Skip to content


मनको अध्ययन नै मान्छेको अध्ययन हो, किनकि मान्छे भनेको नै मन हो । मनको अध्ययन मनले नै गर्नु पर्नाले अर्थात् साधन र साध्य एउटै हुनाले मनको अध्ययन सहज हुन्न । त्यो भनेको ऐनाले आफैँ ऐना हेर्नुजस्तै हो । मन भनेको समान्यतः चित्त वा चेतना हो, जुन सतत् प्रवाहशील हुन्छ । सोच्ने क्रमबाट मन कहिल्यै विरत हुँदैन अर्थात् मनले कहिल्यै विश्राम लिँदैन । अविश्रान्त यात्री हो मन । मनमा निरन्तर कुरा खेलिरहन्छन् । विचारको त्यो सतत् प्रक्रियाबाट मन कहिल्यै मुक्त हुँदैन । मनमा प्रवाहित विचारहरूको शृङ्खला र क्रम हुँदैन । त्यसैले एक लेखकले मनलाई व्यस्त विमानस्थलसँग तुलना गरेका छन् जहाँ निरन्तर विमान अवतरण गर्छन् र उडान भर्छन् ।

हो, सतत् विचार प्रक्रियाबाट मान्छे हरक्षण आक्रान्त रहन्छ । यसबाट उम्कने कुनै उपाय छैन । मनको अतिवादिताका सामु मान्छे निरूपाय छ । मन सोचेर कहिल्यै नथाक्ने हुनाले दार्शनिकहरूले मनलाई खाएर कहिल्यै नअघाउने राक्षसको मिथकसँग तुलना गरेका छन् । निदाएको बेला, मुर्छा परेको बेला त्यस्तै मृत्युपूर्व वचन बसेको बेला पनि हाम्रो अन्तर्मन सक्रिय नै रहन्छ । बिउँझेपछि वा चेतनामा आएपछि ती कुरा अति कम पुनःसम्झना हुन्छ तर म यतिखेर चेतन अर्थात् चैतन्य तत्वका बारेमा मात्र चिन्तन गर्दैछु । यतिबेला म जुन चिन्तन गर्दैछु त्यो मेरो मनको क्रियात्मकता हो । मनमा शृङ्खलाबद्ध विचार प्रकट नहुनाले विषय केन्द्रित हुन मलाई एक प्रकारको सकस भएको छ । त्यसैले यसो भने हुन्छ-म विषय केन्द्रित हुने प्रयत्न गर्दैछु ।

पूर्वीय दर्शनको निष्कर्ष छ-मनको निरन्तर सक्रियता नै दुःखको कारण हो । मनको चञ्चलता र अतिवादिताबाट आजित भएकोले नै मान्छेले मनको एकाग्रता र विश्रान्तका लागि अनेकन उपाय खोजेको छ । योगशास्त्रको मूल विषय नै मनको अघोरको चञ्चलता नियन्त्रण र अविश्रान्त प्रकृतिलाई विश्राम दिने प्रयत्न हो । चित्तवृत्ति निरोध नै योग भनी परिभाषित गरिएको छ र चित्तवृत्ति भनेको मनको सतत् विचरणशील प्रकृति हो । योग मनको यही अतिवादी प्रवृत्ति नियन्त्रणमा लक्षित छ ।

नियन्त्रण भनेको मनको सतत् विचार प्रक्रियालाई आफ्नो अनुकूल बनाउनु हो । अनुकूल भनेको विचारशून्यता वा कुनै विचारमा मनलाई केन्द्रित गराउन सक्ने कला हो । म पनि मनको अनुकूलताका लागि दीर्घ अवधि योगप्रति अवलम्बित भएँ तर श्रीमतीका बारेमा सोच्दा युवती र देशको बारेमा सोच्दा गुण्डा प्रकट हुन थालेपछि मनलाई छाडा छाडेको छु । त्यसैले मेरो मन तपाईंको गोप्य कारोबारमा साक्षी बस्न आयो भने रिसानी माफ होला ।

मनको कारणले नै मान्छेले आफ्नो अस्तित्वबोध गर्छ । मन नहुँदो हो त मान्छे र ढुङ्गोमा केही फरक हुने थिएन । विस्मृतिका रोग लागेकाहरूले आफू र अर्को छुट्याउन सक्दैनन् । कविहरूको मन अति कोमल हुन्छ, उनीहरू चोटहरू खप्न सक्दैनन् । त्यसैले हुनसक्छ कवि हरिभक्त कटुवालले मन त फलामकै भए हुन्थ्यो भनेका छन् । यन्त्र मानवको मन फलामकै हुन्छ तर विचरा फूल, आइमाई, नदी र जुन-तारा देख्दा रमाउन सक्दैन ।

अँ, म भन्दै थिएँ मनको कारण नै मान्छेले आफ्नो अस्तित्व बोध गर्छ । कुनै कारणले चेतना विलुप्त भएमा जीवनमरणमा पृथकता रहन्न । अनुभव र अनुभूतिको उपकरण नै मन हो । मनले नै स्मृतिका रूपमा विगतको भण्डारण गर्छ र अनि भविष्यको कल्पना र सपना देख्ने पनि मन नै हो । मन भोक्ता हो । शल्यक्रियाका क्रममा आंशिक रूप वा पूर्णरूपमा मनलाई निस्त्रिmय बनाउँदा शरीरलाई काँक्रोझैँ चिर्दा पनि दुख्दैन । त्यसैले दुख्ने त मन रहेछ । त्यति मात्र होइन । दुखेको मनलाई चित्त बुझाउने पनि मन नै हो । पूर्वीय दर्शन र धर्मले आत्माको बारेमा विशद् चिन्तन गरेको छ । आत्मालाई सत्य र जगत्लाई मिथ्या ठानेको छ । यदि यस्तै चिन्तनका कारणले पूर्व भौतिक उन्नतिमा पछि परेको छ । आत्मा विषयक कुनै ज्ञान मसँग छैन । यदि आत्मा छ भने मनको उद्गमस्थल आत्मा नै हुनुपर्छ अथवा मनको मुहान आत्मा नै हुनुपर्छ । भौतिक विज्ञानले मनलाई शरीरजन्य रसायन संयोजनबाट उद्भव भएको ठान्छ । यदि त्यसो हो भने भौतिक संयोजनबाट अभौतिक मन प्रकट हुँदोरहेछ । भौतिक दृष्टिले भन्दा अस्तित्वबाट अस्तित्वहीन अस्तित्व प्रकट हुँदोरहेछ । म अलि दार्शनिक पाराको कुरा गर्न थालेँ । सम्भवतः उमेर वृद्धिका साथै भौतिक वस्तुप्रति अनाकषिर्त हुनथालेपछि मान्छे धेरथोर दार्शनिक बन्छ क्यारे । मेरो मन आजकल अभौतिक कुरामा रुचि राख्न थालेको छ । संविधानका बारेमा सोच्न संविधानसभा र देशको बारेमा सोच्न सरकार छ । तलबी मान्छे खटिएका छन् । मन छ तर मनको स्वरूप पहिचान गर्न नसक्नाले नै दार्शनिक र धार्मिकहरूले मनको बारेमा धेरै तर्कना गरेका छन् । अनि ती तर्कनाप्रति हाम्रो रुचि किन हुन्छ भने आफ्नो अस्तित्त्वको रहस्य जान्ने ।

उत्कृष्ट चाह हाम्रो मनमा नै अन्तर्भूत रहेको हुन्छ । माफ गर्नुहोला, म दार्शनिकजस्तो कुरा गर्न थालेँ तर अज्ञातको चिन्तनमा स्वतः दर्शन प्रकट हुँदोरहेछ । अज्ञाततर्फको चिन्तन दार्शनिकता हो भने अज्ञातलाई ज्ञात ठानेर विवेचना गर्नु धार्मिकता हो । धर्म हरेक रहस्यको उत्तर दिन चाहन्छ । धर्मसँग सृष्टि, जीवन, मृत्यु, आत्मा आदिको बारेमा स्पष्ट जवाफ छ र ती जवाफ स्वैर कल्पनामा आधारित छन् । ती जवाफले हिजोका मान्छेको जिज्ञासा शान्त गर्नसके पनि आज ती मनोरञ्जनपूर्ण आख्यानमा रूपान्तरित भएका छन् । यो कुरा पनि ख्याल राख्नु पर्छ कि विज्ञान वस्तुगततालाई मात्र आधार मान्छ । प्रमाणबाहेकका कुराको अस्तित्व स्वीकार नगर्नु विज्ञानको सीमा हो । त्यसो गर्दा अन्वेषण गर्न बाँकी रहेका अनन्त सत्यहरू र उपल्ला तहका सत्यहरू अविवेच्य नै रहने छन् । महाकवि देवकोटाले काल्पनिक सत्यलाई उपल्लो दर्जाको सत्य भनेका छन् अनि प्लेटोले चाहिँ वस्तु नभई मनोविम्बलाई महत्त्व दिएका छन् ।

मनको प्रकृति एकल हुन्छ । सम्प्रेषणार्थ संवाद र विवादका सहभागी भए पनि म एक्लै विचरण गर्छु । यही भाव जनाउन जनश्रुत् प्रचलित छ-मान्छे एक्लै जन्मन्छ र एक्लै मर्छ । त्यति मात्र होइन मान्छे बाचुञ्जेल पनि एक्लै बाँच्नु पर्छ । त्यसैले कविहरू भीडमा पनि आफूलाई एक्लो अनुभव गर्छन् । त्यो एक्लोपनबाट बच्न समाज, परिवार र प्रेमभाव सहायक हुनसक्छ । मान्छेले त्यहाँ पनि आश्रय अनुभूत गरेन भने देवालय, मदिरालय वा बेश्यालय धाउन सक्छ । अर्थात् कुनै पनि प्रकारको आशक्ति होइन विरक्तिको पक्षमा छ । सांसारिक रागबाट बच्न पारिवारिक सम्बन्ध र सेतुहरूले धेरथोर काम गर्छन् तर पश्चिममा जस्तै हाम्रोमा पनि पारिवारिक सम्बन्ध शिथिल बन्दैछ । पछिल्लो पुस्ता अघिल्लो पुस्ताप्रति आस्था र श्रद्धाहीन बन्दैछ । अघिल्लो पुस्ताप्रतिको महिमामयी मान्यताहरू कमजोर बन्दैछन् । अहिलेको पुस्तालाई श्रवणकुमारको कथाप्रति कुनै रुचि छैन ।

धर्म, दर्शन र मानवीय अनुभवको आजसम्मको निचोड छ कि प्रेमभाव नै त्यस्तो कुरा हो जसले मान्छेलाई एक्लोपनबाट बचाउँछ । एक्लोपनबाट बच्नु भनेको आफूलाई बिर्सनु हो, अरूप्रति समर्पित हुनु हो ।

स्वअस्तित्वप्रति मान्छे जतिजति सचेत हुन्छ त्यतित्यति नै दुःखी हुन्छ । हो प्रेम नै यस्तो कुरा हो जसले विरक्तिबाट, उदासीबाट र एक्लोपनबाट बचाउँछ । प्रेम भौतिक वा अभौतिक दुवै हुनसक्छ । धर्मले अभौतिक प्रेमलाई किन महत्त्व दिएको होला भने भौतिक वस्तु नासवान हुन्छ र त्यो विनष्ट हुँदा दुःखी होइन्छ । परमात्माप्रतिको प्रेम, देशप्रेम, कुनै ध्येयप्रतिको प्रेम, आत्मीय जनप्रतिको प्रेम वा नरनारीको आपसी प्रेम सबै प्रेमकै रूप हुन् । नरनारीको आपसी प्रेम सबैभन्दा बढी प्रचलित प्रेम रूप हो र त्यो मानवीय सहज प्रवृत्ति पनि हो ।

नरनारीको एकअर्काप्रतिको आकर्षणका जैविक रसायनले उद्दीपन र आलम्बनको काम गर्छ । नरनारीको आपसी प्रेम शरीर, धर्म र मनोधर्म दुवै हो । मनलाई कुनै विषयकेन्द्री बनाउनु नै प्रेम हो तर मन चञ्चल प्रवृत्तिको हुन्छ । त्यसैले आत्मिक प्रेमलाई देहधर्मले बारम्बार बाधित गर्छ । अर्कोतर्फ मान्छेको मन यति अस्थिर हुन्छ कि एउटी पत्नी वा प्रेमिका हुँदाहुँदै अर्की पत्नी वा प्रेमिका खोजिरहन्छ । त्यसैले दुःखको कारण हाम्रो मन नै हो भन्ने दार्शनिक भनाइ मननयोग्य छ र यसैको समाधानार्थ धर्मले सन्तोषम् परमं सुखम् भन्ने सूत्र प्रतिपादित गरेको छ । सुख भनेको आनन्दी मनोवस्था हो । मान्छे सुखी हुन सक्दैन किनभने भएको समाप्त हुँदा वा चाहेको अप्राप्त हुँदा दुवै अवस्थामा दुःखी हुन्छ । मान्छे सकारण होइन अकारण पनि दुःखी हुन्छ । जीवनमा दुःख, नैराश्य र वैराग्य व्याप्त छ । जति चिन्तन गर्‍यो त्यति दुःखी भइन्छ । यस्तो अवस्थालाई देवकोटाले जान्नुको अभिशाप भनेका छन् । त्यसैले म आजकल आफूलाई बिर्सन मनलाई प्रेमभावमा समर्पण गर्न चाहन्छु । म प्रेममा निमग्न हुन चाहन्छु । तर थाहा छैन त्यो कुन खालको प्रेम हुनेछ ।

चितवन

मधुपर्क २०६८ असार

Leave a Reply

Your email address will not be published. Required fields are marked *