Skip to content


सीमा निकै दङ्ग थिइन् त्यस दिन । बिजयले उनको रुपको प्रशंसा गरेको थियो । ऐना अगाडि घण्टौं समय बिताइन् ।

आफ्ना आँखाहरू साँच्चै नै मृगका झैं नै देखेकी थिइन्, ओठहरू कमलका पात झैं, अनि गालाहरू रगत चुहिएला जस्तै ।

“ओहो! मैले त साँच्चै नै ऐना हेर्नै बिर्सिएकै रहेछु ।”

सीमा आफ्नो कपाल सुम्सुम्याउँदै एकहोरो हुन थालिन् । बिजयले भनेका कुराहरू एक एक गर्दै सम्झन थालिन् ।

“तिमी यति सुन्दर छौ किन आफ्नो वास्ता गर्दिनौ?” पानी थाप्न धारामा जादा उसले भनेको थियो ।

लगभग चौबीस, पच्चीस वर्षीय सीमा आफ्नो सानो चार वर्षीय छोरा सहित सातदोबाटोमा बस्दै आएकी थिइन् । उनको श्रीमान रोजगारीको सिलसिलामा कतार गएको थियो ।

बिहान पानी थाप्न हतार हतार तल छिंडीमा ओर्लनु, खाना तयार पार्नु, छोरालाई स्कुल पुर्‍याउनु अनि दिउँसो छोरा लिन तीन बजेतिर जानु नै सीमाको दैनिकी थियो ।

दिउँसो को समय अलिक फुर्सदिली हुन्थिन् । दिनभरि हिन्दी सिरियल हेर्नु, कहिलेकाहीं वल्लो कोठा पल्लो कोठा पनि चहार्न भ्याइहाल्थिन् ।

सात महिना जति भएको थियो, सीमा अलिक असजिलो महशुस गर्दै थिइन् । आफ्नो कोठाको पूर्वपट्टिको झ्यालको पर्दा बिहान जब खोल्थिन् कसैले पल्लो घरबाट चिहाएको आभास गर्थिन् ।

पहिले पहिले त वास्तै गर्दिन थिइन । तर पछिल्ला दिनहरूमा लुकिछिपी त्यो पल्लो झ्यालमा चिहाउन थालेकी थिइन् ।

हेर्दा त्यस्तै २२, २३ वर्ष जतिकोदेखिने अग्लो, हृष्टपुष्ट युवक प्राय सधै काँधमा गम्छा अनि हातमा ब्रस लिएर उभिएको हुन्थ्यो । यो क्रमले निरन्तरता पाउन थालेको थियो ।

बिहानै सीमा पर्दा उघार्थिन् भने उता त्यो युवक अघिनै झ्यालमा आएर उभिसकेको हुन्थ्यो । समय बित्दै जादाँ दुबैका आँखाहरू एकापसमा ठोक्किन थालेको थियो । सीमा लाजले भुतुक्कै हुन्थिन् भने युवक मुसुमुसु हाँस्दै बाहिर निस्कन्थ्यो ।

सीमा कहिलेकाहीं झस्किन्थिन्।

“यो के भएको मलाई? किन म त्यो अपरिचित व्यक्तिसँग आँखा जुधाउन पुग्छु?”

यस्तै यस्तै तर्कनाले सीमा आफूलाई सतर्क गराउँथिन् ।

बेग्ला बेग्लै घरमा बस्ने भए पनि पानी थाप्न भने दुबै घरका मानिसहरू सीमा बस्ने घरकै छिंडीमा आउने गर्दथे ।

जाडोको महिना थियो । बिहानको छ बजिसकेको भएतापनि चिसो र हुस्स्को कारण मानिसहरूको त्यति चहलपहल थिएन । सबै मस्तसँग सिरकभित्र गुटमुटिएका थिए ।

तर सीमा निदाउन सकेकी थिइनन । मनभरि नानाभाँतीका कुराहरू खेलाउँदै थिइन् । एकछिनमा जुरुक्क उठिन् र पर्दा उघारिन् ।

त्यो युवक अघि आएर झ्यालमा उभिसकेको थियो । दुबैले एक अर्कामा बिहानीको अभिवादन आँखाबाटै गरे । चिसो बिहानीमा पनि न्यानो अनुभव गरे । आँखाबाट केही ईशारा गरे ।

एकछिनमा दुबैजना छिंडीमा पानि थाप्न र मुख धुने बहानामा उपस्थित थिए ।

एकान्तको लाभ उठाउँदै युवकले आफ्नो परिचय दिन भ्याइहाल्यो । स्नातकोत्तर अध्ययन गर्न काठमाण्डौ आएको बिजयको घर रामेछाप थियो । एक्लै त्यो पल्लो घरमा बस्दै आएको सात महिना भैइसकेको रहेछ ।

सीमाले पनि केही अन्कनाउँदै श्रीमान बाहिर भएको र आफू छोरा सहित यहीं बस्दै आएको बताइन् ।

त्यसपछिका दिनहरूमा दुबैको भेट त्यहि छिंडीमा हुने गरेको थियो । एकान्त पाए दुई-चार कुरा गरिहाल्ने र नपाउँदा भारी मन लिएर फर्किने गर्दथे । यावत रुपले उनीहरू बिच नजिकपना बढ्दै गएको थियो ।

त्यो दिन सखारै सीमा छिंडीमा पुगेकी थिइन् । बिजय मुख धुदै थियो । दुबै मौन थिए । सीमा चुपचाप पानीको बाल्टिन् बोकेर फर्कन लाग्दा बिजयले सीमाको हात च्याप्प समातेर भन्यो, “म तिमीलाई मन पराउँछु ।”

सीमा तरङ्गित् हुन पुगिन् । कति दिनदेखिको उकुसमुकुसहरू छताछुल्ल भएर पोखिएको थियो ।

“म विवाहित हुँ र मेरो छोरा पनि छ भन्ने बिर्सिन सकिंदैन,” केही दबिएका स्वरहरूमा सीमाले भनिन् ।

“मलाई थाहा छ । तर विवाहित पुरुषले अर्कै नारीसँग सम्बन्ध राख्न मिल्छ भने विवाहित नारीलाई छेक्नु सरासर अन्याय भएन र?” बिजयको यो प्रश्नले सीमा झन् गल्न पुगेकी थिइन् ।

“त्यसमाथि मैले तिमीलाई मन पराएको हुँ । अरु सब पर्दा पछाडिका कुरा हुन् । त्योसँग मेरो सरोकार छैन ।” बिजयको यस्तो प्रतिकृया सुनेपछि सीमा कतिखेर भर्‍याङ् चढेर कोठाभित्र आईपुगिन् पत्तै पाइनन् ।

खै कस्तो आकर्षण थियो बिजयमा सीमा आफूलाई सम्हाल्न सकिरहेकी थिइनन् । बिस्तारै बिस्तारै आफ्नो श्रीमानको यादहरूलाई पोको पारेर एकातिर पन्छाउँदै बिजयलाई आफ्नो कल्पनामा समेटन थालिन् ।

केही दिनपछि सीमाको मोबाईलमा मेसेज आयो । शनिबार फिल्म हेर्न जाने प्रस्ताव सहितको त्यो मेसेज बिजयले पठाएको थियो ।

केही छिन घोरिएपछि सीमाले स्विकारोक्ति जनाउँदै रिप्लाई गरिन् ।

बडो प्रतिक्षारत शनिबार आएको थियो । सीमा बिहानैदेखि साजसज्जामा तल्लिन् थिइन् ।

होची तर ड्याम्म मिलेको शरिरकी धनी गोरी सीमालाई जे लगाए पनि सुहाउने । त्यो दिन पाँच वटा साडी लगाउँदै फुकाल्दै गरिन् ।

कुन चाहिं लगाउँदा आफूलाई आकर्षक देखिने हो भन्दै पलङ्भरि साडीको खात लगाएकी थिइन् । करिब डेढ घण्टापछि हल्का गुलाबी रङको साडीमा सीमा आफूलाई ऐना अगाडि पाइन् ।

मन्द मुस्कान सहित छोरालाई लिएर बाहिर निस्कने बेलामा त्यो पल्लो घरको झ्यालमा आँखा पुर्‍याइन् ।

बिजय बिजयभावले मौन स्वागत गर्दै एकछिनमा आफू निस्कने संकेत गर्‍यो ।

बसपार्क पुगेर सीमाले केहीछिन बिजयको प्रतिक्षा गरिन् । करिब दश मिनेटको अन्तरालमा बिजय पनि पुग्यो र दुबैजना सँगै बसमा चढे ।

मानिसहरू बसभित्र खाँदिदै जाने क्रम बढ्दै जाँदा दुबैले शरीरले एक आपसमा स्पर्श गरेको अनुभूति गर्न थाले । यात्रा रोमाञ्चित हुदै थियो ।

कति छिट्टै गन्तव्यस्थल आइपुगेछ, उनीहरूलाई होसै भएन ।

बेलुका घर फर्किएपछि सीमामा एक किसिमको अनौठो परिवर्तन देखा परेको थियो । उनी कल्पनामै हराउन थालेकी थिइन् ।

साँच्चै भन्नु पर्दा सीमाले त्यस दिन आफ्नो मर्यादाको संघार नाघेकी थिइन् ।

एउटा विवाहिता नारीको सम्मानमा ठेस पुर्‍याउने अघोरी कार्य गरेकी थिइन् । उनी आफ्नै नजरमा गिरेकी भएपनि त्यस्तो कुनै पश्चतापको बोध गरेकी थिइनन् ।

उनीहरू वीचको यो सम्बन्धमा अझ प्रगाढता आएको थियो । कहिले रेस्टुराँ कहिले काठमाण्डौं नजिककैको मनोरस्थलमा पुग्नु उनीहरूको साप्ताहिक कार्यक्रमकै रुपमा फस्टाएको थियो ।

“ममी ममी ड्याडीको फोन आयो ।” सानो छोराले आफ्नो हात समातेर झक्झक्याउँदा सीमा झसंङ्ग हुन पुगिन् ।

“सीमा मेरो अर्को आईतबारको लागी टिकट निश्चित भयो । म आउँदै छु ।”

श्रीमानको उत्साहले भरिएको कुरा सुनेर सीमामा कुनै खुसीका लहरहरू देखिएन ।

कुनै रस अनुभव गरिनन् त्यो भलाकुसारीमा सीमाले, केवल बिषादको गहिरो छाप देखा पर्‍यो । उनीलाई के गरौं कसो गरौं भयो ।

“आज त बिजयलाई नभेटी हुन्न ।” सीमाले निश्चय गरिन् र बिजयलाई फोन गरिन् । बिजयले आजकल अलिक आफूमा ध्यान नदिएको आभास गर्दै थिइन् । खै किन हो बिजयमा अकस्मात परिवर्तन देख्न थालेकी थिइन् ।

सीमाको पटक पटकको अनुनयपछि बिजय ग्रीनल्याण्डमा भेट्न सहमत भएको थियो ।

भोलिपल्ट सीमा निर्धारित समयभन्दा लगभग आधा घण्टा अगावै तोकिएको स्थानमा पुगेकी थिइन् । निकै बेरसम्मको प्रतिक्षामा सीमाले एउटा चिसो मगाएर आफ्नो मानसिक तनाव कम गर्ने कोशिस गरेकी थिइन् ।

बिजय ढिला आईपुग्दा सीमामा क्रोधाग्निले जमाएर बास गरेको थियो ।

दुबै मौन रहिरहे ।

“मेरो श्रीमान अर्को आईतबार आउँदै हुन्हुन्छ । के गर्ने?”

सीमाको यो प्रश्नको उत्तर दिन जरुरी ठानेन क्यारे चुपचाप बसिरह्यो ।

“किन केही नबोलेको? म के गरुँ? बैक ब्यालेन्स पनि धेरै छैन अब ।” सीम निकै उदसिन देखिन्थिन् यसो भनिरहदाँ ।

“आउन देऊ न । केही हुन्न म सम्हाल्छु ।” बिजयको यस्तो कुटिल प्रतिकृयाबाट सीमा केही राहत अनुभव गरिन् ।

“जसरी भए पनि त्यो अस्तिको नब्बे हजार फिर्ता गर अरुपछि जे गरे पनि गरौला ।”

सीमाले बोली नसकिंदै बिजय अलिक कठोर स्वरमा “तिमीलाई मेरो भन्दा बढी पैसाकै माया छ है?” भनेर भावानात्मक ब्ल्याकमेल गर्न खोज्छ ।

“हैन त्यसो भन्न खोजेकी हैन । तर श्रीमान आउनु भए पछि हरहिसाब पनि त देखाउनै पर्‍यो नि ।”

भएका बादलहरू मडारिन थालेको सजिलै देख्न सकिथ्यो ।

“ठिकै छ भोलि चोभारमा भेट मलाई । म पैसाको बन्दोबस्त मिलाउँछु ।” बिजयले आफ्नो गम्भीरता प्रदर्शन गर्दै भन्यो ।

सीमा ढुक्क भैइन् । भोलि भेट्ने वाचा सहित दुबै उठे । वेटरले बिल ल्यायो । सदा झैं सीमाले नै बिल तिरिन् ।

टन्टलापुर घामले गर्दा गर्मी बढ्दो थियो । सीमा चोभारमा पुग्दा बिजय आइसकेको थियो ।

“ल्यायौ त?” सीमाले हतास हुदैँ सोधिन् ।

“हेरन साथीले धोका दीयो । पैसा लिएर भागेछ । पार्टनरसिपमा काम गर्छु भनेर लिएको थियो ।”

बिजयको यस्तो बनावटी कुरा सुनेर सीमामा नैराश्यता देखा पर्यो । उनी ठुलो पहाडबाट गहिरो खाडलमा खसेको अनुभव गर्न पुगिन् ।

“मसँग अरु विकल्प छैन । मैले कसरी मुख देखाउने? बरु म तिमीसँगै जान्छु । घर फर्किने वातावरण छैन ।”सीमा अत्यासिएर भन्न थालिन् ।

“तर म अहिले तिमीलाई लैजान सक्दिन । मेरो आम्दानी केही छैन । म कसरी तिमीलाई राख्न सक्छु?” निर्ल्ज्ज हुदैँ बिजयले भन्यो ।

सीमा भावशुन्य हुन पुगिन् ।

“के रे? के भन्यौ? तिमी बिना म एकपल पनि बाँच्न सक्दिन भनेर मेरो जीवनसँग खेलवाड गरेर अहिले यस्तो निर्लज्जता देखाउन कसरी सक्यौ?” सीमा आक्रोशित भइन् ।

बिजयलाई मौनताले आलगंन गरेको थियो । सीमामा धैर्यताको बाँध फुट्यो ।

“पापी, धोकेबाज मेरो सबै विश्वासको घात गर्‍यौ ।” सीमा बिजयमाथि अनियन्त्रित हुदैँ झम्टन पुगिन् ।

सीमा निकै ज्याद्री भइन् । उनी जथाभावी बिजयको कपडा च्यात्न थालिन् । उसको अनुहार चिथोर्न थालिन् ।

“म कसरी तिमीलाई अपनाऊँ ? तिम्रो विवाह भैसकेको छ त्यसमाथि छोरा पनि छ ।”

बिजय पनि तीब्र प्रतिकृया जनाउन थाल्छ ।

“यो त मैले पहिले नै भनेकी थिएँ? के त्यसो भए मसँगको प्रेम को नाटक मात्रै थियो? मसँग भएको पैसामा मात्रै तिम्रो नजर थियो?”

सीमा झनै असन्तुलित अवस्थामा पुगिन् । पागल झैं बिजयलाई सक्दो झम्टिरहिन् ।

कतिखेर बिजयको हातहरू सीमाको घाँटीमा पुगिसकेछ । बिजयलाई होसै भएन । सीमाको एकहोरो आक्रमणले बिजयले पनि संयमता गुमाउन पुगेछ ।

केही छिनपछि त्याहाँ सीमाको निर्जिव शरीर लड्यो ।

बिजयका हातहरू काँप्न थाले ।

3 thoughts on “भोगाइ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *