Skip to content

समय रेखा: बीपी, अदालत र नाटक

  • by


अषाढ १२, २०६९ –

एउटा प्राज्ञिक कर्मले गर्दा म नेपालको इतिहासका केही क्षणहरूतिर फर्किन्छु । खास बीपीले अदालतमा आफ्नो बयान आफैँ दिएको एउटा महान प्रसङ्ग छ । विश्वेश्वरप्रसाद कोइराला उर्फ बीपीले १७ वैशाखदेखि ४ जेठ २०३४ सम्म नेपाली अदालतमा दिएको बयानको पाठ अङ्ग्रेजी एमफिल कीर्तिपुरको नाट्य विषयको ‘पर्फमेन्स’ वा प्रस्तुतिकला अध्ययनमा राखेका रहेछन् । त्यसको नाटकीय अध्ययनमा महत्त्व देखेर उनीहरूले राखेको कुराले गदगद हुन्छु । मलाई एक अतिथि वक्ता वा शिक्षकको रूपमा आएर त्यो पाठ पढाइदिनु भन्छन् । म स्वीकार गर्छु । बीपीको त्यो अदालतको बयानको शक्ति विषयमा मैले पहिले पनि लामा र छोटा पत्रहरू प्रकाशित गरिसकेको छु । निकै वर्षअघि यो पाठको खोजी गर्न भनेर म लागेको कथा सम्झिन्छु । यस पाठलाई खोजी गर्दै म काङ्ग्रेसको अफिस अनि एमालेको पुस्तकालयमा पुगेको थिएँ । एकजना मित्रले छ्यालीस सालको प्रजातान्त्रिक परिवर्तनपछि भर्खरै बनेको सरकारसँग मैले केही नियुक्ति लिन घुम्दै गरेको ठानेछन् । ‘अभिसर, गोरखापत्रको सम्पादक हुने कोसिस हो ?’ म विश्वविद्यालयको प्राध्यापक गोरखापत्रको सम्पादकका लागि किन लालायित हुनु ? मैले कुरा बुझाएपछि ती असल मानिसले मलाई सल्लाह दिए । राजनीतिशास्त्रका प्राध्यापकहरूमध्ये त्यो पनि कोही-कोहीसँग यो अदालतको पाठ हुनसक्छ । दलका मानिसहरूलाई थाहा नहुन सक्छ, तिनले भने ।

ती मानिसको सल्लाह पाएपछि मैले सोझै राजनीतिशास्त्री कृष्ण खनाललाई भेटेँ । उनले मलाई फोटोकपी गर्न भनेर आफूसँग भएको बीपीको अदालतको बयानको त्यो ऐतिहासिक पाठ दिए । फोटोकपी गर्दा मुस्किलले बुझिने प्रति निस्क्यो । मैले त्यो प्रतिबाट काम चलाएँ । पढ्दै जाँदा मैले देखेँ, त्यो नेपालको मुक्ति र प्रजातन्त्रको सबभन्दा बलियो पाठ रहेछ । त्यो हाम्रालागि जेर्फसनको घोषणाजस्तै रहेछ । त्यो कार्लमार्क्सको अठारौँ ब्रुमेरको इतिहास व्याख्याको खण्डजस्तै रहेछ । मैले मार्टिन चौतारीका प्रत्युष वन्तको स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी भन्ने पत्रिकाको पहिलो अङ्कका लागि लेख लेख्नु थियो । पञ्चायत काल्पनिकीमाथि बीपीको त्यो अदालत बयानलाई आधार लिएर लेख लेखेँ । पछि त्यो अर्धमुद्रित फोटोकपी मैले साहित्य र नाट्य अध्येता विद्यार्थीहरूलाई पनि दिएँ । बीपीको त्यो महान पाठ विशेष आकर्षक ढङ्गले अलग्गै छापेर न उनको दलले निकाल्यो, न अरू प्रजातान्त्रिक सरकारले निकाले । मलाई एमफिल कार्यक्रम सञ्चालक मेरा भृ्तपृ्र्व विद्यार्थीहरूलेे पुछारमा बीपीको नेपाली पाठ राखेको प्याकेज दिँदा झसङ्ग भएँ । त्यही मेरो अर्धमुद्रित फोटोकपीको प्रति रहेछ । अक्षरलाई उजागर गर्न मैले हातले लेखेका तिनै खण्ड, त्यही विस्मृत हुन्छ कि भन्ने भ्रममा नेपालको मुक्तिका इतिहाससँग आफैँ भावात्मक रूपले लडेको प्राज्ञिक युद्ध थियो, त्यहाँ । म भावुक भएँ । सोचेँ, बीपीले लडेको युद्ध के थियो ? अहिले हामी कहाँ पुगेका छौँ ? मेरो आँखा अगाडि अनेकौँ चित्र आए । नेपालको इतिहासका अनेकौँ उथलपुथल भए-गएको पन्ध्र वर्षमा । माओवादी छापामारले त्रिपन्न्ादेखि त्रिसठ्ठी सालसम्म छापामार युद्ध लडे । नेपालका प्रजातान्त्रिक सरकार र राजाको एकतन्त्री शासनको शृङखला जोडियो । नेपाली काङ्ग्रेसले बीपीको राजनीतिको अनेकौँ व्याख्या गरिरह्यो । मैले बीपीको त्यो हातले लेेखेर बुझिने पारेको धुमिल पाठमा ज्योतिका लहर कुँदेको हेर्न छोडिन । माओवादीका नेता प्रचण्डले अनेकौँ प्रकट र अप्रकट अवस्थामा बीपीलाई मोडेल मानेका कथा निस्के । प्रधानमन्त्री भएर चेपोमा परेको बेला मनको शान्तिका लागि तिनले सुन्दरीजल म्युजियम मगाएर बीपीका केही स्मृतिका विम्बहरूसँग बसेका कथा पढेँ, अखबारहरूमा । मैले देखेँ, बीपी नेपाल्ाी मुक्तिको इतिहासमा एक रूपक र एक प्रतीक रहेछन् ।

म बीपीको त्यो पाठको अवस्था र त्यसको नाटकीयतामाथि हलभित्र मेरा विचार विद्यार्थीहरूसामु राख्तै जान्छु । लामो र अनेकौँ नाट्य वा पर्फमेन्स सिद्धान्तका सन्दर्भहरूका प्रसङ्ग आउँछन् । म बीपीको बयानको नाटकीयताको व्याख्या गर्न ऐतिहासिक सन्दर्भ जोड्छु । पाठको नाटकीय प्रस्तुतिका दुई आधार हुन्छन् । म कीर्तिपुरको त्यो सुन्दर परिवेशको कक्षामा भन्दै जान्छु । मेरो प्राज्ञिक कर्मका दसकौँ बितेको थलो । तर आजकल पढाउने खासै रहर छैन । एमफिल गर्न भनेर पहिलेदेखिका विद्यार्थी आएका छन् । हेर्छु राम्ररी । कतिले चुचे टोपी लाएका छन् । तिनका हल्का जुँघाहरूमा समय छिटपुट सेतो भएर बस्न थालेको देख्छु । महिला विद्यार्थी थोरै छन् । मेरो रमाइलो अनुरोधमा ती पुरुषहरू टोपी खोल्छन् । तिनका केस घना छन् । सोध्छु, कुन असुरक्षाका भावनाले गर्दा यो गर्मीमा चुचे टोपी लाएर हिँडेका छौ ? सबै हाँस्छन् । बाख्तिनले साहित्यिक पाठ रचनाभित्रै संवादिक मोडहरू देखे । काव्यपाठमा गद्यपाठको खासगरी उपन्यासको जस्ता संवादिक मोड हुँदैनन् । अर्को संवादिक मोड पाठले सम्बोधन गरेको दृश्य, अदृश्य जगत छ । भन्दै जान्छु । बीपीको अदालत पाठ सोझै नाटकीय पाठ हो । यसले सोझै मञ्चमा एउटा द्वन्द्वलाई लिएर काम गर्छ । अनि नेपालमा न्याय र अदालतको नाटकीयताको इतिहासतिर जान्छु ।

राणाशासनमा न्यायको एकल चरित्र थियो । न्यायिक संवाद हुँदैनथ्यो । एउटा माथि बस्थ्यो, अर्को तल । एउटा माथि दरबारको बुर्जामा बस्थ्यो । अर्को तल जमिनबाट कराउँथ्यो । वास्तुकलाको कुरा आउँछ । चन्द्रशमशेर र तिनका उत्तराधिकारी अनि भाइभारदारलाई न्यायमृ्र्ति मान्नुपथ्र्यो । फ्रान्सको भर्साइ दरबारको अनुकृतिमा बनाएको सिंहदरबारको पृ्र्वी बुर्जामा चन्द्रशमशेर बसेको कल्पना गर्छु । ऊ सर्वोच्च अदालतमाथि बसेको छ । तल न्याय खोज्ने मान्छे आफ्नो एकल बहस गर्छ । उसका बहसको कुनै दम छैन । ऊ आफ्नो वकालत गरेर माथि कुरा राख्छ । ऊ कराउँछ । त्यसरी भन्नुलाई कराउनु भन्थे भन्ने देखियो । राणा वास्तुकला वा आर्किटेक्चरको रचना युरोपेली छ । त्यसबाट मानिस त्यति नै राज्य र शक्तिको पहुँचबाट टाढा हुन्छ । मल्ल राजाहरूका सुन्दर काठ र इँटा अनि पत्थरले बनेका घरका झ्यालहरूको नजिकै छन् मान्छे । त्यो कराउने परम्परा एकल न्यायिक प्रणाली हो । राणा शासकहरू सहरमा हिँडेको बेला पनि सर्वोच्च अदालत हिँड्थ्यो । सडकमा पनि त्यही शासक र जनताको दृ्री कथाको भृ्तजस्तै हिँड्थ्यो । फ्रान्सेली सहरशास्त्री मिसेल सत्र्यु भन्छन्, सहरमा हिँडेर हेर । सहरको वास्तुकला र तिम्रो हिँडाइ अनि तिमीसँग सहर कत्तिको नजिक छ, थाहा पाउँछौ । नाटकै हो यो पनि । सत्र्युको सिद्धान्तले त्यो बेला काम गर्दैनथ्यो, नेपालमा । राणाशासक बग्गीमा यो प्राचीन सुन्दर सहरमा हिँड्थ्यो । तर गाउँबाट आएको वा यहीँको साधारण मनुवा पनि यहीँ खुम्चेर हिँड्थ्यो । न्याय खोज्न सिंहदरबार आदि ठाउँमा मौका नपाउने सडकमा राणाको सवारी पर्खेर कराउन बस्थ्यो । आशुकवि पहलमान सुवेदी उर्फ जन्तरे दाजुले काठमाडांैमा कुनै राणा बग्गीको सर्वोच्च अदालत समातेर कराउँदा बीसौँ शताब्दीको बीसतिरका दसकमा पाएको खेत ‘आर्काइभ’ भएको छ, तेह्रथुम साबलामा । त्यो बेला जन्तरे दाजु बुटाभित्र लुकेर सवारी पर्खेर बसे । डरले कविता रचे, ‘आजै बाँचिलियाँ भने पृथिवीमा धेर कालतक ज्युँदछु ।’ तिनले निस्केर बग्गी रोके । ती कराए, ‘आज्ञा भो प्रभुबाट तेसबखतमा के भन्छ मुस्ली भनी ।’ ती बलिया थिए । ती साधारण मनुवा कविले अदालतको उग्ररूप देखे । ‘के, के, के भनी तीन बार प्रभुले मुख्ा बाई सोध्दा महाँ/देखेँ चौध भुवन चराचर सबै त्यस्मा रह्याको तहाँ ।’ बीपी यिनै साधारण मानिसहरूका बाचाल क्रन्तिकारी प्रतिनिधि थिए ।

राजा महेन्द्रले सत्र साल पुस एक गते यो देश र यो भेगको एउटा तेजिलो मुक्तियोद्धा र ज्योतिपुञ्ज युवक विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक तवरले चुनिएको सरकारलाई ढालेर शक्ति लिनु इतिहासको त्यही बुर्जाबाट तल कराउनेसँग एकल शक्ति संवाद गर्ने न्यायको नाटकीयतालाई फेरि फर्काएर लिनु थियो । बीपीको चौँतीस सालको अदालतको बयानको भयानक नाटकीय शक्ति ‘परफर्मेन्स’ थियो । त्यस पाठले एउटा बलियो पाठ-नाटकको उदाहरण दिएको छ । बीप्ाीले अदालतमा आफ्ना पाठले सम्बोधन गरेको पात्र त्यही अदृश्य चन्द्रशमशेरीय, महेन्द्रीय वा वीरेन्द्रीय शक्ति केन्द्रित रचना थियो । बीपीको अदालत बयान एक प्रकारको एकल संवाद थियो, किनकिती बोल्थे, तर सुन्ने कानहरू थिएनन् । तर अर्को अर्थ पनि छ । तिनको अदालतको बयान एउटा शक्ति विनिर्माण थियो । बुर्जाको एकल न्यायिक संवादको पहिलो बलियो पृ्र्ण विघटन थियो । बीपीले अदालतमा यो बयान दिँदा शक्तिको उल्टो संरचना भयो । यता जनताबाट तयार भएको बुर्जामा बसेर उताका अधिनायकहरूलाई तिनले न्यायका सङ्कथन सुनाइरहेका थिए । लामो कुरा भयो । एउटा लेख्तै गरेको लामो लेखको निचोड पछि फेरि राख्छु ।

सोच्छु, माओवादी, काङ्ग्रेस, एमाले, मधेसी र जनजाति चिन्ता भएका मेरा पहिलेेदेखिका विद्यार्थी छन्, सायद त्यहाँ । मेरो विश्वास दोहोर्‍याउँछु । नेपाली इतिहासमा शक्तिको विकेन्द्रीकरण र विनिर्माण बीपीले उठेर बोलेको त्यो बुर्जाको यथार्थबाट बुझ्नुपर्छ । आजको राजनीतिक भ्रम निवारण गर्ने स्रोत खोज्न बीपीको त्यो अदालत बयानको नाट्यशक्तितिर फर्कौँ कि त ।

प्रकाशित मिति: २०६८ अषाढ १३ ०९:००

Leave a Reply

Your email address will not be published. Required fields are marked *