाई झम्टने हो, प्रत्येक पल, प्रत्येक क्षण त्यसैप्रति सजग भएर, एउटा ठूलो रुखको आड लागेर उभिइरहेको थियो । यदाकदा निद्राले उसको टाउको निहुरिन खोज्थ्यो तर त्यो सिंह उसको नजिक

आइरहेको आभासले ऊ फेरि सतर्क भएर उभिन्थ्यो । यसरी उभिइरहनुपर्दा अनेकपटक उसलाई लागेको थियो-हिंस्रक जनावरको घेरामा मृत्युलाई पर्खेर यसरी उभिनुभन्दा मान्छेको घेराभित्र, शत्रुपक्षको भए पनि, मान्छेको घेराभित्र उभिँदा यति धेरै सतर्क हुनुपर्ने थिएन, यति धेरै त्रसित हुनुपर्ने थिएन । मान्छे जनावरले जस्तो लुकेर झम्टँदैन । मान्छेसित आत्मसमर्पण गर्न सकिन्छ । उसले मार्दा शत्रुपक्षको सिपाहीबाहेक अरू कुनै कुरा त्यससित जोडिएको हुँदैन । जनावरसित उसको आहारा, कति दिनको भोक र जसरी पनि मार्नैपर्ने ऊभित्रको क्रूर पशुत्व जोडिएको हुन्छ । त्यसैले रातभरि उसले शत्रुपक्षको सेना तुरुन्त उसको छेउमा आइपुगोस् भन्ने कामना गरिरहृयो ।

बिहान भइसकेपछि पनि बाक्लो जङ्गलले ढाकिएकोले ऊ उभिएको ठाउँमा उज्यालो राम्रोसित आइसकेको थिएन । उसले नजिकै मान्छेहरू चलमलाइरहेको देख्यो । ती मान्छे शत्रुपक्षका सेना……। उसले फायरिङ सुरु गर्‍यो । केही बेरसम्म उसले अन्धाधुन्ध फायरिङ गरिरहृयो । उसको राइफलको नाल केही तातो भएपछि मात्र उसले थाहा पायो, त्यसरी चलमलाउने मान्छेहरू थिएनन् । सानासाना झाडीलाई हावाले हल्लाएको थियो ।

रातभरि उसलाई झम्टिन नजिकैको झाडीबाट आउने सिंहको त्रासबाट ऊ मुक्त भइसकेको थियो । रातभरि हिंस्रक जनावरबाट त्रस्त भएर उसले शत्रु पक्षको भए पनि मान्छेको नजिक हुने उत्कट कामना गरिरहेको थियो तर बिहान चलमलाउने मान्छे हो भन्ने बित्तिकै ऊ किन त्यसरी आक्रामक भएर मान्छेमाथि गोली चलायो ? के मान्छे सङ्कटकालमा शत्रु भए पनि मान्छेलाई नै खोज्छ ? तर जब मान्छे मान्छेको नजिकै हुन्छ, अनि त्यही मान्छेप्रति किन आक्रामक हुन्छ ? अनायास आक्रामक हुन पुगेको ऊभित्रको मान्छेलाई ऊ सम्झिरहन्छ र त्यससित सोध्छ- किन ऊ एकाएक आक्रामक हुन पुग्यो हँ ?

मधुपर्क २०६८ जेठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *