Skip to content


अनायसै उनको आखाँहरू आश्चर्यले ठुला ठुला भएका थिए । स्तब्ध वातावरण सँगै उनी पनि स्तब्ध थिइन् । आशा त के कहिल्यै चिताएकी सम्म पनि थिइन उनले त्यो क्षणको जुन त्यसदिन घट्दै थियो । कानहरू बन्द भएको आभास हुदँथियो भने हृदय भारी अनि हातखुट्टाहरू फतक्क्कै गलेको थियो ।

“तिमीले भन्दैछौ तिमीलाई होस त छ?” विस्मयमिश्रित स्वरमा सुधा मिस भन्दै थिइन् ।

“मिस यो साँचो हो। मैले जे भने त्यो मैले विगत पाँच वर्षदेखि आफ्नो मनभित्र गाँठो पारेर राखेको भावानाहरू हो ।” आफूलाई अझ शसक्त बनाउँदै बिकास सुधा मिसलाई भन्दै थियो ।

“तर तिमी जे सोच्दैछौ त्यो गलत एवं भ्रामक हो । यो कदापि हुन सक्दैन । हाम्रो सम्बन्धको बारेमा सोच एकपटक ।” चिच्याएर भन्न चाहदाँ चाहदैँ पनि सुधा मिसमा निरसता देखा पर्दैथियो यसो भनिरहँदा ।

सुधा मिस त्यहाँबाट छिटोभन्दा छिटो निस्कन चाहन्थिन् ।

‘”किन र मैले यो भन्नु कसरी गलत भयो? के माया, प्रेमलाई वा कसैप्रतिको आशक्तिलाई यो शिक्षक र बिद्यार्थीको सम्बन्धले रोक लगाउँछ र?” बिकास जोडले चिच्यायो ।

सुधा मिससँग यसको उत्तर थिएन । तैपनि मौन रहनु बिकासको मनोभावनालाई पश्रय दिनु हो भन्ठानिन् र प्रतिउत्तरमा भनिन्, “हो रोक्छ । यो पवित्र सम्बन्धलाई तिमी अपवित्र बनाउने प्रयास नगर ।”

सायद बिकासमा एकप्रकारको सम्मोहनले बास गरेको थियो । ऊ विरोधका कुरा केही सुन्नै तयार थिएन । एकहोरो आफ्नै ढिपीमा अडिग हुदैँ भन्यो, “म साँच्चै नै तपाँईलाई मन पराउँछु । म तपाँईसँग आफ्नो जीवन व्यतित गर्न चाहन्छु ।”

उफ्! सुधा दङ्ग थिइन् । उनलाई ती दिनहरूको अँझै ताजा यादहरू थियो । त्यस्तै चार वर्ष अगाडि होला बिकास पढ्ने स्कुलमा उनी शिक्षण अभ्यासको क्रममा पुगेकी थिइन् ।

शिक्षा संकायको स्नातक तहको अन्तिम वर्षमा शिक्षण अभ्यास गर्न अनिवार्य सरकारी स्कुलमा जानु पर्ने बाध्यताबश उनी बिकास पढ्ने स्कुलमा पुगेकी थिइन् । त्यति बेला बिकास कक्षा ९ मा अध्ययनरत थियो ।

सुधाले त्यसबेला नेपाली बिषय पढाएकी थिइन् । कक्षामा रोमाञ्चक वातावरण सृजना गरी शिक्षण गराउने कला सुधामा बिद्यमान थियो । उनको शिक्षण कौशलबाट त्यतिखेर प्रभावित नहुने बिरलै थिए । हँसिली, गोरी सुधाको आवाज नै जादुमय थियो । उनले अध्यापन गराउन थालेपछि कक्षा यस्तो शान्त हुन्थ्यो कि सीयो खसेको आवाज पनि सुन्न सकिन्थ्यो ।

बेलाबेलामा कक्षाको वातावरण रङ्गमञ्च जस्तै बनाउँथिन् सुधा । कहिले गीत गाउन, कहिले कविता भन्न लगाउने भने कहिले चित्र बनाउन लगाई सबै बिद्यार्थीहरूको ध्यानाकर्षण गर्न सक्ने क्षमता उनमा थियो जुन बिरलै पाईन्छ।

बिद्यार्थीहरू त सबै नै प्रभावित थिए । तर बिकास बिशेष प्रभावित भएको थियो । ऊ सुधा मिसको नजिक हुन मन पराउथ्यो । बिशेषत ऊ चित्र बनाउन र गीत गाउन सिपालु थियो । सुधा मिसले आयोजना गर्ने हरेक कार्यक्रममा सकृय सहभागिता जनाउथ्यो । झनै गीत गाउन सधै अग्रसर हुन्थ्यो । सुधा मिस पनि “बिकास तिम्रो गलामा जादु छ तिमीले गायन क्षेत्रमा आफ्नो सम्भाव्यता पाउन सक्छौ अँझै प्रयासरत रहनुपर्छ।” भनेर बिकासको मनोबल बढाउने गर्थिन् जुन हरेक शिक्षकको व्यक्तिगत गुण हो।

यस्ता हौसलाले बिकासमा परिवर्तन ल्याउन थालेको थियो । लगनशील भैई आफ्नो काम कर्तव्यप्रतिको जिम्मेवारी पुरा गर्न हरहमेसा तयार हुन्थ्यो । कता कता बिकास सुधा मिस व्यबहारलाई मनपराउन थालेको थियो ।

हुन त बिकासभन्दा छ वर्षले जेठी थिइन् सुधा मिस । तर बिकासले त्यस्तो के आकर्षण देख्यो सुधा मिसमा, भित्र-भित्रै सुधा मिसको सामीप्यता चाहन्थ्यो । भनिन्छ् नि प्रेमलाई कुनै रुप, रङ्ग, उमेरले प्रभाव पार्दैन, प्राभाव पार्छ त वातावरणले अनि आकर्षणले ।

लगभग दुई महिनाको शिक्षण अभ्यास पश्चात सुधा मिस फर्किने दिन आएको थियो । फर्किने दिनमा कक्षा ९ले बिशेष कार्यक्रम राखेर सुधा मिसलाई बिदाई गरेका थिए । गहभरि आँशु अनि हातमा फूलका गुच्छा लिएर पक्तिंबद्ध भई उभिएका बिद्यार्थीहरूको त्यो असीम मायाले सुधा मिस एकतमासको भएकी थिइन् ।

किन किन भक्कानिएर रोउँ झै भएको थियो । तर पनि त्यो कोमल मनलाई ढुङ्गा जस्तै साह्रो बनाई मुसुक्क हाँस्दै थिइन् ।

सबैजना गैसकेपछि बिकासले “मिस म हजुरलाई सधै सम्झिरहनेछु । यो मेरो तर्फबाट चिनो ।” भन्दै एउटा उपहार दिएको थियो जुन बुट्टेदार कागजले बेरिएको थियो ।

छुट्टिने बेलामा “मिस हामीलाई भेट्न आइरहनुस ल!” भन्दै बिकास दौडिएको थियो ।

सुधा मिस बिकास लगायत अन्य बिद्यार्थीको स्नेहले मैन पग्लिएझै पग्लिदै थिइन् र फेरि फेरि भेटन आउने वाचा सहीत बिदा भैइन् । सुधा मिसले घर गएर बिकासले दिएको त्यो उपहार खोलेर हेरिन् । भित्र सुन्दर हिमालको दृश्य भएको चित्र थियो जुन बिकासले आफैंले बनएको थियो । चित्रको तलपट्टि नोट गरिएको थियो ।

‘मिस यो मैले आफैंले बनाएको हुँ । यसलाई सिसाको फ्रेममा हालेर हजुरको कोठामा सजाउनुस ल ।”

सुधाले भोलिपल्टै सिसाको फ्रेममा त्यो चित्र राखि आफ्नो कोठाको भित्ता सजाएकी थिइन् ।

त्यस्तै चार महिना पछि सुधा मिसलाई फोन आयो । फोन गर्ने अरु कोही नभएर उही बिकास थियो । कता कताबाट नम्बर प्राप्त गरेछ अनि फोन गरेछ ।

“मिस भोलि मेरो जन्मदिन आउनुस ल” भनी बिकासले आग्रह गरेको थियो । भोलिपल्ट शनिवार भएकोले सुधा मिस बिकासको जन्मदिनको पार्टीमा पुगिन् सानो उपहार लिएर ।

पार्टी ग्रीन क्याफेमा थियो । सुधा मिसको आगमनले बिकासमा रौनकता ल्याएको थियो । अत्यन्तै खुसी देखिएको थियो । उसमा अज्ञात प्रेमानन्दिले झ्वाप्पै छोपेको थियो । जुन कुराबाट सुधा अनभिज्ञ थिइन् । करिब करिब तीन घण्टा बिताईन् त्यस दिन सुधाले बिकासको जन्मदिनको पार्टीमा । फर्किने बेलामा फेरि बिकासले उसै गरी चित्र बनाएर उपहार दिएको थियो ।

जुन चित्र फेरि सुधा मिसको कोठाको भित्ताको सजावट बनेको थियो ।

सुधा मिस सबैलाई उत्तिकै माया गर्थिन् । सबैलाई पढ्न पर्छ, केही गर्नु पर्छ नयाँ कुरा सिक्नु पर्छ भनेर हौसला दिन्थिन् । यस किसिमको हौसलाले बिकासमा थप उर्जा प्रदान हुन्थ्यो केही गर्न । लगनशील भएर अध्ययन गर्दै होनाहार र तेजस्वी छात्र हुन सफल थियो ।

सुधा अफ्नो बाटो पर्दा बिकासको स्कुलमा पुग्थिन् पुराना बिद्यार्थीहरूलाई भेटन निश्वार्थ भावले ।

तर यसलाई बिकासले बडो गजबले बिश्लेषण गरिदिएछ क्यारे, भित्र-भित्रै आफ्नो दिलको पटाङ्गिनीमा रानी बनाएर सुधा मिसलाई राखिसकेछ ।

यी सब कुराहरूबाट बिल्कुलै अनबिज्ञ सुधा मिसले त्यस्को अलिकति छेउको समेत भेउ पाउन सकेकी थिइनन् ।

भेटघाट र उपहार आदनप्रदानले निरन्तरता पाईरहेको थियो । तर यसको गलत् बुझाईले बिकासमा सुधा मिस प्रतिको आशक्तिलाई अझ बढि पश्रय दिदैँ गैइरहेको थियो ।

२ वर्ष पछि बिकासले एसएलसी प्रथम श्रेणीमा उतीर्ण गर्‍यो । यो खुसीको खबर सबैभन्दा पहिले बिकासले सुधा मिसलाई फोन गरेर सुनाएको थियो । उत्साहजनक आवाजमा बिकासले आफ्नो प्रगति सुनाउँदै गर्दा गर्वले छाती फुलाउँदै थियो ।

सुधा मिस पनि आफूले कुनै दिन पढाएको बिद्यार्थीले त्यसरी सफलता हासिल गर्दा दङ्ग पर्दै बधाई दिन कुनै कञ्जुस्याँई गरिनन् । अनि आफूभित्रको हर्षोल्लासलाई छताछुल्ल पोखिदिएकी थिइन्, “स्याबास बिकास अँझै प्रगतिका सिंढीहरू चढ्दै जानु ।”

यी शब्दहरूले बिकासमा आमृतवाणीको काम गरेको थियो । यिनै शब्दहरूमा त्यो जादु थियो जसले बिकासको प्रगतिपथलाई सफाचट गरेर अगाडि बढ्ने प्रसस्त मार्गहरू खोलिदिएको थियो । बिकासले +२ पनि एवं रीतले पास गर्‍यो। अब बिकास १९ वर्षको भैसकेको थियो । बिकास आफ्नो पकेट खर्च आफैं धान्न चाहन्थ्यो । । सुधाले यो कुरा नजिकैबाट बुझेकी थिइन् कि, बिकासको घरको आर्थिक स्थिति राम्रो छैन भनेर त्। यसैले उनले बिकासलाई प्राईभेट स्कुलमा शिक्षकको जागिरमा लगाईदिईन् ।

उनी कसैलाई पनि सहयोग गर्न हरदम तत्पर रहन्थिन् । उनको यो समाजसेवी भावानाले कतिपय ठाउँमा त खुसी नै दिएको थियो भने कतिपय ठाउँमा दु:ख पनि नपाएको भने हैन । तै पनि उनी निरन्तर आफूले सकेको सहयोग गर्थिन् । उनले यस पटक पनि एउटा शिक्षकले गर्नुपर्ने कर्तव्य निर्वाह गर्दैथिन् । तर यही निश्वार्थ भावले गरेको सहयोगलाई बिकासले आफूप्रतिको माया भन्ठान्ने मुर्ख्याइँ गरेको थियो ।

समय बित्ने क्रम यथावत नै थियो । यसै क्रममा बिकासले सुधा मिसको विवाहको हल्ला सुन्यो । यो खबरले ऊ कतै भासिए झैं महशुस गर्न थाल्यो । कसैसँग आफ्नो मनको कुरा भन्न नसकी भित्र-भित्रै बिक्षिप्त हुन थालेको थियो । सुधा मिस अरु कसैको हुन लागेको खबरले धमिराले खाएको पर्वत झै मक्किएर भत्किन आँटेको थियो । ऊ चिच्याएर भन्न चाहन्थ्यो कि “सुधा मिस मेरो हो म उहाँलाई मन पराउँछु ” तर त्यसो गर्न सकिरहेको थिएन । विवाहका दिनहरू नजिकिदैँ जादाँ ऊ भयभीत हुनथालेको थियो । कता कता कुनै मन परेको बस्तु कसैले खोसेर लान आँटेको जस्तो भान हुदैँ थियो । छट्पटीले राम्रैसँग बास जमाएको थियो । खाना नखाएर झन् झन् ख्याउटे देखिन थालेको थियो ।

उसले अठोट गर्‍यो सुधा मिसलाई भेट्ने । सुधा मिसलाई फोन गरेर भेट्न चाहेको कुरा बतायो । सुधा हरपल हरदम बिद्यार्थीको सुख दु:खमा रम्न चाहने मान्छे भएकीले होला तत्कालै भेट गर्न ग्रीन क्याफेमा पुगिन् । कञ्चन निर्मल उनको त्यो मष्तिस्कले कहिले पनि यो अनुमान नै गर्न सकिन कि, बिकासले आफ्नो मर्यादा नाघेर उनलाई प्रेम प्रस्ताव राख्नेछ ।

त्यसदिन यस्तै मध्यान्हको १२ बजेको थियो सुधा ग्रीन क्याफेमा पुग्दा ।

बिकास अघि नै पुगिसकेको थियो । कफी सुर्का लिदैँ सुधाले भनिन्, “बिकास के भन्छु भनेको मलाई ल भन ।”

बिकास अलिकति अलमलीयो । भनु कि नभनु भन्ने खुल्दुलीले बिकासलाई गाँजेको थियो ।

तै पनि आँट गरेर नै सोधिहाल्यो कम्पित स्वरहरूमा “मिस हजुरको विबाह रे हो?”

बिकासको यो प्रश्न सोधाई अलि असहज किसिमको थियो ।

सुधा छक्क परिन् के के न भन्छ भन्ठानेको त विवाहको कुरा पो सोध्छ ।

सुधाले कौतुहलताका साथ “कसले भन्यो ?” भनेर सोधिन्।

“मैले थाहा पाएको । के हजुर साँच्चै बिहे गर्दैहुनुहुन्छ ?” बिकास केही हडबडिदै पुन : प्रश्न गर्यो ।

सुधा अनौठो मान्दै त्यो वातावरणमा घुल्न खोजिन् । अनि उत्तर दिइन्, “अब समय भयो मैले विवाह गर्नुपर्छ । सायद यसमा तिमी खुसी छौ ।”

तर बिकासमा खुसीको सट्टा बिषादका रेखाहरू कोरिए ।

“तर तर मिस” बिकासका स्वरहरू थर्किएका थिए ।

“अँ भन न के तर?” सुधाले शंकास्पद हेराईसहीत प्रतिप्रश्न गरिन् ।

“म हजुरलाई मन पराउँछु । म हजुरसँग विवाह गर्नचाहन्छु ।” एकै श्वासमा यी सब कुराहरू भन्न भ्यायो ।

आफ्ना मनका भडास निकाल्न पाउँदा बिकास केही खुसी पनि देखीयो । अनि अनुहार रातो बनाउँदै टेबलमा घोप्टियो । सुधा खङ्ग्र भैइन् । उनी गहिरो खोचँमा खसेकी हुँ कि भन्ने गरी झसंङ्ग हुन पुगिन् ।

एक छिन् त के भन्ने के भनेर अलमलिइन् । अनि आफैंलाई सम्हाल्दै बिस्तारै बिकासको प्रतिवाद गर्न थाल्छिन् । प्रतिवाद गरिरहदाँ पनि सतर्क थिइन् कतै बिकासलाई ठेस नपुगोस भनेर, उनी बिकासलाई दुखाउन चाहन्नथिन् ।

तर उनको प्रतिवादले कुनै रङ्गहरू देखाईरहेको थिएन । फगत बिकास एक्लै बोल्दै थियो ।

सुधा मिसले सदैव आफ्नो स्नेही बिद्यार्थीको दर्जा दिई आत्मीयतता अनुभूति गराएको परिणामहरू छचल्किदैँ थियो ।

बिद्यार्थीलाई हरदम केही गर्नुपर्छ केही बन्नुपर्छ भन्ने शसक्त अवाजहरूको सट्टामा त्यसबेला घातका ज्वालामुखीहरू फुट्दै लाभाहरू निस्क्दैँथियो । त्यो तापमा सुधा भकभकी पाक्दै थिइन् । आफ्ना संवेगहरूलाई नियन्त्रणमा राख्दै सुधा मिस एकछिन मौन रहिन् ।

के गरुँ कसो गरुँ भन्ने द्वन्द मनभित्र हुरी-बतास झै चल्दै थियो । एकमनले सोचिन वाहीयात केटा रहेछ आफ्नै शिक्षकलाई पनि यस्तो नजरले हेर्ने बदमास छोडेर गैहालौं । के मतलब यो दुष्टको । फेरि तत्कालै अर्को मनले सोचिन्, अहो! कहाँ हुन्छ ? यसरी बेतालमा छाड्नु हुन्न । यसले त झन यो केटा बहकिन सक्छ । भविष्य डामाडोल हुनसक्ने सम्भावना रहन्छ । किनकि रेममा असफल मानिसहरू धेरै जसो बिक्षिप्त हुन पुगेको छन् जसले उनीहरूको सुनौलो भबिष्य शिशा फुटेझै चकनाचुर हुन्छ । यही सोचले सुधा मिसको आन्तरिक मनको लडाँईमा बिजय प्राप्त गर्यो ।

“बिकास, तिमीले मेरो नजिकपना र सहानुभूतिको रङ्गहरू आफैंमा दलेर मप्रति जुन बिषाक्त रङ्गहरू छर्यौ त्यो पक्कै पनि शोभनीय छैन । तर पनि म यी घायल मनले तिमीलाई भन्न चाहन्छु कि मैले तिमीलाई त्यो नजरले कहिले पनि हेरेकी छैन । मेरो जीवनसाथी मैले आफू अनुकुलको रोजिसकें । म त केवल तिमीलाई सद्बाटोमा डोर्‍याउन खोज्ने अभिभावक बन्न चाहन्थें । अनि तिमीले कहिले यो सोचेका छौ ? हाम्रो सम्बन्ध कति पवित्र अनि चोखो छ ?”

सुधा मिसका यस्ता हृदयस्पर्शी अभिव्यक्तिले अब भने आफ्नो रङ्ग देखाउन थाल्यो ।

बिकासमा ग्लानिका भावहरू प्रष्टै देखिन थाले ।

“बिकास तिमी मेरो एउटा असल बिद्यार्थीको साथसाथै साथीको रुपमा पनि स्थापित हुन सक्छौ । यहाँसम्मको नजिकपना मलाई स्वीकार्य छ । त्योभन्दा नजिक हुनु आफैंमा हाँस्यपद हुन्छ । लोकले नपचाउने कुरामा तिमी अडिग नबन । तिमी आफैं बिचार गर त मैले एउटा अभिभावक, शिक्षक अनि साथीले निभाउनु पर्ने भुमिका निर्वाह गर्न कहिले कञ्जुस्याँई गरें ? सदैव तिम्रो हित एवं भलो सोचें । त्यसको प्रतिफल मलाई यसरी मर्माहत हुने गरी नदेऊ । तिमी एकपटक ठण्डा दिमागले सोचि हेर त ।” सुधा बिकासलाई सम्झाउने क्रममा खोला जस्तै बगिदिन पुगिन् ।

बिकास रिङ्गिन थाल्यो । सुधा मिसको यी भावनात्मक शब्दको समिश्रणबाट अनि बिस्तारै थिचिनपुग्यो । कता कता चेतनाको बिजारोपण हुनपुगेको आभास गर्न पुग्यो । कसैले खाल्टोबाट बाहिर निकाल्न आफ्ना हातहरू लम्काएको अनुभूति गर्न पुग्यो ।

मनमनै ठान्यो, “अहो! म यो कस्तो घिनलाग्दो बिचार बोकेर हिडिरहेकोछु ? जसले मलाई असीम माया, स्नेह दीयो अनि सहयोगका हातहरूले सदमार्गमा डोर्‍यायो उसैप्रति यस्तो घृणित बिचारहरूको आक्रमण ? उफ्!”

सुधा मिस अब बिकासमा देखिएको सकारात्मक परिवर्तनले केही आश्वस्त हुन पुगिन् र पुन: सम्झाउने मनसायले भनिन्, “बिकास तिमी मलाई माया गर्न सक्छौ म नगर भन्दिन । तर त्यो माया चोखो र निस्वार्थ होस भन्ने म चाहन्छु । एउटा आत्मीय बिद्यार्थी, साथीको रुपमा मलाई माया गर्नु पाप हैन । म चाहन्छु तिमी हरदम खुसी एवं सुखी होस । तर यसको गलत अर्थ नलगाऊ । हामी बिचको त्यो पवित्र नाताको कसम एकपटक सोच तिम्रो अगाडि सुनौलो भबिष्य हात फैलाएर प्रतिक्षारत छ । आफ्नो भबिष्य बनाऊ । अँझै पढ्नु छ, यो समाजमा अँझै केही गरेर देखाउनु छ । यो भ्रामक अनि छलिया प्रेममा न अल्झ ।”

बिकास यतिखेर सम्ममा निस्तेज भैसकेको थियो । भ्रमको दुनियाँबाट यथार्थको धरातलमा अवतरित हुनपुगेको थियो ।

बिकास सुधा मिसको काखमा सानो बालक जसरी घोप्टिएर, भक्कानिएर रुन थाल्यो, “मिस मलाई माफ गरिदिनुस । म पापी हुँ । मैले गलत बुझें । हजुर जस्तो कञ्चन, निर्मल नदिमा फोहरको बाढी हुल्न खोजें । अहो, म साँच्चै नै पापी हुँ । म सँग त्यस्तो कुनै शब्द नै छैन माफी माग्नको लागि ।”

अब सुधा मिस निश्चिन्त भैइन् । एउटा असल बिद्यार्थीको भाँडिन लागेको जीवन सही रुपमा चाहेको दिशातिर मोडिदैथियो ।

सुधाले बिकासलाई बिस्तारै उठाउँदै भनिन्, “बिकास, त्यो सब हुनुमा म तिम्रो मात्रै गल्ती हो भन्दिन । यो उमेरको अनि मप्रतिको आशक्ति हो भन्ठान्छु । एउटा टिनएजमा देखिने मनोदशा मात्रै हो यो जसको शिकार हरेक युवायुवती हुने गर्दछ । भिन्न भिन्न वातावरणमा फरक यति मात्रै हो कि कोही यसबाट उन्मुक्त हुन्छ भनेको यसैमा अल्झेर जीवनको गन्तव्य नै भुल्न पुग्यो । मलाई आशा छ तिमी यस्ता झिना मसिना कुराहरूमा भुल्ने छैनौ । अब तिमी पुन: आफ्नो जीवनलाई सही ढङ्गबाट अगाडि बढाउनेछौ । कुनै दुर्घटना हुनदिनेछैनौ । यी सब घटनालाई कुनै नमिठो सपना ठानी भुलिदिनेछौ ।”

बिकास अब पश्चतापको आहालबाट निस्किएर पारिलो घाममा बसेको अनुभव गर्यो र अठोट गर्‍यो, “हुन्छ मिस मेरा यी सब भ्रमले छोपिएका आखाँहरू हजुरले उघारिदिनुभयो । मैले अब आफ्नो गन्तव्य पहिल्याईसकें । म हजुरको यही अरुलाई विश्वस्त पार्न सक्ने प्रतिभाबाट सम्मोहित भएको हुँ । अब म धेरै पढ्छु । समाजमा अनि ससाना बिद्यार्थीहरू बिच हजुर जस्तै प्रतिभावान, सहनशील, भावुक, कलाकौशलयुक्त शिक्षकको रुपमा आफूलाई स्थापित गर्नेछु । यो नै मेरो लक्ष्य हुनेछ ।”

सुधा मिसको अनुहारमा चमकता आयो । यस्तो लाग्यो कुनै लामो कालरात्रीको अन्त्य भएर उज्यालो बिहानीको लालीमा चढेको छ सुन्दर, शान्त अनि सौम्य ।

उनले मेचबाट उठ्दै “म एकदम खुसी छु बिकास तिमीमा देखिएको यो परिवर्तन प्रंशसायोग्य छ । सफल जीवनको कामना गर्छु । ल हिंड, अब मनका किचलोको भारी बिसाएपछि मन पक्कै पनि हलुङ्गो भएको हुनुपर्छ ।” भन्दै वेटरलाई कफी पिएको बिल तिरिन् ।

बाहिर निस्कने बेलामा सुधा मिसले भनिन्, ” बिकास मेरो बिहेमा त तिमी पक्का आउनुपर्छ मेरो बिहेको लागि डेकोरेसन गर्न ।”

“हजुर मिस निश्चिन्त हुनुहोस । म अवश्य आउनेछु ।” बिकासले हँसिलो मुहार सहीत सुधा मिसलाई भन्यो ।

यात्रामा भट्किएको यात्रीले आफ्नो गन्तव्य भेटेपछि देखिने उन्मात्त, सन्तुष्टिका भावहरू बिकासमा छताछुल्ल्ल भएर पोखियो । दुबै हाँस्दै बाहिरिए ।

बिना तामाङ
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *