Skip to content

फर्केर हेर्दा : मास्टरजीको जलखै र ग्वाहाली पाठशालामा केही दिन


अप्रिय सानु,

तिमीले तिम्रो जीवनको पहिलो र अन्तिम दिनका लागि पहिलो पाठशालामा टेकिसकेपछि तिम्रो शिक्षारम्भ गाउँमै विष्णु मामाले आफ्नो दुवारमा राखेका मास्टरजीसमक्ष भयो । मास्टरजी बिहान बेलुकाको खाना त विष्णु मामाकै घरमा खान्थे तर भिन्सर (बिहान) को जलखैचाहिँ उनीसँग पढ्ने तिमी विद्यार्थीहरूले पालैपालो झर्काको गहिरो थालमा राखेर लगिदिनुपर्थ्यो । उनको जलखैमा हुन्थ्यो सिलौटोमा मसिनो गरी पिसेको हरियो नुनखुर्सानीमा तिखो राग आउने करूवा तेल तपतप चुहिने गरी मसमसी मुछेको भुजा (खट्टे) । यतिमात्र होइन, भकभक उम्लिरहेको करुवा तेलमा भुक्क-भुक्क उठेर पट्पटी फुट्ने गरी तारेको रातो खुर्सानी तर कालो भइसकेको । मास्टरजी सबभन्दा पहिले तिमीहरूकै अगाडि जिब्रो पड्काई-पड्काई तिम्रा बतियारी (तिमी होइन नि) ले लगिदिएका जलखै ‘सी … ऽ … ऽ … सी … ऽ … ऽ …’ गर्दै खान्थे । त्यतिबेला तिमीहरूका जिब्रामा तरक्कै पानी आउँथे र घुटुक-घुटुक थुक निल्दै एकअर्काको मुखामुख गर्दै बस्थ्यौ । जलखै खाइसकेपछि मास्टरजी ठाडो घाँटी लगाएर किलकिले तल र माथि गर्दै गर्दै एक लोटा पानी एक थोपो पनि भुइामा नझारी घटघटी पिउँथे र पलेटी कसेर विष्णु मामाको ग्वाहालीमा आसनी जमाउँथे । अँ, आसनी भन्दा पो समझेँ, तिमीहरूले चाहिँ आफै आफ्ना लागि ओछ्यान बोरा बोक्नुपर्थ्यो । होइन भने विष्णु मामाका गाईंभैँसीले शौचालय बनाएर भिजाएका गन्धे ग्वाहालीमा चिसै बस्नुपर्थ्यो । यसरी तिम्रो दोस्रो पाठशाला तिम्रै गाउँका विष्णु मामाका ग्वाहाली बन्न पुग्यो । तिमीले उनलाई पनि धन्यवाद भन्नै पर्छ किनकि विष्णु मामाले आफ्नै ग्वाहालीमा भए पनि मास्टरजीलाई नराखेका भए के थाहा तिम्रो शिक्षामा उतिबेलै पूर्णविराम लाग्थ्यो कि ?

तर दुःखको कुरो, तिम्रो दोस्रो पाठशाला पनि तिम्रा लागि धेरै दिन टिक्न सकेन । पहिलै दिन मास्टरजीलाई जलखै खुवाउने पालो तिम्रो परेको भए त यसै भन्न सकिन्नथ्यो तर तीनचार दिनपछि परेकोले विष्णु मामाका ग्वाहाली तिम्रो दोस्रो पाठशाला भयो । मास्टरजीलाई जलखै खुवाउने पालो परेको दिन बिहानदेखि तिमी फुरुङ्ग थियौ । मास्टरजीका एकएक आवश्यकताका चीजका बारेमा तिमी तिम्री आमालाई बेलिबिस्तार लाउँदै थियौ । तिम्री आमा तिम्रा बेलिविस्तारप्रति तटस्थ थिई तर पन तिम्रो चित्र नदुखाउन हुनुपर्छ,

‘हुन्छ-हुन्छ, पख् न’ भन्दै थिई । तिमी त्यही तिम्री आमाको ‘पख्’ लाई पर्खिरहेका थियौ । तिम्रो पर्खाइ लम्बिँदै गएर जलखै पुर्याउनुपर्ने समय घर्किसक्दा पनि तिमी पर्खिरहेका थियौ । पर्खिरहँदा तिमी कल्पनामा डुबिरहेका थियौ । कल्पनामा तिमी थालभरि नुनखुर्सानी र करुवा तेलमा मसमसी साँधेको भुजा बोकेर मास्टरजीका सामु गइरहेका थियौ । तिमीले काँधमा बोको जखलै कुनै पनि अर्थमा तिमी बतियारहिरुको भन्दा कम्ता थिएन । यसैले तिम्रा बतियारीहरू तिम्रा पछिपछि थिए र तिमी अघिअघि छाती उच्च पार्दै हिँडिरहेका थियौ । तिम्रा बतियारीहरू तिमीसँग जलखै हेरिमाग्थे तर तिमी कसैलाई छेउमा ढिम्किनै दिँदैनथ्यौ । एकैपटक मास्टरजीका अगाडि लगेर जलखै राखेपछि मास्टरजीका मात्र होइन, तिम्रा बतियारीहरूका पनि जिब्रो रसाउन थाले । रसाएका जिब्राबाट निस्केका पानीले मुख भरिन आँटेपछि ती घुटुक्क थुक निल्थे । मास्टरजी धोतीको फेर समाउँदै अलि पर गएर मैदान गर्न बसे जस्तो गरी बसेर लोटाको पानीले हात धुन थाले । उभिई-उभिई लोटाको पानीले हात धोए पानीका सबै छिटा खुट्टामा पर्छ भनी मास्टरजीले थुचुक्क बसे जस्तो गरी बसेर हात धोए । आँ, मास्टरजीमात्र किन अरुहरू पनि यसै गर्थे । हात धोइसकेका मास्टरजीले आसनी मिलाई-मिलाई पलेटी कसेर बसेर जलखैको थालतिर सम्पूर्ण शरीर नुहाएर भुजा फाँको मार्दा तिमीहरू हेरेको हेर्यै हुन्थ्यौ । तिमीहरू पनि घरमा जलखै खाँदा मास्टरजी जस्तै अगाडि झुकेर थालसम्मै मुख पुर्याई फाँको मार्थ्यौ । त्यसरी फाँको मार्दा हत्केलामा समेटिन नसकेका जलखै थालबाहिर पोखिँदैन भन्ने मास्टरजीको मान्यतालाई तिमीहरूले हुबहु आत्मसात गर्थ्यौ । आखिर उही मास्टरजीका चेला न पर्यौ, मास्टरजीको नक्कल गर्न पाउँदा तिमीहरू आफूलाई केटाकेटीबाट हलक्कै बढेर ठूलो भएको महसुस गर्थ्यौ ।

‘ए सानु, खै मास्टरजीको जलखै ल्याउनु पर्दैन ? आज तेरो पालो भन्ने था’ छैन कि क्या हो !’ कसैले विष्णु मामाको ग्वाहालीबाहिर निस्केर तिमीले ठूलो भएको कल्पना गरिरहँदा तिम्रो नामै काढेर ‘सानो’ बनाइदिँदा तिमी तिम्री आमासँग मास्टरजीको जलखै तयार पारिदिन अनुनयविनय गर्न थाल्यौ । त्यतिबेला पनि तिम्री आमा तटस्थ नै थिई । जब तिम्रो अनुनयविनय खुट्टो बजाराइमा परिणत हुन थाल्यो, तब तिम्री आमाले मुख खोली, ‘आज होइन, अर्को कुनै दिन मास्टरजीको जलखै बनाइदिउँला । आज पढ्न जा । भएन भन्दे ।’

‘नाइ, म मास्टरजीको जलखै नलि’ जाँदै जान्न क्या । आज हाम्रो पालो भन्ने तपैँलाई था’ थे’न !’ तिम्री आमा चुप । तटस्थ । तिम्रो भुइामा खुट्टा बजाराइ आँखासम्म पिलपिलाइमा परिणत भयो । तिम्रो कुनै कलाले पनि आमालाई पगाल्न नसकेपछि तिमी एक्कासि ‘ह्वाँ-ह्वाँ’ गर्दै डाँको छाडेर रुन थाल्यौ । तिम्रो त्यो उपाय पनि काम नलागेपछि तिमी रित्ता भुइामा लडिबुडी खेल्न थाल्यौ । भुइँका धुला जति जीउमा टाँस्सिँदा र र्यालसिँगान भएर आँगनको बीचमा डाँको छाड्दाको दृश्य कल्पना गर्न सक्छौ ? अन्ततः तिम्रा सम्पूर्ण कला असफल साबित भएपछि तिमीलाई हेर्न आएका बतियारीहरू फर्किसकेका थिए । मास्टरजीले त्यसदिनको जलखै कहाँबाट पाए ? त्यो तिमीलाई थाहा भएन तर त्यसदिनदेखि तिमीले ग्वाहाली पाठशाला जान छाडिदियौ । तिम्रा बतियारीहरू थालभरि जलखै लिएर तिम्रै घरअगाडिको बाटोबाट हिँडेर जाँदा तिमीचाहिँ आँगनको डिलमा उभिएर तिनलाई नदेखेको जस्तो स्वाङ पार्दै आकासतिर हेरिरहेका हुन्थ्यौ । सायद तिमी आकासमा जलखै नचाहिने मास्टरजी खोजिरहेका हुन्थ्यौ क्यार । तिम्रो यही अवस्थाको चित्रण मैले ‘अव्यक्त-अव्यक्त’ कथामा पनि गरेको छु ।

1 thought on “फर्केर हेर्दा : मास्टरजीको जलखै र ग्वाहाली पाठशालामा केही दिन”

  1. कत्ति मार्मिक कथा छ, जन्मगाउँको स्मरणमा !
    दिल खुश बनायो
    काठमाण्डूले सप्तरीको गाम सम्झाउँदो रछ
    धन्य राइटर
    जदौ मझेरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *