Skip to content


जतिखेर संविधान सभाको चुनाव हुँदैथियो एउटा चिन्ताले ग्रस्त बनाएको थियो । चिन्ता के थियो भने हरेक जात, सम्प्रदाय, वर्ग तह, तप्का, व्यवसाय, पेशा, स्वजीवी, परजीवी आदिहरूले सभाको सदस्यमा उठ्न राजनीतिक पार्टीका तर्फबाट अवसर पाए कि पाएनन् । चुनावमा उठेकाहरूका नाम त पढ्न पाएँ तर आफ्नो अज्ञानका कारण ती उम्मेदवारहरूले आवश्यक मात्रामा आ-आफ्ना पक्षको प्रतिनिधित्व गर्न पाए कि पाएनन् भन्ने थाहा पाउन सकिन । यै चिन्ताले गर्दा अलमलिएर झण्डै भोट खसाल्न जान पनि बिर्सिएको । तै बेलैमा भित्र घटोत्कच आइपुगेछन् र पो त । उनले मेरो चिन्ता भङ्ग गर्ने प्रयत्नमा भने ‘ओ, मित्र के घोत्लिराखेको ? भोट दिन जानु पर्दैन ?’ उनको प्रश्नले म झल्यास्स भएँ ।

भोट दिन त गइयो । तर छाप लगाउने बेलामा द्विविधा भयो । चिन्ता बढ्यो । कसलाई भोट हालुँ ! चुनाव चिन्ह हेर्दै गएँ । कुनै पनि चित्त बुझ्दो लागेन । आफूले खोजेको विकास चिन्ह कतै भेटिएन । केमा लगाऊँ, के मा ! छाप त लगाउनै पर्‍यो । पर्‍यो फसाद । अब के गर्ने ! एउटा उपाय सुझ्यो । आँखा भएकाले भन्दा नभएकाले यो देशमा राम्रो गरेका छन् । तिनीहरूले देश घातक काम त कदापि गरेका छैनन् । त्यसैले एकछिन आँखा बन्द गरेरै छाप ठोकिदिएँ । कुन चिन्हमा परेछ त्यो पनि हेरिन । किनभने चिन्ह हेरेर कुपात्रमा पर्न गएको रहेछ भने जिन्दगीभर पछुताउन पथ्र्यो । सुपात्र कोही थिए भने पनि आफूले जानेको थिइन । चुनाव सकिया । जित्नेले जिते, हार्नेले हारे । कसैले अविर जात्रा गरे । कोही मरिच झैं चाउरिए ।

संविधान सभामा अब समानुपातिकको पालो आयो । मेरो चिन्ता फेरि बढ्न थाल्यो । जनताको आशिर्वाद पाउने अवसर आउँदा प्रतिनिधित्व राम्ररी भयो भएन थाहै भएन । अब नेताको आर्शिवाद पाउने बेलामा त जानकारी राम्ररी पाइएला कि भन्ठानेको त्यो पनिपाइएन । फेरि चिन्ता बढ्यो । कतै कुनैको प्रतिनिधित्व छुट्ने त हैन । त्यै चिन्तालेग्रस्त भइरहेका बेला फेरिभित्र घटोत्कच आइपुगे । यी मेरा मित्र साँच्चैका भित्र छन् । म जुन जुन बेला चिन्ताग्रस्त हुन्छु, उनी टुप्लुक्क आइपुग्छन् र मेरो चिन्ता दूर वा न्यूनीकरण गरेर र्फकन्छन् । मेरो चिन्ताको कारण थाहा पाएपछि उनले भने ‘मित्र, चिन्ता नगर । हाम्ा नेताहरू बुद्धिमान छन्, विवेकशील छन् । त्यसकारण प्रतिनिधित्व गराउने सन्दर्भमा उनीहरू चुक्दैनन ।’ धेरैबेर नेताका गुणको बखान गरेर मेरो चिन्ता हरण गर्ने उनको प्रयत्नले मलाई अन्ततः केही शान्त गरायो । मन केही हलुङ्गो भयो । तैपनि विश्वस्त हुन सकेन । उनी गएपछि फेरि म घोत्लिएँ । अलि पर बसेको चिन्ता दौडेर आइ फेरि चलखेल गर्न थाल्यो । प्रतिनिधित्वको जानकारी लिने प्रयास सफल नहुँदै समानुपातिकको परिणाम पनि निस्कियो । तैपनि मेरो जिज्ञाशा पूर्ण भएन ।

देश भनेको त्यहाँका सबै नागरिकको साझा फूलबारी हो भन्ने हामीले सुनेका मात्र हैनौं पढेका पनि हौं । अब पढेका कुरा सबै व्यवहारमा लागु हुन्छ भन्ने त छैन नी । कतै धरै मात्रामा होला कतै थोरै । देश सबै नागरिकको हो भन्ने कुरा मान्ने हो भने यो पनि मान्न कर लाग्छ कि कुनै पनि देशमा विभिन्न जातका मानिस हुन्छन्, सम्प्रदायका हुन्छन्, वर्गका हुन्छन् र तह, तप्का, व्यवसाय, पेशका मात्र हैनन्, स्वजीवी र परजीवी खालका मान्छे पनि हुन्छन् । यो देश पनि ती सबै खालका मान्छेका (नागरिकका) साझा फूलवारी हो ।

संंविधान सभा निर्माण भएको यतिका वर्षपछि बल्ल मेरो चिन्ता दूर हुन पुग्यो । किनभने यतिखेर बल्ल मैले बुझें त्यहाँ त सबै किसिमका नागरिकको प्रतिनिधित्व भएको रहेछ । चित्त नबुझेको मान्छेलाई फलनदेवीको शैलीमा झापड हान्न सक्ने कार्यकारी पदका मान्छे पनि रहेछन् । घुस्याहा पनि त्यहीं रहेछन् । तीन देशको नागरिकता लिएर सबैलाई छकाउने ल्याकत भएका नटवरलाल पनि त्यहीं रहेछन् । मुद्रा अपचलन गर्ने मात्र हैन पासपोर्ट बेच्ने व्यवसायका पनि त्यहीं रहेछन् । प्रख्यात डकैत मात्र हैन लुटेरा र हत्याराले पनि अवसर पाएकै रहेछन् । आफ्नो गुण मात्र देख्ने, अर्का उछितो पार्ने, डाहाडे, सङ्कुचित विचारका, दादागिरीमा पोख्त व्यक्तिहरू पनि त छानिएकै रहेछन् ।

कुराले मख्ख पार्न सक्ने काममा सिन्को नभाँच्ने, राष्ट्रको सम्पत्ति निर्लज्ज भएर जति पनि हसुर्न सक्ने, ढाँट, छल र कपटमा दक्ष तथा ्बिगार्नमा सिद्धहस्तहरूले पनि स्थान पाएकै रहेछन् । त्यसो त सबै जातका पनि समेटिएकै रहेछन् । सज्जन र बुद्धिमान पनि नपुगेका हैनन् । यद्यपि ती न्यून सङ्ख्यामा रहेछन् । बेकारमा यत्रो समय चिन्ता गरेर बसेको रहेछु । नेताका क्षमता, विद्वता, विवेक र बुद्धिमत्तामा व्यर्थ शंक गर्न पुगेको रहेछु । नेताहरूले सबै कुरा पहिल्यै मिलाइसकेका रहेछन् । परजीवीलाई त छाढेका रहेनछन् । देश सबै खालका नागरिकका साझा फूलबारी भन्ने आफूले पढेका कुरालाई कुशलतापूर्वक व्यवहारमा उतार्न सक्ने यी नेताहरूलाई प्रशंसा गर्ने उचित शब्द नै पाउन सकिन मैले । यस्ता नेता त अन्य देशमा विरलै पाइएला । त्यसैले भन्नैपर्छ हामी नेपाली शौभाग्यशाली छौँ । यस्ता नेताबाट शासित हामी सबैले आफू गौरवान्वित भएको ठान्नुपर्छ । बेकारमा तिनका नियतमाथि शङ्का गरेर चिन्तित भएँ म । धिक्कार छ ।

शनिबार, गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *