Skip to content


एकादेशको कुरा हो, एकजना अन्धा साधु थिए । उनी दोबाटोको चौतारीमा बसेका थिए । साधु भगवान्को नाम जपिरहेका थिए । त्यसैबेला एकजना मानिस चौतारोमा आइपुग्यो । त्यस मानिसले साधुतिर लक्ष्य गर्दै सोध्यो- ‘ए बूढा ! यो बाटामा भर्खरै कोही हिँडेको आवाज सुनिस् ?’

‘अहँ, मैले त केही सुनिन हजुर !’ साधुले नम्रतासाथ जवाफ दिए । प्रश्नकर्ता छक्क पर्‍यो । आफूलाई साधुले हजुर भनेर सम्मान गरेकोमा खुसी हुँदै बाटो लाग्यो ।

त्यसको केही बेरमै अर्को एकजना मान्छे त्यहाँ आइपुग्यो । उसले पनि अन्धासाधुलाई सोध्यो – ‘यो बाटो हुँदै कुनै मान्छे अगाडि गएको थाहा पायौ ?’

‘हो, एकजना सिपाही भर्खरै यताबाट गए । उनले पनि मसित त्यही प्रश्न गरेका थिए’, साधुले जवाफ दिए ।

त्यो मानिस पनि त्यहाँबाट अघि बढ्यो ।

एकैछिन पछि, फेरि अर्को मानिस पनि त्यही चौतारामा आइपुग्यो । उसले चौतारामा बसेर जप गरिरहेका साधुलाई नमस्कार गर्दै भन्यो- ‘साधु महाराज, हजूरले यो बाटो हुँदै कोही अगाडि गएको थाहा पाउनु भयो ?’

‘पाएँ सरकार !’ साधुले पनि ती मानिसलाई हात जोडेर भने -‘सबैभन्दा पहिले एकजना सिपाही यतैबाट गए । त्यसपछि हजुरका मन्त्री जानुभयो । उहाँहरू दुवैले हजुरले सोधेकै प्रश्न सोध्नुभएको थियो ।’ अन्धा साधुले नम्र भएर भने ।

साधुका कुरा सुनेर राजा छक्क परे । राजाले सोधे- ‘महात्मा, हजुरले कसरी मलाई राजा र उनीहरूलाई सिपाही र मन्त्री भनेर अनुमान गर्नुभयो ?’

साधुले भने – ‘कोही पनि मानिसलाई उसको बोली बचन सुनेर ऊ कुनस्तरको हो भनी ठम्याउन सकिन्छ । मानिसको स्तर छुट्याउने कसी नै उसको बोली हो । पहिले यहाँ आएर मलाई प्रश्न गर्ने मानिसको बोली ज्यादै ठाडो थियो । त्यसैले ऊ सिपाही नै हो भन्ने लख काटेँ । त्यसपछि आउने मानिसको बोलीमा निकै नम्रता थियो । त्यसैले उनी मन्त्री होलान् भनेको हुँ । अनि हजुरको बोलीमा त नम्रताको सीमा नै छैन । त्यसैले हजुर पक्का राजा नै हुनुपर्दछ भन्ने अनुमान गरेको हुँ ।’

साधुका कुरा सुनेर राजा छक्क परे । उनलाई साधुका कुराले साह्रै घत पर्‍यो । उनी ती अन्धा साधुलाई आफ्नो परिचय दिएर बाटो लागे । दरबारमा र्फकनासाथ राजाले सभा बोलाए । उनले चौतारामा घटेको घटना सबैलाई सुनाए र नम्रताको महìव बुझाए ।

मुना २०६८ जेठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *