Skip to content

नेपाली सांस्कृतिक प्रतिनिधिमण्डलको चीन भ्रमण

  • by


(नेपालका राजकुमारी भृकुटी तथा विभूति कलाकार अरनिकोद्वारा तेर्‍हौँ शताब्दीमा नेपाल र चीनबीच स्थापित राजनीतिक वैवाहिक, सांस्कृतिक, धार्मिक सम्बन्धलाई अरू बढी प्रगाढ र मजबुत बनाउन वि.सं. २०१३ सालमा नेपाल र जनवादी गणतन्त्र चीनबीच दौत्य सम्बन्ध स्थापित भयो । त्यस सम्बन्धलाई सांस्कृतिक रूपले पनि अझ सुदृढ एवं दरिलो पार्न सोही वर्ष प्रजा परिषद्का अध्यक्ष, प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको मन्त्रिमण्डलका शिक्षामन्त्री बालकृष्ण शर्मा (इतिहासकार, नेपालको ऐतिहासिक रूपरेखाका लेखक) को नेतृत्वमा १५ सदस्यीय सांस्कृतिक प्रतिनिधिमण्डलले मित्र राष्ट्र चीनको भ्रमण गर्‍यो ।

यस ऐतिहासिक तथ्यलाई प्रस्तुत गर्ने विचारले उक्त सांस्कृतिक प्रतिनिधिमण्डलका उपनेताका रूपमा चीन भ्रमणमा जानु भएका नेपाल भाषाका महाकवि कविकेशरी चित्तधर हृदयद्वारा लिखित ‘जिगु जातः’ (मेरो चिना) बाट जनवादी गणतन्त्र चीन भ्रमण सम्बन्धमा लेखिएको दैनन्दिनका उक्त अंश अनुवाद गरिएको छ । यसबाट नेपाल र चीनको सांस्कृतिक सबन्धबारे अझ बढी जानकारी हासिल गर्न सहयोग पुग्ने नै छ भन्ने आशा गरेको छु ।)

वि.सं. २०१३ साल असार ५ गतेका दिन साँझपख एक जना ड्राइभर मोटर साइकलमा मलाई खोज्दै आए । उनी टङ्कप्रसाद आचार्य कहाँबाट आएका रहेछन् । आउनुको कारण सोधेपछि म उनकै पछाडि बसेर गएँ । प्रधानमन्त्री कहाँ पुग्ने बित्तिकै टङ्कप्रसादज्यूले जेलभित्रको पारामै भन्नुभयो, “कविजीलाई चीन पठाउन लागेको छु ।”

मैले पनि त्यही पारामा जवाफ दिएँ, “प्रधानमन्त्रीको हुकूम पालन गर्न सदा तत्पर छु ।”

अनि उहाँले हाँस्दै भन्नुभयो, “साँच्चै भनेको हो, एउटा सांस्कृतिक प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ, हामीहरूले तपाईंको नाउँ पनि त्यसमा समावेश गरेका छौँ, तपाईंको के विचार छ ?”

मैले पनि शिष्टतापूर्वक भनेँ, “यस्तो गौरवपूर्ण काममा मलाई सम्झनु भएकोमा मेरो हार्दिक धन्यवाद छ । आज्ञा पालन गर्न तत्पर छु ।” भनी स्वीकार्नुका साथै अरू पनि केही कुरा गरेर त्यहाँबाट म घर फर्कें ।

घर पुगेपछि मेरी श्रीमती ज्ञानलाई पनि यो खुसीको कुरा सुनाउँदै भनेँ, “हेर ज्ञान हुन त नदेखेको देश देख्न पाइने भो, यो त राम्रै कुरा हो । उनले खुसी भएर भनिन्, “म आफैँ जान नपाए पनि मौका आएको बेलामा हेरिराख्नु पर्छ, थाहा पाइराख्नु पर्छ, त्यसैले आनन्दसँग जानुहोस् ।” भनिन् ।

आज असार ११ गते नेपाल कला समितिको तर्फबाट म चीन भ्रमणमा जान लागेको खुसीयालीमा चन्द्रमान सिंह मास्केको निवासमा आयोजित बिदाइ भोजमा सरिक हुन गएँ । आज असार १८ गते । फत्तेबहादुर दाइको बाँगेमुढास्थित निवासस्थानमा नेपाल भाषा परिषद्को बैठक बोलाइयो । उक्त बैठकमा नेपाल भाषा समिति ललितपुरको तर्फबाट एउटा प्रेरणादायी शुभ-कामनापत्र दिइयो । यसरी नै १९ गते कन्या मन्दिर हाइस्कुलका शिक्षकहरूका तर्फबाट एउटा चियापानको आयोजना भयो ।

वि.सं. २०१३ असार २० गते राजा महेन्द्रको जन्म दिन साँझ राजदरबारमा ककटेल पार्टी पनि रहेछ । म पनि सरिक भएँ । निम्तालुहरू ठूलो बैठकमा भेला भएका थिए । सबै मन्त्रीहरू पनि आइ पुगे । राजा पनि सवारी भयो । अनि खानपिनका वस्तुहरू धमाधम ल्याए । निम्तालुहरूले धमाधम ग्लास र बटुका समाते । सोही भेलामै शिक्षामन्त्री बालकृष्ण शर्माले मलाई एक कुनामा बोलाएर सोध्नुभयो-“राजाले तपाईंलाई कविकेशरीको उपाधि प्रदान गर्ने इच्छा गरिबक्सेको छ, तपाईं स्वीकार्नु हुन्छ भने म बिन्ती गरुँला ।”

मैले हाँस्दै भनेँ-“यसो त मन्त्रीज्यू, कसैसँग केही माग्ने हाम्रो बानी छैन तर कसैले दिएमा जुनै वस्तु पनि सहर्ष थापी म सदैव तयार छु, त्यसमा पनि राजाबाटै प्रदान गरिने भएपछि नकार्ने कुरै भएन, मलाई लिनमा गौरव नै लाग्ने छ ।”

प्रधानमन्त्री टङ्कप्रसाद आचाज्यूले पनि सोही कुरा भन्नुभयो । उहाँलाई पनि बालचन्द्रज्यूलाई निवेदन गरी सकेँ ।” भनी बताएँ ।

त्यसपछि बालचन्द्र शर्माज्यूले केही थप्नुभयो, “यसमा लेखनाथज्यूको सरह नै भत्ता प्रदान गर्ने कुरा पनि भएको छ ।”

मैले स्पष्टसँग जवाफ दिएँ, “लेखनाथज्यू सरह मलाई भत्ता चाहिँदैन, उहाँलाई हामीले नेपाली साहित्यकारको सर्वश्रेष्ठ र वयोवृद्ध मानेर भीमरथारोहणसमेत गरी सकेका छौँ, त्यसैले उहाँलाई प्रदान गरिएको भन्दा ५-१० रुपियाँ कम गरेर दिनु भए हुन्छ ।”

एक छिनपछि साँच्चै नै राजाकहाँ बोलाइयो । दायाँबायाँ प्रधानमन्त्री र शिक्षामन्त्री बस्नुभएको रहेछ । भित्र पसेर अभिवादन गरेँ ।

राजाबाट हुकुम भयो -“ए चित्तधर, मन्त्रिमण्डलद्वारा ‘कविकेशरी’ भन्ने दर्जा दिने निर्णय गरेको रहेछ, इच्छा भए सो दर्जा दिन्छौँ ।”

अनि मैले बिन्ती गरेर भनेँ-“सरकारबाट अनुग्रहपूर्वक बक्सेको जुनै कुरा पनि थापेर लिन शिरोपर छ ।”

फेरि मैले भनेँ, राष्ट्रपिता त्रिभुवनबाट पनि “ए ! चित्तधर कति काम गर्न सकेको ?” भनी एक चोटि हुकुम भएको थियो ।

त्यसबेला राष्ट्रपिताको सौहार्दपूर्ण वाणीले उत्साहित भएर “खोई सरकार के कामै गर्न सकेँ र ! भनी उत्तर नदिई, त्यो त सरकारको प्रताप हो भनेँ । आज मैले थाहा पाएँ, साँच्चै नै मैले केही काम गरेको नै रहेछु, जसको पुरस्कार मौसुफबाट आज प्रदान गरिबक्सेको छ ।”

मलाई कविकेशरी दर्जा प्रदान गरी बक्सेपछि यज्ञराजलाई ‘सङ्गीत शिरोमणि’, धर्मराज थापालाई ‘जनकविकेशरी’ दर्जा प्रदान गरी बक्स्यो । यो खबर २०१३ असार २६ गतेको भाग ४, खण्ड ६, सङ्ख्या ११ को गजेटमा प्रकाशित भयो ।

त्यसपछि सांस्कृतिक प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने कुरा चल्यो । प्रतिनिधिमण्डलको नेता बालचन्द्र शर्माज्यूसहित १५ जना सदस्यहरू भेला भई कुराकानी भयो । हामीहरूमध्ये ४/५ जना फेरि प्रधानमन्त्रीको निवासमा गएर आवश्यक सरसल्लाह गरी राति फर्क्यौं ।

त्यहाँबाट फर्कंदा घर पुग्न आतुर थिएँ । घर पुग्नेबित्तिकै लुगै नफेरि हतारमा आज राजाले कविकेशरीको दर्जा प्रदान गरी बक्सेको कुरा मेरी ज्ञानलाई सुनाएँ । २५-३० वर्षसम्म गरेको मातृभाषाको सेवाको फल पाकेको देखेर उनी पनि खुसी भइन् । त्यसपछि आपसमा कुरा गर्दै आवश्यक लुगाफाटा, पुस्तकहरू मिलाउँदा दुई वटा सुटकेस भरियो । साथै कसैलाई पनि केही खबरै नगरी बनाउन लगाएका ‘ज्वला न्हाय्कँ’ (चाँदीको ऐना) सिन्दुर राख्ने बट्टा, बुकुवा राख्ने बटुका, तेल राख्ने बटुका, हँसिया, कोदालो, माटो फोर्ने मुँग्रो आदि आदि सांस्कृतिक वस्तुहरू तथा ‘मञ्जुश्रीलाई नेपालको खबर’ नामक पुस्तिका पनि राखेँ । यसरी मिलाउँदामिलाउँदै हाम्रो सल्लाह नसकिँदै कुखुरा बास्न थाल्यो ।

“ल ल एक झप्को सुतौँ न” भनी दुबै जना पल्टियौँ तर कहाँको निद्रा लाग्नु र ! बितेका पुराना दुःखसुखका कुराहरू भइरहे तर मेरी ज्ञानले कुरैकुरामा पनि मलाई यो त्यो केही ल्याई दिनुस् नै भनिनन् । न त बिछोड हुने भयो भनी बिलौना नै गरिन् । अझ सधैँझैँ बाहिर जान लाग्दाखेरि जाउँ है भनी सोद्धा भन्ने जस्तै “आफैँले हेरेर, मैले के भन्ने र” सम्म पनि भनिनन् । बरू उनले “सँगै गएका साथीहरूसँग मिलेर आफ्नो संस्कृति, लेख, कविताद्वारा अथवा कुराकानीद्वारा देशको इज्जत राखेर आउनुस्” भनी सल्लाह दिइन् ।

यसरी अगाध प्रेमको कवच लाएर राजा महेन्द्रको कृपाको प्रतीक ‘कविकेशरी’को मुकुट लाएर मित्र राष्ट्र चीन भ्रमणमा जाने अठोट गरेँ मैले ।

वि.सं. २०१३ साल असार २१ गते बुधबार तदनुसार ने.सं. १०७६ तछला गाः ११ (सन् १९५६।७।४) रातभरि आँखा झिम्म नगरी बिहान भयो । ज्ञान भने उठेर बढारकुढार गरी नन्दहरूसँग लागेर सगुन तयार पार्न गइन् । म पनि बिहान उठेर नित्य कर्म सबै सिध्याएर लुगा लाएँ । ७ बजे त सबै गौचर हवाई मैदान जानलाई भेला हुन जानु पर्ने छ । त्यतिकैमा सँगै जाने साथी तीर्थराज पनि भारी बोकाएर आई पुगे । अनि दुबै जनाले सगुन थापेर असन टोलमा गयौँ । त्यहाँ पनि माणिकमान मामाको किसिध्वाकाको घरमा आफन्तहरूसँग बिदावारी हुन गएँ ।

गौचर हवाई अड्डामा पुग्दा प्रतिनिधिमण्डलका सबै सदस्यहरू जम्मा भइसकेका रहेछन् । माननीय शिक्षामन्त्री बालचन्द्र शर्माको नेतृत्वमा म चित्तधर ‘हृदय’, बालकृष्ण ‘सम’, धर्मराज थापा, दयाराम भक्त माथेमा, मधुसूदन राजभण्डारी, भीमदर्शन रोका, धर्मप्रसाद ढकाल, केवल चौधरी, हितनारायण झा, यादवप्रसाद पन्त, काशीप्रसाद श्रीवास्तव, सुश्री भुवन शाह, सुश्री अङ्गुरबाबा जोशी र सचिव तीर्थराज तुलाधरसमेत १५ सदस्यीय नेपाली सांस्कृतिक प्रतिनिधिमण्डल बिहान १०ः५० बजे गौचर हवाई अड्डाबाट उडेर १३ः५० बजे कलकत्ताको दमदम हवाई मैदान ओर्लियौँ ।

त्यहाँ चीनको कन्सुलेटका कर्मचारीहरू आएर सम्मानपूर्वक स्वागत गरी कलकत्ताको ग्रायन्ड होटेलको एअर कन्डिसनयुक्त कोठामा लगेर बसाए ।

सन् १९५६ जुलाई ५, आज बिहान ९ बजे कलकत्ता निवासी नेपाल भाषाभाषी दाजुभाइहरूको कन्भेनर भएर सर्वश्री श्रामणेर सुदर्शन, नीलवीर सिंह र माणिकलालहरूले कलेज स्क्वाएरको महाबोधी हलमा मेरो स्वागतमा एउटा सभाको आयोजना गरिएको रहेछ । देवप्रियज्यूको सभापतित्वमा भएको उक्त सभामा स्वागतपछि मैले नेपालदेखि चीनसम्म रहिआएको सांस्कृतिक सम्बन्धको बारेमा बोलेँ ।

जुलाई ७, आज १२ः३० बजे नै हामी सबै हङकङ एअरपोर्ट पुग्यौँ । चिनियाँ कन्सुलेटका कर्मचारीहरू आएर हामीलाई त्यहाँको मीरमार होटेलमा राख्न लगे ।

जुलाई ९, आज बिहान ५ः३० बजे त्यहाँबाट बाहिर गयौँ, ५ः४० बजे रेल प्रस्थान गर्‍यो । ६ः४५ बजे चिनियाँ सिमाना लोउ पुग्यौँ । त्यहाँ पासपोर्ट जँचाएर ७ः२० सिमाना पार भएपछि रेलवे कर्मचारीहरू र दोभाषेहरूले स्वागत गरी चिनियाँ रेलवे प्रतीक्षालयमा पस्दा मित्रराष्ट्र चीनको काखमा सुत्न पाएझैँ आनन्द भयो ।

अपराहृन १३ः४५ बजे क्यान्टन पुग्यौँ । भाइस गभर्नर मेयर, मेजिस्ट्रेट र सांस्कृतिक, शैक्षिक, स्वायत्तशासन, विश्वविद्यालय आदिका अनेक पदाधिकारीहरूका साथै सङ्गीतकार, नर्तकीहरूसमेत आएर स्वागत गरी त्यहाँका १२ तले अग्लो आइचुन होटेलमा राख्न लगे ।

जुलाई १०, आज बिहान सबेरै उठेर ब्रेक फास्ट गरी एरोड्रम पुग्यौँ । अघिल्लो दिनमा झैँ भाइस गभर्नरहरू सबै पदाधिकारीहरू बिदाइ गर्न उपस्थित थिए । ५ः५० बजे नै हवाई जहाज उडायो । बिहान ८ बजे उचाँ पुग्यौँ । त्यहाँ पनि सांस्कृतिक डाइरेक्टर, खुफे प्रान्तको सांस्कृतिक प्रमुख, नर्तकहरू, गायकहरू र छात्रछात्राहरू पनि आएर फूलका गुच्छाहरू दिई स्वागत गरी लगेर हवाई स्टेसनको प्रतीक्षालयमा लन्च ख्वाउन लगे । त्यहाँ ठूलो हलमा चेयरम्यान माओको अग्लो, भव्य प्लास्टर मूर्ति पनि राखिएको रहेछ ।

त्यहाँबाट १०ः३० बजे प्लेन फेरि उड्यो । माथिबाट हेर्दा कहीँ गाउँ, कहीँ नदी, कहीँ खेत, कहीँ पहाड देखियो । दुरुस्त नेपाल उपत्यका जस्तो । एकै छिनपछि पहाड देखिन छाड्यो । त्यसपछि त नक्सा कोरिएको जस्तो खेत र गाउँ मात्र चारैतिर देखियो । फेरि टाढाटाढा पर्वत देखियो, ठाउँठाउँमा बाक्लो रुखहरू र घरहरूले भरिएको देश देखियो । पहाडका टाकुरा टाकुराहरूमा देवल, चैत्यहरू पनि देखियो । दिउँसो १३ः३० बजे प्लेन ल्यान्ड गर्‍यो । विमानबाट ओर्लन बित्तिकै प्रत्येकलाई फूलको गुच्छा दिँदै परिचय लिँदै गयो । सांस्कृतिक मन्त्री शेन-यिङ-पिङले स्वागत गरी नेपाल र चीनको राष्ट्रिय ध्वजासँगै रङ्गीचङ्गी रेशमका झण्डाहरू फहराइराखेको, चीन-नेपाल मैत्री जिन्दावाद र ‘नेपाली सांस्कृतिक प्रतिनिधिमण्डल स्वागत’ लेखिएको प्लेकार्ड अगाडिपट्टि रातो कपडाले सिँगारिएको मञ्चमा लगेर प्रतिनिधिमण्डलका नेता बालचन्द्र शर्मालाई सलामी दियो ।

जुलाई ११, आज बिहान १० बजे संस्कृति मन्त्री शेन-येन-पिङको निम्तोमा गयौँ । त्यहाँ भोज सकेपछि मन्त्री बालचन्द्र शर्माज्यूले आफ्नो नेपालको ऐतिहासिक रूपरेखा, बालकृष्ण ‘सम’ ले आफ्ना कृतिहरू र मैले ‘सुगत सौरभ’ महाकाव्यबारे सङ्क्षिप्त मन्तव्य दियौँ ।

जुलाई १२, आज नेसनल माइनरिटी सेन्ट्रल इन्स्िटच्युट हेर्न गयौँ । त्यहाँ पुग्नासाथ एउटा हलमा बसाएर भाइस चान्सलरले त्यहाँका सबै जानकारी गराए ।

“त्यहाँ राष्ट्र भाषा भनेको छ ?” भन्ने हाम्रा नेता बालचन्द्र शर्माज्यूको प्रश्नको उत्तरमा उहाँले भन्नुभयो, “यसरी नै सबै भाषालाई समान मौका दिएर सबै शिक्षित तुल्याइ सकेपछि राष्ट्र भाषा आवश्यक परेमा एउटा अथवा धेरै राष्ट्र भाषा आवश्यक पर्नेछ ।”

जुलाई १३, आज पेकिङ विश्वविद्यालय हेर्न गयौँ । भाइस चान्सलर मा-युन-चुले स्वागत गर्नुभयो । विश्वविद्यालय एउटा मन्दिर जस्तो देखिन्छ । उपकुलपतिले हाम्रो स्वागत गर्दै विविध विषयका प्राध्यापकहरूको परिचय गराउनु भयो ।

हामी साहित्यकारहरू ४/५ जना साहित्य विभाग गयौँ । चिनियाँ साहित्यका प्राध्यापक उत्सु सियाङज्यूले चिनियाँ साहित्यको इ.पू. ६०० देखिको इतिहासबारे विस्तृत रूपमा जानकारी गराउनु भयो ।

जुलाई १४,आज बिहान होटेलमै एउटा नाट्यमण्डलीले हामीलाई भेट्न आयो । मण्डलीका निर्देशक नै आउनु भएको रहेछ । मैले निर्देशकलाई हाम्रो नेपाली सङ्गीतको विषयमा परिचयात्मक सूची बताएँ । बालकृष्ण समज्यूले त्यसको अङ्ग्रेजीमा अनुवाद गरिदिनु भयो । अर्को एकजना अङ्ग्रेजीका दोभाषेले चिनियाँ भाषामा डाइरेक्टरलाई बताइ दिनुभयो । मैले एउटा के कुरा पनि बताएँ भने यहाँ मैले धेरै चोटि सुनिसकेको गीतको सुर हाम्रो गोसाइँ कुण्ड तीर्थ यात्रा जाने बेलाको ऋतु (जनै पूणिर्मा) मा गाउने ‘सिलु गीत’ र ‘असारे गीत’ सँग प्रायः जसो मिल्दोजुल्दो रहेछ, कस्तो संयोगको कुरा रहेछ भनी मैले गुनगुनाउँदै गाएको सुरको बिचार गरेर उहाँले यो कुरा हो भनी स्वीकार गर्नुभयो- यो सुर हाम्रो कतिपय गीतसँग मिल्छ, जुन कि हाम्रो लोकप्रिय सुर हो भनी उहाँले भन्नुभयो ।

दिउँसो चेयरम्यान माउत्सेतुङसँग भेट्न गयौँ, अग्लो, रातो चिनियाँ माटोबाट बनेको ‘कयो’ टाइलको छाना भएको ढोकाबाट हामीलाई भित्र लगेर अनेक प्रकारको बुट्टा कुँदेको झ्याल, ढोका, निनाल, थाम खम्बा इत्यादिले सजाइएको मूल ढोका अगाडि मोटर रोकियो । भर्‍याङको खुड्किलो दायाँबायाँ हाम्रो नेपालमा झैँ दुई वटा सिंह उभ्याइएका छन् । प्रधानमन्त्री चाउ-एनलाइ त्यहाँ आई पुग्नुभयो । उहाँले हामीलाई स्वागत गरेर भित्र लग्नुभयो । त्यहाँबाट हामीलाई लगेर चीनको ठूलो राष्ट्रिय ध्वजा फहराइराखेको झण्डा मुनि बनाइराखेको ३/४ सिँढी भएको काठको डाय्समा चेयरम्यान माओ, प्रधानमन्त्री, संस्कृतिमन्त्री तथा उपमन्त्रीहरूसँगै तीन पङ्क्तिमा उभ्याएर ग्रुप फोटो खिचियो । त्यहाँबाट भित्र रेशमको पर्दा उघारेर भित्र लगी लामो अण्डाकारको टेबल वरिपरि एक आपसमा परस्पर देखिने गरी एकातिर चिनियाँहरू र अर्को पट्टितिर हामीहरू बसेर वार्तालाप भयो- विशेष गरी चेयरम्यान माओ र शिक्षामन्त्री बालचन्द्र शर्माको बीचमा भलाकुसारी भयो । अनुवादकहरूमा एक जना चिनियाँ र हाम्रो तर्फबाट तीर्थराज हुनुहुन्थ्यो । टेबलमा चुरोट र हरियो चिया राखिएको छ । साथै थुप्रै चिनियाँ पङ्खा पनि राखिएका छन् । निकै बेरसम्म भएको वार्ताको क्रममा बाटोमा कति दिन बित्यो, यसरी आउनु हुँदा केही दुःख त पाउनु

भएन ? चीन कस्तो लाग्यो, अब कहाँकहाँ भ्रमण गर्ने इच्छा गर्नुभएको छ भनी सोध्नुको साथै चीन पनि अविकसित राष्ट्र हो, त्यसैले मित्र राष्ट्रले चीनलाई पनि सहयोगको आवश्यक छ भनी आशा व्यक्त गरी आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । ‘नमन्ति फलिनो वृक्षा…..’ भन्ने उक्ति जस्तै अन्यान्य कुराकानीको सिलसिलामा नेपाल-भारत र चीन तीनवटै समान मित्रहरू हाँै भनी तीनवटा औँला ठड्याएर भन्नुभएको महामहिम माओको उद्गार अत्यन्त उदार भएर पनि नेपालप्रति चीन सरकारको कस्तो दृष्टिकोण रहेछ भन्ने छर्लङ्ग देखाउँछ- ”कुनै पनि देशसँग मैत्री सम्बन्ध राख्दा ठूलो सानो जे जस्तो भए पनि जनसङ्ख्या र क्षेत्रफलको दृष्टिले ठूलो सानो राष्ट्रबीच मैत्री सम्बन्ध स्थापित हुन लागेको नसम्झी एउटा स्वतन्त्र राष्ट्रको अर्को स्वतन्त्र राष्ट्रबीच मैत्री सम्बन्धहुन लागेको सम्झी समानता र सहअस्तित्वको आधारमा मात्र मैत्री सम्बन्ध राख्दछौँ । त्यसैले तपाईंहरू पनि अन्य मित्र राष्ट्रका प्रतिनिधिहरू सरह स्नेह, श्रद्धा र सम्मानका पात्र हुनुहुन्छ । अतः तपाईंहरू हाम्रो राज्यभर जहाँ पनि निर्धक्कसँग भ्रमण गर्न सक्नु हुन्छ ।”

त्यहाँबाट हामी बिदावारी भई निस्कियौँ । उहाँ तथा प्रधानमन्त्री चाउ-एन-लाइलाई उपहार दिन भनी लगेका नेपाली कलात्मक वस्तुहरू सबै उहाँले तारिफ गर्दै निरीक्षण गर्नुभयो । हामीले लगाइदिएका भागद्गाउँले टोपी लाएरै हामीसँग मिसिएर ढोका बाहिरसम्म पुर्‍याउन आउनुभयो ।

त्यहाँबाट हामी चढेको मोटर कार घुमाएर प्रधानमन्त्री चाउ-एन-लाइको ककटेल पार्टीमा लग्यो । त्यस्तै चिनियाँ छाँटको ढोकाबाट भित्र लगेर हाम्रो नेपालको बहाल जस्तै देखिने कलात्मक बुट्टायुक्त आँखी झ्याल तथा चिनियाँ माटो कयोले छाएको घरले घेरिएको मेच टेबल र माइक सजाइएको ढुङ्गे चोकमा हामीलाई पार्टी दिइयो । प्रधानमन्त्री, अन्य मन्त्रीहरूको साथै भारतीय राजदूत पनि उपस्थित हुनुहुन्थ्यो ।

जुलाइ १५, आज बिहान संस्कृति उपमन्त्रीसँग समरप्यालेस निरीक्षण गर्न गयौँ । त्यो दिन आइतबार परेको हुँदा घुइँचो थियो ।

जुलाइ १६, आज बिहान ग्रेट वाल हेर्न गयाँै । त्यो ग्रेट वाल पहाडमाथि टारटारमा, टाकुरामा घुमाउरो तरिकाले निर्माण गरिएको ८,४९४ चिनियाँ ‘ली’ (नापो) लामो पर्खाल २,२०० वर्ष जति पहिले सुनौ नामक जातिको आक्रमणबाट बँच्नका लागि निर्माण गरिएको रहेछ ।

जुलाइ १७, आज बिहान दुईतीन वटा कार्यक्रम थियो । बालकृष्ण ‘सम’ र म एक जना चिनियाँ चित्रकार तथा कवि चेन पाङ तिङलाई भेट्न गयौँ । उहाँ त साँच्चिक्कै कलाकार जस्तै कलात्मक घरमा बस्नु भएको रहेछ ।

जुलाइ १८, आज बिहानको कार्यक्रममा स्यानेटोरियम, नर्सरी र लेखक सङ्घको कार्यालय निरीक्षणमा जाने कार्यक्रम थियो । हामी

‘सम’ज्यू, भीमदर्शन, धर्मराज, तीर्थराज, र म लेखक सङ्घका लेखक साथीहरूसँग भेट्न गयौँ । साहित्यको विषयमा विचार विमर्श गर्नुको साथै आ-आफ्ना पुस्तकहरूको उपहार आदानप्रदान गर्ने कार्य भयो ।

जुलाइ २०, आज बिहान पर्वतको टाकुरामा निर्मित बिहार निरीक्षण गर्न गयौँ । सबभन्दा माथि मिङ कालमा बनेको तीन तले छाना भएको देवलमा बुद्धको मूर्ति रहेछ-सिंह, शार्दूल, महानाग र प्रभायुक्त अजरामरण पुरुष अडेस लाएर ध्यानदृष्टियुक्त बज्रासनमा बसेर तर्जनी मुद्रामा हात जोडेर बिन्ती गरिरहेको मूर्ति रहेछ । त्यसको अलि तल सिँढीमुनि दुबैतिर दुईदुई वटा गरेर जम्मा चार वटा देवलहरू रहेछन्, जसमा अष्ट मङ्गल चिनोमाथि बनाई राखेको डबली पनि रहेछ ।

फेरि अर्को परम शान्ति मन्दिर ‘दागोवा हृवाइट’ हेर्न गयौँ । अगाडि त्यहीँ भुँडीवाल लामा-पेटि बुद्ध रहेछ । त्यहाँबाट भित्र शाक्यमुनि भएको एउटा देवल छ । दुबैतिर ११/११ जना बोधिसत्त्वहरू छन् । डाँडामाथि चैत्यको तलतिर बाहिर भित्तामा अभिताभ बुद्धको मूति मात्र भएको देवल रहेछ, माथि स्वयम्भू जत्रो अग्लो ‘हक्षमल…’ या कूटाक्षर नेपाल लिपिमा लेखिएको चैत्य रहेछ ।

जुलाइ २२, आज बिहान होटेलमै ब्रेकफास्ट खाएर ९ बजेतिर अस्तिका डिब्बामा स्यालुन भएको त्यहीँ रेलमा बसेर आइन साइन फलामको कारखाना हेर्न गयौँ । त्यहाँ उपनगरपिताले हामीलाई स्वागत गरेर लगे ।

जुलाइ २३, आज ड्रामाटिकल इन्स्िटच्युट हेर्न गयौँ । सबभन्दा पहिले हामीलाई त्यहाँको विश्राम कोठामा बसाएर त्यहाँको बारेमा सविस्तार जानकारी गराए । उक्त इन्स्िटच्युट १९५१ मा मात्रै स्थापना भएको रहेछ । त्यहाँ चार विभाग छन्-

१. अपेरा, २. स्टेज ड्रामा, ३. डान्स र सङ्गीत तथा ४. बाल विभाग रहेछन् ।

अपराहृन ४ः५५ बजे रेलमा बसेर डेरिनतर्फ लाग्यौँ ।

जुलाइ २७, बिहान झिसमिसेमा केही चिसो लाग्यो । पहाडले घेरिएको ठाउँ देखियो । पहाडैपहाड र एउटा दुइटा पराले छानाको घर भएको गाउँ पनि देखियो ।

७ बजेतिर स्टेसन पुग्यौँ । त्यहाँ त्यहीँका नगरपिताले हामीलाई लिन आएका रहेछन् । हामीलाई स्वागत गरेर गेस्ट हाउसमा राख्न लगे ।

सबैले ब्रेकफास्ट गरिसकेपछि जहाज बनाउने कारखाना हेर्न गयौँ । त्यहाँ एक ठाउँको विश्राम गृहमा लगेर त्यहाँको व्यवस्थापकले हाम्रो स्वागत गरेर भन्नुभयो- यो ठाउँ जहाज बनाउने र मर्मत गर्ने कारखाना हो ।

जुलाइ २८, आज बिहान ८ बजे पेकिङ जान रेलमा बस्यौँ । मेयर तथा थुप्रै मानिसहरूले हामीलाई पुर्‍याउन आए फूलका गुच्छा दिएर बिदा गरे । रेलमै ब्रेकफास्ट खायौँ । पर्वत, गाउँ, खेत हेर्दै रेल यात्रा गर्‍यौँ । दिनभरि रेलमै बित्यो ।

जुलाइ २९, आठ बजेतिर पेकिङ पुगियो । पेकिङ होटेलको ६०६ नं. कोठामा बस्यौँ । त्यतिमात्र कहाँ हो र !

पुग्ने बित्तिकै लु्गासुगा फुकालेर तीर्थराज र म अरू साथीहरूको कोठामा गइरहुञ्जेल होटेलब्वाइहरू आएर हामीले लथालिङ्ग फालिराखेको लुगाफाटो यथास्थानमा मिलाएर राखेर गएका रहेछन् । हामी कोठाभित्र पसी हेर्दा मेरो मनिब्याग र तीर्थराजको घडी भने छैन । हामीलाई न्यास्रो लाग्यो । के गरुँ कसो गरुँ भएपछि एउटा पत्र लेख्नु पर्‍यो कि भनी टेबलको घर्रा तान्दा त त्यहाँभित्र घडी र ब्याग सुरक्षित राखेको रहेछ ।

बेलुका संस्कृति मन्त्री सेन-येन-पीले हामी सबैलाई अनेक सौगात दिनुभयो । फाउन्टेन पेन, कोचिन ताशको कपडा, रेशमको कपडा, रिनसीन आदि र विशेष गरी हामी चार लेखकलाई एक/एक चाङ पुस्तक पनि रहेछन् ।

जुलाइ ३०, आज बिहान पेकिङ होटेलमा चियानास्ता खाएर ६ः४५ बजे होटेलबाट निस्केर सियान जान ७ः४५ बजे उड्यौँ । संस्कृतिमन्त्री तथा उपमन्त्रीहरूले विदाइ गर्न आउनुभयो । कन्याहरूले फूलगुच्छा दिएर बिदावारी गरे ।

जुलाइ ३१, आज बिहान ब्रेकफास्ट खाएर मिङ वंशको पालामा बनेको ड्रम टावर अवलोकन गर्न गयौँ । अर्को घण्टाघर र बिग गोज प्यागोडा पनि हेर्न गयौँ । अनेक शीलालेख कुँदिएको पौभा (थाङ्का) र हृवेन साङको इ.सं. ६४८ को अनेक शीलालेख पनि राखिएका छन् ।

अर्को एउटा देवलमा अनेक द्यौता पनि रहेछन् । त्यसमा त्रिकाल बुद्ध, शाक्यमुनिको सानो मूर्ति तथा दुईतिर दुई पङ्क्तिमा उभेका भिक्षुहरू छन् ।

त्यहाँबाट मोटरमा बसेर एउटा बिहार बुद्ध धर्मको पुनस्र्थापना भएको ठाउँ सिँच्याङ मोनास्ट्री हेर्न गयौँ । भित्र एउटा देवल रहेछ, त्यसबाट पनि भित्र अर्को देवलमा शाक्यमुनि बुद्ध रहेछन् । यहाँ सुचेन चाङका चेलाहरूको मूर्तिहरू पनि छापिएका छन् ।

माथिल्लो तलामा चिनियाँ दर्शन शास्त्रसम्बन्धी बौद्ध ग्रन्थहरूको पुस्तकालय रहेछ ।

अपराहृन सङग्स् एन्ड डान्स सियान हेर्न गयौँ । त्यहाँका निर्देशकले परिचय दिँदै भन्नुभयो-लोकनृत्य र लोकगीत प्रस्तुत गर्नु यस संस्थाको कार्य हो ।

मैले हात र मुद्राको विषयमा नेपाल र चीनको सादृश्यको बारेमा मन्तव्य व्यक्त गरेँ ।

अगस्ट १, आज बिहान ९ः५० बजे यहाँबाट उड्यौँ । गभर्नर तथा अन्य व्यक्तिहरूले एरोड्रममा आएर हामीलाई विदाइ गर्न आए ।

साँझ डा. सनयात सेनको समाधिस्थल हेर्न गयौँ । मार्बलको घरमा मार्बलकै सिंहासनमा डा. सेनको प्रतिमा राखिएको रहेछ । त्यस पछाडि उहाँकै सुतेको प्रतिमूर्ति रहेछ ।

अगस्ट २, आज ऐतिहासिक सङ्ग्रहालय हेर्न गयौँ । १. पहिलो कोठामा मानव विकासको खुड्किलो-वनमानिस, ढुङ्गे हतियार, प्राचीन भाँडाकुँडाहरू, धातुका बस्तुहरू ः चट्याङको आकृति बुट्टा भएका तर सुरुसुरुमा कुँदेका भएर त्यति साह्रो परिस्कृत, राम्रो नभइसकेका भाँडाकुँडा, पशुपन्छी र माछाको आकृतिको ३,००० वर्ष पुरानो लिपि कुँदिएको छ । प्राचीन हतियारहरू पनि रहेछन् । शङ्ख, सिपि, माछाका कत्ला पनि राखिएका छन् ।

दिउँसो ३ः३ बजे – ४ः१५ बजे ट्रेन चढेर सङ्घाइतिर प्रस्थान गर्‍यौँ । बेलुकी १०ः३० बजे सङ्घाइ आइपुग्यौँ । त्यहाँका उपनगरपिताले हामीलाई स्वागत गरी त्यहाँको चिचाँ होटेलमा राख्न लगे ।

अगस्ट ३, आज बिहान शहर घुम्न गयौँ । बाँफू नदीको किनारास्थित शहर चौथो शताब्दीसम्म त गाउँ नै रहेछ । १३ औँ शताब्दीमा यो बस्तीले शहरको रूप लिएको रहेछ । अनि यो शहरमा व्यापार व्यवसायको वृद्धि हुँदाहुँदा सङ्घाईको नामले चीनका ठूल्ठूला शहरहरूमध्ये प्रमुख ठूलो शहर बन्न गएको रहेछ ।

अगस्ट ४, आज बिहान १०ः५० बजे रेल चढेर हान्चाउ गयौँ । ५ः२० बजे हान्चाउ शहर पुग्यौँ । हान्चाउ तालको डिलमा बनाइएको होटेलमा राख्न लगे ।

पाँच वटा पोखरीभएको एउटा विहार हेर्न गयौँ । चौथो शताब्दीमा बनेको शाक्यमुनिको मन्दिर रहेछ । दायाँबायाँ शारिपुत्र मौगद्ल्याएन र आठ जना भिक्षुहरूका मूर्तिहरू रहेछन् ।

अगस्ट ५, आज बिहान वीर मन्दिर भन्ने ठाउँ हेर्न गयौँ । तीन वटा देवलहरू रहेछन् । बीचको ठूलो राम्रो देवलमा एउटा राष्ट्रिय वीर पुरुषको मूर्ति रहेछ ।

सङ्घाइमै बेलुका होटेलमा विदाइ भोजको आयोजना गरियो ।

अगस्ट ६, आज बिहान कुनमिनका लागि ७ः३० बजे उड्यौँ । १०ः१० बजे उचाँमा ल्यान्ड गर्‍यो । त्यहाँ ४० मिनेटजति विश्राम गरेर १०ः५३ बजे फेरि उड्यौँ । १ः४५ बजे चुकिङ आइपुगियो । त्यहाँ लन्च खाएर ५ः३० बजे कुनमिन आइपुगियो । गेस्ट हाउसमा बेलुकाको खाना खुवाएर नाच देखाउन लगे ।

अगस्ट ७, आज बिहान सांस्कृतिक सङ्ग्रहालय हेर्न गयौँ ।

अगस्ट ८, आज बिहान वेस्ट हिल हेर्न गयौँ । त्यहाँबाट फर्केर ५ बजे साँझपख श्रीमती सनयात सेनलाई भेट्यौँ । राम्रो वार्ता भयो । त्यहीँ दिन एकजना कलाकारले मेरो ‘मञ्जुश्रीलाई नेपालको खबर’ शीर्षक कविता चिनियाँ भाषामा अनुवाद भएको अखबार एकप्रति लिएर मलाई भेट्न आयो । उनको नाउँ हृवाङ ताङ डुङ रहेछ । उनले मसँग कुरा गर्दै एउटा साधारण कागतमा चारकोलले मेरो चित्र कोरेर दिएर गए । पछि त्यो कविताको पारिश्रमिक भनेर २०० युआन चिनियाँ मुद्रा पनि दिन ल्याए ।

बेलुका भाइस गभर्नर र मेयरको भोजको आयोजना भयो । भोज सकिएपछि एक/एक पोका सौगात दिइयो । कार्यक्रममा उही चिनियाँ दोभाषे बहिनीले चिनियाँ गीतहरू गाउनुको साथै मेरो नेपाल भाषाको गीत र धर्मराज थापाको नेपाली गीत पनि गाएर सुनाइन् ।

अगस्ट ९, आज बिहान ८ः४० बजे क्यान्टनको निम्ति उड्यौँ । दिउँसो २ः१० बजे क्यान्टन पुग्यौँ । त्यहाँका मेयर तथा अरूहरूले हामीलाई स्वागत गरी होटेलमा राख्न लगे ।

बेलुका हाम्रो प्रतिनिधिमण्डलले बैङ्क्वेटको आयोजना गर्‍यो । त्यस अवसरमा भाइस गभर्नर, मेयर तथा डाइरेक्टरहरू पनि उपस्थित थिए । भोज सकिएपछि आयोजना भएको सांस्कृतिक कार्यक्रममा ‘मेरो मञ्जुश्रीलाई नेपालको खबर’ कविताको चिनियाँ अनुवाद एक जना दोभाषेले पढेर सुनाए । ‘सम’ज्यूको ‘नवरस’ कविता पनि पाठ गरियो । एक महिना लामो चीन भ्रमणमा बल्लतल्ल आज एक सांस्कृतिक कार्यक्रममा मेरो ‘कताँ व कलाकार’ (छिना र कलाकार) शीर्षक कविता पाठगर्न पाएँ ।

अगस्ट १०, आज दिउँसो क्यान्टनको प्रसिद्ध होटेल ‘स्वप्नपुरी’ मा खाना ख्वाउन लगे । त्यहाँको मेन्युमा १५ प्रकारका परिकारहरू पाइने रहेछन् । हामीलाई ३७ प्रकारका खाना खुवाए ।

बेलुका स्टेडियम हेर्न गयौँ । त्यहाँ डा. सनयात सेनको स्मारक हल पनि हेर्न गयौँ । गभर्नर कहाँ विदाइ भोजको आयोजना भयो ।

अगस्ट ११, आज बिहान ७ः४० बजे रेल चढ्यौँ । यहाँसम्म आइपुग्दा हाम्रो यात्रा १,५०० कि.मि. पुगिसकेको रहेछ । १०ः४० बजे हामी सिमाना पुग्यौँ । १२ः४५ बजे सिमानाको पुल पार गर्‍यौँ । १ः१५ बजे रेल गुड्यो । २ः३० बजे काउलुन (हङकङ) आइपुगियो ।

अगस्ट १२, आज बजार घुमेर एक चोटि स्टिमर बोटमा बसेर पारि गयौँ । पहाड चढेर हेर्‍यौँ । त्यहाँबाट हङकङ शहर राम्रोसँग देखिँदो रहेछ ।

अगस्ट १३, आज पनि होटेलमा खानपिन गरी बजार घुमेर समय बितायौँ ।

अगस्ट १४, आज बिहान ८ः३० बजे होटेल छोडेर ९ बजे उडेर हङकङ समय ३ः१५ बजे बर्मा एअरपोर्ट पुग्यौँ । त्यहाँ चिनियाँ राजदूतले हामीलाई लिन आयो । हामी नेपाली कन्सुलेटमा बस्न गयौँ । बेलुका कोही नेपाली भिक्षु होला कि भनी म एक्लै एक जना साथी लिएर गवाही गएँ । त्यहाँ नेपाली भिक्षु एक जना पनि रहेनछन् । कोही मण्डलमा बसेका छन्, कोही भारतमा तथा कोही नेपाल फर्किसकेका रहेछन् ।

अगस्ट १५, आज बिहान एक्लै एक जना साथीसँग बिहार घुम्न गएँ । टाउ भीलु बिहारमा एकजना ऊ केटु नाउँको भिक्षुसँग भेट भयो । अन्यान्य कुरा गर्नुको साथै मेरो हात हेरेर तारिफ गर्‍यो । त्यहाँबाट गवाही हेर्न गएँ । सबभन्दा पहिले पिस प्यागोडा हेरेँ ।

त्यहाँबाट पाषण गह्रा हेर्न गएँ । त्यसपछि स्वेदगुँ फयाः हेर्न गएँ । दुबैतिर छाना र पसल भएको उकालोमाथि चैत्य रहेछ । चारैतिर सयौँको सङ्ख्यामा ससाना देवल छन्, जसमा भगवान्को सुनको मूर्ति स्थापित छ र धेरैजसो मार्बलको मूर्ति रहेछन् । बेलुका चिनियाँ दूतावासमा भोजको आयोजना गरिएको रहेछ ।

अगस्ट १६, आज बिहान ७ः४५ बजे उड्यौँ र १०ः४५ बजे ढाका पुग्यौँ । त्यहाँबाट ११ः२० बजे उडेर १२ः१० बजे कलकत्ताको डमडम आइपुग्यौँ । त्यहाँ चिनियाँ कन्सुलेटका कर्मचारीहरू आएर हामीलाई फेरि ग्रायन्ड होटलमै राख्न लगे ।

साँझपख रामजीदास जेटियालेन घरमा गएर भान्जाहरू र मणिहर्ष ज्योति भेटेर आएँ ।

अगस्ट १७, आज बिहान १०ः४५ बजेतिर नै डमडम एअरपोर्टबाट उड्यौँ । सोझै ल्याएको हुँदा १ बजेतिर नै गौचर एअरपोर्ट आइपुगियो । १ घण्टा जति एअरपोर्ट प्रतीक्षालयमा बस्यौँ । पछि प्रधानमन्त्री टङ्कप्रसाद आचार्य, परराष्ट्रमन्त्री चूडाप्रसाद शर्मा, तथा चिनियाँ दूतावासका कर्मचारीहरू सबै आइपुगे । आआफ्नो जहान परिवारहरू पनि आए । मेरा आफन्त र साथीहरू पनि आइपुगे । हाँसोठट्टा गर्दै आआफ्नो सामानसहित ट्याक्सीमा बसेर घर आइपुगेँ ।

मेरी ज्ञानको खुसीको सीमा रहेन । बुद्धधर्मको केन्द्र रहेको बर्माको सभ्यता, संस्कृति र कलाको साथै नेपालीपन आउने महान् चीनमा भ्रमण गरेका दर्शनीय स्थानहरूको बयान गर्दै फोटो देखाउँदा लगभग दुई महिना छुट्टएिर बसेको दुःख सबै बिर्सिइन् ।

– नेपाल भाषाबाट अनुवाद-देव रंजित

मधुपर्क २०६८ असार

Leave a Reply

Your email address will not be published. Required fields are marked *