Skip to content

चम्पारन ब्लुजः जीवनको भाष्य प्रस्तुत निबन्धहरू

  • by


रोशन शेरचनको संवेदनशील हृदयमा अटेसमटेस प्रौढ अनुभूतिका पत्रहरू छन् । तिनी यिनै अनुभूतिको अभिव्यक्तिको जोखिम मोल्न तत्पर युवा स्रष्टा हुन् । यिनको साहित्यिक यात्राको आरम्भ कविताबाट भएको हो । पोखराका यी रैथाने कविका कवितामा पाठकको हृदयको भित्रैसम्म छोइने स्थानीयताको हरक पाइन्छ । फुटकर कविताहरूको सँगालो ‘शब्दहरूको देश-२०५३’ हुँदै लामो कविताकृति ‘सरुभक्तहरू-२०५६’ सम्म आइपुग्दा उनका काव्यिक वाणीले हृदयपक्षलाई छुने हार्दिकताबाट माथि उठेर मस्तिष्क पक्षलाई छुने बौद्धिकताको उचाइ लियो । कवितामा सम्बोधन गर्न नसकिएका यावत् मुद्दाहरूको अभिव्यक्तिका लागि उनले निबन्धको फेर पक्रिए । ‘मस्तिष्कहरूको मृत्य- २०५८’ निबन्धकृतिको प्रकाशसँगै उनको बौद्धिक कवि व्यक्तित्व बौद्धिक निबन्धकार व्यक्तित्वमा फैलिन पुग्यो र यतिबेला उनी सफल समकालीन कवि र निबन्धकारका पङ्क्तिमा उभिएका छन् ।

रोशनको कृतिगत रूपमा चौथो र दोस्रो निबन्धकृति ‘चम्पारन ब्लुज’ नेपाली निबन्ध विधाअन्तर्गत एउटा महत्त्वपूर्ण प्राप्ति हो । यस कृतिले उनको निबन्धकार व्यक्तित्वलाई अझै उजिल्याएको छ । उनी जिन्दगीको किताब पढ्ने कुशल अध्येता हुन् भन्ने कुराको प्रमाण हो यो कृति । यसमा लेख्नैका लागि लेखिएका निबन्धहरू छैनन् । यसमा सिकारु निबन्धकारको दूषित आग्रह, सङ्क्रमित आवेग पनि छैन । यसमा सङ्कलित निबन्धमा प्रस्तुत उनको जीवन दृष्टि समकालीन समाज, राजनीति र संस्कृतिभन्दा पर छैन । अभिव्यक्ति सीपमा सरलता र इमानदारी झल्किन्छ ।

यस कृतिमा कास्की, लमजुङ, मकवानपुरहुँदै काठमाडौँसम्मको परिवेश समेटिएको छ । नेपाली भाषा, साहित्य, संस्कृति तथा समाज र राजनीतिसम्बन्धी पुस्तान्तर चेतको दस्तावेज पनि हो यो कृति । कृतिमा युरोप-अफ्रिकासम्मको विदेशी परिवेशको जीवन्त अङ्कन छ । उनी राष्ट्रिय-अन्तर्राष्ट्रिय गाउँले सहरिया मनोदशको अध्येताका रूपमा निबन्धमा प्रस्तुत भएका छन् ।

यिनी आममान्छेभन्दा भिन्न छैनन् । यिनी सामान्य पेसाकर्मी नै हुन् तर यिनको सर्जक व्यक्तित्वले उनलाई आममान्छे र पेसाकर्मीभन्दा भिन्न बनाएको छ । यिनी आफ्नी हजुरआमाको साहसी चरित्र र निश्छल व्यवहारबाट जति प्रभावित छन्, मुलुकको कुरूप सांस्कृतिक, राजनीतिक प्रदूषणबाट दुखित पनि छन् तर जीवनप्रति उनी आशावादी देखिन्छन् । एक प्रकारले उनका यी सम्पूर्ण निबन्ध जीवनको भाष्य हुन् । वन विज्ञानको विद्यार्थी भएरै होला, उनका निबन्धमा प्रकृति पनि जीवन्त भएर प्रस्तुत छ । अध्ययन र तालिमका क्रममा यिनी युरोप र अफ्रिका पुगे । युरोपको बेलायत, स्कटल्यान्ड, जर्मनी र अफ्रिकाको दक्षिण अफ्रिकामा पुग्दा त्यहाँका मानिसको मनोदशा, त्यहाँको संस्कृति, भूगोल र प्रकृतिसँगको घनिभूत संवाद यस कृतिमा प्रस्तुत छ । आफू पुगेको ठाउँको अतीत सन्दर्भबाट यिनी छोइएका छन् । भारतको बिहारमा पर्ने चम्पारन हँुदै उडिसासम्म पुग्दा रेलबाट देखिएको आदिवासी सपनाको शब्दचित्र उतारिएको एउटा निबन्ध हो- ‘चम्पारन ब्लुज’ ।

विश्व साहित्यको सापेक्षमा नेपाली साहित्यको प्रभाव र स्थितिबारे विभिन्न प्रसङ्गहरू प्रस्तुत भएका छन् केही निबन्धमा । खासगरी कविता सिर्जन प्रक्रियासम्बन्धी अनुभवहरू धेरै निबन्धमा प्रस्तुत भएका छन् । निबन्धकारले गद्य लेख्न थालेपछि कविता लेख्न गाह्रो हुँदै गएको पीडालाई निबन्धबाटै स्वीकारेका छन् । पाश्चात्य कला-सङ्गीतसम्बन्धी रुचि र प्रभावको बारेमा केन्द्रित भएर लेखिएका केही निबन्धहरू पनि यसमा समेटिएका छन्- ‘हवाइल माई गिटार जेन्टिली विप्स…’, ‘बर्लिन, पोखरा र हार्ड रक क्याफे’ जस्ता निबन्धमा कला-सङ्गीतको प्रभावको बारे गम्भीर चिन्तन प्रस्तुत छ । कविताको चिन्तन परम्परामा रोशनले ‘कविता चिन्तन कविता सृजन’, ‘गिन्सवर्ग चेतना र कविताको लोकतान्त्रीकरण’ जस्ता निबन्धका माध्यमबाट आफ्नो मौलिक दृष्टिकोण प्रस्तुत गरेका छन् ।केही निबन्धमा उनको आलोचक व्यक्तित्वले निबन्धलाई थिच्न खोजेको देखिन्छ । नेपाली साहित्यका नामी स्रष्टाहरूको रचना प्रक्रियासम्बन्धमा गहिरो चासो व्यक्त गरिएका ‘मोदीआइन र अभिमुखीकरणको दोष’, ‘शिरीषको फूलमा जीवन दृष्टिकोणको खोजी’, ‘सङ्ग्रौलाको आमा र यमदूतहरू’, ‘अभिलेख अवशेषहरू आलोचनात्मक यथार्थवादका नजिक’ जस्ता निबन्धमा निबन्धकारले आख्यान र कविताका केन्द्रित रूप र अन्तर्वस्तुसँग सम्बन्धित सिर्जन प्रक्रियासम्बन्धी मान्यता प्रस्तुत भएका छन् ।

यस सङ्ग्रहमा सङ्ग्रहीत २३ वटै निबन्धमा जीवनको चहक र जीवनको महक वर्णन छ । कथा भन्ने शैली र आत्मसंस्मरणात्मक ढाँचामा अभिव्यक्तिको सुन्दर नमुना बन्न पुगेको छ यो कृति । निबन्धकारको जीवनवादी दृष्टिकोण र सामाजिक उत्तरदायित्वबोधले गर्दा पनि यस कृतिको महत्ता बढ्न गएको हो ।

कृतिः चम्पारन ब्लुज (निबन्धसङ्ग्रह)
निबन्धकारः रोशन शेरचन
प्रकाशकः अर्किड बुक्स
प्रकाशनः २०६७
पृष्ठः ६ + १२६
मूल्यः रु. २००।-

मधुपर्क २०६८ असार

Leave a Reply

Your email address will not be published. Required fields are marked *