म सानी छोरी रूपकी गोरी
हजुरआमाको रसिला लोरी
बसेर सुन्छु सधैँ वरिपरि
लुटुपुटु गर्छु उनकै पोल्टोभरि
कोखाई कोखाई गरी खुवाउने
कैले हँसाउने कैले रुवाउने
बाउ आमाभन्दा हजुरआमा प्यारी
दुई चुल्ठी बाटी चिरिच्याट पारी
कैले त भोटो कैले त फ्रक
बुइँगल र बैठक गर्छु चकचक
आमा जान्छिन् मेला बाबु जान्छन् हाट
दुई चार पैसा गर्छन् सौदापात
हातहात हेर्ने केटाकेटी जात
खानेकुरा दिन्छन् झिकी खल्तीबाट
भोक लागे रोयो निद लागे सुत्यो
दुनियाँ जेसुकै खेल्न पाए पुग्यो
यति राम्रो दिन आउन्न अब
सम्झेँ बालापन उमेर चढ्यो जब
मुना २०६८ जेठ