चिसो सिरेटो
हुस्सुले ढाकिएको बिहानी
लतमन्न भई ओच्छिएका फाँटहरू
दन्तेलहर झै हाँसिरहेका आलीहरू
चिल्लो ती गह्राहरू
भोलिका दिनमा आफ्नो बैंश फुलाउन
आतुर सुन्दर प्रकृतिका बीजहरू
आफ्ना हातहरू फिजाएर मलाई बोलाउँदै छ
नजिक आऊ, मलाई आलिङगन् गर
यी हिलोका रङ्गहरू आफूमा दल
न्यानो मायाका स्पर्शहरूको अनुभूति गर
म एकछिन आफूलाई बिर्सिन्छु
आनन्दित हुन्छु
एकाकार हुन पुग्छु, समाहित हुन्छु
तर जब कसैको सम्झनाले झस्काउँछ
क्षणभरमै सब चकनाचुर हुन्छु
वेचैन हुन्छु
बिगतका प्रणयपलहरूले
यथार्थबाट बिचलित तुल्याउंछ
म बाध्य हुन्छु
यो रमणीय वातावरणबाट कोशौं पर पुग्न
जहाँ मेरो प्रीय आफ्नो रगत बेच्दैछन्
तातो मरुभुमीमा पसिना चुहाउँदैछन्
पलपल जीवन जीउने संघर्ष गर्दैछन्
अतीतलाई मथिङ्गलमा राखेर
भबिष्यलाई सुनौलो पार्ने सपना बुन्दै
मलाई हरेक दिन पत्र पठाउँछन्
हिजोका दिनहरूमा उनले बाउसे गर्दा
मेरा हातहरूले रोपेका बिउहरू
मायाका रङ्गहरू छर्दै
लटरम्म भै सुसेल्दै झुल्दथे
हरिया फाँटहरू कतिखेर
पँहेलपुर हुन्थे पत्तै हुन्नथ्यो
आफ्नै पसिनालाई सुन्दर दानाहरूमा देख्दा
प्रफुल्लित हुदाँको हाँसोलाले
आज मलाई गिज्याउँदैछ
रोपाईँगर्न तम्सिएकाहरूको
उन्मुक्त हाँसोले मलाई
सीमित पारी बाँध्दैछ
म बिस्तारै बन्धक हुदैँछु
ती गुञ्जयमान निश्चल ध्वनी
आज मलाई कर्कश लाग्दैछ
लाग्दैछ क्रन्दन बीच उभिएकीछु
यहि हिलो जसरी गल्दैछु
सायद केहि क्षण पश्चात बिलिन हुन्छु
भो अब फर्क प्रिय
त्यो बालुवाको घरहरू भत्काईदेऊ
तप्प तप्प चुहिने ती पसिना
यहीं आफ्नै भूमिमा सिञ्चित गर
भ्रमको दुनियाँबाट निस्क
यहीं अलग दुनियाँ बसाऊँ
सुनौलो घरसंसार सजाऊँ
यहींको उर्वर माटोसंग खेलौं
जहाँ नितान्त हामी हुनेछौं
तिम्रो आगमनलाई स्वागत गर्न आतुर
ठडिएका छन् यहाँका भिरहरू
झिम्मिक्कै नगरी नयनहरू बिछ्याउँदैछन्
तिम्रो बिछोडमा कोलाहल मच्चाउँदै
कहालिएर रुने यी वनपाखामा
उदास उदास भै डुल्ने आत्मामा
मुस्कानका भाकाहरू भरिदेऊ
सुर्योदयको प्रतिक्षारत यो बिहानीलाई
प्रखर किरणले चुमिदेऊ
अनि फिजिँनेछन् ईन्द्रेणी रङ्गहरू
टप्प टिपेर ती रङ्गहरू आफूमा दलेपछि
अतृप्त आत्माहरू पुर्णतया
तृप्त हुनेछन्
म अनि स्वदेशका यी माटोहरू
पुर्णतया तृप्त हुनेछौं
बिना तामाङ
काठमाण्डौं
wauuuuuuuuuu nice lekh
wauuuuuuuuuu nice lekh