वसन्त आयो रस-रङ्ग छर्कंदै
सुवास यो बग्दछ सिर्जना धुँदै
मता लता छन् कमनीय कञ्चन
फुलौं फुलौं भई कुकुर्निन्छ यो मन
आँखाभरी फुल्दछ फूल मालती
छातीभरी फुल्दछ फूल मालती
परागले आज धरा छ लत्पत
प्रकाशको आज नवीन छाँट छ
यै फूलको सुन्दर रुप पोखिंदा
संसार यो सुन्दर बन्दछ सर्वदा
खेल्दैछ छाया भुइँमाथि लोलिंदै
हेर्दैछ टाढातिर कोहि टोलिंदै
वनैभरी काफल छन् लदावदी
मनैभरी निर्मल भाव कौमुदी
घुम्दै छ संसारसँगै नयाँ गति
जता म जाऊँ त्यहिं छे कलावती
चैते दशैंमा म त जान्छु बाग्लुङ्
छन् बाग्लुङैमा प्रिय फूलका रङ
बग्दैछ काली नव लालिमासित
बग्दैछ लाली नव कालिमासित
कुक्कूचरी आज चञ्चल देखिई
लुकेर गाछीबिच कुक्क कुक्किई
यै कुक्कमा छन् सुखदुखका कुना
वसन्त नै जीवनको नयाँ मुना
फुट्छन् अनेकौं कुकुनाहरू जहाँ
टुट्छन् पुराना युगका कथा त्यहाँ
जताततै आज वसन्तका धुन
पहेंलिएका दिनका गए दिन
रामबाबु सुवेदी
७ भाद्र, २०३५
फर्पिङ्, काठमाण्डौं