खबरदार!
म निकाल्न दिन्न
हावाबाट बिजुली!!
यो हावा मेरो पनि हो
त्यसरी नै
जसरी पानी पनि थियो मेरो
र यो धर्ती पनि थियो मेरो
तिमीले पानीबाट बिजुली निकाल्न सिक्यौ
र सिंचाई गर्न सिक्यौ
बुझ्यौ नदीहरू को जीवनचक्रको रहस्य
अनि तिमीले निकाल्यौ
नदीहरूको बिजुली
र नहरहरूमा बाँध्यौ नदीहरूको स्वतन्त्रता
र बेच्यौ बजारमा लगेर
त्यहाँ, जहाँ सम्म मेरो पँहुच थिएन
यसैले म वंचित भए
ती नदीहरूबाट
म बर्जित गरिए
मेरो नैसर्गिक अधिकारबाट
यो धर्ती मेरो पनि थियो हुन त
तिमीले सिक्यौ खेती गर्न
र सिके मैले पनि
तिमीले गर्यौ आविष्कार
उत्पादन वृद्धिका
कैयन विधिहरू
र लग्यौ सम्पूर्ण उत्पादन बजारसम्म
जहाँ म पुग्न भ्याउन्न थे
र सुम्प्यौ मलाई
तिनै वर्जना र वञ्चनाहरू
म तैपनि जेनतेन बाँचे
घन्टौं टाढाको पानी र
महिनौ टाढाको भोजन कुरेर
तर म बाँच्न सक्दिन
केही मिनेट पनि हावा पर्खेर
त्यसैले होस् राख
परीक्षा नलेऊ मेरो धैर्यको
ननिकाल तिमी हावाबाट बिजुली
न बेच मेरो हावा दूर-देशमा
मलाई यो वन्चना स्वीकार छैन
मलाई यो वर्जना स्वीकार छैन.
२०६६/०१/०२
