Skip to content


एकजना थिए डाक्टर ज्याकिल । उनी अत्यन्त दयालु चिकित्सक थिए । नाम चलेको थियो । मानिसहरूले उनको तारिफ गर्थे । अर्का थिए मिष्टर हाइड । उनी रातको अँध्यारोको फाइदा उठाउँदै अपराध गर्थे । सिङ्गो समाज मिष्टर हाइडदेखि त्रस्त थिए । वास्तवमा डाक्टर ज्याकिल र मिष्टर हाइड एकै व्यक्तिका दुई बेग्ला बेग्लै रूप थिए । समाजमा यस्ता थुप्रै मानिस हुन्छन्, जसले आफूलाई विद्वान् घोषणा गरिरहेका हुन्छन् तर यथार्थमा विद्वान् हुन्नन् । त्यसो भए त्यस्ता मानिस को हुन् त ?

एक पटक तपाईं आफैँले आफ्नो व्यवहारको समीक्षा गर्नुस् । अनि आफैँलाई प्रश्न गर्नुस्- म के हुँ ?

एकपटक तपाईं आफ्नो बानी व्यहोराको समीक्षा गर्न बस्नुस् त ! भनिन्छ, ज्ञानी, गुणी तथा सज्जनहरू सधैँ झुक्दछन् । विनम्र स्वभावका हुन्छन् । भनाइ पनि छ, ‘फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?’ तर ‘सोझो औंलाले घ्यु आउँदैन’ भन्ने पनि त छ । त्यसकारण तपाईं हठी र कठोर हुनुहुन्छ । तपाईंलाई लागेको छ, ‘विद्वान् हुँ । समाजले नमानेको मात्र न हो ।’ त्यसैले तपाईं फुलेल हुनुहुन्छ । ज्ञान, विद्या, धन, रूप, बल आदिको प्रदर्शन गर्न खोज्दा विवादमा अल्झन पुग्नुहुन्छ । ज्ञान मार्गको सुखदायी बाटो त तपाईं सपनामा पनि सम्झन चाहनुहुन्न । आफूमा निहित विद्या, बुद्धि, बल, धन, मान, पद, प्रतिष्ठा कुनै कुराको प्रवाह नगरी आफ्नो कर्तव्य कर्ममा दत्तचित्त भएर कसरी अरूको भलो हुन्छ भन्ने विचार गर्नेहरू तपाईंको विचारमा बेकुफ हुन् । अरूबाट उनीहरूले प्राप्त गर्ने प्रशंसा र सामािजक प्रतिष्ठा त देखावा मात्र हुन् ।

नीतिशास्त्रको एउटा भनाइ छ- ‘वाग्भूषणं भूषण’ अर्थात् बोलीरूपी गहना नै मानिसको सच्चा आभूषण (गहना) हो । तपाईंलाई भने वाणीरूपी सच्चा गहनाद्वारा भूषित बन्नु सज्जन तथा ज्ञानीहरूको लक्षण एवं दायित्व हो भन्ने पटक्कै लाग्दैन । बोलीले हुने भए दुनियाँमा गोली चल्ने नै थिएन । कसैले वचनको अनुचित प्रयोगबाट मानिस मूर्खको श्रेणीमा र्झछ भनेर भन्छ भने तपाईंको विचारमा त्यो भन्दा वाहियात कुरो केही हुनै सक्दैन । मुख भएपछि अर्काको कुरा किन काट्न नपाउनु ? निन्दा गर्न किन नपाउनु ? जिन्दगीमा धेरै समय अनुशासनमा नै बसिन्छ, कहिलेकाहीँ मौका पाउँदा अनुशासन उल्लंघन गर्न र अश्लील बोल्न किन नपाउनु ? सज्जनहरूले त हुति नभएका कारण सधैं सत्य, मधुर र हितकारी वचन मात्र बोल्छन् । उनीहरू बेकुफ हुन् र त तपाईं जस्तालाई दुर्जन र मूर्ख भन्दै जवाफ फर्काउँदैनन् । आखिर तपाईं यस्तै सोच्नुहुन्छ होइन त ?

भन्नेहरू भन्छन्- जिब्रोबाट बोलिने वचनको प्रभाव मस्तिष्कमा परी भावको शुद्धि अशुद्धिमा अति महìवपूर्ण भूमिका रहने हुँदा बोल्नु अघि विचार गर्नु जरुरी छ । बोलेर पछुताउनुभन्दा बोल्नुअघि सावधानी अपनाउनु उत्तम हुन्छ । मूर्खहरू बोलेर सोच्छन्, ज्ञानीहरू सोचेर बोल्छन् । बन्दुकको गोली र मुखबाट निस्केको बोली र्फकंदैन । तपाईंलाई यी भनाइमा पटक्कै विश्वास लाग्दैन । तपाईंलाई त नबोलेर पछुताउनुभन्दा बोल्नु नै बेस लाग्छ, होइन त ?

तपाईंको अर्को विशेषता पनि छ । आफ्ना कुरा र विचारले अरूलाई सधैँ जित्न खोज्नु । अर्काले यसलाई जिद्दी गर्नु भन्ने गर्छन् । तपाईं भने यसलाई आफ्नो क्षमता प्रदर्शन मान्नहुन्छ । ‘मेरो गोरुको बाह्रै टक्का’ गर्न पाइएन भने के महìव रहृयो र ? भन्नेहरू सत्यको समर्थन र सम्मान गर्न नसक्ने मानिस उन्नति र कल्याणको मार्गलाई छोडेर दुःख र विपत्तिको भुमरीमा पर्दछ भन्छन् ।

अरूका कुरा वा विचार सुन्ने, सुन्न सक्ने धैर्यको अभाव भएकाहरू कल्याणकारी ज्ञान मार्गबाट विमुख अज्ञानी वा अपठित हुन् भन्नेहरूको सङ्ख्या संसारमा कम छैन । तपाईंलाई भने के लाग्छ भने अरूका कुरा वा विचार मात्र सुन्नुको त अर्थ नै छैन । अर्काको कुरा मात्र सुन्ने हो आफ्ना अमूल्य कुरा कहिले र कसलाई सुनाउने त ?

तपाईंलाई आफू सही छु भन्ने लाग्छ होइन त ? त्यसो हो भने निश्चय नै तपाईंभन्दा मूर्ख मान्छे संसारमा कोही हुने छैन । किनभने-

घमण्ड गर्नु अर्थात् अहंकार प्रदर्शन गर्नु मूर्खको पहिलो तथा प्रमुख लक्षण हो । ज्ञानी, गुणी तथा सज्जनहरू त सधैँ झुक्दछन् । विनम्र स्वभावका हुन्छन् । मूर्खहरू भने हठी, कठोर र सधैं घमण्डले फुल्ने गर्दछन् ।

अर्को कारणले पनि तपाईं मूर्ख हुनुहुन्छ भन्ने प्रमाणित हुन्छ । किनभने-

सज्जनहरू सदासर्वदा सत्य, मधुर र हितकारी वचन बोल्छन् । उनीहरू दुर्जन तथा मूर्खहरूको वचनको जवाफ पनि दिँदैनन् । मूर्खहरू बोलेर सोच्छन्, ज्ञानीहरू सोचेर बोल्छन् । नत्र त्यत्तिकै त भनिने थिएन नि -बन्दुकको गोली र मुखबाट निस्केको बोली र्फकंदैन ।

अर्को कुराले पनि तपाईं मूर्ख भएको प्रमाणित गर्दछ । किनभने-

आफ्ना कुरा र विचारले अरूलाई सधैँ जित्नु अर्थात् जिद्दी गर्नु मूर्खको लक्षण मानिन्छ । तर महापुरुषद्वारा प्रतिपादित सिद्धान्त र विचारमा निष्ठा राखेर त्यसको पक्षमा अडिग र स्थिर रहनु चाहिँ हठ वा जिद्दी नभई उद्देश्य प्राप्तिका लागि आवश्यक गुण हो । यसका लागि कुनै विचार वा सिद्धान्तको गहन अध्ययन मनन गरेर त्यसको सार ग्रहण गर्नु अत्यावश्यक छ । महापुरुषहरू भन्दछन्- मूर्खताको पराकाष्ठा मानिसको हठ हो । आफ्नो बुद्धिको सबैद्वार बन्द गरेर लिडँेढिपीमा अड्ने मूर्खले सत्य प्राप्त गर्न सक्दैनन् । बालुवाबाट तेल निकाल्न सकिन्छ तर हठमा अडेको व्यक्तिलाई सद्बुद्धि दिन सकिँदैन ।

यस्तै,

अरूको कुरा नसुन्नु पनि मूर्खको मुख्य लक्षण हो भनिएको छ । मूर्खहरू स्वभावतः मूर्खहरू भलाई हुने असल अर्ति उपदेश सुन्न र ग्रहण गर्न चाहँदैनन् उनीहरू आफ्ना मित्र तथा हितैषीहरूका हितकारी र सही सल्लाहको कदर र कार्यान्वयन गर्दैनन् । उल्टै सज्जन तथा ज्ञानीहरूप्रति ईष्र्याद्वेषको भाव राख्दछन् । आफ्ना कुरा मात्र गर्ने, अरूको कुरा सुन्न नसक्ने मूर्ख झूटो र सही ठीक बेठीक विवेचना, निर्णय गर्न असमर्थ भई अज्ञानको अन्धकारमा रुमल्लिरहन्छन् । अन्तरनिहित मूखतापूर्ण स्वभावको पहिचान गरेर ज्ञानी एवं सज्जन बन्ने प्रयत्न गर्नु नै सबैको हित कल्याण छ ।

घमण्डले मानिस फुल्छ तर अघि बढ्न सक्दैन । त्यसैले उसको पतन हुन्छ । उसको पतन अवश्याभावी छ । त्यसैले मूर्खता वा अज्ञानको जड धनादिको अहंकार वा अभिमानको परित्याग नगरी मानिसले सत्शास्त्रको अध्ययन मनन गरे पनि त्यसबाट कुनै लाभ हुँदैन ।

महाभारत भन्दछ- घमण्ड गर्नु, नराम्रो कुरा बोल्नु, जिद्दी गर्नु र अरूको कुरा नसुन्नु यी मूर्खका लक्षण हुन् । भनिन्छ- संसारमा सबै कुराको औषधि छ तर मूर्खको औषधि छैन । अब तपाईं आफैं निर्णय गर्नुस्- आनीबानी सुधार्ने कि मूर्ख बनिरहने ?

युवामञ्च २०६८ जेठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *