Skip to content


विलियम शेक्सपियरको जन्मथलो पुगेर गर्व गर्छौं हामी । प्रेमचन्दको गाउँ पुगेको अनुभूति पनि मजैले सुनाउँछौँ । देश विदेश घुम्दा स्रष्टाको जन्मथलो पुगेको संस्मरण सुनाएर रोमाञ्चित हुने हामीमध्ये धेरै कमले मात्र भानु जन्मथलोमा पाइला टेकेको अनुभूति रामेाञ्चक पाराले बताएका होलाउँ ।

पहलमानसिंह स्वाँरको जन्मघर अछाम, धरणीधरको दुम्जा पुग्ने नै कति होलान् र ? देवकोटाको जन्मथलो कुन अवस्थामा छ, समको बासस्थान कुन अवस्थामा छ, लेखनाथको घर (ठमे) अहिले कुन अवस्थामा छ, प्रायः लाई पत्तो नै छैन । अरु त अरु काठमाडौँको मध्यभागमा अवस्थित प्रायः आउजाउ गर्ने बाटो पर्ने भोसिको टोलमा साधक मोतीराम भट्ट जन्मिएका थिए भन्ने हेक्का पनि कमैलाई होला ।

आदिकविका रुपमा चिनिएका र नेपाली भाषाका अग्रज भानुभक्त धेरैले मानेका, धेरैले चिनेका र धेरैको मनमा बसेका कवि । ती भानुको नाममा काम गर्न पनि यो मुलुकमा धेरै वर्ष पर्खनुपर्‍यो । त्यसपछि त खै र ? कहाँ के पो भए र ? संविधान सभा भवन, सिंहदरबार आदिमै केन्द्रित हामीले स्रष्टा साधकहरुको जन्मथलो, स्मारक आदिमा ध्यान दिएकै छैनौं । यो दयनीय स्थितिमा यस्ता कुरा उठाएर लेख्नु नै अर्को दयनीय अवस्था हो ।

भाषा र साहित्यप्रति सामान्य मात्र रुचि राख्ने नेपाली भाषीको पाइला तनहुँको भूमिमा पर्दा समेत एक किसिमको गौारव हुन्छ – आदिकवि भानुभक्त जन्मेको भूमिका टेक्न पाएँ भनेर । भानुको सम्मानमा यो भूमिको सदुपयोग गर्ने सोचाइ ४३ वर्षअघिनै तत्कालीन प्रधानमन्त्री एवम् साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाले भानु जन्मस्थल चुँदी रम्घालाई तीर्थस्थल-स्मारकस्थलको रुपमा विकास गर्नुपर्छ भन्नु भए अनुसार गुरुयोजना बनिसकेको थियो । वि. सं. ०१७ सालको राजनीतिक घटना अर्थात् पञ्चायत व्यवस्थाको स्थापनापछि यो सोचाइले मूर्तरुप लिन पाएन, गुरुयोजना योजनामै सीमित रह्यो । देशमा प्रजातन्त्रको पुनःस्थापनापछि भानुभक्त जन्मेलको थलोप्रति रुचि जाग्यो र वि. सं. २०५२ सालमा भानुभक्त आचार्य जन्मेको स्थल तनहुँको चुँदी रम्घालाई भानुजन्मस्थल विकास समिति गठन गरी साहित्यिक तीर्थस्थलको रुपमा विकसित गर्ने जमर्को एउटा गतिलो र प्रशंसनीय प्रयास मान्न सकिन्छ ।

प्रशंसनीय प्रयास त भनियो तर यसतर्फ कत्तिको चासो गएको छ । केही महिनाअघि मात्र सम्पन्न तनहुँ साहित्यिक महोत्सवमा चुँदी भएको साहित्यिक कार्यक्रमको ऋण अझ तिर्न नसकिएको गुनासो सुनिएकै हो । जेट, इन्टरनेटका कुरा गर्छौ तर भानु जन्मथलो पुग्न पिय गर्ने बजेटका बारेमा कसलाई चासो ?

नेपाली शिक्षा परिषद्ले आयोजना गरेको साहित्यिक कार्यक्रममा सहभागी हुन चुँदी पुगियो । चुँदीमा स-साना भाइबहिनीको कविता अनि पाका स्रोता दर्शकको सहभागिताले मन प्रफुल्ल भयो । भानुभक्तप्रति श्रद्धा गर्ने, गौरव गर्ने तनहुँबासीले भानु जन्मथलोसम्म पुग्न कमसेकम राम्रो सडक बन्नुपर्छ भन्ने आवाज पनि उठाउनुपर्छ । भानु सङ्ग्रहालय जहाँ भानुका सरसामान, उनका स्पर्श परेका चिजबिज सङ्कलन त गरिएको छ तर सङ्ग्रहकालय सङ्ग्रहालयजस्तो छैन । अग्रज कवि, आदिकविका रुपमा सुप्रसिद्ध भानुभक्त आचार्यको नाममा पनि ‘बजेट अभाव’ को कुरो तेस्र्याइन्छ भने अरुका सन्दर्भमा के होला ? भानुको सन्भर्दमा हामी पछि नै छौं, अरुभन्दा पछि ।

दार्जीलिङमा भानुभक्तको पूर्णकदको सालिक बनेको धेरै वर्षपछि सिक्किममा भानुभक्तको पूर्ण कदको सालिक बन्यो । सिक्किममा बनेको धेरै वर्षपछि मात्र राजधानी काठमाडौँमा आदिकवि भानुभक्तका दुई दुईवटा सालिक ठडिए, एउटा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राङ्गढामा, अर्को भानुभक्त मेमोरियल स्कुलको हातामा । भारतको दार्जीलिङ्गमा भानु जयन्तीम्ा सार्वजनिक बिदा दिने गरेको दशकौं बितिसक्दा पनि नेपालमा भानुजयन्तीको दिन बिदा दिनुपर्छ भन्ने सोचाइ अझै आएको छैन । यतिखेर यहाँ कवि हीरा आकाशले २३ वर्षअघि नै अभिव्यक्त गरेको विचार उद्घृत गर्न मन लाग्यो – “जनैपूणिर्मा र सूर्यग्रहढामा बिदा दिने सरकारले असार २९ गते अर्थात् भानुजयन्तीलाई राष्ट्रिय चाडको रुपमा मनाउने क्यालेन्डरमा रातो अङ्क अङ्कति गर्नुपर्छ ।” (२०४५।११।९, साहित्यकार परिचय र अभिव्यक्ति, ने.रा.प्र.प्र.)

साँच्चै भन्नुपर्दा साहित्य र स्रष्टाका बारेमा गम्भीर भएर हामीले सोचेकै छैनौं । कैयौं वर्षदेखि हुलाक टिकटको सुविधा, साहित्यिक पत्रकारितालाई विज्ञापन आदिको माग गर्दै आएको सुनिन्छ, मात्र सुन्न थालेकै निकै वर्ष भइसक्यो । हुलाक टिकट र विज्ञापनको समस्याले आक्रान्त हाम्रो साहित्यिक क्षेत्रमा स्रष्टाहरुको जन्मथलोको विकास गर्नुपर्छ, सङ्ग्रहालय बनाउनुपर्छ, स्मारक बन्नुपर्छ, बजेट पर्याप्त व्यवस्था गर्नुपर्छ भनेर लेख्नु केवल आत्म सन्तुष्टि हो । असन्तुष्टिलाई अभिव्यक्त गर्ने एउटा तुष्टि मात्र हो । त्यसैले त माथि नै भनिएको हो यस्तो कुरो लेख्नु नै अर्को दयनीय अवस्था हो । स्मारक नभए पनि स्मृति रहिरहोस् ।

शनिबार, गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *