Skip to content


घुमाउने चौतारा। जहाँ हामी उभिएका छौं। म छु, मेरो साथमा कुलप्रसाद राई छन्, सिद्धराज राई छन् र छन् रविन गिरि। तीनै जना पत्रकार। राई बन्धु धनकुटाका र गिरि धरानका, जो मेरो सहयात्री बनेर धनकुटा आएका थिए घुमघामका लागि। घाम मार्गपोखरीको डाँडापछाडि लुक्नै लागेको छ र मानौं हाम्रै लागि भनेर केही अल्मलिए जस्तो छ। घामको मन्दिम हुँदै गएको उज्यालोमा हामी हेरिरहेछौं तल खोंचमा बगेको तमोर कोशीतर्फ, जहाँबाट हावाको मुस्लो धनकुटे खोला हुँदै रमितेडाँडा र टेकुनालाको उकालो छिचोल्दै हामी उभिएको घुमाउने चौतारामा ठोकिन्छ।

हामी गफिन्छौं उभिई उभिई, आफ्ना किरणका पञ्जाहरूलाई समेट्दै बास बस्नलाई कुना पस्न लागेको घामको अन्तिम आभामा प्राकृतिक छटाको रसपान गर्दै। हाम्रो गफको धार मोडिन्छ घुमाउने चौतारातर्फ जहाँ हामी उभिएका छौं। पहाडी पगपथमा चौताराहरू जतासुकै भेटिन्छन्, पुण्य कमाउन चाहने दानशील मानिसहरूले बनाइदिएका बटुवाहरूलाई सुस्ताउन र बिसाउन भनेर। ढुङ्गाका ठूल्ठूला फब्लेटाहरूलाई चिनेर वर-पीपलका रूख वरिपरि बनाइएका यस्ता चौताराहरू प्रायः सबै चारपाटे वा आयताकार हुन्छन्। गोलाकार चौतारा हम्मेसी भेटिँदैनन्।

भेटिए ती बिरला कोटिमा पर्छन्। धनकुटाको घुमाउने चौतारा त्यस्तै बिरला कोटिको चौतारो हो। घुमाउने यसलाई यसनिम्ति भनिएको हो कि यो चौतारा गोलाकार छ वरको रूख वरिपरि चिनिएको। मानिस हिँड्ने बाटो छाडेर यसको सामुन्ने पीपलको रूखमा बनाइएको अर्को चौतारा पनि छ, तर त्यो चौकोर छ र सानो पनि छ। कहिले बन्यो होला यो घुमाउने चौतारा? कसको दानकर्मको प्रतिफल होला यो चौतारो? यो एक व्यक्तिले चिनायो या धेरै व्यक्तिहरू मिलेर यसलाई चिनाए? कहाँबाट ‘सारिए होलान् यस्तरी बान्की पारेर ताछिएका ढुङ्गाहरूलाई? एउटा झ्न्डै तीन हात अग्लो प्रस्तर फलक त खडा छ चौताराको डीलमा। कुँदिएका अक्षरहरू पनि देखिन्छन् त्यहाँ, तर पढ्न नसकिने। चौताराको निर्माणबारे केही लेखिएको हुँदो हो त्यस शिलालेखमा। प्रकृतिको प्रताडना र मानव दुर्व्यवहारका कारण मौलिक आकृति गुमाउन पुगेका ती अक्षरहरूमा निहित अर्थ खोज्ने प्रयास कसैले गर्‍यो होला। के फेला पर्‍यो त्यसबाट? तथ्यको अभावमा हामी केवल अड्कल काट्न सक्छौं घुमाउने चौताराको उमेर सम्बन्धमा।

उमेरमा आफूभन्दा आधै कान्छा तीनजना पत्रकार भाइहरूलाई म भन्छु, “यो मेरा बाभन्दा पनि जेठो हुनुपर्छ। मेरा बाजेका भन्दा पनि जेठो हुन बेर छैन।” बाजे बाँचिरहनु हुँदो हो त अहिले यस २०६५ मा १०५ वर्ष पुग्नुहुन्थ्यो।

डाँडागाउँको हाम्रो घरमा घुमाउने चौतारा बन्दाको कथा कहिल्यै सुनिएन। कसैले त्यस कथालाई खोतलेन। किनभने घुमाउने चौताराको अस्तित्व एउटा वास्तविकता थियो कसैले सोधखोज गरिरहनु नपर्ने। त्यो त्यहाँ थियो, बस्। कसले सोध्ने चुलीवनको उमेर? कसले सोध्ने बाख्रे खोला कहिले धनकुटे खोलामा गई मिसियो भनेर? वरिपरिका डाँडा र खोलाहरू जस्तै थियो घुमाउने चौताराको अस्तित्व- निर्विवाद र दैनन्दिन छलफलदेखि टाढा।

जहिलेदेखि म आफ्नै गोडाका भरमा हिँड्न डुल्न सक्ने भएँ त्यसै बेलादेखि म घुमाउने चौतारालाई चिन्दछु। त्यसलाई नजिकबाट देखेको छु। धेरै टाढा छैन त्यो हाम्रो घरदेखि। केही कान्ला बारी झ्रेर एक घुम्ती खोल्सा छिचोल्नुपर्छ अनि मूलबाटो भेटिन्छ दर्शनढुङ्गाले भरिएको। त्यस बाटोलाई नछोडी मूलघाटतर्फ केही ‘रालो लागेमा घुमाउने चौतारा पुगिन्छ। शैशवकालमा धेरैचोटि पुगेको छु त्यहाँ बज्यैको हातबाट डोरिएर। चौतारा भन्नु के थियो सानोतिनो बजारै लागेको हुन्थ्यो त्यहाँ बाह्रै महिना बाह्रै काल। ठूलो बजार त बिहीबारे हाट थियो प्रत्येक हप्ता लाग्ने, जहाँ चामल-दाल, अन्नपातदेखि सागसब्जी, तरकारी, माटाका भाँडाकुँडा, मौसमअनुसारका फलफूल, सुँगुर बाख्राका पाठा, कुखुरा, सिंगारपटारका सामान, टिमुर, जिम्बु हरेक थोक पाइन्थे। त्यसको लघु र प्रतिनिधि संस्करण घुमाउने चौतारामा लाग्ने गर्थ्यो- के जाडो, के गर्मी, के बर्खा सधैँ नै बिहानदेखि बेलुकासम्म। बिहान झ्िसमिसमै सिरानबजार, ठाडोबजार, तल्लो कोप्चे र हुलाक टोलका कुम्ले कारोबारीहरू र्झ्थे आ-आफ्ना सामानका ढोलेकुम्लो बोकेर। चौताराछेउको बाटाको दुवै छेउ भुइँमा ती फैल्याउँथे आफ्ना पसल।

सबैको आ-आफ्नो निश्चित स्थान तोकिएको थियो शायद। तिनीहरू सदैव त्यही ठाउँ ‘गटेर बसेका हुन्थे। जीरा-मरिच, सुकेको नरिवल दाना, मिश्रीका डल्ला, काँचका चुरा, टीका, पोते, बाहिरपट्टि ऐना जडिएको सानो गोलटिनको बट्टा, पट्याउन हुने काठको सानो ऐना, बिस्कुटका पाकेटहरू, सुपारी, ल्वाङ, सुकुमेल, दालचिनी, रूमाल, नक्कली औंठी, काङ्गियो, किलिप, सेफ्टीपिन, साबुन, चुरोट-बिंडी-पेपर सलाई आदि वस्तु भुइँमा बिछ्याइएका कपडामा राखिएका हुन्थे। अनि चारैतिर लट्ठीहरू गाडेर तन्काइएको डोरीमा स्वास्नीमान्छेले कपाल बाट्दा लगाउने राता-काला फुर्का टाँगिएका हुन्थे। ती फुर्कामा पसल्नीहरू बडो कुशलतासाथ बत्तु लगाउँथे सुइरामा उनिएको लट्टु जस्तो औजारले। रुपौला सुनौला रङका जरीलाई सजावटका रूपमा त्यसरी फुर्कामा बेर्ने काम रमाइलो र हेरिरहुँ जस्तो हुन्थ्यो।

चार वटा घरहरू थिए त्यहाँ, सबै पाखापट्टि बनेका। पीपलको रूखछेउ पाखामा बनेको घर-पसल देवनारायणको थियो, चिया र साथमा अरू सरसामानहरू बेच्थ्यो ऊ। गोरो, अग्लो, चौडा निधार भएको सुन्दर अनुहार थियो उसको। खुब हल्ला गर्नुपर्ने, ठूल्ठूलो स्वरमा कुरा गर्नुपर्ने र गड्गडाएर हाँस्नुपर्ने। चौतारीको अग्लो पेटीमा उभिएर केही न केही ऊ बोलिरहेको हुन्थ्यो। ऊ नहुँदा पूरै घुमाउने चौताराको माहोल शून्य-शून्य लाग्थ्यो। मेरो आफ्नो सरोकारको पसल भने देवनारायणको नभई ठाइँला बाजेको चिया पसल थियो, जहाँ मेरी बज्यै बेलाबखत कुनै कामले जाने गर्नुहुन्थ्यो। ठाइँला बाजेको खास नाम त मानबहादुर आले थियो जसलाई मेरा बा मामा भन्नुहुन्थ्यो र बज्यै भाइ। त्यस नाताले मैले उहाँलाई बाजे भन्नुपर्थ्यो। उहाँको चियापसलमा पुगेपछि एक कप चिया खान पाउने ग्यारेन्टी थियो। चियामा गोलो टिनको बट्टाबाट लेदो दूध हालिन्थ्यो। हेर्दा खटिरा फुट्दा निस्कने पीपजस्तो भए पनि स्वाद त्यसको मीठो लाग्थ्यो। ठाइँला बाजेबाट मैले चियामा एक मुट्ठी चिउरा वा थिन आरारोट बिस्कुट पनि भिजाएर खान पाउँथेँ। त्यही आकर्षणले घुमाउने चौतारा जान लागेको थाहा पाउनासाथ म बज्यैलाई पछ्याउन सदा तत्पर रहन्थेँ।

धनकुटा पस्ने प्रवेशद्वार जस्तो थियो घुमाउने चौतारा धरानतर्फबाट आउने बटुवाहरूका लागि। मूल घाटनेर धनकुटे खोला तरेपछि शुरु हुने ठाडो उकालोको एउटा लामो चरण घुमाउने चौतारामा आएर सकिन्थ्यो। फराकिलो चौतारामा भारी र थकित जीउलाई बिसाएपछि बटुवा आफूले पार गरेर आएको उकालोलाई फर्केर हेर्दै राहतको सास लिन सक्थ्यो। अनि त्यहाँबाट धनकुटा बजार प्रवेश गरेको भावनाबाट आश्वस्त हुन पाउँथ्यो। तेह्रथुम, ताप्लेजुङ, चैनपुर र भोजपुरबाट समेत धरान ‘होरदोहोर गर्नेहरू घुमाउने चौताराबाट गुजि्रनु अनिवार्य थियो।

यसको रणनीतिक महत्वलाई दृष्टिगत गरेरै त्यतिका ठूलो घुमाउने चौतारा बनाइएको हुनुपर्छ। यो ठाउँ निकै गुल्जार बस्ती बन्न सक्थ्यो, आउने-जाने मानिसहरू बास बस्न सक्ने र खानपिनको सुविधा भएको। तर ढाकर बोक्ने ढाक्रेहरू बाहेक यहाँ रात बिताउने बटुवाहरू नगन्य हुन्थे। त्यसको मुख्य कारण पानीको अभाव थियो। छेउछाउ कुनै कुवा थिएनन् र पानी लिनलाई निकै परको तेर्छे भन्ने ठाउँमा पुग्नुपर्थ्यो जो आतेजाते एक-डेढ घन्टाको बाटो थियो। त्यति टाढाबाट बोकेर ल्याएको एक-एक थोपा पानीको महत्व तेलभन्दा कम हुन्थेन। दोस्रो, मास्तिर तलतिर दुवैतिरबाट हिँड्नेहरूका लागि यो बास बस्ने दूरीमा पर्दैनथ्यो। धरानबाट बिहान सबेरै उकालो लाग्नेहरू साँझ् नपर्दै यस ठाउँलाई काटिहाल्थे र मास्तिरबाट र्झ्नेहरू बासै बस्नु परे धनकुटा बजारतिरै बस्थे।

घुमाउने चौतारा प्रस्थानबिन्दु पनि थियो मधेशतिर ‘रालो लाग्नेहरूका लागि। सधैँ बज्यैको हात समाएर घुमाउने चौतारा पुगी त्यहीँबाट घर फिर्ता आउने गरेको मलाई चौतारामुनिको ‘रालो र त्यसपर्तिरको दुनियाँबारे पटक्कै ज्ञान थिएन। त्यो चौतारा एउटा साँध बनेर उभिएको थियो मेरो सानो संसारको। उसपारको संसारबारे कल्पना बुन्ने उमेर भइसकेको थिएन मेरो। तर एक दिन मैले आमाको साथमा कसैको पिठयूँमा बुई चढेर त्यस लक्ष्मणरेखालाई पार गरें। त्यो दुनियाँ नौलो थियो। त्यहाँ घरैघर थिए, चियापसल र पान दोकानहरू थिए, झ्िलिमिलि पसलहरू थिए, कच्ची तर फराकिला सडकहरू थिए, रेडियो, सिनेमा र सर्कस थिए, भालु र बाँदर नाच थिए, अस्पताल थियो, डाक्टर थिए, स्कूल थिए अनि अनेक रङरोगनमा मानिसहरू थिए। त्यो दुनियाँ धरान र विराटनगरको थियो।

कालान्तरमा हाम्रो परिवारको थातबास धरानमा बस्यो। तर मेरो भने धनकुटासँगको नाता प्रगाढ थियो। मेरा कान्छाकाका पढ्न भनेर हामीसितै धरानमा बस्नुहुन्थ्यो। अनि हामी दुई काका-भतिजा धरान र धनकुटामा बाँडिएका हाम्रो परिवारको जीवित सेतु थियौं। हामी पढ्ने स्कूल मात्र होइन क्लास पनि एउटै थियो। कुनै पनि कारण स्कूल बिदा हुनासाथ हामी दुवै धनकुटा हान्निन्थ्यौं। दशैं, तिहार र गर्मीको लामो बिदामा त हामी जानु अनिवार्य थियो र त्यसका लागि हाम्रो निकै अघि योजना बन्थ्यो। त्यसबाहेक ताल परे माघेसङ्क्रान्ति र वैशाखे पूर्णिमा जस्ता एकदिने पर्व पनि भ्याइदिन्थ्यौं।

किन हो किन मलाई धनकुटा डाँडागाउँको घर र त्यहाँको गाउँले वातावरण औधी प्रिय लाग्थ्यो। घर कुनै खास थिएन। त्यस्तै थियो जस्तो एक सामान्य कृषक परिवारको हुने गर्थ्यो। ढुङ्गाको गारो, खरको छाना, होचो दुई तले, मूल ढोकामा पिँढी र जस्केलातर्फ पाली गाँसिएको, रातोमाटो पोतिएको। तर त्यस घरसित जोडिएका अरू धेरै थोक थिए- दुहुना गाई, बाछाबाच्छी, बहर तथा हलगोरुहरूको गोठ, कुखुरा, बाख्रा र सुँगुरका खोरहरू, खोल्मा वा कटेरो, फराकिलो आँगन, लामा-लामा कान्लाका बारी। सुन्तला, बेलौती, ज्यामिर, भोगटे, कागतीका बोटहरू। केंवरा, लालुपाते, गोदावरी, चमेली, गुलाफ, लाहुरे फूलले भरिपूर्ण कोठेबारी। यी सबै यस्ता कुरा थिए जो धरानको लाइनमा बनेको घरमा हुन किमार्थ सम्भव थिएन। अनि धनकुटामा आकास बढी नै नीलो र नजिक भान हुन्थ्यो। हरिया पहाडका पाखामा टाँसिएका कमेरो र रातोमाटोले लिपेका घरहरू सजीव पेन्टिङ सदृश लाग्थे। दशैंतिहारका बेला बज्ने मादलका आवाज पनि मादक र मधुर लाग्दथ्यो।

शायद ती सबै थोकभन्दा बढी मलाई बाजे र बज्यैको (विशेषगरी बज्यैको) मायाले तानेको हुँदो हो जुन माया मलाई देख्नासाथ आँखाबाट छचल्केर आउँथ्यो। चुलामा मकैको च्याँख्लाको ठाउँ बिहीबारे हाटबाट बेसाएर ल्याएको धानको चामलले लिन्थ्यो। त्यसैले धरानमा रहँदा म सदैव धनकुटा जाने अवसर र समयको प्रतीक्षामा हुन्थें। व्यग्र प्रतीक्षापछि त्यस्तो समय आउँदा मन फुरुङ्ग र जीउ हलुका हुन्थ्यो। साँगुरी भञ्ज्याङ नाघेर धारापानीको ‘रालोबाट घुमाउने चौताराको वरपीपलका घना थुम्को देख्नेबित्तिकै डाँडागाउँको घर पुगे झ्ैँ लाग्थ्यो। चौतारा मास्तिर त्यसै डाँडाको नाकमा देवीथानको सानो वन पनि त्यहाँबाट देखिन्थ्यो। देवीथानबाट एकै बित्ता पर्तिर त हाम्रो घर थियो।

डाँडागाउँ प्रकृति र वात्सल्य दुवैको काख थियो मेरा लागि। त्यहाँ पुग्दा मन जति हर्षित हुन्थ्यो त्यतिकै रुन्थ्यो ती काख छोड्नपर्दा। भोलिपल्ट धरान फर्कनु छ भने बिहान कहिल्यै नहोस् भन्ने लाग्दथ्यो। घर छाडेर हिँड्दा घुमाउने चौतारा पुगुञ्जेलसम्म त आँगनमै छु भन्ने लाग्थ्यो। त्यहाँबाट अघि बढिसकेपछि भने अब पक्कै धनकुटाबाट बिदा लिएँ भन्ने लाग्थ्यो र केहीबेर मुटु निचोरिन्थ्यो। धनकुटाको माया मनमा कहाँसम्म थियो भने एकरात सपनामा सर्प र त्रिशूलसहितका जटाधारी शिवजी देखा परेर के माग्छौ बालक भनी सोध्दा यस बालकले मागेको वर थियो धनकुटालाई छेल्ने डाँडोलाई हटाइपाऊँ! शिवजीको दायाँ हात यसो घुम्नासाथ साँगुरी भञ्ज्याङ भएको महाभारत डाँडो गायब। धनकुटाको घुमाउने चौतारा म धरानको घरमा बसी-बसी देखिरहेछु। मेरो खुशीको पारावार रहेन सपना देखुञ्जेल। त्यस्तो थियो धनकुटाको मोह र आकर्षण बालककालमा।

वयले-समयले धनकुटा जाने क्रम पातलियो। एसएलसी पास भएर कलेजको प्राङ्गण टेकेपछि त लगभग बिल्कुल रोकियो। पछिल्लो चोटि मैले घुमाउने चौतारा भएर ‘होरदोहोर गरेको २०२५ सालमा थियो। त्यस समय म बीएको अन्तिम वर्षमा धरान महेन्द्र कलेजमा पढिरहेको थिएँ र कलेजका मिल्ने दुईजना साथीहरू लिएर धनकुटा घुम्न गएको थिएँ लगभग टुरिष्टको हैसियतमा। त्यसपछि मेरो बाटो हानियो काठमाडौंतर्फ।

२०२५ र २०६५ को बीचमा चालीस साल बगिसकेको छ। सलल पीच बाटो छ धरान धनकुटालाई जोड्ने। पसिना काढेर उकालो ‘रालो हिँडिरहन पर्दैन। मोटर चढेर पनि गएको छु दुईचार पटक, कहिले छोरालाई लिएर कहिले पत्नीलाई आफू जन्मेको ठाउँ देखाउन। तर घुमाउने चौतारा पुगिनँ। बल्ल २०६५ मा असार महिनामा अन्त्यतिर पुगें अतीतका पाइलाहरू पछ्याउँदै।

तर खोइ त्यो चहलपहल? खोइ त्यो खैलाबैला? खोइ ती रङ्गीचङ्गी पसलहरू? खोइ त्यहाँ सुनिने गीतका उकेरा र भरियाका सुस्केराहरू? खोइ देवनारायणको त्यो मुक्त हाँसो र खोइ त्यो आइपुग्यौ र हिँड्यौ भन्ने प्रश्न? खोइ ठाइँला बाजेको पसलमा पाइने मरिचको धुलो छर्केको गुलियो चिया?

यदि परिवर्तन भनेको मोटर गुड्ने सडक हो भने त्यो पारि बेलहारा डाँडाको छाती हुँदै पात्ले खोला भएर उँभो हुलाक टोलतिर लस्केको छ। आज घुमाउने चौतारा सुनसान छ, बिरानो छ। परिवर्तनबाट अछुतो छ। बदलिँदो जीवन र जगतको मौन साक्षी बनेर कोही नहिँड्ने बाटो धुम्धुम्ती कुरिरहेछ। तर त्यही अबोला घुमाउने चौतारा मेरो मनमस्तिष्कमा स्थायी तवरले उत्कीर्ण छ जन्मथलोको निशानीका रूपमा।

हिमाल खबरपत्रिका २२७

1 thought on “घुमाउने चौतारा”

  1. reader reaction
    I became much nostalgic after drinking this memoir . I lived delihtfully on sambat 2029 sal Pus during drinking of this memoir due to its maters and writingstyle .

Leave a Reply

Your email address will not be published. Required fields are marked *