आज कोइली कराएन किन वनभरि
निराशाले छायो होला तिम्रा मनभरि
तारेभीरमा घाम लागे गैरी खेत छायाँ
छातीभरि गहिरियो मायालुको माया
कति बसौ निराशामा आँसु पोखीपोखी
उसकै माया उसकै छायाँ मुटुभित्र बोकी
आज पनि कोइलीले गीत गाएन
हामीसित भेटी उसले प्रीत लाएन
आफ्नो मन आफ्नो पन आफ्नो रनवन
आफ्ना पाखा आफ्नै भाका मेरा आफ्ना धन
छालहरू छचाल्किन्छन् आँसु बग्छ बाढी
नजाऊ मेरी मनकी माया मलाई एक्लै छाडी
वनभरि कोइलीले आज गीत गायो
मनभरि अब मेरो हरियाली छायो
रुखो स्वर कहाँ हो र ? कोइलीकण्ठ गीत
वनकी चरी लठ्ठ परी आज मायासित
बिहानीका फूल र्झछन् चर्को घाममा ओइली
अब हाम्रै गीत गाइदे बसन्तकी कोइली
आज भने कोइलीले मीठो गीत गायो
फर्की आई सम्झनाले फेरि प्रीत लायो
मधुपर्क २०६८ असार