Skip to content

कलममा तरबारको राज चल्छ यहाँ

  • by


कलममा तरबारको राज चल्छ यहाँ, चलेर के गर्नु
आँखा अगाडि घर जल्छ यहाँ जलेर के गर्नु ?

वादशाह नाङ्गै छ सच्याउने आँट छैन कसैको
छेपारो दिनहुँ रङ बदल्छ यहाँ बदलेर के गर्नु ?

झूटलाई सत्य सावित गर्दैछन् गोयबल्सहरू
दरबार त पटकपटक ढल्छ यहाँ ढलेर के गर्नु ?

माटोको आँसु देख्न आँखा हैन हृदय चाहिन्छ
भाषणको बोटमा विकास फल्छ यहाँ फलेर के गर्नु ?

अति भयो विषको घडा नीलकण्ठ छ कि कोही
कुरा सुन्दा मनमा आगो बल्छ यहाँ बलेर के गर्नु ?

युद्ध र प्रेममा जे पनि जायज हुन्छ भन्थे, ठीकै छ
अर्काको ज्यान मारे सुन फल्छ यहाँ फलेर के गर्नु ?

मधुपर्क २०६८ जेठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *