Skip to content


हाम्रा यी दुइटै हात कर्म गर्न जुटाउँला
हाम्रो देश मिली आफैँ माथि-माथि उठाउँला
नसोचे हुन्छ बैरीले कप्टी पासा लडाउँला
हामी यो देशका लागि ज्यानैसम्म चढाउँला ।

नालापानी दुख्यो सारै छातीमा अति चर्कियो
हाम्रा वीरहरूदेखि अङ्ग्रेज पनि थर्कियो
कालापानी लुटेको छ भन्ने सुन्छु जताततै
त्यो आँट नगरे हुन्छ कुदृष्टि नपरोस् कतै ।

हामी सक्षम छौँ भन्दै अरूलाई जनाउन
हामी आफैँ जुटेका छौँ हाम्रो घर बनाउन
ढुङ्गा इँटा मिलाएर राम्रो घर बनाउँला
त्यसैमा अट्छौँ हामी भन्ने भाव जनाउँला ।

सबैको चाहना हुन्छ गाँस, बास, कपासको
नेपाली एक भै हामी बीज रोपौँ विकासको
दाजुभाइहरूलाई अनुरोध म गर्दछु
‘राष्ट्रसेवा गरौँ’ भन्दै सबैको भर पर्दछु ।

यौटा मूलजरो काट्यौँ स-साना बाँकी छन् अरू
सामन्ती मनुवालाई लखेटी राख्न आवरू
हामी आफैँ जुटेका छौँ देश निर्माणमा सब
कामना गर्छ यो देश-‘ एकै चित्त बनोस् अब ।’

मधुपर्क २०६८ असार

Leave a Reply

Your email address will not be published. Required fields are marked *