कतै केही नसोची कति गाह्रो गरी आयो
केही छिन पनि नबस्ने भनि हतार मै गयो
दीनदुखी गरीबहरूको साथबाट सधै टाढा जान्छ
धनीमानी पूँजीपतिहरूको दास बनि सधैं नाच्छ
ऊ बिना नचल्ने भैसक्यो अब संसार सारा
उसको दास बनी सके सबै दुनिया हेर
आफ्नो इशारामा सबैलाई नचाउँछ यताउता
उसकै कठपुतली हामी नाच्छौ नचाउँछ जताजता
उसको लागि रगत पसिना बगाउनेलाई घृणा गर्छ
सिन्को नाभाँची यस आराम गर्नेको मरिहत्ते पर्छ
भन्छ संसार छ मेरो मुठ्ठीमा गर्न नै के सक्छौ अब
शक्ति र सामर्थ्य छ ममा आऊ लाग पछि मेरो सब
हावाले सुन्दैन उसलाई बर्षाले चिन्दैन उसलाई
धर्तीको रचना होइन ऊ आकाशले मान्दैन उसलाई
ऊ त मेरो सृजना थियो जीवनको सहजताको कल्पना थियो
खुसी भए उसलाई पाउदा आज ऊ म भन्दा ठुलो भैदियो