यसपाली अस्ताएको, घामको मूल्य तोकिएन ।
गरिबीको पसिनाको, कामको मूल्य तोकिएन ।।
एक छाक एक धरो, पाउन कत्रो संर्घष छ ।
थाप्लोमाथि भरियाको, डामको मूल्य तोकिएन ।।
चार पाउ दस नङ्ग्रा, खिईदै पो सकिसके ।
श्रमजीवी सपनाको, दामको मूल्य तोकिएन ।।
छि-छि र दुर-दुर कति, सहँदै पो बस्नु होला ।
गरिबी यो अपमानी, नामको मूल्य तोकिएन ।।
भरे खाने सामल खोज्न, संघारमा माग्दै हिडे ।
भोलि छाक केले टार्ने, मामको मूल्य तोकिएन ।।
कोही भने महलमा, कोही भोका फुटपाथमा ।
बजेटमा बटर र, जामको मूल्य तोकिएन ।।