Skip to content


कहिले यता कहिले उता, कहिले भूईंमा खुट्टा बजार्दै छु त कहिले आफ्नै हातमा मुक्का बर्साउदै, निर्दोष हत्केलालाई दुख दिदैछु ।

“‘यस्तो पनि हो त ?’ दुई घण्टा अगाडि लगेको फाइल अझै ल्याई पुर्याउँदैन बा! एउटा कागजमा जाबो सही गरे पुग्ने कामलाई पनि हाकिम साबको लागि बालुवा बोके भन्दा पनि बढि समय लाग्नु पर्ने किन हो?”

मनमनै भुत भुतिन्छु म।

“छ महिना अगाडि दिएको अन्तर्वार्ताको नतिजा आज प्रकाशन गर्दा लाज लाग्नु त कता हो कता, फेरि दस्तखत गर्न पनि घन्टौ कुर्नु पर्ने । खै जाबो एउटा दस्तखत गर्न त यत्रो बेर लाउनेले कसरी देश विकास गर्न सक्लान र ?”म स्वयमसँग प्रश्न गर्छु । जवाफमा उही हुलको गाइँ-गाइँ आवाज मात्र आइरहन्छ ।

“बेरोजगारी पनि बढेकै हो बा ! सोह्र जनाको माग गरेकोमा सात सय जनाको त आन्तार्वार्ता मात्रै लिएका छन, कसरी यिनीहरूले सही व्यक्तिलाई पद हस्तान्तरण गर्लान खै ?” शंकै छ । शंका माथि शंका थप्न हेर्दै नवयुवक देखिने (हुन त म पनि त्यही हु )ले हुलबाट मतिर चियाउदै

“त्यो अघिको फाइल त आइपुग्दैन होला हगी मित्र ? डेड घण्टा भैसक्यो न पालेको अत्तो छ न पिउनको पत्तो छ । हाकिम भित्रा’ भित्रै ! फेरि मेरो त अर्को ठाममा अन्तर्वार्ता छ, दुई बजे पुग्नु पर्ने यही नै तीन बज्ला जस्तो भैसक्यो,” भन्दै घुडामा हात राखेर थचक्क बस्दै उसको असह्य गरिबी (समयको गरिबी)मा मलाई समेत मुछन थाल्यो । साचै मेरो पनि त तीन बजे एउटा मानिस भेट्नु छ नि ।

आज उसलाई नभेटे त भोलिको छाकै टर्दैन । भएको जति पैसो फोटो कापी भन फारमको दस्तुर, खाजा बस खर्च गर्दै सिध्ही हाल्यो । अब त त्यो पैसा नपाए भोलि भोकै बस्नु पर्छ । मलाई यति सम्झँदा साथै भोलिको भोक अहिले नै लाग्न थाल्यो । पहिलेको भन्दा झन् दोब्बर दह्रो रुपमा आखाहरू हाकिमको ढोका खोलिने प्रतिक्षामा खटिन थाले । तर मन भने खाद्य संस्थान अगाडि सोही मानिसलाई भेटेर पैसा लिएको दृश्य मात्रै सोच्दै अटल रुपमा हाकिमको ढोकातिर हेरिरहेको, आँखा अगाडि अदृश्य पर्दा बनी, सोहि दृश्य चलचित्रका भाँती प्रदर्शित हुन पुग्यो । हल छुटेर निस्कदा झैँ आँखा तिरमिराउन थाले, अभाव र निरीहताले गिज्याउन थाले । र पाइलाहरू नचाहदा नचाहदै प्रतिक्षा गर्नेहरूको भिड चिरेर कार्यालय बाहिर हुदै खाद्य संस्थान तर्फ बढ्न थाले ।

दरखास्त सम्बन्धि कागजातको फाइलमा हाकिमले सही गरे कि गरेनन । मेरो नतिजा के भयो होला ? मैले यी सब कुरा सोच्नै भ्याइनछु, त्यस बेलामा ।

त्यसपछिका मेरा दिनहरू दरखास्त दिनभन्दा पनि छाक टार्ने मेसोमा चिने जत्ति संग ऋण माग्दै र पहिलेकाहरूसँग पंचेको पालामा बिपक्षीले भूमिगत बस्नु परे झैँ भूमिगत हुदै भनु वा लुक्दै छिप्दैमा नै बित्न थाले । यस्तो दुख जेलो गर्दा त छाक टार्न सकिएन भने यहाँ बसेर अब अरु केही हुने वाला छैन जस्तो लाग्न थाल्यो। र झट्ट सम्झे, त्यही आफू जन्मी हुर्की बढेको गाउँ, शै शव कालदेखि आजको अवस्थामा मलाई दराउन पुग्ने मेरै वृद्ध आमाबाउ । अनि …अनि सम्झे, मेरै परिश्रम र पसिनाको भोका त्यही पाखो बारीलाई …।

र मसक्क आटेर टिकट लिन ‘बस पार्क ‘ पुग्दा त …।

मेरा सबै साहुहरू एक भएछन र मलाई समातेर उनीहरुको ऋण असुल गर्न पो तम्तयार भएछन ।

परेन फसाद ?

गाउँलाई तिरस्कार गरेर शहरको मोज मस्ती लतार्न शहर पसेको म, तर आज बेइज्जतीको तितो पुस्टकारी पो खान पुगेछु ।

सबै धनि र विद्वान भएका ठाउमा विद्वताको परिचय दिन आएको म उल्टो मुर्ख कहिलन पुगेछु ।

आत्मग्लानिले मन कुँडिन नपाउदै मैले आफूभित्रको अन्तिम अस्त्र निकालेर चिच्याए “हे ! म जस्ता असंख्य परिबन्धमा परेका यी साहुका आसामी युवकहरु हो प्रजातन्त्रपछिको क्रान्तिको लागि तयार होउ । ”

त्यस्ताहरुको चंगुलबाट बच्न प्रजातन्त्र भन्दा पनि चर्को प्रजातन्त्र चाहिन्छ भन्दै क्रान्तिको बिगुल फुकें मैले । नभन्दै म जस्ता कैयन ती साहुहरुका आसामी युवकहरू उपस्थित भएछन र नारा पो घन्काउन थालेछन बा ..!

मलाई त सपना देखे जस्तो लाग्न थाल्यो तर पछि थाहा पाएँ कि म जस्ता हरेक बेरोजगार र गरिब युवकहरूलाई नै पो यी साहुहरूले आसामी बनाएका रैछन । हाम्रो जीवनमा अभावको दल दल तेर्स्याएर पनि ब्याजको गुलियो चाट्न पल्केका रहेछन । मलाई गाउँको बाटो देखाए पनि म जस्ता असंख्य मेरा दौंतरीलाई त मृत्यु र मृत्यु भन्दा पनि भयानक परिस्थितिमा धकेलेका रहेछन ।

तर अब यी सब क्रियाकलापको अन्त्य होला जस्तो लाग्यो मलाई । किनकि हामीमा एकता भै सकेको छ । यथार्थ के हो ? हामीले चिनी सकेका छौ । र अब यी धुर्तहरूका कुनै पनि अस्त्रबाट हाम्रो एकता र हामीले चिनेको ‘यथार्थ ‘लै झुक्याउन सक्ने छैनन् जस्तो लाग्यो मलाई ।

उता क्रान्तिको ज्वाला झन् दन्किन थालेछ ।

नमालुम यसको अन्जाम के हुने हो ?

सायद मेरो गाउँ जाने बसको चक्काजाम पो हुने हो कि?

२०५१/३/७ गते

3 thoughts on “यथार्थ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *